Saturday, February 1, 2020

जनसांस्कृतिक महासंघ नेपालको सपथ ग्रहण कार्यक्रम

जनसांस्कृतिक महासंघ नेपालको सपथ ग्रहण समारोह 
२०७६ साल माघ १२ गते,  प्रज्ञा भवन, कमलादी ।  


Wednesday, December 26, 2018

प्रज्ञा प्रतिष्ठानको नियुक्तिलाई लिएर व्यापक विरोध, कांग्रेसनिकट प्राज्ञले बिदाई समारोह बहिष्कार गर्ने


काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिलाई लिएर असन्तुष्ट नेपाली कांग्रेसनिकट प्राज्ञले पूर्वप्राज्ञको बिदाई समारोह बहिष्कार गर्ने भएका छन् । प्रज्ञा प्रतिष्ठानले आज पूर्वप्राज्ञको बिदाई समारोह गर्देछ । प्रतिष्ठानमा विगतको सहमति र परम्परालाई तोडेर सरकारले एकलौटी गरेको भन्दै कांग्रेसनिकट नेपाल सांस्कृतिक संघ र नेपाली लेखक संघले प्रतिष्ठानका सबै कार्यक्रम बहिष्कार गर्ने तथा आफूनिकटका प्राज्ञसभामा राखिएका सदस्यलाई राजीनामा दिन लगाउने तयारी गरिरहेको छ । 

 नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा, नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ, प्राडा हेमांगराज अधिकारी, प्राडा ज्ञानु पाण्डे, प्रतिष्ठानका पूर्वउपकुलपति डा विष्णुविभु घिमिरेसहित साहित्य, संगीत, नाटक, ललितकला, चलचित्र लगायत क्षेत्रका स्रष्टाको बैठकले प्रतिष्ठानमा प्राज्ञसभामा परेका संघ आबद्ध स्रष्टालाई राजीनामा दिन लगाउने निर्णय समेत गरेको छ ।  

यसबारे संघका अध्यक्ष थापा भन्छन्, ‘लोकतान्त्रिक विचार राख्ने स्रष्टालाई वर्तमान नेकपाको सरकारले निषेध गरेको छ । यसलाई हामीले सरासर सांस्कृतिक हस्तक्षेपको रुपमा लिएका छौं ।’ प्रतिष्ठानमा कांग्रेसनिकट स्रष्टालाई पनि नियुक्ति दिएको सरकार पक्षका प्राज्ञको भनाई छ नि भन्ने प्रश्नमा थापाले भने, ‘वहाँहरु नेकपा प्रवेश गरेर जानु भा’ होला । आधिकारिक रुपमा सिफारिस गरिएका स्रष्टालाई नियुक्ति गरिएको छैन । डेमोक्र्याटिक मुल्य र मान्यता राख्ने भए वहाँहरुले राजीनमा दिनुहुनेछ ।’  

बहिष्कार गर्ने निर्णय गर्नुभएछ नि भन्ने प्रश्नमा थापाले काम हेर्ने र त्यसका आधारमा निर्णय गर्ने बताए । उनले भने, ‘हामीले पद चाहिन्छ भनेर भनेका होइनौं । सबै पक्ष, वर्ग, समुदायलाई मिलाएर लगेमा सांस्कृतिक क्षेत्रको विकासमा सहज हुन्छ भन्ने हाम्रो भनाई हो ।’ उनले सांस्कृतिक क्षेत्रलाई सबै राजनीतिक दलले सधैं उपेक्षा गरेको बताउँदै उनले भने, ‘सांस्कृतिक क्षेत्रको पहिचान, सम्मान र अवसरका लागि हामी सबै मिलेर काम गर्नुपर्दछ ।’ 

नेपाल सांस्कृतिक संघले उपकुलपतिमा डा विष्णुविभु घिमिरे, प्राज्ञपरिषद्मा श्रवण मुकारुङ र महेश प्रसाईंको नाम सिफारिस गरेको संघ निकट स्रोतले बतायो । विगतका सबै पक्ष र विचारका स्रष्टालाई समेटेर प्रतिष्ठानमा प्राज्ञ पठाउने परम्परालाई यसपाली तोडिएको नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङले समाचारदैनिकलाई बताए । उनले भने, ‘सरकारले यसपाली लोकतान्त्रिक विचार राख्ने स्रष्टालाई निषेध नै गर्यो ।’ उनका अनुसार पटक पटक सबै पक्षलाई मिलाएर प्रतिष्ठान गठन गर्न स्मरण गराइएको थियो । नेपाली लेखक संघले प्रतिष्ठान नै बहिष्कार गर्ने विषयमा छलफल गरिरहेको मुकारुङले बताए । 

प्राज्ञसभामा नियुक्ति भएका प्राज्ञसभा सदस्य धुव्र मधिकर्मीले भने नेपाली लेखक संघले यस विषयमा आधिकारिक केही नभनेको बताए । उनले भने, ‘संस्थाको आधिकारिक धारणा के हो ? त्यो हामीलाई भनिएको छैन ।’  सांस्कृतिक संघका अध्यक्ष थापाका अनुसार पार्टीगत, संस्थागत तथा व्यक्तिगत ढंगले सबै पक्षलाई सबै प्रतिष्ठानमा मिलाएर लैजान भनिए पनि सरकारले त्यसको उपेक्षा गर्यो ।  

कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेकपासम्बद्ध सरकार तथा नेतासँग यस विषयमा छलफल गरेको सांस्कृतिक संघले जनाएको छ ।  

तीनवटै प्रतिष्ठानमा भइरहेको नियुक्तिका विषयमा केन्द्रित रही पूर्वएमाले सम्बद्ध जनसांस्कृतिक महासंघका अध्यक्ष  खगेन्द्र राई फेसबुकमा लेख्छन्, ‘आज एउटा चिन्ता प्रखर भएर मस्तिष्क घुमाइरहेछ । कतै करिब ७ दशक लामो अविरल जनसांस्कृतिक आन्दोलन, परिवर्तनप्रतिको अटल प्रयास, शहीदको बलिदानप्रतिको प्रतिवद्धता, सङ्गठनप्रतिको निष्ठा र नेतृत्वप्रतिको विश्वास हार्ने त होइन त्यो मोर्चामा ?’ 

उनको स्टाटसप्रति प्रतिक्रिया दिँदै पूर्वएमाले सम्बद्ध जनसांस्कृतिक महासंघका महासचिव प्रेमनाथ अधिकारी लेख्छन्, ‘चिन्ता नगरौँ कमरेड संगठनको शक्ति कमजोड कहिल्यै हुँदैन । हाल हाम्रो संगठन एकता प्रक्रियामा पार्टीमा थन्किएको मौका छोपेर जिम्मेवार निकायका सिफारिसहरु कागजका खोस्टा बनेको कुरा सत्य हो । जाडो हरेक वर्ष आइहाल्छ नि, एउटा मागमा मात्र आउने भा पो ।’  

पूर्वनेकपा (माओवादी केन्द्र) सम्बद्ध जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्रीले सरकारको यो कदमको कडा आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोख्दै लेखेका छन्, ‘प्रगतिशील वैचारिक र सांस्कृतिक मुल्य मान्यताको निम्ति पार्टीभित्र सांस्कृतिक संगठनको वैधानिकता दिएर प्रगतिशील धाराको आफूलाई ठेकेदारझैं भाषण दिनपछि नपर्ने तर प्रगतिशील संस्कृतिको संरक्षण र विकास गर्नुपर्ने निकाय र प्रतिष्ठानहरुमा चाहीं महेन्द्र राजाको उत्तराधिकारी झैँ कि त उनैका चिन्तन र विचारले पोषित कथित विज्ञ र कलाकारहरु खोज्ने, कि कलुषित आफ्नै मानसिकतासँग मात्रै मेल खाने गुटका पदाधिकारी रोजेर नियुक्ति दिने इस !! तिमि कम्युनिष्ट सरकार !!! हेरौंला...’ 

नेकपाका स्थायी समिति सदस्य मणि थापाले प्रतिष्ठानमा सरकारले गरेको नियुक्तिप्रति विरोध जनाएका छन् । उनले भने, ‘सरकारले गरेको प्रज्ञा प्रतिष्ठानको नियुक्ति प्रतिगामी छ, यसलाई सच्याउनु पर्छ ।’ 

यसै सन्दर्भमा भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञपरिषद्मा नियुक्त भएका प्राज्ञ डा हेमनाथ पौडेलले सरकारले सबै पक्षलाई मिलाएर नियुक्ति गरेको दाबी गरे । उनले समाचारदैनिकसँग कुरा गर्दै संस्कृतिमन्त्रीले पार्टी अध्यक्ष प्रचण्डलाई नाम देखाएर मात्रै सबै प्राज्ञको नाम घोषणा गरेको जिकिर गरे । उनले थपे, ‘दुवै अध्यक्षलाई नाम देखाएर मात्रै प्रतिष्ठानमा प्राज्ञ नियुक्ति गरिएको हो ।’   

सरकार पक्षीय सांस्कृतिक घटकले पनि सरकारले गरेको नियुक्तिका विषयमा आपत्ति जनाएका छन् । नेकपाभित्र प्राज्ञहरुको ठूलो जमात भएपनि सरकारले प्रज्ञा प्रतिष्ठानमा मण्डलेकरण गरेका भन्दै आक्रोश बढेको छ ।  

नेपाल प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २१ गते कुलपतिमा गंगाप्रसाद उप्रेती र सदस्यसचिवमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका थिए । त्यसको साढे तीन महिनापछि मात्रै प्रतिष्ठानले पूर्णता दिइए पनि प्रधानमन्त्रीको यो कदम कानुनविपरीत रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार ३५ सदस्यीय प्राज्ञसभा हुन्छ । 

कुलपति, उपकुलपति तथा सदस्यसचिवसहित ११ सदस्यीय कार्यकारी निकायको रुपमा प्राज्ञपरिषद् रहन्छ । यसको गठनप्रक्रिया पनि ऐनविपरीत रहेको छ । ऐन अनुसार ३५ सदस्यीय प्राज्ञसभाको गठन गरेर तिनै सभा सदस्यबाट पदाधिकारी छनोट गरिनुपर्ने ऐनको दफा ८ को उपदफा ३ को (१) मा उल्लेख छ । प्राज्ञपरिषद् सदस्य र कुलपति, उपकुलपति र सदस्यसचिव छनोट गरिनुपर्ने कानुनी प्रावधान छ । तर, सरकारले पहिले कुलपति र सदस्यसचिव मात्रै नियुक्त गरेर कानुनको खिल्ली उडाएको छ । 

प्रधानमन्त्रीको इसारामा संस्कृतिमन्त्रीको लै–लै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा दुईजना विज्ञ व्यक्ति रहेको तीन सदस्य रहेको प्राज्ञ छनोट सिफारिस समिति रहने ऐनमा उल्लेख छ । तर, सरकारले उप्रेती र उपाध्यायलाई प्राज्ञसभाको गठन अगावै नियुक्त गरेर कानुनविपरीत काम गरेको देखिन्छ ।    

मंगलबार १० पौष, २०७५ १२:३२:०० मा प्रकाशित

-----------------------------------------------------------------------




Tuesday, March 20, 2018

२०औँ सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न ।

सांस्कृतिक आन्दोलनले समाजवाद, समृद्धि र स्थायित्वलाई जिवन्त बनाउन सकेन भने विचलन आउछ : अध्यक्ष प्रचण्ड

आजकोकुराः चैत ५ २०७४ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांस्कृतिक आन्दोलनले समाजवाद, समृद्धि र स्थायित्वलाई जिवन्त बनाउन सकिएन भने विचलनहरु आउन सक्ने बताएका छन् । आज माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघले २०औँ सांस्कृतिक प्रतिरोध दिवश तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले सो बताएका हुन् ।

कार्यक्रममा बेपत्ता योद्धाहरुप्रति सम्मान र राजनीतिक र सांस्कृतिक रुपान्तरणमा योगदान गर्ने सांस्कृतिक शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले आपूmलाई जनयुद्धको तयारी गर्ने, जनयुद्धलाई एउटा स्तरमा पुर्याउने, शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान कार्यान्वयको नेतृत्व गर्ने गौरब प्राप्त भएको जनाए । उनले अब समाजवादी आन्दोलनको तयारी गर्ने, त्यसको दार्शनिक, सैद्धान्तिक, राजनीतिक, सांस्कृतिक पक्षको एउटा नयाँ वैचारिक सश्लेषण गर्ने अभियानमा संलग्न रहने र त्यसमा समर्पित गर्ने संकल्प गर्ने रहेको बताएका थिए । उनले सांस्कृतिक क्रान्ति र आन्दोलन निरन्तर अगाडि बढाउने बारेमा उठाइएका प्रश्न विचारणीय रहेको तर कम्युनिष्ट आन्दोलन विश्वव्यापी वर्ग संघर्षका उतारचढाव सँगै आफ्ना रणनीतिमा केहि उतारचढाव गरेपनि उद्देश्य भने विचलित नहुने जनाएका छन् ।

सो अवसरमा माओवादी केन्द्र कार्यालय सदस्य मणि थापाले जनवादी कलाकारकै योगदानले हामीले गणतन्त्र राज्यको उपयोग गरिराखेको बताएका छन् । उनले अध्यक्ष प्रण्चड भावुक हुनुहुन्छ र देशमा गरिब, असमानता हावी रहकोले राजनीतिक व्यक्तिहरु भावुक हुनुपर्ने भन्दै साहित्यकार, कलाकार शहिदहरुको घाउहरु अझै पनि निको नभएको बताए । साथै, राज्यले लेखक, साहित्यकार, कलाकारको संरक्षण गर्नुपर्ने र भ्रष्टाचार निर्मूल गर्न लेखक, कलाकारको ठूलो महत्व रहेकाले उनीहरुको सम्मान र राम्रो वातावरण सरकारले गरिदिने पर्ने बताएका छन् ।
कार्यक्रममा जनसांस्कृतिक महासंघ अध्यक्ष सरल सहयात्रीले भने, ‘आज देश दुई तिहाइ बहुमतसहित बाम गठबन्धनको कब्जामा छ, जनताले आशा राखेका छन् कि देश समाजवादमा जाने तरखरमा छ तर समाजमा विद्यमान विकृति र अध्यात्मवादले सिर्जना गरेको भ्रमपूर्ण संस्कृतीको शिकार देशका कम्युनिष्ट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदलगायतका नेता कार्यकर्ता परेका छन् ।’ उनले कैलालीको घोडाघोडी नगरपालिकामा एक किशोरीले बोक्सीको आरोपमा छ घण्टासम्म यातना पाइन र त्यसको मतियारको रुपमा कम्युनिष्ट पार्टीका मेयर देखा बताए ।

सो अवसरमा गायक, कवि, साहित्यक रामकृष्ण भण्डारी, सीता आचार्य, जाइका राई, अशोक शिवाकोटी, हेम चौलागाई, केदार, थापा रामकाजी पौडेल, बुद्धराज बस्नेत, नरबहादुर नेपाल, सागर घिमिरे, मणि थापा, सत्य पहाडी, आलोक तिवारी सुभास गजुरेल(चलचित्रकर्मी) लगायतलाई कदरपत्र तथा सम्मान गरिएको थियो । कार्यक्रममा बम बानियाँले कविता वाचन गरेका थिए भने अन्य कलाकारहरुले गीत तथा नृत्य गरेका थिए ।

Monday, January 22, 2018

‘वर्तमान राजनैतिक परिस्थिति तथा एमालेसँगको पार्टी एकता’ विषयक अन्तरक्रियामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको सम्बोधन


जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा (६ माघ, २ ०७४) भएको
‘वर्तमान राजनैतिक परिस्थिति तथा एमालेसँगको पार्टी एकता’ विषयक 
अन्तरक्रियामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सम्बोधनको 
पूर्ण पाठ ।




अन्तरक्रियामा माओवादी केन्द्रसम्बद्ध सांस्कृतिककर्मीलाई नेकपा (माओवादी केन्द्र)का
अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको अंश l

=================================


अन्तरक्रियामा बिष्णु भण्डारीले उठाएका जिज्ञाशा । 

========================================

माओवादी केन्द्रबाट अलग भएको घोषणा

बिष्णु भण्डारी

जति गरियो मन लागेर गरियो । इमान्दारिताका साथ गरियो । पार्टी र लेखक सङ्घमा रहेर निकै कुरा सिक्ने अबसर मिल्यो । निकै नजिकबाट आन्दोलनलाई बुझ्ने र पढ्ने मौका पाइयो । कुरा सिद्धान्तको हो । सपनाको हो । मलाई माओवादीले उठाएका मुद्धा र विषयले आकर्षित गरेका थिए । विषय र वस्तुलाई हेर्ने आ–आफ्नै दृष्टिकोण हुन्छन् । माओवादी केन्द्रले समाज रूपान्तरणमा अहिलेसम्म जेजति भूमिका निभायो त्यसप्रति कसैले पनि असहमति जनाउनु पर्ने देख्दिन । अब भने उसले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सक्दैन भन्ने लागेको छ । म गलत पनि हुन सकूँला । केही साथीलाई मैले लिएको निर्णय गलत लाग्न सक्ला । कसैलाई ठिक । जसलाई जस्तो लागे पनि अबका दिनमा माओवादी केन्द्रमा बसेर सँगै हिँड्न नसकिने निस्कर्षमा पुगेको छु । पार्टीबाट अलग हुँदा कसैलाई गालीगलौज गर्नुपर्ने पनि छैन । हिँजोसम्म हिरा आज किरा भन्नुपर्ने पनि छैन । यो बीचमा मलाई सहयोग गर्ने, सँगै मिलेर काम गर्ने साथीहरूलाई धन्यवाद दिँदै माओवादी केन्द्रको केन्द्रीय सदस्य, जनसांस्कृतिक महासङ्घको उपाध्यक्ष र अखिल नेपाल लेखक सङ्घको अध्यक्षको जिम्मेबारीबाट अलग्गिएको घोषणा गरेको गर्दछु ।

Sunday, December 17, 2017

सौन्दर्यको वर्गीय आयाम - -जीवन शर्मा


प्राकृतिक र साँस्कृतिक गरी सौन्दयको मुख्य रुपमा दुईवटा आयाम हुन्छन् । प्राकृतिक सौन्दर्यको समग्र व्याख्या गर्न यो सानो लेखमा सम्भव छैन । त्यो सुक्ष्मातिसुक्ष्म एवं पृथुलातिपृथुल हुन्छ । यसको अध्ययनको क्षेत्र क्वाण्टमदेखि लिएर समस्त ब्रह्माण्डसम्म फैलिएको हुन्छ ।
त्यसको वर्गीय पाटालाई केस्रा केस्रा केलाएर व्याख्या गर्नु सामान्य प्रयत्नबाट सम्भव छैन । त्यो भौतिक शास्त्र र भौतिकवादका विज्ञहरुको संयुक्त प्रयत्नबाट सम्भव हुने कुरा हो । साधारणतया त्यसको सामान्य चर्चा मात्र सम्भव छ । तर यस लेखमा त्यतापट्टि नलागेर मानवनिर्मित सौन्दर्य वा साँस्कृतिक सौन्दर्यको बारेमा मात्र चर्चा हुनेछ ।
मानव निर्मित कलामा अन्तर्निहित सौन्दर्यका पनि दुई पाटा छन् : भौतिक सौन्दर्य र अभौतिक सौन्दर्य (भावानात्मक या आत्मिक) सौन्दर्य । भौतिक सौन्दर्य वास्तुकला, मूर्तिकला आदि मूर्त कलाद्धारा व्यक्त हुन्छ । त्यो इन्द्रियगम्य हुन्छ । अभौतिक सौन्दर्य, जुन, चित्रकला, साहित्य तथा सङ्गीतको माध्यमबाट अभिब्यक्त हुन्छ, त्यो संस्कृति, विचार सिद्धान्त र दर्शनका आधारमा अध्ययन र मननयोग्य हुन्छ र सुक्ष्मरुपेण मात्र बोधगम्य हुन्छ । त्यो मानिसको हृदय र भावनासंग सम्बन्धित हुन्छ ।
भौतिक सौन्दर्य सामान्य पदार्थको जोडघटाउबाट पैदा हुने सङ्गतिबाट उत्पन्न हुने बिषय हो । त्यो कर्णप्रियता, चक्षुप्रियता, नाकप्रियता आदिबाट सहजै ब्यक्त हुन सक्छ । यसरी पञ्चेन्द्रियबाट अनुभूत हुने कलामा अन्तर्निहित सौन्दर्य भौतिक सौन्दर्य हो । यो छिपछिपे ज्ञानको अवस्थाबाटै सहजै ग्रहण गर्न सकिन्छ । आँखा, नाक, कान, छाला र जिब्रोको अनुभूतिबाट उत्पन्न हुने ‘आहा’ भाव भौतिक सौन्दर्य हो । त्यो कतै पेरिसको इफेल टावरबाट अभिब्यक्त भएको हुन्छ भने कतै बेबिलोनियाको झुलना बगैचामा ब्यक्त भएको हुन्छ ।
तर अनुभूतिबाट अथवा इन्ट्युसनबाट उत्पन्न हुने कलामा अन्तर्निहित सौन्दर्य लुसुन, गोर्की, चेर्निसेभ्सकी जस्ता महान साहित्यकारहरु र माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ जस्ता महान विचारक र दार्शनिकहरुका कृतिहरुको अध्ययनबाट अनुभूत हुन्छ । यसलाई ग्रहण गर्नका लागि चेतना र बोधगम्यताको स्तर माथि उठेको हुनुपर्छ । यस्तो भावानात्मक सौन्दर्य दर्शन, सिद्धान्त, विचार र सोचाइका छिपेको हुन्छ । त्यो प्रायः चित्रकला, सङगीत, र साहित्यको माध्यमद्धारा ब्यक्त हुन्छ । अपेक्षित रुपमा त्यो वास्तुकलाभन्दा अमूर्त हुने हुनाले यसलाई निर्माण गर्न र अनुभूत गर्न पनि मानिस ज्ञानको इन्द्रियग्राह्य आवस्थाबाट माथि उठ्नु जरुरी हुन्छ ।
चेर्निसेभ्स्की, गोर्की, राहुल साँस्कृत्यान जस्ता महान साहित्यकारहरुका रचनामा छिपेको सौन्दर्य पत्ता लगाउन छिपछिपे ज्ञानको स्तरबाट सम्भव छैन । यसका लागी समकालनी साहित्य, संस्कृति र सभ्यताको समग्र अवस्थाको पूर्व जानकारी हुनु जरुरी हुन्छ । यथायै जगतको अध्ययनबाट ज्ञानको स्तरियताका आधारमा ती कलात्मक सामग्रहरुको अध्ययन गर्न सके मात्र यसबाट आन्दको त्यही स्तरको अनुभूति प्राप्त हुन सक्छ ।
मानव समाजमा वगैका उदय भएदेखि यता सौन्दर्यका दुई वटा मुख्य पाटाहरु देखा परे : शोषक वर्गीय माटो र शोषित बर्गीय पाटो । दुवै पाटामा अवस्थित साँस्कृतिक सिपाहीहरुको अवस्था हेर्ने हो भने घोषित वा अघोषित रुपमा एउटा पाटोबाट अर्को पाटोतिर तीर फर्काइरहेको पाइन्छ ।
यस्ता सौन्दर्यकमीहरु क्तिपय सचेत किसिमले र कतिपयले अचेत किसिमले संस्कारगत रुपमा कुनै न कुनै वर्गको सेवामा लागिरहेका हुन्छन् । वर्गको उदय भएपछि आजसम्मको मानव इतिहासमा शोषक वर्गले पैसा र सत्ताको बलमा आफ्नो पक्षमा साहित्य, कला र संस्कृतिको निर्माण गर्दै आएको छ । दास युगमा दास मालिकहरुलाई उचालेर उनीहरुको प्रशस्तीमा कला, साहित्यको निर्माण गरिन्थ्यो ।
त्यसै गरी सामन्ती कालमा राजा–महाराजा र सम्राटहरुको सेवामा व्यापक रुपमा कला साहित्यहरुको निर्माण र विकास गरियो । अहिले पुँजीपति वर्गको सेवामा छाडा, अश्लील र विकृत प्रकारका साहित्यको निर्माण र विकासमा विश्वभरिका शोषकहरु लागिपरेका छन् । उनीहरुले त्यस्तै साहित्य र कलालाई व्यापक रुपमा सहयोग र प्रोत्साहन गरिरहेका छन, जसले उनीहरुको सेवा गरिरहेको हुन्छ । आफ्नो सेवामा निर्माण भएका कला, साहित्य र संस्कृतिलाई प्रचार प्रसार गर्न र विकसित गर्न उनीहरुले शोषणबाट प्राप्त आफ्नो धनराशीको ठूलो हिस्सा छुट्याएको हुन्छन् ।
शोषणको त्यो हिस्साबाटा पालित, पोषित कलाकार साहित्यकारहरुले आफूलाई पाल्ने पुँजीपतिका विरुद्ध सौन्दर्य सृजना गर्नु सम्भव हुदैन । शोषणका हिस्सा आफूसम्म पनि आएको हुँदा त्यसको बदलामा उनीहरुले शोषणमूलक सामाजिक व्यवस्थाको पक्षमा कला साहित्यको रास थुपार्छन् । त्यसबाट जनताको मन–मनमस्तिष्कमा शोषकको पक्षमा निर्माण गरिएको उत्पीडनमूलक संस्कृतिको आधार मजबुत पार्न अरु बल प्राप्त हुन्छ । त्यही साँस्कृतिक धरातलमा उभिएर शोषक वर्गले बर्षौबर्ष जनतामाथि शासन गरिरहेको हुन्छन् ।
अर्कातर्फ, शोािषत–पीडित जनताले पनि आफ्नो संस्कृतिको निर्माण जनताले पनि आफ्नो संस्कृतिको निर्माण र विकासका लागी अनवरत प्रयास गरिरहेका छन् । माक्र्सवादको उदय भएदेखि यता साहित्य कला र संस्कृतिको क्षेत्रमा शोषित–पीडित जनताको पक्षमा व्यवस्थित प्रकारले काम सुरु भयो । माक्र्सवादी सौन्दर्य शास्त्रको व्यापक रुपमा विकास र विस्तार भयो । त्यसले सर्वहारा वर्गको साहित्य, कला र संस्कृतिलाई व्यवस्थित र उँचो पार्दै लाग्यो ।
मजदुर आन्दोलनको विकाससंगै विश्व सर्वहारा वर्गको साहित्यले पनि थप उर्जा प्राप्त गर्दै गयो । त्यो उर्जाबाट अनगिन्ती साहित्य र कलाकृतिहरु निर्माण भए । ति कृतिहरु र साँस्कृतिक सामग्रीहरुबाट फेरि मजदुर आन्दोलनले गति पायो । फलतः मजदुर आन्दोलनले ठूला ठूला सफलताहरु प्राप्त गर्दै गयो । रुस र चीनमा ठूला ठूला क्रान्ति सम्पन्न भए । विश्वका एकतिहाई देशहरु पुँजीवादी र साम्राज्यवादी शोषणको जुवाबाट मुक्त भए । यसले सर्वहारा वर्गीय साहित्य र संस्कृतिको निर्माण, विकास र विस्तारमा अभूतपूर्व रुपमा विश्वव्यापी सफलता प्राप्त भयो । रुसी क्रान्तिपछि सस्तो र सुलभ तरिकाले संसारभरिका सर्वहारा, मजदुर र आम जनताले आफ्नो साहित्य प्राप्त गर्न थाले ।
यही विश्व परिस्थितिमा नेपालमा पनि राणा शासनविरोधी आन्दोलनका क्रममा शोषक बर्गका विरुद्ध शोषित–पीडित वर्गका पक्षमा साहित्य, कला र संस्कृतिको निर्माण हुन थाल्यो । राणा शासनको अन्त्यपछि यसले झन् व्यापक रुप लिँदै गयो । सर्वहारा वर्गीय सौँन्दर्य अन्तरनिहित साहित्य र कलाका विविध सामग्रीहरु नेपाली आकाशमुनि पनि व्यापक मात्रामा देखा परे । यो क्रम निरन्तर अगाडी बढ्दै गयो ।
२०३६ साल, २०४६ साल र २०६२ सालका जनआन्दोलनहरुले नेपालमा जनसाँस्कृतिक कृतिहरु निर्माण गर्न अधिकतम सामग्रीहरु प्रदान गरे । ती कृतिहरुले जनआन्दोलनलाई सोही अनुरुप उर्जा प्रदान गरिरहे । हालसम्म आइपुग्दा नेपालमा सर्वहारा वर्गीय साहित्य र कलाका हजारौं हजार कृतिहरु जनताको हृदयमा गहनतम छाप पारिरहेका छन् । यसैगरी भारत, अमेरिका, जर्मनी, लगायत संसारका प्रायः सवैजसो देशहरुमा कुनै न कुनै रुप र मात्रामा सर्वहारा वर्गीय साहित्य/कलाको निर्माण र विकास भैरहेको छ ।
नेपालमा सर्वहारा वर्गीय सौन्दर्यको निर्माण र विकासको सिलसिलामा रक्तिम साँस्कृतिक अभियान अहिले सवैभन्दा अघि देखा परेको छ । विशेष गरेर गीत, सङ्गीत र नाटकको क्षेत्रमा रक्तिम साँस्कृतिक अभियानले निर्माण गरेका सामग्रीहरुले नेपाली जनतामाझ वर्गचेतनाको स्तरलाई नवीनतम उचाईमा उठाउन ठूलो भूमिका निर्वाह गरेका छन् । पछिल्लो समयमा विज्ञान र प्रविधिलाई पैसाद्धारा हात लिएर पुँजीपति वर्गले संसारभरि र नेपालमा पनि आफ्नो संस्कृतिलाई फैलाउन ठूलो कसरत गरिरहेको छ ।
सर्वहारा वर्गका कलाकारहरुलाई पैसा, पद र प्रतिष्ठाको प्रलोभनमा आफ्नो छाडा संस्कृतितर्फ तान्न र सर्वहारा वर्गीय साँस्कृतिक किल्लालाई कमजोर पार्न अनवरत प्रयास गरिरहेको छ । शोषक वर्गको मनोबैज्ञानिक षडयन्त्रका शिकार भएर बेला बेलामा केही कलाकारहरु पथभ्रष्ट हुने र क्रान्तिको बाटोमा विचलित हुने पनि गर्दछन् । तर वर्गदुश्मनका यस्ता कैयौं प्रकारका हमलाहरुको सामना गर्दै सर्वहारा वर्गीय साँस्कृतिक अभियान विश्वव्यापी रुपमा अगाडी बढिरहेको हुन्छ ।
सर्वहारा वर्गप्रति त्याग, समर्पण, निष्ठा र बलिदानी भावनाबाट उर्जा लिएर सत्य, न्याय र समानताको युगतर्फको यात्रामा यसले आफ्ना गरिमामय पाइलाहरु लम्काइरहेको हुन्छ । सौन्दर्यको यो वर्गीय आयामले दिनप्रतिदिन झन् बढी व्यापकता, उचाई र गहनता लिँदै गइरहेको हुन्छ ।
http://www.janabato.com बाट साभार 

Saturday, December 2, 2017

खुसिराम पाख्रिनको स्मृतिमा श्रद्दाञ्जली सभा सम्पन्न ।

जनसांस्कृतिक महासंघ, नेपालको आयोजनामा यही २०७४ साल मंसिर १६ गते  जनवादी कलाकार खुसिराम पाख्रिनको स्मृतिमा श्रद्दाञ्जली सभाको कार्यक्रम सम्पन्न भएको छ । जनसांस्कृतिक महासंघका उपाध्यक्ष सीता शर्माको सभापतित्वमा सम्पन्न  श्रद्दाञ्जली सभामा महासंघका इन्चार्ज कमरेड आहुतिले  नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा खुसिराम पाख्रिनको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । कार्यक्रमको संचालन महासंघका महासचिव संगीत स्रोताले गर्नुभएको थियो । 




श्रद्दाञ्जली सभामा बोल्दै महासंघका इन्चार्ज कमरेड आहुति । 

-------------------------------------------------------------------

































Wednesday, November 29, 2017

पाख्रिन दाइको सम्झनामा - ऋषिराज बराल

दुस्मनले लखेट्दा


असोज १३, २०६१
अहिले राङ्कोटको जुमाराङ्सी नजिकै बसरे लेख्दैछु । यसपल्ट झन्डै दुस्मनले समाप्त नपारेको । दुस्मन मुसिकोटबाट हिंडेको र चोखावाङसम्म आइपुगेको त थाहा भएको थियो । हामी चुनवाङको बुढागाउँ छोड्ने तयारीमा थियौँ । म, पाख्रिन दाइ-भाउजू, दिपा र उनकी सानी छोरी, आँपेकान्छा (ठाकुर चापागाई“) र रुपेशजी थियौँ । ठाउँ छोड्ने तयारीमै थियौं । दुस्मन हामीलाई घेराबन्दी गर्दैछ भनेर थाहा भएन । पोस्टका साथीहरूलाई निरन्तर निगरानी गर्नु भनेका थियौँ । अहिलेका कमरेडहरू के मान्थे, के गम्भीरताका साथ लिन्थे । ‘ठूला नेताहरू’ त्यहाँ छन् भनेर कसैले खबर पुर्याएको हुनुपर्छ, दुस्मनले हाम्रो उपस्थिति थाहा पाएको हुनुपर्छ । हामी माथि डाँडाको दुस्मनको चलखेल हेरिरहेका थियौँ, माथि नै छ भन्ने विश्वासमा थियौँ । दुस्मन त पाँच-सात मिनेट उता हामीलाई एसएलआर ताकेर हस्याङ्फस्याङ गर्दै आउँदै पो रहेछ । हामी चाहिँ माथि डाँडाको दुस्मनलाई हेरेर योजना बनाइरहेका थियौँ । दुस्मन त पुल नाघेर यता पसिसकेछ । भयो अब ! तलबाट पनि घेरेका छन् कि भन्दै कुद्दै दक्षिण-पश्चिमको उकालोबाट जङ्गलको बाटो लियौं । पाख्रिन दाइ यता र उता सामान मिलाउन थाल्नुभयो । ढिलो भयो । दुस्मनले देख्यो । कुद्यो दुस्मन हामीतिर हेर्दै हामीलाई आक्रमण गर्न । 

दिनको यस्तै ११ बजेको थियो होला । म त कुदेँ । मसित रुपेश र दीपा पनि कुदे । आँपे कामरेड र पाख्रिन दाइ-भाउजूको बिजोक, कुद्न सके पो । । दुस्मनलाई छल्न ओरालो झरेको जस्तो गरी अलि पर गएर उकालो लाग्यौं । तर दुस्मन नजिकै आइपुग्यो । रुट फेर्यौं । पीर पाख्रिन दाइको थियो । हिड्न नसक्ने । धन्न वहाँसित एउटा स्टाफ थियो । दुस्मनले तलबाट पनि छेका लगायो, घेराबन्दी गर्यो । हामी भने माथि ठाडै लाग्यौँ, आँपे र पाख्रिन दाइ हराए । मेरो मूल झोलासहित मसित दस किलोको पुस्तकको अर्को झोला थियो । सबै लेखेका कुराहरू र पुस्तकहरू पनि त्यसमै थिए । उकालो स्वाँस्वाँ भयो । सानी बच्ची बोकेकी दीपालाई छोड्नु भएन । माथि जुमाराङ्सीको टाउकामा पुगेर दीपा र बच्चीलाई एउटा घरमा सुरक्षित गर्यौं , त्यसै घरको सदस्य बनाएर । म र रुपेशजी ठाडै लाग्यौँ र फेरि तेर्सो लागेर अर्को गाउँमा बस्यौँ । त्यो परको गाउँका केही फटाहाहरू भागेर सदरमुकामतिर बस्ता रहेछन् । साँझपख गाउँमा बुझ्यौँ—दुस्मन फर्केर चुनवाङ खोलापारि नै गएछ । पछि ढुङ्गाको ओढारमा लुकेको भनेर गाउँलेबाट थाहा पाएपछि आँपे कमरेडलाई खोजेर ल्यायौँ । पाख्रिन दाइ र भाउजू सोझै उता राङ्कोट काटेर कुरेलीतिर लाग्नु भएको कुरा त्यताबाट आएका एकजना कमरेडबाट थाहा पायौँ । 

(सलाम रोल्पाबाट )

http://janamel.com बाट साभार