Thursday, March 19, 2015

साँस्कृतिक प्रतिरोध दिवस सम्पन्न

यही २०७१ साल चैत ५ गते एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ केन्द्रीय समितिको आयोजनामा १७ ओँ साँस्कृतिक प्रतिरोध दिवस सम्पन्न भयो । एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घका संयोजक मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यालय सदस्य गणेश भण्डारी र संचालन अर्का कार्यालय सदस्य बलराम तिमिल्सिनाले गर्नु भएको थियो । कविद्वय राजु स्यान्तान र पुन्य गौतम " विश्वास " ले अनेकोट सँग संबंधित दुईवटा कविताहरु बाचन गर्नु भएको थियो । अतिथिको आसनबाट  नेकपा माओवादीका सँयोजक मातृका यादवले हाम्रो आन्दोलन निकै बिग्रेको बारेमा बिचारोत्तेजक मन्तव्य राख्नु भयो । उहाँले साँस्कृतिक आन्दोलनका कार्यकर्ता आलोचनात्मक हुनुपर्ने तर  हाम्रो आन्दोलनको आवश्यकता अनुसार  हुन नसकेको धारणा राख्नु भयो । यादवले कमरेड प्रचण्डबाट अबको क्रान्ति अघि बढ्न नसक्ने धारणा व्यक्त गर्दै प्रचण्ड वर्ग समन्वयवादी भैसकेको आरोप लगाउनुभयो  । अहिले क्रान्तिले धोका खाएको यादवको निष्कर्ष  थियो ।

कार्यक्रममा बोल्दै  अर्का अतिथि वक्ता नेकपा क्रान्तिकारीका महासचिव मणि थापाले सहिद च्याङ्बा लामा सँगका सहकार्यका बारेमा आफ्ना सम्झनाहरू  सुनाउनु भयो। थापाले नेताहरूसँग च्याङ्बा लामाहरूको रगतसँग खेलवाड नगर्न  अनुरोध गर्नुभयो।   उहाँले यतिबेला साँस्कृतिक क्षेत्रमा धेरै प्रश्न रहेको र उत्तर दिन जरुरी रहेको कुरा पनि  बताउनु भयो । अहिलेको मुल प्रश्ननै साँस्कृतिक रुपान्तरणको प्रश्न हो , नेता मणि थापाको भनाइ थियो । कमरेड प्रचण्डले सत्ताको लागि सहिदको रगतसँग खेलबाड गरेको आरोप लगाउनुभयो।  कार्यक्रममा अर्का वक्ता एकीकृत नेकपा (माओवादी) का पोलिट्ब्युरो सदस्य आहुतिले माओवादी आन्दोलनले बिद्रोही चेतना विकास गराएको तर संस्कृतिको चरणसम्म विकास गर्न नसकेको धारणा राख्नु भएको थियो । उहाँले नेतृत्वमा भ्रष्टीकरण बढ्दै गएको चिन्ता गर्नुभयो ।

सभापतिको मन्तब्य राख्नुहुँदै संयोजक मातृका पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वलेनै भैंसी पूजा गर्न  थालेपछि हामी सांस्कृतिक आन्दोलनको झण्डा बोक्नेहरूको अघिल्तिर विकराल चुनौति थपिएको र हामीले गर्ने  संघर्षको आयाम पनि बढेको धारणा राख्नुभयो । 












=============================


सङ्गीत श्रोताको फेसबुक वालबाट 


प्रतिरोधको संस्कृति र चैत पाँच
-------------------------------
हिजो जो गणतन्त्रको गीत गाउँदै हिंडेका थिए, गीत गाउनु नै अपराध हुन्थ्यो । र त राज्यले घेरा हालेर कलाकारहरूको सामूहिक हत्या गथ्र्यो । हिजो जो परिवर्तनको सपना देखेर कविता लेख्थे, कविता लेख्नु नै समाजमा ‘आतङ्क’ मच्चाउनु हुन्थ्यो । र त सरकारले कविहरूलाई पक्रेर बेपत्ता पाथ्र्यो या हिरासतमा कुटीकुटी हत्या गथ्र्यो । परिवर्तनको गीत गाउँदागाउँदै बलिदान हुने सयौँ कलाकारहरूको सहादतको जगमा टेकेर आजको राजनीतिले गणतन्त्रात्मक सुविधा भोगचलन गरिरहेको छ । तर, मादल बजाउँदा–बजाउँदै गोली खाएका, नाच्दानाच्दै ढलेका र गाउँदागाउँदै रगतपच्छे बनाइएका ती कलाकारहरूका सपनाले अहिले पनि आकार लिएको छैन । राजनीतिको केन्द्रले उनीहरूका सपना जोगाउने कुनै ब्याड तयार पार्न सकेको छैन ।


२०५५ चैत ५ गते काभ्रेको अनेकोटमा बास बसिरहेका सात जना सांस्कृतिककर्मीहरूलाई जनपक्षीय सांस्कृतिक कार्यक्रम गरेकै आरोपमा सरकारले सामूहिक हत्या गरेको घटनाको स्मृतिमा २०५६ देखि सोही दिन ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउने परम्परा सुरु भएको थियो । सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा विगतका सांस्कृतिक विरासत, बलिदानी र उपलब्धिको मूल्याङ्कन तथा समीक्षा गर्दै नयाँ चुनौतीको सामना गर्ने गम्भीरताको खाँचो छ । गणतन्त्र स्थापनाको बृहत्तर अभियानका सांस्कृतिक अभियन्ताहरू फेरि एकपटक प्रतिरोधी सांस्कृतिक यात्रामा लामबद्ध हुनुपर्ने बेला आएको छ । 
...........................

सन्दर्भ चैत पाँच : 'सांस्कृतिक प्रतिरोध दिवस'