Monday, July 29, 2013

कला प्रदर्शनी समापन



काठमाडौ जेठ १८ ।
बौद्ध आर्ट ग्यालरीमा जेठ ९ देखि सुरु भएको शान्ति र सद्भाव बृहद सामूहिक कला प्रदर्शनीको समापन एकीकृत नेकपा (माओवादी) का वरिष्ठ केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख कृष्ण बहादुर महराले एक कार्यक्रमका बीच गर्नुभयो । नेपाली कलाको विकासमा राज्यको ध्यान जानुपर्ने कुरामा जोड दिदैं महराले भन्नुभयो, ‘चुनावी घोषणापत्रमा कलाका विषयलाई हाम्रो पार्टीले राख्नेछ । नेपालमा अहिले पहिचानसहितको संघीयताको लडाई जारी रहेको र जबसम्म पहिचानसहितको संविधान बन्दैन तबसम्म विभिन्न जातजातीका कलाले राष्टिय रुप ग्रहण गर्न सक्दैनन । यसैकारण आफ्नो कला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकास गर्नका लागि पनि संघीयता जरुरी रहेको छ ।’
सो कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य घनश्याम शर्मा पौड्यालले नेपाली कलाको राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिदैं विदेशमा चोरिएर लगिएका कला फिर्ता गर्न राज्यले पहल गर्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य बलराम तिमिल्सिनाले कलाकारको हकहितका लागि राज्यले नै विशेष व्यवस्था गर्नुका साथै नेपालका सबै जातजातिका कलाको विकास गर्न राज्य नै अग्रसर हुनुपर्ने कुरा बताउनु भयो । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका संयोजक मातृका पोखरेलले थांका कला निकै पुरानो कला भएकाले यसमा सम्बन्धित सबै संघसंस्था तथा राज्यले नीतिनिर्माण गरी व्यवस्थित गर्नुपर्ने कुरा बताउनुभयो । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ नेवाःराज्य संयोजक राजु स्यांतान, वरिष्ठ थांका कलाकार सूर्य बहादुर दोङ, होम बहादुर तामाङ, पाल्साङमो लामाले थांका कलाका विषयमा बोल्नुभएको थियो । 
८० जना कलाकार सहभागी रहेको सो प्रदर्शनीमा थांका कलाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका चारजना कलाकारलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने कलाकारमा सुर्य बहादुर दोङ, धावा वांगेल लामा, चन्द्र बहादुर तामाङ, मोहन लामा रहनुभएको छ । सो कार्यक्रम प्रदर्शनी संयोजक मान बहादुर दोङको सभाध्यक्षमा सम्पन्न भएको थियो ।