Sunday, July 27, 2014

झोलामा किताव अभियान - २०७१

हालखबर संगै पुस्तकको खबर सोधौ !
पठन संस्कृतिको विकास गरौ !!
भन्ने मूल नाराका साथ  २०७१ साल साउन ११ गते एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समिति को आयोजनामा "झोलामा किताव अभियान" कार्यक्रमको एमाओवादीका सचिब गिरिराजमणी पोखरेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भयो । साँस्कृतिक बिभाग इन्चार्ज क आहुति, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिका अध्यक्ष क इश्वरचन्द्र ज्ञवालीले कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको थियो । महासंघका सचिवालय सदस्य बलराम तिमील्सिनाले सन्चालन गर्नु भएको उक्त कार्यक्रमका सभापति एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक मातृका पोखरेलले महासङ्घले तयार गरेको सङ्कल्प बाचन गरेर सुनाउनु भएको थियो ।
सङ्कल्प

जहाँ पुस्तक छैन अज्ञानता, अपरिष्कार र अस्पष्टता त्यहीँ छ !
ज्ञानको श्रोत जीवन हो तर संश्लेषित ज्ञान पुस्तकमा छ !!

त्यसैले हामी प्रगतिवादी संस्कृतिकर्मीहरू यो सङ्कल्प गर्दछौं कि—

—पठन संस्कृतिलाई जीवनको अभिन्न र अनिवार्य पक्षको रूपमा आत्मसात गर्ने खालका गतिविधिहरूको         अगुवाई गर्ने छौं ।

—दैनन्दिन जीवनका भेटघाटहरूमा सञ्चो, विसञ्चो खवरका आदानप्रदानसँगै पुस्तकबारे पनि चर्चा गर्ने             जनसंस्कृतिको विकास गर्न लागिपर्ने छौँ ।


संयोजक
मातृका पोखरेल
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समिति

==========================================================

कार्यक्रमका बारेमा नयाँ पत्रिकाका पत्रकार "कला अनुरागी " को रिपोर्ट  ………………. 

एमाओवादीको "झोलामा पुस्तक अभियान"


काठमाडौ/ एमाओवादीको केन्द्रीय कार्यालयमा सधैजसो राजनीतिक भेला बैठक भइरहन्थ्यो । तर आइतबार फरक दृश्य देखियो । पार्टीका सचिव गिरिराजमणी पोखरेललाई कवि मातृका पोखरेलले झोला र त्यसमा राख्न दुइटा किताब दिए । पोखरेलले मुस्कुराउदै किताब हालेर झोला भिरे । त्यत्ति गरेपछि कवि बलराम तिमल्सिनाले घोषणा गरे– हाम्रो 'झोलामा किताब अभियान’ सुरु भएको छ ।

पार्टीको सांस्कृतिक मोर्चा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघले सुरुवात गरको अभियानलाई पार्टी रुपान्तरणको अभियानमा महत्वपूर्ण सावित हुने नेता पोखरेलको भनाइ थियो । किताबकै बलबाट आफू अहिलेको अवस्थासम्म आइपुगेको स्मरण गर्दै अभियानले अध्ययनका लागि उर्जा दिने बताए । उनले पछिल्लो समय अध्ययनको संस्कृति घटिरहेकोमा चिन्ता व्यक्त गर्दै भने, । पहिलो किताब पसलमा सोध्दा सबैभन्दा बढी किताब किन्ने माओवादी भन्थे, अहिले सबैभन्दा कम किन्ने माओवादी भएका छन् । यसले अध्ययन संस्कृति घटेको देखाउछ । यसलाई पुनजागृत गर्न अभियान आवश्यक थियो ।’

मोर्चा इन्चार्ज विश्वभक्त दुलाल आहुतिले पनि अध्ययन संस्कृतिको क्षयीकरण भएकोले अभियान आवश्यक रहेको प्रष्ट पारे । अहिले झोलामा पुस्तकको सट्टा सिलबन्दी बोलपत्रको खाम हुन थालेको छ । क्रान्तिकारी महिलाको झोलामा पनि पुस्तक भेटिदैन, अरु–अरु नै चिज भेटिन्छ ।’ उनले चिन्ता व्यक्त गरे ।पुस्तकविनाको ज्ञान अपरिस्कृत हुने बताउदै उनले भने, 'ज्ञानको स्रोत त जीवन नै हो । तर संस्लेषित ज्ञान भने पुस्तकमा मात्र हुन्छ । त्यसैले हामीले शिष्टाचारको प्याकेजमा नमस्कार, सन्चै मात्रै होइन, कुन पुस्तक पढिरहनुभएको छ भनेर पनि सोध्ने अभियान थालेका हौं ।’



कार्यक्रममा नेकपा माओवादीको सांस्कृतिक मोर्चा अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले पनि अभियानमा आफ्नो ऐक्यवद्धता जनाए । उनले पार्टी फरक भए पनि सांस्कृतिक मोर्चाको गन्तव्यमा धेरै फरक नपरेको भन्दै अभियानमा सहभागी हुन र सहकार्य गर्न तयार रहेको बताए । अभियानमा पठन संस्कृतिलाई जीवनको अभिन्न अंग बनाउदै दैनिक भेटघाटमा सञ्चो विसन्चोको साथमा पुस्तकबारे पनि चर्चाको संकल्प गरिएको
महासंघका संयोजक तथा कवि मातृका पोखरेलले बताए ।