Wednesday, November 29, 2017

पाख्रिन दाइको सम्झनामा - ऋषिराज बराल

दुस्मनले लखेट्दा


असोज १३, २०६१
अहिले राङ्कोटको जुमाराङ्सी नजिकै बसरे लेख्दैछु । यसपल्ट झन्डै दुस्मनले समाप्त नपारेको । दुस्मन मुसिकोटबाट हिंडेको र चोखावाङसम्म आइपुगेको त थाहा भएको थियो । हामी चुनवाङको बुढागाउँ छोड्ने तयारीमा थियौँ । म, पाख्रिन दाइ-भाउजू, दिपा र उनकी सानी छोरी, आँपेकान्छा (ठाकुर चापागाई“) र रुपेशजी थियौँ । ठाउँ छोड्ने तयारीमै थियौं । दुस्मन हामीलाई घेराबन्दी गर्दैछ भनेर थाहा भएन । पोस्टका साथीहरूलाई निरन्तर निगरानी गर्नु भनेका थियौँ । अहिलेका कमरेडहरू के मान्थे, के गम्भीरताका साथ लिन्थे । ‘ठूला नेताहरू’ त्यहाँ छन् भनेर कसैले खबर पुर्याएको हुनुपर्छ, दुस्मनले हाम्रो उपस्थिति थाहा पाएको हुनुपर्छ । हामी माथि डाँडाको दुस्मनको चलखेल हेरिरहेका थियौँ, माथि नै छ भन्ने विश्वासमा थियौँ । दुस्मन त पाँच-सात मिनेट उता हामीलाई एसएलआर ताकेर हस्याङ्फस्याङ गर्दै आउँदै पो रहेछ । हामी चाहिँ माथि डाँडाको दुस्मनलाई हेरेर योजना बनाइरहेका थियौँ । दुस्मन त पुल नाघेर यता पसिसकेछ । भयो अब ! तलबाट पनि घेरेका छन् कि भन्दै कुद्दै दक्षिण-पश्चिमको उकालोबाट जङ्गलको बाटो लियौं । पाख्रिन दाइ यता र उता सामान मिलाउन थाल्नुभयो । ढिलो भयो । दुस्मनले देख्यो । कुद्यो दुस्मन हामीतिर हेर्दै हामीलाई आक्रमण गर्न । 

दिनको यस्तै ११ बजेको थियो होला । म त कुदेँ । मसित रुपेश र दीपा पनि कुदे । आँपे कामरेड र पाख्रिन दाइ-भाउजूको बिजोक, कुद्न सके पो । । दुस्मनलाई छल्न ओरालो झरेको जस्तो गरी अलि पर गएर उकालो लाग्यौं । तर दुस्मन नजिकै आइपुग्यो । रुट फेर्यौं । पीर पाख्रिन दाइको थियो । हिड्न नसक्ने । धन्न वहाँसित एउटा स्टाफ थियो । दुस्मनले तलबाट पनि छेका लगायो, घेराबन्दी गर्यो । हामी भने माथि ठाडै लाग्यौँ, आँपे र पाख्रिन दाइ हराए । मेरो मूल झोलासहित मसित दस किलोको पुस्तकको अर्को झोला थियो । सबै लेखेका कुराहरू र पुस्तकहरू पनि त्यसमै थिए । उकालो स्वाँस्वाँ भयो । सानी बच्ची बोकेकी दीपालाई छोड्नु भएन । माथि जुमाराङ्सीको टाउकामा पुगेर दीपा र बच्चीलाई एउटा घरमा सुरक्षित गर्यौं , त्यसै घरको सदस्य बनाएर । म र रुपेशजी ठाडै लाग्यौँ र फेरि तेर्सो लागेर अर्को गाउँमा बस्यौँ । त्यो परको गाउँका केही फटाहाहरू भागेर सदरमुकामतिर बस्ता रहेछन् । साँझपख गाउँमा बुझ्यौँ—दुस्मन फर्केर चुनवाङ खोलापारि नै गएछ । पछि ढुङ्गाको ओढारमा लुकेको भनेर गाउँलेबाट थाहा पाएपछि आँपे कमरेडलाई खोजेर ल्यायौँ । पाख्रिन दाइ र भाउजू सोझै उता राङ्कोट काटेर कुरेलीतिर लाग्नु भएको कुरा त्यताबाट आएका एकजना कमरेडबाट थाहा पायौँ । 

(सलाम रोल्पाबाट )

http://janamel.com बाट साभार 

Saturday, November 25, 2017

आवाजको युद्धविराम - राजु स्याङ्तान



प्रचण्डकै अघि गीत गाउँदागाउँदै खुसीराम पाख्रिन ढले। अब उनको कुनै सालिक बन्नेछैन किनकि उनी सालिकमुनि थिचिएका मान्छेको पक्षमा गीत गाउँथे।पाख्रिन जनपक्षीय गीत गाउने एकजना मूर्धन्य स्रष्टा थिए। युट्युबमा भेटिने नाम थिएन उनको। समाचारका रंगीन भित्तामा होइन, सडक र गल्लीहरूमा मैलो झोलाभरि गीतका सीडी बोकेर हिँडिरहने बूढा मान्छे थिए उनी।

प्रचण्डपुत्र प्रकाश दाहालको शोकसभामा गीत गाउँदागाउँदै उनी ढलेको खबर सामाजिक सञ्जालमा फैलियो। उनलाई चिन्नेहरू टक्क रोकिए। नचिन्नेहरू कादर खानजस्तै मुखाकृति सम्झेर भावुक बने। तर, उनको अप्रत्याशित निधन भोका-नांगा मान्छेका लागि चट्याङसरि बज्रियो।

पाख्रिन पाँच वर्षको हुँदा ०१४ सालमा गोरखाको खरीबोटबाट चितवन बसाइँ सरे। चितवनको रामपुरमा सानो झुपडी बनाएर बस्न थाले। औपचारिक शिक्षा लिन पाएनन्। नारायणीको किनारामा माछा मार्दामार्दै जोबन ढल्कँदै गयो। उनी बेलाबेलामा पहाडघर गोरखा धाइरहन्थे। ०३८ सालतिर त्रिशूलीको ठाडो भीरमा 'झुन्डिँदै हल्लिँदै' दुलो खोपेर बाटो बनाउँदै गरेको देखे। ब्लास्टिङ पड्किएको ठूलो आवाज आउँथ्यो। कसैले बेल्चाले माटो फ्याँकिरहेको देखे। त्यही दृश्यलाई उनले गीत बनाए, 'गैंती बेल्चा उचालेर, पहरालाई छिचोलेर...।'

कम्युनिस्ट राजनीतिप्रति उनको झुकाव बढ्दै गयो। चितवन त्यस बेला नै वामपन्थी राजनीतिको किल्ला थियो। उनले आफ्नै वरपरका भाइबहिनी जम्मा गरेर सांस्कृतिक परिवार बनाए। उनी आफू हार्मोनियम लिएर गीत गाउँथे। भाइबहिनी नाच्थे। पञ्चायतविरुद्ध थोत्रो हार्मोनियम काँधमा बोकेर पाख्रिन चितवनका प्रायः गाउँमा पुगे।

पाख्रिनको सांस्कृतिक परिवारबारे प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराईहरू परिचित थिए। भारतमा बसेर विभिन्न गतिविधि गरिरहेका उनीहरूले पाख्रिनलाई भारत बोलाए। भारतका नेपालीभाषीका बीचमा सयौं ठाउँमा गीत गाए। अखिल भारतीय नेपाल एकता समाजसँगै भारतको बस्तीबस्ती पुगे। कानपुर, गोरखपुर, राँची, मद्रास, गोरखपुरमा उनी क्रान्तिको गीत गाउँदै हिँडिरहेँ। त्यस बेला उनलाई मानिसहरू घुरेर हेर्थे। कारण उनको अनुहार भारतीय कलाकार कादर खानसँग ठ्याक्कै मिल्थ्यो। पाख्रिनले नेपाली बोलेपछि मानिसहरू हाँस्न थाल्थे।

खुसीराम पाख्रिन युद्धमा बन्दुक होइन, हार्मोनियम लिएर गएका थिए। आवाजविहीनको 'स्वरसम्राट्' थिए उनी। युद्धमा नपढेका, गरिब, युगौंदेखि दमित बनाइएका मानिसको निःसर्त सहभागिता थियो भन्ने दस्तावेज हो पाख्रिनको जीवन।


वर्षौं नभेटीकनै आफ्नो छोरा गुमाए। सँगै बाँसुरी बजाउँदै हिँड्ने संगी गुमाए। एउटै थालमा खाएर सुन्दर सपना देख्ने कैयन् जोर आँखा गुमाए। तर, उनले होश कहिल्यै गुमाएनन्। झन् सुन्दर गीत लेखिरहे। आफ्नो छोराको पदचाप हराएको सेनाको ताँती हेर्दै गीत लेखे, 'लाल झुपडीका मान्छेहरू, महासमरका यात्रीहरू, एउटा सुन्दर सपना बोकी तुफानसँग लड्दैछन्...।'भारत घुम्दै जाँदा उनले नेपालीको बिजोग देखे। नेपाली टोपी लगाएर भारी बोकिरहेका, भाँडा माझिरहेका, कोइलाखानीमा जुग बिताइरहेका नेपाली देखेपछि उनले गीत लेखे, 'टाढैबाट चिनियो ढाका टोपी लाउनेलाई....।'देशमा प्रचण्ड बाबुरामले युद्ध सुरु गरे। उनलाई नेपाल बोलाइयो। सामना सांस्कृतिक परिवार नामक कलाकार समूह स्थापना गरेर पश्चिम नेपालतिर हिँडे। रोल्पा, रुकुम, अछामदेखि कालीकोटसम्म पुगे। जनताबीचमा गीत गाउँदागाउँदै कैयन जोर चप्पल फटाए। चप्पलसँगै जिन्दगीको महत्वपूर्ण हिस्सा फटाए।

कैयौं वीर भनिएकाहरू युद्धमैदानबाट बन्दुक छाडेर भागे। नयाँ बिहानीको सपना देखाउनेहरू क्षितिजमा उज्यालो नहुँदै भागे। तर, बूढो शरीर घिसार्दै उनी हार्मोनियम छाडेर कहिल्यै भागेनन्।
युद्धको उत्तराद्र्धतिर प्रचण्ड र बाबुरामबीचको मनमुटाव छताछुल्ल पोखियो। सम्बन्धको तीतोपनलाई भावनाले जोड्ने उपाय निकाले पाख्रिनले। केन्द्रीय समितिको बैठकपछि 'युद्ध मैदानबाट फर्किंदा' भन्ने चर्चित गीति अपेरा बनाए। उनको अन्तःस्करणको मर्म अपेरामा व्यक्त भएको थियो। अपेरा हेर्दै प्रचण्ड, बाबुरामसहित सबै रोए। फाट्दै गएको सम्बन्धको धाजामा पाख्रिनले आँसु राखिदिए।

१० वर्ष चलेको युद्ध जनआन्दोलनपछि रोकियो। पाख्रिन उही थोत्रो हार्मोनियम बोकेर काठमाडौं पसे। पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भए। संविधानसभाले चार वर्षको अवधि गुजारेपछि उनी पुनः पार्टी काममा फर्किए। मेची महाकाली जनजागरण अभियान सञ्चालन गर्न थाले। तर, उनी विस्तारै निराश हुँदै गए। फुटले नराम्रोसँग दुखायो उनलाई। प्रचण्डले धोका दिए भन्ने निष्कर्षमा पुगे। किरणको पछि लागे। किरणले पनि माखो नमार्ने ठानेर पुनः फर्केर आए, प्रचण्डकै पार्टीमा।

अब उनी काठमाडौंमा अलपत्र बाँच्न थाले। गीत गाएरै संसार जित्छु भन्ने उनलाई पार्टी ठूलो बोझ हुन थाल्यो। उनले बिग्रँदै गएको पार्टीलाई गाली गर्न थाले। बेलाबेला ती बूढामान्छे भन्थे, 'युद्धकालमा प्रचण्ड जुन घरमा पुग्थे, त्यो घरको चर्किएको भित्तालाई सेतो कपडाले छोपिन्थ्यो। त्यस बेलादेखि नै प्रचण्डको बानी बिगारे कार्यकर्ताले। फाटेको भित्ता देखाउनुपथ्र्याे प्रचण्डलाई।'

उनी कहिले विप्लवअघि गएर रोए, 'नेताहरूको वर्ग उत्थान भयो। सांस्कृतिक विचलन मौलायो।' उनीभन्दा जुनियर पटकपटक मन्त्री हुँदा उनी सडकमा फाटेको जुत्ता घिसार्दै हिँडिरहे। अब उनको भावना बुझिदिने मान्छे पाइन छाड्यो। उनी काठमाडौं आउँदा एक रात ओत लाग्ने ठाउँ पाएनन्।
उनको दुःखद अवसान आन्दोलनजस्तै बन्यो। एक मुठी मीठो खान पाएनन्। ढुक्कले कहिल्यै निदाएनन्। हेर्दाहेर्दै चितवन सहरले उनको घरलाई सुदूर गाउँतर्फ धकेलिदियो। झुपडीमै सीमित भयो उनको कटेरो। उमेरले ६५ वसन्त नाघे पनि सांस्कृतिक टोली बनाएर मेची-महाकाली जागरण अभियान चलाउँछु भन्थे उनी।

उनी युद्धमा बन्दुक होइन, हार्मोनियम लिएर गएका थिए। आवाजविहीनका 'स्वरसम्राट्' थिए उनी। नपढेका, गरिब, युगौंदेखि दमित बनाइएका मानिसको युद्धमा निःसर्त सहभागिता थियो भन्ने दस्तावेज हो, पाख्रिनको जीवन।

पेरिस कम्युन ढलेपछि भागेका युजेन पोत्तरले भाग्दाभाग्दै अन्तर्राष्ट्रिय गीत लेखे, 'उठ, जाग ए भोका नांगा।' त्यही गीत गाउँदै कत्तिले आफ्नो धन्दा चलाइरहे। कतिले क्रान्तिको परीक्षण गरिरहे। त्यही परीक्षणमा लाखौं पाख्रिनहरूले आफ्नो जीवन होमे। मृत्यु अवश्यम्भावी छ। जन्मसँगै मृत्युको 'काउन्ट डाउन' सुरु हुन्छ। तर, कुनै पनि मान्छेको जीवनलाई प्रयोगशालाको कच्चा पदार्थ बनाइनु हुन्न। पाख्रिनको जीवनले यही भन्छ। उनी नयाँ सुन्दर नेपालका लागि युद्धमा होमिएका जनताका गायक थिए।

उनी बेलाबेला भन्थे, 'जनताको गीत गाउँदागाउँदै मर्न पाइयोस्।'उनको छोरा 'जनयुद्ध'मा सहिद भएका थिए। प्रकाश दाहाल खुसीरामका सहिद छोराका साथी थिए। उनै प्रकाशको शोकसभामा गीत गाउँदागाउँदै ढले खुसीराम।
शोकसभामा खुसीराम दबिएको स्वरमा गाउँदै थिए,
'युवाहरू हो, देश तिम्रै हो, भविष्य तिम्रै हो
नयाँ नेपाल बनाउने अभिभारा तिम्रो हो।' .

http://annapurnapost.com बाट साभार 

Friday, November 24, 2017

के पाए नि पाख्रिन दाइले ? - सङ्गीत श्रोता


गाउँबस्ती र प्रवाससम्म भरिया, कुल्ली र निमुखाको मर्म गाउँदै हिँडेका खुशीराम पाख्रिन लोकगीतको प्रगतिवादी फाँटका सरल, इमानदार र प्रतिबद्ध साधक थिए ।



जीवनको अन्तिम घडीसम्म पनि खुशीराम पाख्रिन हातमा माइक र ज्यानमा जोस भरेर युवाहरूलाई देश बनाउन आह्वान गरिरहेका थिए र भविष्यको सपना देखिरहेका थिए ।

मंसिर ९, २०७४-अहिलेका टिनेजरहरूले उनका गीतको ‘कभर सङ’ गाएनन् । सामाजिक सञ्जालमा उनका दैनिकीको ट्रेन्डिङ चलेन । न सहरका खुला चोकमा उनका महँगा कन्सर्टहरू भए, न रेडियो–टेलिभिजनमै उनको गीत दोहोरिई–दोहोरिई बजे । लाइक र कमेन्ट बटुल्ने ध्येयको प्रतिभा प्रदर्शन–होडबीच खुशीराम पाख्रिन (२००९– २०७४) कतै थिएनन् । उनी त थिए नेपाली सङ्गीत इतिहासको त्यो धारामा, जसले लोकलयलाई जनताको सुखदु:ख र न्यायप्राप्तिको आन्दोलनसँग निरन्तर जोड्यो, गाउँबस्ती र प्रवाससम्म भरिया, कुल्ली र निमुखाको मर्म गाउँदै हिंड्यो । उनी लोकगीतको प्रगतिवादी फाँटका सरल, इमानदार र प्रतिबद्ध साधक थिए । संगीत सिर्जना र गायनमा विचारबद्ध भएर बिताएको झन्डै चार दशक अवधिमा पाख्रिनले आफ्नो त्यस्तो मौलिक पदचाप छाडेका छन्, जो अहिलेको चमकधमक दुनियाँले नदेख्न सक्छ तर इतिहासले अवश्यै त्यसको मूल्यांकन र पुन:मूल्यांकन गर्नेछ ।

पहाडी जिल्ला गोरखाको निम्नवर्गीय तामाङ परिवारमा जन्मेका खुशीरामको बालादिन र युवा उमेर चितवनमा बित्यो । दस वर्षअघि काठमाडौंमा भएको एक कार्यक्रममा उनले भनेका थिए, ‘म रामेश, रायन, मञ्जुलहरूका गीत सुनेर किशोर उमेरमा प्रभावित भएको हुँ ।’ पञ्चायतकालमा व्यवस्थाविरोधी संगीत सिर्जना गरेर नयाँ धारा निर्माण गर्ने वेदना र संकल्प परिवार रायन र रामेशहरूले नै चलाएका थिए । पाख्रिनले यही धारा समाते, जुन धाराका लागि सरकारी स्वामित्वको रेडियो नेपाल पनि आफ्नो थिएन, निजी स्तरका रत्न रेकर्डिङहरू पनि आफ्ना थिएनन्, न त कोलकाता वा मुम्बईसम्मको व्यवासायिक पहुँच नै थियो ।


२०३९ सालमा भारतको गोरखपुरमा गीत गाउँदै पाख्रिनसहितको चितवन सांस्कृतिक परिवार । 

पाख्रिनले आफ्नै सिर्जनात्मक बुतामा चितवनमा सानोतिनो सांगीतिक टोली बनाए । राजनीतिक रूपमा चौथो महाधिवेशन (पछि मोटो मशाल) सँग आबद्ध उनी वेदना र संकल्प परिवारको ठूलो प्रभाव रहेको मध्यपञ्चायतमा आफ्नो पाइलो राख्ने जमिन खोज्दै जनवादी संगीतका क्षेत्रमा प्रवेश गरेका थिए । पञ्चायतको उत्तराद्र्धमा मोटो मशालसँग प्रतिबद्ध भएर उनले चितवन सांस्कृतिक टोली बनाए । कतिले यसलाई पाख्रिन सांस्कृतिक परिवार पनि भन्ने गर्थे । यही टोलीको नेतृत्व गर्दै उनी पार्टीकै अभियानअन्तर्गत स्वदेश र प्रवासमा जनवादी गीत गाउँदै आफ्नो सीप र कलाकारिता निखार्दै लगे । रामेश, रायन, मञ्जुलले एकछत्र प्रभाव जमाइरहेको समयमा आफ्नो बेग्लै पहिचान बनाउनु सजिलो कुरा थिएन । तर खुशीरामका ‘गैंती बेल्चा उचालेर’, ‘कालो वनको बीचैमा’ जस्ता गीतले सुर र शब्दमा समेत मौलिकता दिँदै श्रोताको मन जित्यो ।

२००७ सालको परिवर्तन, २००६ सालमा कम्युनिस्ट पार्टी स्थापनासँगै नेपालमा जागृतिपूर्ण लोकसंगीतको आधुनिक चरण सुरु भएको देखिन्छ । यसै सेरोफेरोबाट गोकुल जोशी, केवलपुरे किसान, सुरुआती कालका धर्मराज थापा आदिले लोकलयमा जनपक्षीय गीतको देशभित्र र भारतमा समेत प्रचारप्रसार गरेको पाइन्छ । पञ्चायत सुरु भएको केही समयपछि यस धाराको नेतृत्व रामेश, रायनबाट भयो । पञ्चायतकै दोस्रो प्रहरमा यही धारामा निस्केका जनवादी संगीतकर्मीहरूमध्येका हुन् पाख्रिन । चालिसको दशकको सुरूमा उनको गीतिसंग्रह ‘आँसुको भाका’ प्रकाशित भयो । माक्र्सवादी समालोचक तथा चिन्तक मोहन वैद्य ‘चैतन्य’ ले उक्त गीतिपुस्तकको समीक्षा गर्दै २०४४ सालमा पाख्रिनलाई ‘सबल श्रमजीवी प्रतिभा’ भनेका थिए । उक्त पुस्तकमा उनले भरिया, कुल्ली, मजदुर, सुकुम्बासी, महिला, किसान, विद्यार्थी, बालबालिका, सिपाही, प्रवासीजस्ता श्रमजीवी र निम्न वर्गका जनताको सुखदु:खलाई गीतमा ढालेका थिए ।

चालीसकै दशकदेखि पार्टीको सांस्कृतिक विभागको इन्चार्ज रहेका र खुशीराम पाख्रिनसँग निकटतम संगत एवं अन्तक्र्रियामा रहेका समालोचक चैतन्य (हाल : क्रान्तिकारी माओवादीका महासचिव) उनलाई सामन्तवाद–साम्राज्यवादविरोधी सांस्कृतिक आन्दोलनमा व्यावहारिक मैदानमै क्रियाशील योद्धाका रूपमा स्मरण गर्छन् । भन्छन्, ‘पञ्चायतविरूद्धको सांस्कृतिक आन्दोलनमा उहाँको मुख्य योगदान हो, उहाँले सांगीतिक जीवनको जग पञ्चायतकालमै बनाउनुभयो ।’ पाख्रिनका पुराना साथी एवम् गायक जीवन शर्मा आफू वेदना, संकल्पका गीतसँगै पाख्रिनका गीत गाउँदै जनवादी धारामा लागेको सम्झन्छन् । पंक्तिकारसँग उनले भने, ‘आफ्नो जति क्षमता र तागत थियो, त्यो सबै उहाँले नेपाली सर्वहारा वर्गको मुक्तिका निम्ति लगानी गर्नुभयो ।’

रेकर्ड भएका र नभएका गरेर पाख्रिनले चार/पाँच सय गीतहरू सिर्जना गरे । ‘आँसुको भाका’ गीतिसंग्रह दुई भागमा संकलित छ भने कलम, जनादेशलगायत पत्रिकामा उनका थुप्रै रचना प्रकाशित छन् । २०४६ सालपछि गठित अखिल नेपाल जनसांस्कृतिक संघको सांस्कृतिक टिम सामना परिवारका कलाकारका लागि उनी अभिभावकका रूपमा आस्था र सम्मानको केन्द्रमा रहे । युद्धावधिमा खुशीराम पाख्रिन नयाँ कलाकारहरूका लागि गौरवशाली र प्रेरक नाम हुन्थ्यो । पार्टीनीतिअनुसारको पत्रकारिता र कला–साहित्य सिर्जना माओवादी युद्धावधिको एउटा परिपाटी बनेको थियो । त्यसैअनुसार ०५० को दशकयताको पाख्रिनको सिर्जनात्मक काम माओवादी आन्दोलनको वैचारिक–राजनीतिक परिधिमा प्रतिबद्ध रहेको देखिन्छ । ‘जनादेश’ पत्रिकामा चौथो पातोमा (विभिन्न अंकमा) छापिएका उनका ‘रोल्पा : नझुक तिमी एक्लै छैनौ’, ‘होसियार, हे होसियार’, ‘मुक्ति योद्धा हो’ लगायतका गीतहरूमा पार्टीको तत्कालीन कार्यनीतिक अभिव्यक्ति पाइन्छ । त्यस्तै ‘लालझोपडीका मान्छेहरू’ लगायतका उनका रेकर्डेड सिर्जनाले ‘जनयुद्ध’ को सौन्दर्यलाई स्वर दिएका छन् । माओवादीलाई शान्तिप्रक्रियातिर मोड्न महत्त्वपूर्ण मानिने चुनबाङ बैठकमा प्रस्तुत गरिएको उनको निर्देशनको अपेरा खुबै रुचाइएको थियो । तैपनि पञ्चायतकालीन ‘हाम्री चेली बिरानु देशमा’, ‘कालो वनको बीचैमा’, ‘गैंती बेल्चा उचालेर... के पायो नि कुल्ली भाइले’ जस्ता जनमनमा बसेका मर्मस्पर्शी गीत सिर्जनाको अवधि पाख्रिनको युद्धकालीन र युद्धोत्तरकालभन्दा कैयौँ गुना प्रभावशाली र ऊर्जाशील देखिन्छ । 

खुशीराम विरासत र संगीत चिन्तन

जसरी कला साहित्यको मूल्यांकन निरपेक्ष कलावादी कोणबाट मात्र गरेर पुग्दैन, त्यसरी नै कलाकारको इतिहास पनि समाजको इतिहाससँग नजोडी अधुरो हुन्छ । नेपालमा माओवादी ‘जनयुद्ध’ ले उत्खनन गरेका महत्त्वपूर्ण आयामहरूमध्ये एउटा हो— सीमान्त समुदायको जागरण । यो कुरा सांगीतिक क्षेत्रमा पनि देखिन्छ । खुशीराम आर्थिक हिसाबले विपन्न मात्रै होइन, सामाजिक–सांस्कृतिक र ऐतिहासिक रूपमा सीमान्त परिवारमा जन्मे, हुर्के । भारतबाट आएका निर्मल लामा, पारिजात, गोपाल योञ्जनजस्ता एकाध नामहरूको सन्दर्भ बेग्लै भयो, अन्यथा तामाङ समुदायबाट जन्मने–हुर्कनेलाई देशभित्रैको पञ्चायतकालीन पर्यावरणले प्रतिभाशाली हुने अवसरहरू दिंदैनथ्यो । यो सन्दर्भ किन स्मरणीय छ भने खुशीरामले विरासतमै काव्यअभ्यास वा संगीत साधना गर्ने मौका पाएका होइनन् । र, पनि उनी निरन्तर आफ्नो बर्कतले भ्याएसम्म संघर्षरत रहिरहे । युद्धकालमा उनले आफ्ना एक छोरा पनि गुमाए तर सांगीतिक प्रतिबद्धतामा कहिल्यै विचलित भएनन् । 

जीवनको अन्तिम घडीसम्म पनि उनी हातमा माइक र ज्यानमा जोस भरेर युवाहरूलाई देश बनाउन आह्वान गरिरहेका थिए र भविष्यको सपना देखिरहेका थिए । विडम्बनाको विषय के छ भने उनले विश्वास गरिरहेको राजनीतिक आन्दोलन त्यस्तो जँघारमा पुगेर खुट्टा उचालेको छ, जसले कुल्ली, भरिया र मजदुरका दु:खहरू सम्झन्छ कि ठेकेदारकै गाडीमा इन्धन भरिदिन्छ भन्ने टुङ्गो छैन । नेताहरू पाख्रिनका होइन, राष्ट्रवादी गीतकारका सिलोक सम्झन थालेका छन् । आन्दोलनमा हिंडेको जन उपाधियुक्त कलाकारहरूको फौज अब त्यस्तो टोलीमा परिणत भएको छ, जो बिग्रँदै गरेको नेतृत्वसँग प्रतिवाद गर्दैन, बरु भात मात्रै मागिरहन विवश छ, जो बजार–विधिसँग जुध्न सक्दैन, बरु डराईडराई बजारमै कतै ओत माग्न अभिशप्त छ । अनि आजको पार्टी–राजनीति पनि परसम्मको भविष्य वा सपनाबाट निर्देशित छैन, जसरी पनि चुनाव जित्ने र जसरी पनि सिंहदरबार वा बालुवाटार मुकाम पुग्ने बाटो खोजिरहेको छ । चार महिनाअघि अर्कै पार्टीको चुनावी गीत गाइदिने ‘लोकप्रिय’ हरू चार महिनापछि ‘वरिष्ठ जनवादी गायक’ का रूपमा खुशीरामकै पार्टीको चुनावी गीत गाइरहेका छन् ।

खुशीराम पाख्रिनलाई सम्झँदा नेपालको जनवादी संगीत क्षेत्रको अर्को डरलाग्दो खड्को पनि सम्झनैपर्छ । त्यो हो— सङ्गीत चिन्तनमा खडेरी । जनताका बीचमा अत्यन्तै लोकप्रिय र स्थापित गायक तथा संगीतकारहरू नेपालमा छँदै छन्, सिर्जनामा उनीहरूको प्रभावशाली व्यक्तित्व पनि छ तर दुर्भाग्य उनीहरू संगीत चिन्तन गर्दैनन्, बरु नेता वा शासकहरूसँग गनगन गर्छन् । संगीतकर्मीलाई स्वतन्त्र सर्जक वा चिन्तकका रूपमा होइन, अरनखटन गर्ने टोलीका रूपमा लिने प्रवृत्ति राजनीतिक नेतृत्वमा पनि बलियो छ । बोलीवचनमा पनि सांस्कृतिक ‘टोली’ वा ‘परिवार’ भनेर चिनाइन्छ । पछिल्लो समय संगीतकर्मलाई चिन्तनकर्मसँग र नयाँ परिवेशसँग जोडेर लैजानुपर्छ भन्ने विचार निर्मित हुँदै थियो र पाख्रिन पनि यो छलफलमा सहभागी हुँदै थिए, भलै अब यो जिम्मेवारी नयाँ पुस्तामा सरेको छ । 

व्यवस्था फेर्न हिंड्ने धेरै असल योद्धाहरू यतिखेर आफ्नै पार्टी फेर्न नसक्ने विडम्बना झेलिरहेका छन् । खुशीराम पनि माओवादी पार्टीको उतारचढाव, टुटफुट र अकल्पनीय घुम्तीमराइबाट हैरान थिए र धेरै अर्थमा त्यसको सिकार भएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्ष, संविधानसभामा सभासद, राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित, जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी पार्टीका केन्द्रीय सल्लाहकार भए । तर धेरै हदसम्म पार्टीसँग उनका गुनासा, चित्तदुखाइ र असन्तुष्टि थिए ।

उत्तराद्र्धको चिन्ता

‘साथीभाइहरू तथा जनताको प्रेरणाले नै धेरै गीतहरू लेखियो । अब त जनपक्षीय गीत सुन्ने संस्कार हराउँदै जाला भन्ने डर भइसक्यो । तर सच्चा जनताका पक्षधरहरूले आफ्नो वर्गको मुक्तिको लडाइँ जुनसुकै रूपमा होस्, जारी राख्नेछ । त्यसरी नै युग बदल्ने जनसंगीत पनि कहिल्यै निभ्ने छैन । आफ्नो ठाउँबाट निरन्तर कलमहरू चलिरहनेछ, स्वरहरू गुन्जिरहनेछ ।’

जीवनको उत्तराद्र्धमा पाख्रिन कुन कुराले सबैभन्दा बढी चिन्तित थिए भन्ने कुराको साक्ष्य हो, गीत–संगीत सम्बन्धमा भदौ २१ गते लेखेको उनको यो फेसबुक स्टाटस । मृत्यु हुनुभन्दा अढाई महिनाअघि मात्रै जनपक्षीय गीत सुन्ने संस्कार हराउँदै जान लागेको भन्दै उनले त्यसको कारकका रूपमा ‘वर्ग मुक्तिको लडाइँ’ को अहिलेको हालततिर संकेत गरेका थिए । 

इतिहासकार एरिक हाब्सबाम भन्छन् : ‘इतिहासबाट शिक्षा लिने वा पाठ सिक्ने हो भने दुई जना मान्छे त चाहिन्छन् नै । पहिलो जानकारी दिने, दोस्रो त्यसलाई सुन्ने ।’ पाख्रिनले जनसंगीत क्षेत्रमा हिंडेको बाटो र त्यसको सौन्दर्यमूल्यको स्थापनाका लागि पनि यतिखेर कम्तीमा दुईथरी मान्छेको खाँचो छ : उनका बारेमा बताउनेहरू, अनि सुनेर त्यसको मूल्य ग्रहण गर्नेहरू । अनि यतिखेरको राजनीतिलाई प्रश्न गर्नेहरूको पनि त्यत्तिकै खाँचो छ, जसले सोधोस्— पाख्रिन दाइले के गाएको थियो ? पाख्रिन दाइले के जिन्दगी बाँचेको थियो ? अनि यो लोकतन्त्रको सुविधाभोग कुनै ठेकेदारले त गरिरहेको छैन ?

http://kantipur.ekantipur.com बाट साभार
प्रकाशित: मंसिर ९, २०७४

Tuesday, November 21, 2017

वरिष्ठ जनवादी गायक खुसिराम पाख्रिनको निधनमा जनसांस्कृतिक महासंघको प्रेस- वक्तव्य ।





जनसांस्कृतिक महासङ्घ, नेपाल 

केन्द्रीय समिति 

मितिः २०७४।०८।०६ 

नेपाली जनवादी एवं समाजवादी सांस्कृतिक यात्राका अथक योद्धा, हाम्रो सांस्कृतिक संगठन जनसांस्कृतिक महासंघ, नेपालका संरक्षक, नेकपा माओवादी केन्द्रका सल्लाहकार तथा वरिष्ठ जनवादी संगीतकर्मी कमरेड खुशीराम पाख्रिनको मङ्सिर ५ गते दुःखद निधन भएको घटनाले हामीलाई स्तब्ध बनाएको छ । चार दशक लामो सांगीतिक यात्रामा निरन्तर जनपक्षीय गीत–संगीत सिर्जना र प्रस्तुतिसहित नेपाली जनवादी–क्रान्तिकारी सांस्कृतिक धारामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कमरेड पाख्रिनको अवसानले सम्पूर्ण क्रान्तिकारी सांस्कृतिक क्षेत्रमा गहिरो क्षति पुगेको छ । २०३० को दशकदेखि गीत–सङ्गीतको जनवादी धारामा औपचारिक यात्रा थाल्नुभएका पाख्रिनले २०४६ सालको परिवर्तन, महान् जनयुद्धावधिको क्रान्तिकारी आन्दोलन र २०६२/०६३ पछिको राजनीतिक परिवर्तनमा समेत प्रगतिवादी सांस्कृतिक क्षेत्रको अभिभावकत्व गर्नुभयो । जनयुद्धमा आफ्नो छोरा गुमाउनुपरेको पीडालाई समेत साङ्गीतिक शक्तिमा बदल्नुहुने उहाँ सहिद–पिता समेत हुनुहुन्थ्यो । ‘गैंती बेल्चा उचालेर’, ‘कालो वनको बीचैमा’ जस्ता जनताका मन–मनमा बस्न सफल गीतका सर्जक कमरेड पाख्रिनको अनुपस्थिति समाजवादी सांस्कृतिक आन्दोलनको नयाँ यात्रामा अझ धेरै खड्किने छ । यस दुःखद घडीमा जनसांस्कृतिक महासङ्घ, नेपाल कमरेड खुशीराम पाख्रिनप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै उहाँको परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । 

दुई दिनअघि मात्रै मङ्सिर ३ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति सदस्य, युवा नेता तथा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक, अकल्पनीय र अल्पायुमै भएको निधनप्रति जनसांस्कृतिक महासङ्घ, नेपाल गहिरो दुःख व्यक्त गर्दछ । शोकको यस घडीमा अध्यक्ष कमरेड प्रचण्ड लगायत उहाँको परिवारमा हार्दिक समवेदना र कमरेड प्रकाशप्रति महासङ्घ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । 

सरल सहयात्री                                                                                                   सङ्गीत श्रोता
अध्यक्ष                                                                                                     कार्यवाहक महासचिव



Wednesday, November 15, 2017

गाउँगाउँबाट उठ : रामेश र रायन



A song presented by people's singers Ramesh and Rayan
in the trilateral seminar organized by Nepal Alternative
Research Society, Kathmandu Nepal on the occasion
of October Revolution Centenary, 2017.

Sunday, November 12, 2017

एक जुगका गायक रामेश - डम्बरकृष्ण श्रेष्ठ




तिमी देऊ तिम्रा हातहरू, म दिन्छु मेरा हातहरू
आऊ मिलाऊ हाम्रा हातहरू...

राजधानीमा १६-१९ कात्तिकमा सम्पन्न दक्षिण एसियाको प्रतिष्ठित फिल्म फेस्टभिल ‘फिल्म साउथ एसिया (एफएसए) २०१७' को मञ्चमा रामेशले भ्रातृत्व, न्याय र समानताको यो गीत गाउँदा नयाँ पुस्ताका धेरै दर्शक ‘सरप्राइज' भएको हुनुपर्छ । किनभने २०६२/२०६३ पछिको नयाँ पुस्ताका धेरै रामेश र उनका सिर्जनाहरू परिचित छैनन् । किनकि ती नेपाली रेडियो/एफएम/टेलिभिजनहरू र अन्य मिडियामा त्यति सुनिँदैनन्, देखिँदैनन् । एउटा फरक मञ्चमा रामेशलाई यसरी उभ्याएको थियो उनकै जीवन समेटिएको फिल्म ‘डढेलोभित्रका सतिसाल'ले । र, ‘एफएसए'को यो मञ्चले ब्यूँताएको छ रामेशको जीवन र कुनै बेला राल्फा समूह र तिनका सिर्जनाले नेपाली समाजमा ल्याएको हलचलको कथा ।

Image may contain: 1 person, smiling

२०१८ सालमा रेडियो नेपालको राष्ट्रिय लोकगीत प्रतियोगितामा भाग लिन रायनसँग पहिलोपटक ओखलढुंगाबाट काठमाडौँ आएका थिए रामेश । यो जोडीले गाएका लोकगीतले पारिजातसमेत ‘फ्यान' बनिन् । त्यसपछि बन्यो राल्फा समूह, जसमा मञ्जुल पनि मिसिए । र, गुञ्जिन थाल्यो निरंकुश पञ्चायतविरुद्ध जनता जगाउने गीतहरू— गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ, एक जुगमा एक दिन, एक चोटि आउँछ', आऊ मिलाऊ हाम्रा हातहरू, संघर्ष हो जीवन, देश जनताको नाम हो, रोक्ने को हो दूरदर्शी विचारका धारा, सुनको बिहान, गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन, कोही त भने जहाजमा हरर... आदि ।

यी गीतहरू २०४६ को जनआन्दोलनमा मात्र होइन, राजा फाल्ने २०६२/६३ को अर्को आन्दोलनमा पनि जनता उचाल्ने औजार बने । ऊर्जा बने । कालजयी बने । प्रमाण, अहिले पनि परिवर्तनका हरेक अभियानमा यी गीतहरू गुञ्जिन्छन् । तर, यति भन्दैमा सन्तोष मान्नुपर्ने रहेनछ । २०६२/६३ पछिका नयाँ पुस्ताले उबेलाका राल्फा र रामेशका केही गीत सुनेका त रहेछन् तर यी गीतका सर्जकबारे अधिकांशलाई पत्तै रहेनछ । स्कुलमा ची मुसी ची, लेकका हामी केटाकेटी, आइतबार बिहानजस्ता बालगीत सुनेर हुर्केकालाई पनि ती गीतसंगीत रामेशका सिर्जना हुन् भन्ने थाहै रहेनछ । नेपाली संगीतलाई अर्को आयाम थपेका रामेश, रायन, मञ्जुल, राल्फाजस्ता नामहरू क्रमशः धूमिल बन्दै गएछन् ।

रामेश संघर्ष र निष्ठाको नाम हो । एउटा आन्दोलनको नाम हो रामेश । संगीत, पटकथा र संवाद लेखनमार्फत ‘बलिदान' फिल्मलाई अभिभावकत्व दिने रामेशको जीवनका आरोहअवरोह एउटा सिंगो फिल्मजस्तै छ । तर, पछिल्लो समय समाज र नयाँ पुस्तामाझ रामेश र उनका सहयोद्धाहरू ओझेलमा छन् ।

पञ्चायत फाल्न सक्रिय भए रामेशहरू, पञ्चायत गयो । गणतन्त्र ल्याउन सक्रिय भए रामेश, गणतन्त्र आयो । परिवर्तनका लागि जनगीति यात्राका लागि लामो यात्रा तय गरिसकेका रामेश भने देशको परिस्थितिबाट सन्तुष्ट हुन सकेका छैनन्, अहिलेसम्म ।

रामेशले गाएका गीतहरू गरिब, दीनदुःखी र श्रमजीवी वर्गको पक्षमा छ । विगत ५५ वर्षदेखि निरन्तर गाइरहेका छन् उनी । जनतालाई अँध्यारोबाट मुक्ति दिलाउन जीवन अर्पेका रामेशलाई कसैले एमाले, कसैले माओवादी खेमाको भन्छन् । २०४४ सालतिरै पार्टी राजनीति छाडेका रामेश आफूलाई जनताका सेवक भन्न रुचाउँछन् ।
जनताको मुक्तिका खातिर गाइएका रामेशकै गीतलाई एमाले र माओवादीले समाइरहे, जसलाई उनीहरूले आफ्नो सम्पत्ति बनाए । २०४७ पछि कांगे्रस र एमालेको रवैयाबाट वाक्कदिक्क भएका उनले ‘माओवादीलाई एकपटक हेरौं' भनेर उनीहरूको पक्षमा जनतासँग भोट पनि मागे । अन्ततः उनले माओवादीको पनि रूप र सार दुवै बुझे ।

वर्तमानको यही वास्तविकताको पृष्ठभूमिमा ‘डढेलोभित्रका सतिसाल' वृत्तचित्र निर्माणको सोच पलाएको थियो । भावी पुस्तालाई रामेश, राल्फा र यस्तै उद्देश्य लिई हिँडेका संकल्प र आस्था परिवारको जीवन बुझ्न सहज होस् भनेरै यो वृत्तचित्र बनाइएको हो । अन्ततः हिमायती परिवार, हङकङ र सार्थक जनसंगीत प्रतिष्ठान नेपालको लगानीमा यो सम्भव भयो ।

हरेक जनआन्दोलनमा जनता उचाल्ने औजार र ऊर्जा बनेका कालजयी गीत र तिनका सर्जकहरू बेवास्ता र गुमनाम बन्दै गरेको समाजलाई ऐना देखाउँछ फिल्म ‘डढेलोभित्रका सतिसाल'ले ।
वृत्तचित्रको केन्द्रमा छन् रामेश । ७४ वर्ष टेकेका उनको संघर्षलाई नियालेका सहकर्मी मञ्जुल, रायन, गणेश रसिक, श्याम तमोट, रामकृष्ण दुवाल लगायतले इतिहास कहेका छन् । राल्फाली सांगीतिक आन्दोलनमा प्रत्यक्ष सहभागी मात्र होइन, ती गीतसंगीतसँगको गहिरो प्रभावमा परी राजनीतिमा होमिएका, कलाकार, लेखक, विश्लेषकसमेत वृत्तचित्रमा अटाएका छन् ।

‘नेपाली भनिने गीतहरूले मायापिरती मात्र होइन, देश र जनताको पीरव्यथाका आवाज पनि उठाउनुपर्छ', रामेशको आजसम्मको निष्ठा यसैमा छ । त्यसैले उनका गीतलाई जनताका गीत बनाएको छ र उनलाई जनगायक । परिवर्तनको मुद्दामा राजनीतिक पार्टीभन्दा जनतालाई सधैं शिरमा राख्ने उनको यही अवि श्रान्त र अविचल विचारले नै आजसम्म रामेश निष्ठाका पर्याय बनिरहेका छन् । क्रान्तिका कुरा गरी कहिल्यै नथाक्ने थुप्रै पात्र लोकरिझ्याइको सिकार बन्दै इतिहासका गर्तमा कसरी बदनाम बनेका छन्, हामीले देखिरहेकै छौं । तर, रामेश विचार र व्यवहारमा एउटै मान्छे हुन् । त्यसैले उनी दुर्लभ हुन्, डढेलोबीचका सतिसाल हुन् ।

मस्तिष्कभन्दा बढी हृदयसँग सम्बन्ध राख्ने गीतसंगीतबारे ‘फिक्सन' माध्यमको प्रयोगबाट धेरै कुरा भन्न नसकिने होइन । तर, इतिहासका कुनैकुनै विषय यस्ता हुन्छन्, जसलाई ‘नन् फिक्सन'का रूपमा बताउँदा नै त्यसमाथि न्याय हुन्छ । हामीलाई लाग्छ, ‘डढेलोभित्रका सतिसाल' त्यसैको प्रतिनिधि हो ।

पर्दामा रामेश
२०५४ सालको एक मध्याह्न धरान नगरपालिका भवनअगाडि ‘बलिदान' फिल्मको छायांकनस्थलमा मेरो पहिलो प्रत्यक्ष भेट भएको थियो रामेश दाइसँग । त्यसअघि गीतसंगीत र पत्रपत्रिकामा प्रकाशित हुने लेखहरूबाट परिचित थिएँ । राजधानीबाट प्रकाशित हुने प्रतिपक्ष साप्ताहिकमा उनको आरोह-अवरोह स्तम्भको नियमित पाठकमध्येको एक थिएँ म । ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो...', “‘कोही त भने जहाजमा हरर...' जस्ता जीवन र जगत्को यथार्थ बोकेका उनका संगीत र स्वरहरू अरूभन्दा अलग लाग्थे ।
फिल्मको ‘सुटिङ'को बीचको चिया ‘ब्रेक'को मौका छापेर मैले आफ्नो परिचय दिएँ ।
नमस्कार दाइ, म डम्बरकृष्ण श्रेष्ठ, पत्रकारिता सिक्दैछु । तपाईंका लेख र संगीतको ‘फ्यान' ।

‘प्रतिपक्ष साप्ताहिकमा लेख्ने डम्बरकृष्ण तपाईं पो हो ? ', दुब्लो पातलो फुच्चे केटो देखेर दाइले अचम्म मान्दै सोध्नुभयो, “पत्रिकामा तपाईंको रिपोर्टहरू पढेको छु । रिपोर्ट पढ्दा मेरै उमेरको पो हुनुहोला भन्ने सोचेको थिएँ ।' यति भन्दै दाइले तत्कालै ‘बलिदान'का कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि निर्देशक तुलसी घिमिरेसँग मेरो परिचय गराइदिनुभयो । छोटो समयमै दाइसँग आत्मीयता बढ्यो, सोही भेटमा उनैले हो, मेरो उपनाम ‘अनुशील' जुराइदिनुभएको । त्यसअघि म आफ्नो लेखनमा ‘डम्बरकृष्ण श्रेष्ठ'मा सीमित थिएँ ।
धरानको यो भेटले जुराएको सम्बन्ध अटुट बन्दै गयो । धरानबाट काठमाडौं आउजाउ गर्दाको भेटमा रामेश दाइजहिल्यै देश र जनताकै चिन्ता गरिरहन्थे । जति बेला उनी एउटा खिरखिरे साइकल चढेर राजधानीको सडकमा गुडिरहेका हुन्थे । त्यति बेला उनैका गीत सुनेर कम्युनिस्ट राजनीतिमा लागेर नेता बनेकाहरू ‘पजेरो संस्कृति'मा रमाउन थालिसकेका थिए । २०६२ सालदेखि राजधानीमै रहेर पत्रकारिता गर्दाको समयमा दाइको जीवनलाई अझ नजिकबाट नियाल्न पाएँ ।

लामो संगतबाट मैले बुझेँ, रामेशजस्तो इमानदार, आफ्नो आस्थामा सतिसालझैं अडिग अनि देश र जनताको लागि आफ्नो जीवनलाई एउटै गतिमा हिँडाउने मानिस साह्रै कम छन् हाम्रो देशमा । लामो संगतकै परिणाम हो दाइमाथि यो फिल्म ।

२०६१ सालमा मेरै अनुरोधमा दाइ हङकङको मञ्चमा प्रस्तुत हुन तयार भए । दाइको पहिलो एकल सांगीतिक कार्यक्रम भएदेखि नै हङकङमा रहेका उहाँका ‘फ्यान'हरू उहाँको प्रतिभा र योगदानलाई देशले बिर्संदै गएको कुरा गरिरहन्थे ।

२०७० सालमा हङकङमा भएको उनको दोस्रो एकल सांगीतिक कार्यक्रमपछि सानैदेखि उनको गीत सुन्दै हुर्किएका इन्द्र वनेमले देशमा रामेशहरूको योगदानलाई बिर्सन थालिएकोमा चिन्ता गर्दै केही गर्न सकिन्छ कि भनेर सुझाव मागे । यता मेरो मनमा पनि उनीमाथि केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । रामेशका गीत संगीतहरूको संरक्षण र उनको जनसंगीत यात्रालाई समेट्ने एउटा राम्रो काम गर्ने हो भने हङकङबाट आर्थिक सहयोग जुटाउने वचनबद्धतासमेत वनेमबाट प्राप्त भयो । मैले वृत्तचित्र बनाउन प्रस्ताव गरे । हङकङकै किसन राई, शिव सुब्बा, विष्णा सुब्बासहित हिमायती परिवारले सघाउने भयो । यो संयोजनको जिम्मा पर्‍यो मेरो भागमा । असल मनहरूबाट आएको प्रस्ताव सुनाउँदा रामेश दाइबाट स्वीकृति प्राप्त भइहाल्यो ।

वृत्तचित्रबारे परिकल्पनासहितको खाका थियो मसँग । तर, यसबारे प्राविधिक पक्षको ज्ञान ममा पर्याप्त थिएन । निर्देशक खोज्न थालेँ । र, यसअघि ‘इतिहास जित्नेहरूका लागि', ‘क्षमा देऊ तर नबिर्स'जस्ता वृत्तचित्र बनाएका र हालै ‘द स्पोन्सर' फिल्म निर्देशन गरेका प्रणय लिम्बूलाई झट्टै सम्झेँ मैले । रामेश दाइको बारेमा जानकार प्रणय काम गर्न तयार भइहाले । तर, उनले निर्देशन दुई जनाले संयुक्त रूपमा गर्न प्रस्ताव गरे । त्यसपछि २०७२ को फागुनबाट छायांकन सुरु भयो । वृत्तचित्रको छायांकन बाबुराम नेपाली र सम्पादन सन्तोषी नेपालले गरेका छन् ।

विभिन्न राजनीतिक आन्दोलन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनसंगीतको पाटोको इतिहासलाई नयाँ पुस्तासमक्ष पुर्‍याउने उद्देश्यले तयार गरिएको छ, यो वृत्तचित्र । रामेशको ५५ वर्ष लामो गायनयात्रा तथा जीवनको आरोह-अवरोहसँगै नेपाली सार्थक जनसंगीतका सर्जक तथा जानकारहरूको अनुभवसमेत समेटिएको छ यसमा ।

सतिसालजस्तै जीवन
२०१८ सालमा रेडियो नेपालको राष्ट्रिय लोकगीत प्रतियोगितामा रामेश-रायनको जोडी जमिरहेको थियो, राल्फा समूहमा आएर रामेश-मञ्जुलको जोडी चर्चित भयो । तर, विचार र व्यवहारमा भिन्नता आएपछि रामेश-मञ्जुलको जोडी टुट्यो । पछिल्लो समय रामेश फेरि रायनसँगै देखिएका छन् । हामीले वृत्तचित्रमा रायन र मञ्जुलसँगको रामेशको मित्रता र तिक्ततालाई पनि समेटेका छौं । सुरुमा हामीलाई मञ्जुलले वृत्तचित्रमा आफ्नो अनुभव सुनाउन मान्लान्जस्तो लागेको थिएन । तर, छायांकनका क्रममा अस्वस्थ अवस्थामा पनि उनी उत्साहका साथ सहभागी भए ।

२०७२ को फागुनमा सुरु भए पनि पटकपटक गर्दै यसको छायांकन सक्न ६ महिनाको अन्तरालमा ३२ दिन लाग्यो । वृत्तचित्र भए पनि प्राविधिक रूपमा उन्नत बनाउन हामीले फिचर फिल्म खिच्ने अत्याधुनिक रेड क्यामरा प्रयोग गरेका छौं । रामेश जन्मे हुर्केको, पढेको र जनसंगीत अभियानमा लागेका स्थानहरू पाल्पा, ओखलढुंगा, तेह्रथुम, धरान र काठमाडौंमा छायांकन गरिएको छ ।

यी ठाउँमा हामीले रामेश दाइलाई लिएर जाँदा धेरै अविस्मरणीय अनुभवहरू सँगालेका छौं । २०१६ सालमा तेह्रथुमको सिंहवाहिनी स्कुलबाट एसएलसी दिएर २०१८ सालमा ओखलढुंगा फर्केपछि रामेश पहिलोपटक हामीसँग तेह्रथुम पुगे । जनआन्दोलनको समयमा देशलाई जुरुक्क उचाल्ने ‘गाउँगाउँबाट ऊठ...' गीत पहिलोपटक रेकर्ड गरिएको धरान चतरालाइनको पुरानो काठ मिलमा गीतका सर्जक श्याम तमोट र पुराना सहकर्मी बम देवानसँग पुग्दा उनी निकै भावुक बने । पाल्पाको जन्मघर र ओखलढुंगाको पुख्र्यौली घरसम्म पुगेर हामीले रामेश दाइको जीवनलाई नजिकबाट नियाल्ने प्रयत्न गरेका छौं ।

राल्फाकालमा जमघट हुने साहित्यकार पारिजात डेरा बसेको पुतलीसडक नजिकैको घर, रामेशहरूले खाली पेट कैयौं रात काटेका टेबहालको घर, उनले शिक्षकका रूपमा काम गरेको नक्सालको बालमन्दिर, डल्लुको स्वर्णिम स्कुल साथै काम गरेको गोश्वारा हुलाक, रेडियो नेपालका दृश्यहरू छायांकन गर्दा फरकफरक अनुभव सँगाल्यौ । उनको जीवनसँग जोडिएका व्यक्तित्वहरूको अन्तर्वार्ताहरू सर्वनाम थिएटरको हलभित्र स्टुडियो बनाएर खिचेका थियौं । २००१ देखि २०७३ सालसम्मको सामाजिक र राजनीतिक कालखण्डलाई छुट्याउन व्यक्तिहरूको पृष्ठभूमिमा फरकफरक रंग संयोजन गरिएको छ ।

रामेश देश र जनताको कुरामा कसैसँग सम्झौता गर्न चाहँदैनन् । यो उमेरसम्म आइपुग्दा अब कसैसँग सम्झौता गर्नु पनि छैन उनलाई । आफ्नो निष्ठा र आदर्शप्रति सतिसालझैं अडिग उनी अहिले नयाँ पुस्ताप्रति आशावादी देखिन्छन् । त्यसैले उनी नयाँ पुस्तालाई देश र जनताप्रति इमानदार बनाउन त्यस्तै सार्थक गीतहरू सिर्जनामा तल्लीन छन् । आज पनि डल्लुको स्वर्णिम हाइस्कुलको एउटा कुनामा बाल र सार्थक गीतहरूको लय खोजिरहेको अवस्थामा उनलाई भेट्न सकिन्छ । देशको हरेक राजनीतिक परिवर्तनको आवाज बोक्ने सार्थक गीतहरू राज्य र तिनका निकायहरूबाटै बेवास्ताको सिकार बनेपछि रामेश, रायन र श्याम तमोटहरू अहिले सार्थक जनसंगीत प्रतिष्ठान नेपाल स्थापना गरेर आफैं गीत संकलन र संरक्षणमा जुटेका छन् । उनीहरूलाई साथ दिइरहेका छन् सौरभ श्रेष्ठ, उदय श्रेष्ठ, हिमायती परिवारका सदस्यहरू ।

राजधानीमा हालै सम्पन्न फिल्म साउथ एसियामा भएको ‘वल्र्ड प्रिमियर'पछि रामेशको यो कथा नेपालका प्रमुख सहर र अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा समेत प्रदर्शन गर्ने योजना छ । च्यारिटी सो र प्रदर्शनीबाट संकलित रकम सार्थक जनसंगीत प्रतिष्ठानको कोषमा जम्मा गरी यस्तै सार्थक संगीतको संरक्षण र प्रवद्र्धनमा लगानी गरिनेछ ।

(हङकङमा बस्दै आएका श्रेष्ठ ‘डढेलोभित्रका सतिसाल'का निर्देशक हुन् ।)

annapurnapost.com बाट साभार