Saturday, September 18, 2010

एकताको चौथो राष्ट्रिय सम्मेलनको प्रतिवेदन २०६६

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
एकताको चौथो राष्ट्रिय सम्मेलनमा प्रस्तुत
सांस्कृतिक प्रतिवेदन २०६६

राष्ट्रिय स्वाधीनता र नयाँ जनवादी संस्कृति निर्माणका लागि हाम्रो आन्दोलन
जनताको न्यायपूर्ण विद्रोहको पक्षमा एकताको चौथो राष्ट्रिय सम्मेलन 

यस ऐतिहासिक गौरवमय सम्मेलनमा उपस्थित सम्मानित प्रमुख अतिथिज्यू, आमन्त्रित अतिथिहरू, सम्पूर्ण प्रतिनिधि, पर्यवेक्षक साथीहरू
क्रान्तिकारी अभिवादन !
सर्वप्रथम सर्वहारा वर्गको राज्यसत्ता स्थापना गरी न्यायपूर्ण, समानताको सुन्दर संसार निर्माण गर्न सांस्कृतिक क्षेत्रबाट जीवन बलिदान गर्ने, महान् एवम् अमर उत्सर्गको गाथा कोर्ने, उदात्त र भव्य आदर्शका प्रतिक सांस्कृतिक सहिदहरू– कृष्णसेन इच्छुक, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, शारदा श्रेष्ठ, रोहित कोइराला, पुष्पराज चौधरी, हर्षबहादुर मल्ल, एकबहादुर विक, शिव श्रेष्ठ, डीबी थापा, डीबी लामा, रामवृक्ष यादव, भोगट राय, विदुर भगत, उतिचन राय यादव रामकृष्ण महतोगलायत डुङ्गला र विनायक (अछाम), अनेकोट (काभ्रे), गुम्चाल र भावाङ (रोल्पा), छेंडा र मुडभरा (डोटी), माझफाल (डोल्पा), बासीखोरा (भोजपुर) जस्ता सामूहिक सांस्कृतिक हत्याकाण्डमा उच्च सहादत प्राप्त गर्ने १६० भन्दा बढी अमर सांस्कृतिक सहिद एवम् जनक्रान्तिका वीरयोद्धा र जनआन्दोलनका सहिदहरूमा हार्दिक श्रद्धाञ्जली, रक्तिम अभिवादन साथै बेपत्ता अमर योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछौं ।
विषय प्रवेशः
कमरेडहरु, हाम्रो सङ्गठन सामन्तवाद तथा साम्राज्यवाद विरुद्ध सङ्घर्ष गर्दै नयाँ जनवादी सँस्कृति स्थापना गर्न साँस्कृतिक आन्दोलन हाँक्दै आइरहेको सङगठन हो । महान् जनयुद्धका १३ हजारभन्दा बढी नेपाल आमाका सर्वोत्तम छोराछोरीहरूको बलिदानको रगत, हजारौँ घाइते, अपाङ्ग र हजारौँ बेपत्ता क्रान्तिकारी योद्धाहरूको त्याग, समर्पण, साहस र उत्सर्गको मूलजगमा टेकेर उठेको १९ दिने जनआन्दोलनले २४० वर्षदेखि एकछत्र निरङ्कुश शासन गर्दै आएको तानाशाही राजतन्त्रको औपचारिक अन्त्य गरेपछि स्थापना भएको गणतन्त्रलाई जनताको सङ्घीय गणतन्त्रमा रूपान्तरण गर्दै नयाँ संविधान निर्माणको प्रक्रियामा अघि बढिरहेको वर्तमान राजनीतिक सङ्क्रमणकाल, अग्रगामी गुणात्मक परिवर्तनविरुद्ध देशीय सामन्ती प्रतिक्रियावादी, यथास्थितिवादी दलाल, नोकरशाह पुँजीपति वर्ग एवम् विदेशी साम्राज्यवादी–विस्तारवादी शक्तिहरुबाट भइरहेको संयुक्त प्रतिक्रान्तिकारी षड्यन्त्र, हस्तक्षेप र एकलौटी तन्त्रको वर्तमान सङ्गीन परिवेशमा हाम्रो गौरवशाली सङ्गठनको यो चौथो एकताको सम्मेलन हुन लागिरहेको छ । माक्र्सवादी सौन्दर्य चिन्तन एवम् सर्वहारा सांस्कृतिक क्रान्तिको आदर्श, मूल्य र वैचारिक आलोकमा त्याग, बलिदान, समर्पण, प्रतिरोध र आमूल परिवर्तनको सङ्घर्षशील यात्रालाई कायम गर्दै हाम्रो सङ्गठन यतिखेर जनसांस्कृतिक महासङ्घ र प्रगतिशील सांस्कृतिक सङ्गठनबीच एकता एवम् कैयौँ सांस्कृतिक क्षेत्रका जुझारु साथीहरूको सम्मीलनपछि सांस्कृतिक आन्दोलनको मूलधारका रूपमा विकसित हुन आइपुगेको छ । क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई अझ क) सङ्गठित, सुदृढ, एकताबद्ध र शक्तिशाली बनाउन, ख) योजना, कार्यक्रम, नीति र कार्यदिशालाई परिमार्जित गर्न, ग) ठोस र स्पष्ट गर्दै धारिलो बनाउन तथा घ) तेस्रो सम्मलेनपछि हालसम्म सङ्गठनले गरेका सबै गतिविधिको समीक्षा, विश्लेषण र मूल्याङ्कन गर्दै ऊर्जाशील भई अघि बढ्नु नै यस सम्मेलनको मूल उद्देश्य हो ।
आज पनि हाम्रो समाज सांस्कृतिक दृष्टिले उही अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामै छ । राजनीतिक दृष्टिले रुप परिवर्तन भए पनि सांस्कृतिक दृष्टिले सार (तात्विक) परिवर्तन हुन अझै सकेको छैन । हजारौँ सहिदको बलिदानले खोजेको लक्ष्य र उद्देश्य पनि अझै पूरा भएको छैन । छोंटोमा भन्दा नयाँ जनवादी क्रान्तिको लक्ष्य पूरा भइसकेको छैन । यस स्थितिमा दीर्घकालीन लक्ष्यमा अटल रहँदै, अबको प्रगतिवादी सांस्कृतिक आन्दोलनको प्रहारको निसाना कुन हो ? सङ्घर्षको स्वरूप कस्तो हुनु पर्छ ? आन्दोलनको तात्कालिक दिशा कुन हुनु पर्छ र अन्ततः मूल गन्तव्यमा कसरी पुग्ने भन्नेबारे स्पष्ट हुँदै विगतका सीमा, कमजोरी र प्राप्तिलाई केलाउँदै त्यसबाट पाठ सिकेर अघि बढ्नका निम्ति यस सम्मेलनले महŒवपूर्ण भूमिका खेल्नेछ । त्यसै उद्देश्यका निम्ति सांस्कृतिक आन्दोलनको ऐतिहासिक मूल्याङ्कन, वर्तमान परिस्थिति, भावी कार्यदिशा, र समस्याहरूबारे छलफल गर्नु आवश्यक छ । तसर्थ प्रतिवेदनलाई सम्मेलनका विचार र सुझावले अझ समृद्ध र परिमार्जित गरिएको छ । तेस्रो राष्ट्रिय सम्मेलनले सङ्गठनलाई महासङ्घमा परिणत गरेपछि, सम्मीलन, एकता र विभिन्न आङ्गिक सङ्गठनहरूको निर्माण प्रक्रियामा अघि बढिरहेको परिप्रेक्ष्यमा हामीले यसको संरचना र स्वरूपका बारेमा पनि गम्भीर ढङ्गले बहस गर्नुपर्ने हुन्छ । यसकारण पनि यो सम्मेलनको महŒव, आवश्यकता र औचित्य ऐतिहासिक रहेको छ ।
ऐतिहासिक अभिरेखाङ्कनः
संस्कृति श्रमप्रक्रिया, आर्थिक व्यवस्था, उत्पादन गतिविधि, राजनीति, विचार, सङ्घर्ष, विद्यमान यथार्थमा परिवर्तनका मानवीय क्रियाकलापकै मानक रूप हो । यो मानव जातिको साझा प्राप्ति हो । निरन्तर श्रम प्रक्रियामा सामेल हुँदै र सङ्घर्ष गर्दै जाँदा मान्छेले भाषाको विकास ग¥यो । भाषा मानवीय अनुभूतिको प्रतिकात्मक अभिव्यक्ति हो । यही भाषाबाट साहित्य र कलाका कैयौँ रूपको विकास भयो । भाषा र साहित्य पहिले श्रुतिस्मृति परम्परामा कथ्य रूपमा विकसित भए भने पछि वर्ण–ध्वनि–मात्रा–अक्षरका प्रतीकहरुमा लेख्य रुपमा विकास भयो । लेख्य रूपको विकासले साहित्यको निर्माण भयो । साहित्यको प्रारम्भिक रूप लोकगीत, लोकभाका, लोककथा आदिमा देख्न सकिन्छ । पीडा–व्यथा, दुःख–वेदना, हर्ष–विस्मात, रोष–आक्रोश, सुख–आनन्द, परिहास–मनोरञ्जन, सङ्घर्ष–प्रतिरोधका अनुभूति र चेतनाको अभिव्यक्ति मान्छेले लोकभाषा, लोकशैली र लोकभाकामा गर्दै जाँदा स्तरीय साहित्यको विकास भएको मानिन्छ । लोक साहित्य मानवका सहज–स्वाभाविक अनुभूतिको स्वच्छन्द स्फूरणका रूपमा भए पनि पछि त्यो विशाल वाङ्मयको कुशल शिल्प र स्तरीय अभिव्यक्तिमा रूपान्तरण भएको छ । नेपाली भाषाको विकास संस्कृतको पहाडी खस अपभ्रंशबाट भयो । त्यसैले यसलाई खसभाषा पनि भनिन्छ । यसको प्रारम्भिक रूप राजा दामुपालका समयको विजयस्तम्भमा वि.सं. १०३८ को दुल्लुको अभिलेखमा देख्न सकिन्छ । करिब एक हजार वर्षको इतिहास बोकेको नेपाली भाषाले पृथ्वीनारायण शाहको एकीकृत सामन्ती राज्यव्यवस्थाको विस्तारसँगै राष्ट्रिय रूप ग्रहण ग¥यो र विस्तार प्राप्त ग¥यो । पृथ्वीनारायण शाहले राज्यविस्तार अभियान सुरु गरेसँगै भाषिक एकीकरणको प्रक्रिया र नेपालीमा साहित्य लेखनको सुरुवात पनि भयो । सँगसँगै एक भाषा, एक धर्म, एक संस्कृति र ब्राह्मणवादी उच्च जातीय प्रभुत्व स्थापना गर्ने प्रक्रिया पनि सुरु भयो । सँस्कृति मान्छेका धर्म, भाषा, कला–साहित्य, जीवन–पद्धति आदिको समग्र रुप पनि हो । संस्कृतिको निर्माणमा यी सबैको योगदान छ । सामन्तवाद, आभिजात्यवाद, पुरोहितवाद, ब्राह्मणवादको आदर्श संस्कृति क्रमशः विजय, दमन, प्रभुत्व र अत्याचारको शृङ्खलामा अघि बढ्यो र त्यसका विरुद्ध विरोध र प्रतिकार परम्पराको पनि सुरुवात भयो । सामन्ती वर्णाश्रम प्रथामा आधारित मनुवादी संस्कृतिले हिन्दू उच्चजातीय अहङ्कारवादमा विकास गरेपछि बहु–जाति, संस्कृति, भाषा, कला, धर्म–माथि पनि उत्पीडनको सुरुवात भयो र त्यसको विरोध प्रक्रिया पनि, जसलाई हामी सांस्कृतिक आन्दोलन भन्छौँ । नेपाली सांस्कृतिक आन्दोलनको अभिव्यक्ति प्रारम्भमा साहित्य र कलामार्फत नै व्यक्त भएको देखिन्छ ।
नेपाली साहित्य र कलाको इतिहास लोकजीवनमा कथ्यपरम्परामा रहेका भारत–चैत आदि वीरगाथाबाट सुरु भएको छ । यसले युद्ध र विजय अभियानको गाथा गायन गरेको छ तर लेख्य साहित्यमा भने त्यो वीरस्तुतिका रुपमा सामन्ती विजयगान, स्तुति, प्रशंसा र आभिजात्यवादी कुलीन संस्कृतिको प्रशंसा गायनमै सीमित भयो र त्यसैको पक्षपोषण ग¥यो । सुवानन्ददास, शक्तिबल्लभ, उदयानन्द आदिले पृथ्वीनारायण शाहकै यशोगान र वीरस्तुतिमा तत्कालीन कवितालाई सीमित गरे पनि गुमानी पन्त र यदुनाथ पोख¥यालले भने तत्कालीन ब्रिटिस साम्राज्यको विरोध गरेको पाइन्छ । पृथ्वीनारायण शाहको विजय अभियान र उनको मृत्युपछि विशाल नेपालको निर्माण अभियान केही समय निरन्तर रहे पनि अन्ततः त्यो सुगौलीसन्धीमा गएर रोकिएपछि साहित्यमा स्तुतिगान, भक्तिभावको आध्यात्मिक भावधारा विकसित हुन पुग्यो । भानुभक्त त्यस धाराको अगुवा भए । यद्यपि फुटकर रचनामा तत्कालीन राज्यव्यवस्था, सामाजिक प्रवृत्तिमाथि केही छेड हान्ने र व्यङ्ग्य गर्ने काम भानुभक्तले नगरेका होइनन् तापनि उनी मूलतः सामन्तवाद, पुरोहितवाद, ब्राह्मणवाद र सामन्ती सत्ताको आदर्श स्थापनामै सीमित भए । स्तुतिवादी साहित्यले अध्यात्मवादको जोडतोडले प्रचारप्रसार ग¥यो र हिन्दू ब्राह्मणवादी सामन्तवादको आधिपत्य स्थापित गर्न भूमिका खेल्यो । यस प्रक्रियामा भिन्न धाराका रूपमा जोसमनि सन्त समुदायका कवि–लेखकहरूले निर्गुण र निराकार शक्तिको आराधना गर्दागर्दै पनि सामाजिक गलत प्रवृत्तिको आलोचना, रूढि र अन्धविश्वासको भण्डाफोर, हिन्दू अतिवादको विरोध गर्दै सुधारवादी दृष्टि अपनाएका छन् । अगमदिलदास, ज्ञानदिसलदास, अखडदिलदास, प्रेमदिलदासहरूले सधुक्कडी भाषामा समाजका त्यस्ता विकृतिको सुधार र पुरोहित कर्मकाण्डी प्रवृत्तिको विरोध गरेका छन् भने आर्य समाजीहरुले मूर्तिपूजाको विरोध गरेका छन् । सुगौली सन्धिले एकातिर बृहत्तर नेपाल निर्माण र एकीकरण प्रक्रियालाई अन्त्य गरिदियो भने अर्कातिर ब्रिटिस साम्राज्यको अर्धऔपनिवेशीकरण र नेपालको स्वाभिमानमाथि हस्तक्षेपको परम्परालाई भित्र्यायो । राणा शासनको उदयपछि देश निरङ्कुश जहानियाँ तानाशाही शासनको पन्जामा प¥यो । यस घटनाको प्रभाव सांस्कृतिक र साहित्यिक क्षेत्रमा पनि देखियो । अभिव्यक्ति चेतना र स्वतन्त्रतामाथि प्रतिबन्धजस्तो लागेपछि साहित्य र कला समाजका यथार्थ, पीडा, समस्याबाट पलायन भई श्रृङ्गारिक, वासनात्मक र विलासितामूलक भावधारामा फेरिए । मोतीराम मण्डली र सूक्तिसिन्धुले त्यसलाई मलजल र नेतृत्व गरे । यसले सामन्तवाद, निरङ्कुशतन्त्र र ब्राह्मणवादी सोचलाई नै मलजल ग¥यो । राणाहरूको शोषण, थिचोमिचो, अत्याचार, मुखियातन्त्र, राष्ट्रघात, आत्मसमर्पणवादी शैली र ब्रिटिस औपनिवेशीकरणलाई तत्कालीन साहित्यले औँलो उठाउन सकेन । सामन्तवाद निम्न वर्गको शोषण, महिलामाथि थिचोमिचो, जातीय भेदभाव, छुवाछुत, उचनीचको संस्कार वा जातीय उत्पीडन, मुखिया र जिम्दारीतन्त्र, निरङ्कुशता र दमन, अन्याय र असमानता, हैकमवादी र ठालुवादी प्रवृत्ति, विचार–चेतनामाथि दमन, कुलीन–सम्भ्रान्त–पुरोहित–ब्राह्मणवादी आभिजात्य पद्धति आदिकै रुप भएकाले यसले लिङ्ग, जाति, धर्म, वर्ग, क्षेत्र, विचारमाथि दमन गर्दै तानाशाही शासन कायम ग¥यो जसले विद्रोहको पनि वीजारोपण ग¥यो । फलस्वरूप तत्कालीन शासकका विरुद्ध भण्डारखाल, अलौ काण्ड भए भने लखन थापाले संगठित विद्रोह नै गरे । राणाशासन र सामन्ती निरङ्कुशताविरुद्ध यो प्रथम विद्रोह नै थियो भन्न सकिन्छ । भारतमा उठेका तेलङ्गना विद्रोह र नक्सलवादी आन्दोलनको प्रभाव नेपालमा पनि प¥यो । तत्कालीन ब्राह्मण–पुरोहित–कर्मकाण्डी हिन्दू धार्मिक सङ्कीर्णता र अन्धविश्वासी परम्परा विरुद्ध मात्र होइन सामाजिक उत्पीडन र बेथितिविरुद्ध योगमायाले धार्मिक र सामाजिक सुधारको प्रक्रिया आरम्भ गरिन् । उनले महिला उत्पीडनको हिन्दु संस्कार विरुद्ध पनि विद्रोह बोलिन् भने राणा शासनको समेत विरोध गरिन् । त्यसपछि साहित्य र कलाका क्षेत्रबाट अभिव्यक्ति स्वतन्त्रताका पक्षमा भएको पहिलो घटनाका रुपमा मकैपर्व (१९७७) लाई लिन सकिन्छ । कृष्णलाल अधिकारीले खेतीमा लाग्ने कीराका रूपमा राणातन्त्रमाथि प्रहार गर्दै विदेशीभन्दा स्वदेशी कुकुर नै जाती हुने धारणाका साथ राणाहरूको अङ्ग्रेजभक्तिमाथि प्रहार गरे । साहित्यमा तिलस्मी कथाका माध्यमबाट तत्कालीन राणाहरूको शासकीय अत्याचारी चरित्रमाथि ‘वीरचरित्र’ उपन्यासले पनि प्रहार गरेको छ । यसभन्दा अघि बढेर धरणीधर कोइराला, महानन्द सापकोटाहरूले राजनीतिक र सामाजिक जागरण पैदा गर्न थाले । धरणीधरले जनतामा घोर नीद परित्याग गरेर बिउँझन, उठ्न, जाग्न आह्वान गरे । उनीहरूको राष्ट्रवादी स्वर र स्वतन्त्रताप्रेम ०७ सालको घटना निम्त्याउन सहयोगी बन्यो । यसमा सन् १९१७ मा भएको रुसको अक्टोबर क्रान्तिबाट सम्पूर्ण विश्वमा परेको वर्गीय मुक्ति आन्दोलन र उपनिवेशवाद विरोधी आन्दोलनको विश्वव्यापी प्रभावले सन् १९४७ मा अङ्ग्रेजी उपनिवेशबाट मुक्त हुन सफल भारतीय जनताको स्वतन्त्रताको आन्दोलन तथा सन् १९४९ मा चीनमा माओको नेतृत्वमा शानदार रुपमा सफल भएको नयाँ जनवादी क्रान्तिले पनि महत्वपूर्ण भूमिका खेलेको थियो । यसै प्रक्रियामा राणा शासनविरुद्ध आवाज उठ्न थाले । सशस्त्र विद्रोहको पूर्वसन्ध्यामा १९९७ को सहिद काण्ड घट्यो जसले राजनीतिक, वैचारिक, सांस्कृतिक चेतनालाई अझै उर्जा प्रदान ग¥यो । सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटाले क्रान्ति–विद्रोहका कविता लेख्न थाले भने विचारको विस्तार गर्न पहिलो पटक पुस्तकालय स्थापना गरियो तर त्यसमाथि दमन भयो जसलाई इतिहासमा लाइब्रेरी पर्व (१९८७) भन्ने गरिन्छ । सिद्धिचरण, देवकोटा र रिमालका वि.सं.२००० को सेरोफेरोका कवितामा क्रान्तिकारी विद्रोहको अभिव्यक्तिले प्रगतिशील साहित्यधाराको पृष्ठभूमिको भूमिका निर्वाह ग¥यो । यसै पृष्ठभूमिमा वि.सं. २००० मा गोपालप्रसाद रिमालले क्रान्ति, विद्रोह र परिवर्तनको काव्यात्मक अभिव्यक्ति दिँदै प्रगतिशील धाराको सुरुवात गरे । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि सचेत रूपमै नेपालमा वर्गसङ्घर्षको सूत्रपात भयो । त्यस्तै २००७ सालको राजनीतिक घटना वैचारिक स्वतन्त्रताका निम्ति महŒवपूर्ण कदम बन्न पुग्यो । रुकुममा कामी बूढाले २००९ सालतिर नै समानता, न्याय र मुक्तिका लागि सङ्घर्ष शुरु गरे । पश्चिममा भीमदत्त पन्तले पनि २०१० मा राष्ट्रियता र वर्गीयताको पक्षमा सशस्त्र संघर्ष शुरु गरे । साहित्यमा यसको प्रभाव ‘कि जोत हलो कि छोड थलो हैन भने छैन तेरो भलो’ भन्ने रुपमा व्यक्त भएको छ । प्रगतिशील साहित्यिक धारालाई पुरस्सारित गर्न यी घटनाको विशेष भूमिका छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापनाले त माक्र्सवादी कला–साहित्यको प्रचारप्रसारका लागि पथप्रदर्शन नै ग¥यो । यसै पृष्ठभूमिमा श्यामप्रसाद शर्मा, केवलपुरे किसान र गोकुल जोशीहरूले वर्गचेतना, वर्गमुक्ति र वर्गपक्षधरता सहितको साहित्य रचना गर्न थाले । २००९ सालमा वीरगन्जमा प्रलेसको गठन यही धाराको निरन्तरताका लागि भएको पहिलो सङ्गठित प्रयास थियो । सामन्तवाद, साम्राज्यवाद र पुँजीवादका विरुद्ध घोषित रूपमा वर्गमुक्तिको उद्देश्य र सोअनुरुप कार्यनीति तय गर्ने काम यसले ग¥यो । सेवा (२००८), जनसाहित्य (२००९) जस्ता पत्रपत्रिकाको प्रकाशन त्यसको मूर्त अभिव्यक्ति थियो । भूपी शेरचनको नयाँ झ्याउरे (२०१२) र निर्झर (२०१५) प्रगतिशील काव्यिक चेतना र अभिव्यक्तिको आरम्भ थियो भने कृष्णचन्द्रसिंह प्रधानको भन्ज्याङनेरै (२००८) कवितासङ्ग्रहको भूमिका माक्र्सवादी साहित्यको सैद्धान्तिक चर्चाको आरम्भ थियो । यसै समयमा हृदयचन्द्रसिंह प्रधान आदिका केही उपन्यासले यथार्थलाई चित्रण गर्दै, यथार्थको आलोचनालाई महŒव दिएका छन् । यसरी अनुवाद साहित्यबाट शूरु भई नेपाली साहित्यधारा स्तुतिवादी, भक्तिवादी, शास्त्रीय चारणगीत हुँदै प्रगतिशील जनपक्षीय रुप ग्रहण गर्न पुग्यो र स्वच्छन्दतावादी, क्रान्तिकारी स्वच्छन्दतावादी, यथार्थवादीधारा हुँदै प्रगतिवादी धारामा फेरियो ।
राजनीतिक घटनाक्रमले नै सांस्कृतिक आन्दोलनमा पनि नयाँ मोड ल्याइदिन्छ । २०१७ सालमा राजा महेन्द्रले दरबारिया तानाशाही निरङ्कुश शासन लादेपछि पार्टी र प्रगतिशील संस्थामाथि प्रतिबन्ध लाग्यो । त्यसले सामाजिक अन्तरविरोधलाई झन् चर्कायो । सचेत रूपमा, सङ्गठित ढङ्गले राजनीतिक सिद्धान्तप्रति प्रतिबद्ध र निष्ठावान् हुँदै प्रतिरोध र विद्रोहका प्रक्रिया भूमिगत रूपमा अघि बढ्न बाध्य भए । २०१८ देखि २०२१ का बीच छिटपुट सशस्त्र प्रतिरोध भएपनि पञ्चायती शासनको निरङ्कुश शैलीमा खासै फरक परेन । २०२१ देखि २०२८ का बीच सुकुम्बासी विद्रोह (झोडा–काण्ड), सीमा–अतिक्रमणको विरोध र राष्ट्रियताको पक्षमा आन्दोलन (असमान सन्धि, त्रिपक्षीय दिल्ली सम्झौता, अतिक्रमणको विरोध) भयो । दिल्ली सम्झौताको विरोध नेपाल कम्युनिस्ट पार्टीले तत्कालैदेखि गर्न शुरु ग¥यो र त्यसको असर साहित्यमा पनि प¥यो । २००८–९ तिर नै के आई सिंहले पनि त्रिपक्षीय सम्झौताका विरुद्ध सशक्त सङ्घर्ष गरिसकेका थिए भने सोही समयमा दिल्ली सम्झौता विरुद्ध पूर्वमा रामप्रसाद राईले पनि संघर्ष गरे । भारतीय प्रभाव नेपाली राजनीतिमा निस्तेज पार्न स्वाभिमान र स्वतन्त्रता स्थापित गर्न विद्रोहको आरम्भ थियो, त्यो । त्यसबाहेक नेपाली इतिहासमा स्वतन्त्रता, स्वाभिमान र सार्वभौमिकताको सङ्घर्षमा भीमदत्त पन्तको सशस्त्र विद्रोह र किसान मुक्तिको आन्दोलनले सर्वोच्च स्थान प्राप्त ग¥यो । यी दुवै विद्रोहलाई भारतीय सेना भित्र्याएर दमन गर्नु राष्ट्रघाती दलाल र दास चरित्रको प्रतिविम्बन थियो जसले साँस्कृतिक आन्दोलनमा पनि प्रशस्त प्रभाव पारेको पाइन्छ । २००८ सालमा चिनियाँ काजीको हत्याकाण्डलाई पनि देशभक्ति र राष्ट्रप्रेमका विरुद्ध भारतीय निर्देशनको घटनाका रूपमा हेर्न सकिन्छ । विद्रोह र सङ्घर्षको यो प्रक्रिया निरन्तर जारी नै रह्यो मुख्य रुपमा त्यो किसान सङ्घर्षमा अभिव्यक्त हुँदै गयो । रौतहट, पर्सा, बारामा ( ‘रे’ नहीं ‘जी’ कहू, ‘मोंछ उखार र बखारी फोर’जस्ता आन्दोलन) धनुषामा भएका किसान सङ्घर्षका साथै जुगेडी र जुटपानी (चितवन), खनियावास (धादिङ) र दाङको बेलुवा–बन्जाडी काण्ड, कर्जाही काण्ड (जसमा गुम्रा थारु सहिद भए) तथा वर्दिया संघर्ष ( जसमा ण्८ सालमा नै सामन्त–जमिन्दारविरुद्ध संघर्ष गर्दा कोइलीदेवी थरुनीको पनि मृत्यु भयो) आदि ठाउँमा किसान सङ्घर्षहरु भए भने अर्घाखाँचीको हर्रेबर्रे संघर्ष पनि भयो । सुदूर र पश्चिमका क्षेत्रमा पनि किसान आन्दोलन भए जसमा दशरथपुरको किसान आन्दोलनमा ७ जना मारिए भने एकदेव आलेको नेतृत्वमा भएको किसान आन्दोलनको विशेष महत्व छ । टिम्मुरबोटे (ओखलढुङ्गा)मा क्याप्टेन यज्ञबहादुर लगायतका सशस्त्र विद्रोहीको हत्या भयो भने २०२८ मा सशस्त्र सङ्घर्षका रूपमा झापा विद्रोह देखा प¥यो । जसले साहित्य–कलामा सशक्त प्रभाव पारेको र सांस्कृतिक आन्दोलनमा घिउ थप्ने काम गरेको छ । यान्त्रिक चिन्तन, अन्ध नक्कल, सङ्कीर्ण सोच, क्रान्तिलाई निरन्तरता दिने सोंचाइको अभाव, वस्तुस्थितिको सही विश्लेषण गरी योजना अघि बढाउन नसकेका कारण झापा विद्रोह समाप्त भए पनि वर्गसङ्घर्षमा त्यसले निरन्तर प्रभाव पा¥यो र साहित्य–कलामा पनि जीवन प्रदान गरेको छ । यी घटनाले साँस्कृतिक आन्दोलनमा विशेष प्रभाव पारेका छन् ।
चीनियाँ जनक्रान्तिको प्रभाव दक्षिण एसियामा त्यतिखेर पर्नु स्वाभाविक थियो । सन् १९४९ मा सम्पन्न भएको चिनियाँ नयाँ जनवादी क्रान्ति १९५८ मा समाजवादमा रूपान्तरण गरियो । सन् १९६६मा पुनः सर्वहारा सांस्कृतिक क्रान्तिका रूपमा यसलाई निरन्तरता प्रदान गरियो । यसैको प्रभावमा भारतमा सन् १९६९मा वसन्त गर्जनका रुपमा नक्सलवादी आन्दोलन चारु मजुमदारको नेतृत्वमा सुरु भयो । कम्युनिस्ट आन्दोलनको तत्कालीन विश्वव्यापी प्रभाव, धु्रवीकरण र विजयले सांस्कृतिक क्षेत्रमा पनि प्रभाव पा¥यो अनि सर्वहारा सांस्कृतिक आन्दोलन सङ्गठित रूपमा हुन थाल्यो । २०२७–२८ तिर बुद्धिबहादुर थकालीले ‘रेलिमाई सांस्कृतिक परिवार’ निर्माण गरी लुम्बिनी क्षेत्रमा सांस्कृतिक आन्दोलन चलाए । यसै समयमा जेबी टुहुरेहरुले मुख्यरुपमा पूर्वमा केन्द्रित रही क्रान्तिकारी गीत गाउन थालिसकेका थिए । २०२७–२८ तिर नै पुष्पलालले युद्धप्रसाद मिश्रको नेतृत्वमा जनवादी साँस्कृतिक संघ निर्माण गरेको पाइन्छ तापनि त्यसले निरन्तरता भने पाएन । विसङ्गतिवादी–अस्तित्ववादी–अराजकतावादी शैलीबाट सुरु भएपनि राल्फा आन्दोलन माक्र्सवादी धारामा फड्को मार्न पुग्यो । जसमा पारिजात, निनु चापागाईं, मञ्जुल, रायन, रामेश आदि लेखक र कलाकारहरूको विशिष्ट योगदान रह्यो । साहित्यतर्फ युद्धप्रसाद मिश्र, खगेन्द्र सङ्ग्रौला, आनन्ददेव भट्ट, मोदनाथ प्रश्रितहरू सांस्कृतिक आन्दोलनमा अघि बढे । यसैको प्रभावमा धरान, झापा, चितवन, दाङ आदि ठाउँमा सांस्कृतिक साङ्गीतिक कार्यक्रमद्वारा तत्कालीन निरङ्कुश राज्यव्यवस्थाविरुद्ध समानता र न्यायपूर्ण समाजका पक्षमा साँस्कृतिक जनचेतना र जागरण पैदा गर्ने काम भयो । ०२८मा गठित गोचाली साँस्कृतिक परिवार र ३० को दशकमा सङ्कल्प परिवार र वेदना परिवारले राष्ट्रिय स्तरमा नै जनसांस्कृतिक आन्दोलनलाई सामूहिक ढङ्गले परिचालन गरे । २०३५ तिर लुम्बिनीमा अगुल्टो सांस्कृतिक परिवारको गठन भयो भने तीसको दशकमै चितवनमा खुसीराम पाख्रिनको नेतृत्वमा सांस्कृतिक परिवारको गठन भयो । पाख्रिनको गीतिसङ्ग्रह आँसुको भाकाको पनि तीन भाग ०३८ मा, ०४२ मा, ०४६मा प्रकाशन भए । ४०को दशकमा नै खुसीराम वीना शर्मा भूसालको साँस्कृतिक समूहले प्रवासका कुनाकुनामा साँगीतिक कार्यक्रम गरेको थियो । यसरी कलालाई वर्गसङ्घर्षमा प्रयोग गरियो । २०३२ सालको राजनीतिक सङ्घर्ष र २०३६ सालको आन्दोलनले पञ्चायती निरङ्कुशतन्त्रमा एक धक्का लाग्यो । साथै सांस्कृतिक आन्दोलनमा यसले नयाँ ऊर्जा प्रदान ग¥यो । कलाकार, साहित्यकारहरू माक्र्सवादी प्रभावमा सङ्गठित र प्रतिबद्ध हुने क्रम अघि बढ्दै जाँदा इतिहासमा पहिलो पटक वरिष्ठ सौन्दर्यचिन्तक, समालोचक तथा दार्शनिक नेता क. चैतन्यको विशिष्ट पहल र चर्चित प्रगतिवादी स्रष्टा पारिजातको नेतृत्वमा २०३८ साल माघको अन्त्यतिर अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक सङ्घ नामको सांस्कृतिक सङ्गठनको निर्माण भयो । यस सङ्गठनले वस्तुतः मालेको जडसूत्रवादी, उग्रवामपन्थी, विसर्जनवादी राजनीतिक धारा विरुद्ध संघर्ष ग¥यो । क्रान्तिकारी माक्र्सवादी धारामा आधारित सङ्गठन भएकोले नै यसले माक्र्सवादी क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई वर्तमानसम्म नेतृत्व गर्दै आइरहेको छ । प्रगतिशील सांस्कृतिक आन्दोलनमा प्रलेकसले २०३६मा पुनर्गठित भई आफ्नो ठाउँबाट गरिरहेको निरन्तर योगदानलाई पनि बिर्सनु हुँदैन । २०३९ मा प्रलेकस प्रलेसका रूपमा पुनर्गठन भएपछि विभिन्न साहित्यिक गतिविधिका साथै प्रलेस पत्रिकामार्फत वैचारिक योगदान दिनु यसको प्राप्ति हो । यसै समयमा जाजरकोटमा पनि जनमुक्ति साँस्कृतिक परिवार गठन भएको पाइन्छ । लगभग यसै समयमा पूर्वी तराइमा नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको जन्म, विभाजन र धु्रवीकरणबाट प्रभावित र विशेषतः ऋषि देवकोटा आजादको पहल र प्रभावमा रामवृक्ष यादव एवम् पुलकित ठाकुरलगायतका साँस्कृतिककर्मीले जनवादी गीत लेखन, गायन र विस्तार गरेको पाइन्छ भने धनुषा र महात्तरीका चुरे छेउँहरुमा असंगठित नाट्य समूह निर्माण भएको पाइन्छ । कमरेड रामवृक्ष यादवले तत्कालीन स्थितिमा पनि प्रगतिशील विवाह गर्ने प्रक्रियाको समेत थालनी गरे ।
२०३६ सालपछि कम्युनिस्ट आन्दोलनमा स्पष्टतः दुई धार देखा परे—एउटा दक्षिणपन्थी संशोधनवादी र अर्को क्रान्तिकारी माक्र्सवादी । यसको वीजारोपण २०३५ मा मालेको गठनपछि भएको थियो । रुस र चीनका प्रतिक्रान्तिलाई समर्थन र विरोधका रूपमा ती दुई धार देखा परे । क्रान्तिकारी धारमा पनि पुनः विभाजन आयो । २०४० मा पुग्दा क्रान्तिकारी धारमा वामपन्थी अवसरवाद र व्यक्तिवादी अराजकतावाद तथा जडसूत्रवादी प्रवृत्तिहरु देखापर्न थाले । जसको परिणाम कम्युनिष्ट पार्टी तीन चिरामा विभक्त भयो । २०४० मा नेकपा (चौम)बन्यो भने २०४१ मा नेकपा (मसाल) र नेकपा (मशाल)को निर्माण भयो । जसको नेतृत्व क्रमशः निर्मल लामा, मोहनविक्रम सिंह र क.किरणले गरे । यसले कम्युनिष्ट आन्दोलनमा अवसरवाद, व्यक्तिवादी अराजकतावाद, सङ्कीर्णतावाद, जडसूत्रवाद र क्रान्तिकारीवीच तीव्र सङ्घर्ष भएको स्पष्ट हुन्छ । यसको प्रभाव सांस्कृतिक क्षेत्रमा पनि प¥यो र जनसांस्कृतिक आन्दोलनमा शिथिलता, निष्क्रियता, अकर्मण्यता देखाप¥यो । फेरि पनि आ–आफ्नै ढङ्गले सांस्कृतिक आन्दोलनलाई अघि बढाउने क्रममा चैतन्य, शक्ति लम्साल, खुसीराम पाख्रिन, कृष्णसेन इच्छुक, घनश्याम ढकाल, मणि थापा, पारिजात, निनु चापागाईं, अमर गिरी आदि पुराना र नयाँ पुस्ताका स्रष्टाहरू लागिरहे । यसैक्रममा २०४४ चैत्र २० मा थाङ्का साँस्कृतिक परिवार, जुनेली साँस्कृतिक परिवार, मंका दवुः जस्ता साँस्कृतिक संगठनलाई एकीकृत गरेर पारिजात मानार्थ अध्यक्ष, रायन अध्यक्ष, हरि दर्शनधारी उपाध्यक्ष, हरिगाविन्द लुइँटेल महासचिव रहेको इन्द्रेणी साँस्कृतिक समाजको गठन हुन पुग्यो । यसै समयमा स्रष्टाहरुको एउटा पङ्क्ति प्रगतिवादी साहित्यमाथि बुर्जवाहरुले झैं ‘नारावादी’ आरोप लगाउँर्दै, पार्टी प्रतिबद्धताको विरोध र लेखकीय स्वतन्त्रताको पक्ष लिँदै, अराजकता र विसर्जनलाई मलजल गर्न थाल्यो । जसमा खगेन्द्र सङ्ग्रौला, आनन्ददेव भट्ट, रमेश विकल आदि सम्बद्ध रहे । यस्तो लेखकीय स्वतन्त्रताको नाममा चालिएको विचलन र विसर्जनविरुद्ध माक्र्सवादीहरू पनि सङ्गठित र प्रतिबद्ध भएर त्यसविरुद्ध उँभिए जसमा क.चैतन्य, निनु चापागाईं, शक्ति लम्साल, घनश्याम ढकाल, इच्छुक, अमर गिरी, जगदीशचन्द्र भण्डारी, इस्माली, भाष्कर, दिल साहनी सम्बद्ध रहँदै आए । लेखनको क्षेत्रसँगसँगै प्रकाशनको क्षेत्रमा पनि सांस्कृतिक आन्दोलनले तीव्रता लिँदै थियो । साहित्यिक पत्रिका र कृतिहरू, गीत र एलबमहरू प्रकाशित भए । सांस्कृतिक परिवारहरूले पनि गीत, सङ्गीत र कलाको क्षेत्रबाट त्यस्तो भूमिका खेले । खासगरी २०३९ सालमा सिम्मा गीतिनाटकको प्रस्तुतिले त्यो आन्दोलनलाई उँचाइमा पु¥यायो । यसैसमयमा खुसीराम पाख्रिन र विना शर्माको नेतृत्वमा प्रवासमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नु महत्वपूर्ण छ । पत्रिकाहरूमा सुस्केरा (२०३८), वेदना (२०३०), सङ्कल्प (२०३३), कटिबद्ध (२०३९), विगुल (२०४४), मधुमास (२०४२), सेरोफेरो (२०४४), आलोचना (२०४८) आदि साहित्यिक पत्रिका र योजना, पृष्ठभूमि, हाँक, महिमा आदि साप्ताहिक पत्रिकाले योगदान दिए । त्यसै समयमा अर्कातिर उत्साह (२०३८) पत्रिकाले स्वतन्त्र लेखनको पुर्पक्ष गर्दै प्रतिबद्ध लेखनको विरोध गर्दै अराजकतावादी र विसर्जनवादी धारलाई प्रश्रय दियो । यद्यपि त्यसभित्र क्रान्तिकारीहरु पनि सहभागी थिए । यसै सेरोफेरोमा मसाल निकट रही प्रकाशित विगुल र हलकारा पत्रिकाले पनि व्यक्तिवादी–अराजकतालाई पछ्याएर स्पष्ट दिशा लिन सकेनन् । २०४३ सालको सेरोफेरोमा जीवन शर्माको नेतृत्वमा रक्तिम सास्कृतिक परिवार गठन भई जनवादी साँस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्यो । यसरी २०४६ सालसम्म आइपुग्दा प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलनमा एकातिर लेखकीय स्वतन्त्रता, ‘नारावाद’को आरोपका नाममा कलावादी चेतना, अराजकता र व्यक्तिवादको पुर्पच्छे गर्ने र अर्कातिर माक्र्सवादी प्रतिबद्धता, क्रान्तिकारी विचार निष्ठालाई अवलम्बन गर्ने प्रगतिवादी धार अस्तित्वमा रहेको स्पष्ट हुन्छ ।
२०४६ सालको नेपाली राजनीतिक आन्दोलनले सांस्कृतिक आन्दोलनलाई पनि एउटा नयाँ मोड प्रदान ग¥यो । संशोधनवादी धार संयुक्त वाममोर्चा र क्रान्तिकारी धार संयुक्त राष्ट्रिय जनआन्दोलनको मोर्चाका रूपमा धु्रवीकृत भए । वाम मोर्चामा पनि नेकपा चौम जस्तो क्रान्तिकारी शक्ति सम्मिलित थियो जुन पछि बाहिरियो । यस जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनासँगै विचारमा पनि विविधताको बहस निर्माण ग¥यो र धु्रवीकरणको प्रक्रिया तीव्र पा¥यो । एकातिर दरबारवादी र पुराना पञ्चहरू, अर्कातिर दलाल प्रतिक्रियावादी पुँजीवादीहरू, एकातिर यथास्थितिमै रमाउन चाहने शान्तिपूर्ण परिवर्तनको वकालत गर्ने समन्वयवादी संशोधनवादीहरू र अर्कातिर आमूल परिवर्तनका पक्षधर क्रान्तिकारी माक्र्सवादीहरूका वीच राजनीतिमा जस्तै सांस्कृतिक क्षेत्रमा पनि ध्रुवीकरण देखियो । सामन्तवाद यथावत् कायम राख्ने, संवैधानिक राजतन्त्रको समर्थन गर्ने, संविधान सभा र गणतन्त्र अस्वीकार गर्ने र प्रतिक्रियावादसँग पुच्छर लाग्ने वामपन्थीहरू बहुदलीय जनवादको दक्षिणपन्थी सुधारवादी लाइनमा सामेल भए भने मालेमाका पक्षधरहरूले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने, राष्ट्रिय स्वाभिमान कायम गर्ने, सामन्तवादको समूल अन्त्य गर्ने र वर्गसङ्घर्षको बाटो समात्ने सङ्कल्पसहित चैत्र २४ गतेको जनआकाङ्क्षा र अभिमतको धारलाई पक्रिए । नयाँ ढङ्गले वर्गसङ्घर्षको विकासका पक्षपातीहरू २०४८ सालमा एकीकृत हुँदै नेकपा (एकताकेन्द्र) गठन गर्न पुगे र सांस्कृतिक मोर्चामा पनि थप उर्जाका साथ ध्रुवीकरणको थालनी भयो । २०४८ सालमा कृष्णसेन इच्छुकको नेतृत्वमा अखिल नेपाल जनसांस्कृतिक सङ्घले पहिलो राष्ट्रिय भेला सम्पन्न गरी संघको पुनर्निर्माण ग¥यो । इच्छुकको संयोजकत्वमा शक्ति लम्साल, खुसीराम पाख्रिन, मणि थापा, ऋषिराज बराल, पूर्ण घर्ती, घनश्याम ढकाल, अमर गिरी, आहुति, घनश्याम शर्मा पौड्याल, शारदारमण नेपाल, ताराकान्त पाण्डेय, ईश्वरचन्द्र ज्ञवाली र नवीन राईसमेत रहेको एक केन्दीय संयोजन समिति निर्माण भयो । दीर्घकालीन जनयुद्ध र विद्रोहको फ्युजनद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने विचारको धु्रवीकरणकै प्रतिविम्ब यो सांस्कृतिक धु्रवीकरण पनि थियो । यसले क्रान्तिकारी सांस्कृतिक आन्दोलन सबल, एकीकृत, सङ्गठित र योजनाबद्ध ढङ्गले अगाडि बढाउन आरम्भ ग¥यो । यसै प्रक्रियामा कलाकारहरूको केन्द्रीय समूह ‘सामना सांस्कृतिक परिवार’ मणि थापाको नेतृत्वमा गठन गरी गीत–सङ्गीत क्षेत्रको सांस्कृतिक गतिविधि सञ्चालन गर्न थाल्यो । सो समूहमा चुनु गुरुङ, धु्रव ज्ञवाली, धनकाजी गुरुङ्, अञ्जना गुरुङ्, पूर्ण घर्ती शिव श्रेष्ठ आदि थिए । यसै समयमा सामनाले जनताका भाकाहरू भाग– १, आँधी आउँदै छ हुरी चल्दै छ, जलजला, अभिवादन जस्ता गीतिचक्काको प्रकाशन ग¥यो । २०४८मा नै प्रतिज्ञा समूहले पनि भरिया नाटक प्रदर्शन गरेको थियो । साहित्यतर्फ प्रगतिशील साहित्यको प्रतिनिधि पत्रिका कलमको त्रैमासिक प्रकाशन २०४९ सालदेखि सुरु भयो । वेदना साहित्यिक पत्रिका पनि प्रकाशन हुँदै आइरहेको थियो । २०४८ देखि २०५१को बीचको अवधिमा बागलुङ्मा विश्वस साँस्कृतिक परिवार र सुदूरपश्चिमको कैलालीमा जनवादी साँस्कृतिक संगम, कञ्चनपुरमा कञ्चनजङ्घा साँस्कृतिक परिवार र नेपालगञ्जमा जनवादी साँस्कृतिक मञ्च तथा काठमाण्डौंमा भ्याली सांस्कृतिक सङ्गम, सूर्योदय नाट्य मञ्च (सूनाम), प्रतिभा प्रवाह, कलायात्राजस्ता समूह र संस्थाले निरङ्कुश राजतन्त्रको अन्त्य र आमूल परिवर्तनकामी क्रान्तिका पक्षमा साहित्यिक–सांस्कृतिक आन्दोलनलाई अघि बढाए । यसै समयमा जनकला सिर्जना समाज (२०४७) गठन भई साँस्कृतिक गतिविधि गरेको पाइन्छ ।
२०५१ सालमा जनयुद्ध सुरु गर्ने र माओका प्रस्थापनाको शास्वत महत्व माओवादमा अभिव्यक्त गर्ने कुरामा वैचारिक मतभिन्नता भई नेकपा (एकताकेन्द्र) फुट भई एउटा शक्ति नेकपा (माओवादी)मा रूपान्तरण भएपछि माओका प्रस्थापना र विचारलाई सार्वभौम मूल्यका रूपमा स्थापित गर्न आरम्भ भयो । पार्टीलाई संसदीय दलदलबाट मुक्त गर्दै नेकपा (माओवादी) ले २०५२ फागनु १ गतेदेखि सर्वहारा वर्गको सत्ता स्थापित गर्न र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ठोस उद्देश्यका साथ जनयुद्धको घोषणा ग¥यो । यही मालेमावादी वैचारिक आलोकमै टेकेर प्रतिरोध, त्याग, बलिदानको सँस्कृति निर्माण गर्दै जनसांस्कृतिक सङ्घ पनि निरन्तर क्रान्तिको बाटोमा अघि बढ्यो । जनयुद्धको सुरुवातमै सामनाका कलाकार तथा अन्य कलाकारका साथ सङ्घले भल्का, सिज, चुक, प्रतिरोध, घरदैलो आदि साङ्गीतिक अभियान सञ्चालन गरी जनयुद्धको भाव जनतामा पु¥याउने र चेतना ब्युँझाउने एवम् जनयुद्धको समर्थन जुटाउने काममा पार्टीसँगै अघि बढ्यो । यस क्रममा भएका सङ्गठनका प्रयासलाई निम्न रुपमा हेर्न सकिन्छ १) २०५५ सालमा सङ्घको पहिलो राष्ट्रिय सम्मेलन युद्ध प्रक्रिया र ‘किलो सेरा ट’ुको दमनका भुमरीबीच सानो ठिमीमा सम्पन्न भयो । सो सम्मेलनले अध्यक्षमा कृष्ण सेन ‘इच्छुक’, उपाध्यक्षमा घनश्याम ढकाल, महासचिवमा मणि थापा, कोषाध्यक्षमा खुसीराम पाख्रिन र ऋषिराज बराल, ईश्वरचन्द्र ज्ञवाली, पूर्ण घर्ती, च्याङ्वा लामा, आदि रहेको केन्द्रीय समिति निर्माण ग¥यो । २) त्यसै गरी २०६० साल असारमा सङ्घको काठमाडौँको जावलाखेलमा दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले अध्यक्षमा मणि थापा, उपाध्यक्षमा घनश्याम ढकाल, महासचिवमा ऋषिराज बराल, सचिवमा ईश्वरचन्द्र ज्ञवाली, कोषाध्यक्षमा पूर्ण घर्ती र सदस्यहरु रोशन जनकपुरी, गङगा श्रेष्ठ, शारदा श्रेष्ठ, हर्षबहादुर मल्ल, दाताराम शर्मा, माइला लामा, गणेश भण्डारी, सीता आचार्य, मोहलाल चन्द आदि सदस्यहरु रहेको २१ सदस्यीय केन्द्रीय समिति निर्माण ग¥यो । त्यसपछि २०६१ मा रोल्पामा राष्ट्रिय सम्मेलन आयोजक समितिको निर्माण भयो र ऋषिराज बराल त्यसका संयोजक बने । ३) २०६३ सालको भाद्र ५ गते युद्धविराम र शान्ति प्रक्रियापछि तेस्रो राष्ट्रिय सम्मेलन कीर्तिपुरमा सम्पन्न भयो जसले अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, उपाध्यक्ष माइला लामा, महासचिव गणेश भण्डारी सचिव रोशन जनकपुरी, कोषाध्यक्ष हीरामणि दुःखी सहितको ३९ सदस्यीय केन्द्रीय समिति चयन ग¥यो । यस समितिमा पछि बलराम तिमल्सिना उपाध्यक्षमा थपिए ४) २०६५ माघ २३ मा अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ र प्रगतिशील साँस्कृतिक संगठनका वीचमा संयुक्त अधिवेशन भई एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घको निर्माण भयो । यो एकता प्रक्रियापछि ईश्वरचन्द्र ज्ञवाली संयोजक र मातृका पोखरेल सहसंयोजक रहेको १५१ सदस्यीय समिति बन्यो जसलाई केन्द्रीय समितिको चौथो पूर्णबैठकले फेरि परिमार्जन गरी ७५ सदस्यीय आयोजक समिति निर्माण ग¥यो । ५) उता २०५३ सालमा तेस्रो सम्मेलन गरी इसासले आफ्ना साँस्कृतिक गतिविधि सञ्चालन गर्दै गयो । उक्त सम्मेलनले निनु चापागाइँ अध्यक्ष, हरिदर्शनधारी उपाध्यक्ष, वदन शर्मा महा सचिव, आहुति सचिव र मातृका पोखरेललाई कोषाध्यक्षमा निर्वाचित ग¥यो । २०५७ सालमा इसास र रक्तिम साँस्कृतिक परिवारवीच एकीकरण भई निनु चापागाइँको अध्यक्ष, जीवन शर्मा उपाध्यक्ष र केशव नेपाल महासचिव रहेको प्रगतिशील साँस्कृतिक सङ्गठनको निर्माण भयो । प्रसासले पनि सहरिया आन्दोलनमा वैधानिक रुपले आफ्ना अभियान चालु राख्यो । गणतन्त्रका लागि साँस्कृतिक अभियान चलाउँदै यसले गणतन्त्रका स्वरहरु भन्ने गीति क्यासेट र जनसँस्कृति पत्रिका प्रकाशन ग¥यो । २०६० सालमा प्रसासले प्रथम राष्टिय सम्मेलन गरी निनु चापागाइँ अध्यक्ष, वदन शर्मा उपाध्यक्ष, मातृका पोखरेल महासचिव र सुमन देवकोटा सचिव रहेको केन्द्रीय समितिको निर्माण ग¥यो । सहरिया आन्दोलनको क्रममा प्रलेसले पनि वन्दी सष्टाहरुको रिहाइ लगायत दमनको विरोध ग¥यो । यस समयमा सङ्घले कलम, बन्दुक र मादलको फ्युजन गर्दै सांस्कृतिक गतिविधि अघि बढायो । सांस्कृतिक सेनाका रूपमा त्याग, बलिदान, शौर्य, साहस, वीरताको संस्कृति स्थापित ग¥यो । जनयुद्धको थालनीपछि क्रान्ति र वर्गसङ्घर्षको स्वरूप र आयाम सहर र गाउँमा फरक–फरक हुन पुग्यो । सहरमा वैधानिक र गाउँमा अवैधानिक तरिकाले सङ्घर्ष अघि बढ्यो । सहरबाट सांस्कृतिक आन्दोलन गाउँतर्फ मोडियो र जनयुद्धसँग जोडियो । यस्तो वैधानिक सङ्घर्षमा इसासको भूमिका महŒवपूर्ण रह्यो जसले वर्गशत्रुको भण्डाफोर गर्दै र वैचारिक रूपमा जनतालाई नयाँ जनवादी क्रान्तितर्फ अभिप्रेरित गरिरह्यो ।
२०५५ सालदेखि २०६० सालसम्मको सङ्घको कार्यकालमा सांस्कृतिक आन्दोलनमा निकै ठूला उथलपुथल र उतारचढाव आए । सङ्घले संशोधनवाद, अवसरवाद, जडसूत्रवाद, संसदीय सुधारवाद, मिहीन संशोधनवादका विरुद्ध निर्णायक सङ्घर्ष गर्नुप¥यो भने वर्गशत्रुका भीषण दमन, हत्या, आतङ्क, जेलनेल, बेपत्ता र गैरन्यायिक गोप्य हत्या र युद्ध–अपराध एवम् टाउकाको मूल्य तोक्ने र क्रान्तिकारी विचारको निषेध गर्ने समस्या झेल्नु प¥यो । अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लाग्यो र विनाकारण निर्दोषहरूमाथि माओवादी बिल्ला भिराएर शत्रु–साधना गर्ने र रिसइबी फेर्ने जस्ता कुकृत्यसमेत भए । बलात्कार र आगजनी, जिउँदै जलाउने र केटाकेटी अपहरण गरी बाबुआमा बुझाउने सर्त राख्ने जस्ता काम पनि ग¥यो । यसै समयमा ‘रोमियो’, ‘किलो सेरा टु’, ‘सर्च एन्ड किल’, ‘कर्डेन र स्विफ्ट’, ‘कम्बिङ अपे्रसन’ आदि दमन प्रक्रिया चालु भयो । अप्रेसनको अभियानमा छ जना खत्री बन्धुको हत्याबाट सुरु भएको त्यो दमन–हत्या–निषेधको अभियान सांस्कृतिक मोर्चामा पनि जारी भयो । गाउँमा कलम, मादल, सारङ्गी, बाँसुरी, गीत–सङ्गीत बोकेर हिँड्नेहरूलाई सामूहिक घेराउ र हत्या गरियो । विगतमा निरङ्कुश सत्ताबाट छिन्ताङ्मा सखानीमा, पिष्करमा गरिएका सामूयहिक हत्याकाण्डकै प्रक्रियालाई अघि बढाउँदै काभ्रेको अनेकोटमा, रोल्पाको भावाङ र गुम्चालमा, अछामको डुङ्गला र विनायकमा, डोटीको भुडभरा र छेंडामा, डोल्पाको माझफालमा लगायत कैयौँ ठाउँमा सामूहिक बीभत्स हत्याकाण्ड घटाइए । यसै प्रक्रियामा कृष्ण सेन ‘इच्छुक’ मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, डीबी थापा, रोहित कोइराला, पुष्पराज चौधरी, हर्षबहादुर मल्ल, शिव श्रेष्ठ, अञ्जान विरही, शारदा श्रेष्ठ, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा, चिनीमायाँ लामा, गुम्बासिंह तामाङ, कौशिल्या तमु, एकराज विक, डीबी लामा, जयराज भट्ट, इन्दिरा आचार्य, संगीता चौधरी, निर्मला देवकोटा, मञ्जु कुँवर, चञ्चला आले, भोगट राय, विदुर भगत, उतिचन राय यादव, रामकृष्ण महतो, आदि १६० भन्दा बढी सांस्कृतिककर्मीको हत्या भयो । बौद्धिक–सांस्कृतिककर्मीलाई पक्रिने र जेल हाल्ने काम भयो । जनयुद्धको निहुँमा ‘आगो’ फिल्ममाथि प्रतिबन्ध पनि लगाइयो । सांस्कृतिक मोर्चामाथि पनि प्रतिबन्ध घोषणा गरियो । सङ्कटकालले देश जेलमा बदलियो । नागरिकहरूको मौलिक हक खोसेर, कानुन र विधिलाई कुल्चेर, विदेशी शक्तिसँग साँठगाँठ गरी राष्ट्रिय स्वाभिमानलाई बन्धक बनाएर, विदेशी अत्याधुनिक हतियार भित्र्याई नागरिक सखाप पार्ने योजना बुनेर आम जनतालाई कैदीमा परिणत गरियो । यी बाहिरी समस्यासँगै आन्तरिक समस्या पनि खडा भए । पलायन, शिथिलता, अकर्मण्यता, आत्मसमर्पण, आत्मसुरक्षा, कुण्ठा, कायरता, विचलन आदि प्रवृत्तिहरू छिटफुट रूपमा आन्दोलनमा देखा परे जसमा घनश्याम ढकालको राजीनामा प्रकरण र मणि थापाको विसर्जनवादी पलायनको घटना पनि घटित भयो । तापनि यस समयमा मूलभूत रूपमा त्याग, बलिदान, सौर्य, साहस, समर्पण र प्रतिबद्धता नै मूलधारका रूपमा अघि बढ्यो । राज्यआतङ्क र कहालीलाग्दो दमनका बीच पनि अनियमित भए पनि कलम निरन्तर प्रकाशित भयो । जनकलाकारले साङ्गीतिक अभियान चलाए, देशव्यापी साँस्कृतिक परिवारहरू गठन भए । तालिम र प्रशिक्षणको आयोजना गरियो । खुसीराम पाख्रिन र माइला लामाको नेतृत्वमा सांस्कृतिक परिवारले विभिन्न ठाउँमा कार्यक्रम चलाए । सामना, प्रतिरोध, क्षितिज, सेनच्याङ, विसु, चुली र इच्छुक साँस्कृतिक संगम परिवारका कलाकार निकै सक्रिय रहे । साङ्गीतिक अभियान जनताका बीच मात्र होइन, युद्ध मोर्चामा पनि प्रवेश भयो । एकीकृत प्रतिरोध सांस्कृतिक अभियान यसै समय चालु गरियो । प्रचण्डपथीय सौन्दर्य चिन्तनको वैचारिक बहस माथि उठ्यो । क. प्रचण्डको संस्कृति, कला र सौन्दर्य चिन्तन कृतिको प्रकाशनले जनयुद्धको सौन्दर्यशास्त्रको जग हाल्यो । यसबारे व्याख्या र विश्लेषण प्रारम्भ भयो । गीति पुस्तिका, स्थानीय पत्रिका प्रकाशनका क्रमहरू पनि सुरु भए । बाह्य सङ्घर्ष र आन्तरिक सङ्घर्षका बीच सांस्कृतिक आन्दोलनले उचाइ छुँदै गयो र जनयुद्धको अभिन्न पेचकिला बन्न पुग्यो । सांस्कृतिक सेनाका हजारौँ सिपाहीहरू सांस्कृतिक मोर्चामा सङ्गठित हुँदै गए र यो देशव्यापी बन्न पुग्यो । जसले सांस्कृतिक गतिविधि गाउँगाउँसम्म पु¥याउन निकै सहयोग पुग्यो । इन्दे्रणी साँस्कृतिक समाजले आफ्नो कार्यकालमा चर्चित गीति नाटक सिम्मा र कहालीको प्रदर्शन ग¥यो भने डेढ दर्जन गीति चक्काहरुको पनि प्रकाशन ग¥यो त्यस्तै प्रगतिशील साँस्कृतिक संगठनले चलाएका बौद्धिक–प्राज्ञिक बहस, प्रकाशन, विरोध कार्यक्रम, देशका विभिन्न ठाउँमा गरिएका साँस्कृतिक अभियान आदिले पनि सामन्तवाद र साम्राज्यवादविरुद्ध सङ्घर्षलाई योगदान दिए । जनयुद्धलाई आतङ्ककारीभन्ने कुराको प्रतिवाद गर्दै जनयुद्ध क्रान्तिको लागि गरिएको संघर्ष हो भन्ने मत सिर्जना गर्दै आलोचनात्मक रुपले सहरबाट जनयुद्धलाई सहयोग पु¥यायो ।
सरकार–माओवादी दोस्रो वार्ताप्रक्रियाकै बीचमा सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन २०६० चैत्र ५मा ललितपुरको जावलाखेलमा सम्पन्न भयो । खास गरी वैचारिक स्तरीकरण, सङ्गठन विस्तार, प्रकाशन व्यवस्था, प्रशिक्षण, सङ्घर्षका कार्यक्रम तर्जुमा गरिए । दोरम्बा हत्याकाण्डद्वारा सुनियोजित ढङ्गले शान्तिवार्ता भङ्ग गरिएपछि सङ्घका सबै पदाधिकारी भूमिगत हुन बाध्य पारियो । दुस्मनका हत्या, दमन, आतङ्क, आततायी राज, बलात्कार, बेपत्ताका यावत् दुश्चक्रलाई चिर्दै सङ्घले यस अवधिमा सांस्कृतिक प्रतिरोध अभियान सञ्चालन ग¥यो । जनमुक्ति सेनामा, पार्टी कार्यकर्तामा, गाउँवस्तीमा समेत सांस्कृतिक अभियान चलाइयो र साँस्कृतिक सभाहरु पनि गरिए । वैचारिक र विधागत प्रशिक्षण पूर्व कोसी र पश्चिम रोल्पामा सम्पन्न गरियो । ‘जनयुद्धका आँधीमय आठ वर्ष’को श्रव्यदृश्य सिडी, रातो घाम श्रव्यचक्का, नयाँ संस्कृति (मुखपत्र), कलम साहित्यिक पत्रिका प्रकाशनमा आए । व्यक्तिगत रूपमा रातो आकाश (उपन्यास), ज्वालामुखीमाथिको यात्रा (लघुउपन्यास), फेरि लालभन्ज्याङमा उभिएर (शब्दचित्र), हाम्रो रातो यात्रा (कवितासङ्ग्रह), आस्थाको निहारिकाबाट (कवितासङ्ग्रह), परिभाषा (कवितासङ्ग्रह) राता मान्छेहरु (गीतिसङ्ग्रह) आदि प्रकाशित भए । यसवीच जेलबाट पनि केही कृतिहरु प्रकाशन भए जसमा बलराम तिमल्सिना, गंगा श्रेष्ठ र रामबहादुर रायमाझीको संयुक्त कविता संग्रह–तानाशाहलाई प्रश्न ? (२०५३ मंसिर), गोरखा जेलका वन्दीको वन्दी–आवाज, रुकुम जेलबाट जञ्जीरले बाँधिएका हातहरु र इच्छुकको वन्दी र चन्द्रागिरि महत्वपूर्ण छन् । यसै समयमा कमरेड प्रचण्डको संस्कृति, कला र सौन्दर्यचिन्तनको दोस्रो संस्करण छापियो । उद्बोधन, सम्वोधन, उद्घोष, उद्गम, पहलजस्ता क्षेत्रीय पत्रिका प्रकाशन भए । इच्छुक सांस्कृतिक सङ्गम र विसु परिवारले गीतिचक्का प्रकाशन गरे । यसै क्रममा प्रगतिशील साँस्कृतिक संगठनले गणतन्त्रका स्वरहरु नामक गीतिचक्का प्रकाशित ग¥यो । प्रकाशनका हिसाबले यो महŒवपूर्ण उपलब्धि हो । व्यक्ति प्रकाशनमा ‘फेरि लालभन्ज्याङमा उभिएर’ले निराशावादी, शून्यवादी कोणबाट आन्दोलनमाथि आत्मध्वंशात्मक शैलीमा आदर्शका विम्ब ढलेको चित्रण गर्न पुग्यो र यो आलोच्य बन्न पुग्यो । सङ्गठन निर्माणको हिसाबले यो अवधि अत्यन्त महŒवपूर्ण रह्यो । सङ्गठनलाई केन्द्रदेखि एकाइसम्म पु¥याउने काम यसै अवधिमा सम्पन्न भयो । हजारौँको सङ्ख्यामा कलाकार उत्पादन भए । सङ्गठन निर्माण, अभियानकै रूपमा अघि बढ्यो र जिल्ला सङ्घ–परिवार, क्षेत्रीय सङ्घ–परिवार, कमाण्डस्तरीय सङ्घ–परिवार गठन भए । सामनालाई दुई भागमा बाँडी पूर्वी सामना र पश्चिम–सामना बनाइयो । सांस्कृतिक सेनाको अवधारणाअनुरूप कलम–मादल–बन्दुकको फ्युजनका साथ कलाकर्मीहरूको प्लाटुन, कम्पनी, बटालियन संरचना निर्माण यस कालको महŒवपूर्ण उपलब्धि र सङ्गठनात्मक सफलता थियो जसले सङ्गठनलाई चुस्त–दुरुस्त, अनुशासित, प्रतिबद्ध र समर्पित सङ्गठनका रूपमा विकास ग¥यो भने सांस्कृतिककर्मीमा नेतृत्व, कमान्डरसिप, कमिसारियटको विकास ग¥यो । यसले विचारको विकास र स्तरीकरणमा पनि मद्दत पुग्यो । सामूहिक जीवनपद्धति र सामूहिक कार्यमा मलजल र अन्तर्घुलन पैदा ग¥यो । जिम्मेवार सांस्कृतिक सिपाही निर्माण ग¥यो । युद्धमा स्वयंसेवक टिम पठाउने र सेनामा जनशक्ति आपूर्ति गर्ने काम ग¥यो । लजिस्टिक ओसारपसार र व्यवस्थापनका जिम्मेवारी पनि पूरा ग¥यो । सामूहिक परिवारमा रहँदाका जटिलता र समस्याको पनि समाधानमा सहयोग पुग्यो । क्रान्ति, युद्ध, बलिदान, साहस, सौर्य, त्याग, समर्पणको भाव पैदा गर्न साँस्कृतिक कम्पनी संरचनाको भूमिकालाई बिर्सनु इतिहासप्रति अन्याय हुनेछ । यस्ता कम्पनीमा विसु, अपिसैपाल, चुली सांस्कृतिक कम्पनी (सेम), चोमोलुङ्मा सांस्कृतिक कम्पनी (पूर्व), सेङच्याङ, अनेकोट स्मृति र शिव–शारदा र चुनुशिल्पा सांस्कृतिक कम्पनी (मध्य) मा गठन भए । सगरमाथा सांस्कृतिक प्लाटुनको पनि गठन भयो । पछिल्लो चरणमा सामना सांस्कृतिक बटालियनको निर्माण चितवनमा सम्पन्न भयो । एकीकृत, केन्द्रीकृत, योजनाबद्ध सङ्गठनको निर्माण र परिचालनमा तिनको महŒव रहेको थियो । सांस्कृतिक सेनाको अवधारणा रुस र चीनका क्रान्तिबाट प्रारम्भ भई नेपाली जनयुद्धमा पनि प्रयोग गरिनु सांस्कृतिक सेनालाई क्रान्तिको अभिन्न अङ्गमा विकास गरिनु यसको गहकिलो परिणाम मान्नु पर्छ । (यस अर्थमा रुस र चीनमा सांस्कृतिक ब्रिगेडले खेलेको भूमिकाबारे अध्ययन हुन जरुरी छ ।) तर सांस्कृतिक सेना जनसेनाभन्दा भिन्न, मौलिक, स्वतन्त्र अस्तित्वको हुन्छ र यस किसिमका संरचनाहरु विशिष्ठ परिस्थितिमा आवश्यकता अनुरुप बन्ने र भत्कने हुन सक्छन् भन्नेमा भने हामी स्पष्ट हुनुपर्छ । यसको मुख्य काम सांस्कृतिक क्रान्तिको अभिभारा बहन गर्नुमा नै रहेको स्पष्ट छ । सङ्घर्ष, मोर्चा, आन्दोलन र अभियानका क्षेत्रमा यस समयमा गहकिला काम भए । जनतालाई जनयुद्धको सौन्दर्य बोध गराउने र चेतना दिने, जनचेतना र जागरण विस्तार गर्ने, क्रान्तिप्रतिको संवेदना र भावना पैदा गर्ने, जनयुद्ध र यसले चाहेको मुक्तिप्रति आकर्षित गर्ने, जनताका मनमस्तिष्कलाई उर्वर बनाउने, जनयुद्धको विस्तारका लागि उर्वरभूमि निर्माण गर्ने, प्रचार–प्रसार गर्ने काममा गीत, सङ्गीत, साहित्य, कला, नृत्याभिनयका माध्यमबाट सांस्कृतिक सेनाले राम्रो भूमिका खेल्यो । यसो गर्न महोत्सव, अभियान र सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । अछामको रामारोशन सांस्कृतिक महोत्सव, कालीकोटको सान्नीगाड इच्छुक साहित्यिक महोत्सव, विनायक सांस्कृतिक महोत्सव, डोटीको जुनीचौतारा र दिपायल साँस्कृतिक महोत्सव आदि गरिए । प्रतिरोध दिवस र सांस्कृतिक बलिदान दिवसजस्ता कार्यक्रमहरु सुरु गरिए । मेची–महाकाली प्रतिरोध अभियान, गणतान्त्रिक सांस्कृतिक अभियान, प्रतिरोध साङ्गीतिक अभियानजस्ता अभियान सामना, प्रतिरोध आदि परिवारले सम्पन्न गरे । पूर्वी सामना र पश्चिम सामना अभियानबारे माथि चर्चा भइसकेको छ । चुनवाङ बैठकपछि पार्टी र केन्द्रीय समितिमा पश्चिम सामना र प्रतिरोध परिवारबाट संयुक्त रुपमा प्रस्तुत ‘युद्ध मोर्चाबाट फर्किँदा’ अपेराको यहाँ विशेष महŒव छ । यस्ता अभियान अत्यन्त उपलब्धिमूलक र सफल रहे । यसै गरी देशैभरि पुरानो रुढिवादी शैलीको भद्दा र कर्मकाण्डी विवाहशैलीका विरुद्ध विरोधका रुपमा सैयौं ठाउँमा जनवादी विवाह प्रक्रिया चालु गरियो । दुस्मनका हेडक्वाटर नजिकसम्म पुगेर साँस्कृतिक कार्यक्रम दिनु सानो चुनौती थिएन । यो प्रक्रिया सबै क्षेत्रीय परिवारहरूबाट पनि एउटै योजना अन्तर्गत सम्पन्न गरिएको कुरा पनि बुझनु जरुरी छ । रेडियो जनगणतन्त्रको स्थापना र सञ्चालन २०६० भाद्र २३ बाट परीक्षण शुरु भएर फागुन १ गतेदेखि औपचारिक रुपमा प्रसारण भएपछि यसले प्रचार–प्रसारका साथै साहित्यकलाको विकासमा पनि गहकिलो भूमिका निर्वाह ग¥यो । पाँच ठाउँबाट एकैसाथ सुरु गरिएको रेडियो प्रशारण सेवाबाट सङ्गीत, कला, साहित्यको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका रह्यो ।
शान्ति प्रक्रियामा आएपछि पनि मागपत्र पेस गर्ने, वक्तव्य जारी गर्ने, गोष्ठी र सभा गर्ने, साँस्कृतिक सभा, जुलुस र कोणसभा आयोजना गर्ने, प्रचार–प्रकाशन, सूचना–सञ्चारमा हस्तक्षेप बढाउने, लेख–रचना, कृति र सामग्री प्रकाशन गर्ने, वैचारिक वहस र अन्तक्र्रिया गर्ने, पार्टीका योजनामा सङ्घर्ष र आन्दोलनमा होमिने आदि काममा सांस्कृतिककर्मीले ठूलो भूमिका पूरा गरेका छन् । वैचारिक सङ्घर्षमा अवसरवाद, व्यक्तिवाद, सुधारवाद, संशोधनवादविरुद्ध सङ्घर्षमा पनि यस मोर्चाले भूमिका निर्वाह गरेको छ । विचार र कला, बलिदान र आदर्श, मोर्चा र सहभागिता, बन्दुक र कलम–मादल, सांस्कृतिक र जनमुक्ति सेनाबीच तालमेल, अन्तर्घुलन र समायोजनमा विशिष्ट भूमिका पूरा गरेको छ ।
२०६३ भाद्र २४–२६ गते सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनदेखि वर्तमानसम्म आइपुग्दा हाम्रो सङ्गठन सांस्कृतिक आन्दोलनको शक्तिशाली मूलधारमा परिणत भएको छ । एकता प्रक्रिया, सम्मीलन प्रक्रिया र प्रवेश प्रक्रियाबाट अघि बढ्दै हामीले गरेका अथक् प्रयासले नै त्यो सम्भव भएको हो । तेस्रो राष्ट्रिय सम्मेलनले अवसरवाद, आत्मकेन्द्रित व्यक्तिवाद, सङ्कीर्णता र कुण्ठा, बौद्धिक दम्भ, विखण्डनवादी र विसर्जनवादी प्रवृत्ति, क्षेत्रीयतावादी र विभागवादी सोंचहरु विरुद्ध सङ्घर्षमा आफ्नो भूमिका पूरा गरेर जनयुद्धको सौन्दर्य चिन्तनलाई आत्मसात् गर्दै व्यवहारमा उतार्ने र सांस्कृतिक आन्दोलन अघि बढाउने बाटोलाई पहिल्यायो । नयाँ गतिका साथ अघि बढ्दै जाने विषयमा एकताभाव सिर्जना ग¥यो । महासङ्घीय संरचनाका आधार स्पष्ट ग¥यो । सङ्गठन सुदृढीकरण गर्ने धारणा मूर्त ग¥यो । वैचारिक र विधागत श्रेष्ठता हासिल गर्न तथा दक्ष र लालबीच सङ्गति कायम गर्न योजनाबद्ध सांस्कृतिक गतिविधि सञ्चालन गर्ने निर्णय ग¥यो । निरन्तर क्रान्तिको अवधारणाअनुरूप सामन्ती र पुँजीवादी उत्तराधुनिक संस्कृतिका विरुद्ध सङ्घर्ष गर्ने उद्देश्य लियो । सामाजिक तथा सांस्कृतिक रूपमान्तरणको अभियान चलाउने योजनासहित महासङ्घ अघि बढ्यो । तर यसवीच कमी कमजोरीहरु पनि भए खासगरी सम्मेलनका क्रममा नेतृत्वमाथि गरिएका अराजकता, उद्दण्डता र अशिष्टताका व्यवहारहरु बेठीक रहे । यद्यपि त्यसो हुनुमा नेतृत्वको स्वभावगत कमजोरीहरु पनि जिम्मेवार रहेका छन् । त्यस्तै राष्ट्रिय स्तरका योजना वनाउने र कार्यान्वयन गर्ने, तल गाउँसम्म पुग्ने र साँस्कृतिक गतिविधि चलाउने, शहरमा जोड दिने र गाउँमा ध्यान पु¥याउने कुराहरुमा पनि कमी कमजोरी रहे । बौद्धिक–प्राज्ञिक–साँस्कृतिक क्षेत्रमा गरिनु पर्ने हस्तक्षेप पनि अपेक्षाकृत पूरा हुन सकेनन् । साँस्कृतिक आन्दोलनमा विभिन्न राष्ट्रिय भाषामा पनि प्रशस्त रचनाहरु प्रकाशन भएका छन् । मगर, गुरुङ्, राई, लिम्बु, मैथिली, भोजपुरी, अवधी, थारु, नेवारी, तामाङ् आदि भाषामा प्रकाशित भएका रचना र साँस्कृतिक गतिविधिको प्रगतिशील सँस्कृति निर्माणमा रहेको भूमिकाबारे विस्तृत अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।
तेस्रो सम्मेलनपछि महासङघले गरेका कार्यहरुलाई वुँदागत रुपमा तल राख्ने जमर्को गरिएको छ ।
१) राजनीतिक काम ः
जनयुद्धको स्थगन र शान्ति प्रक्रियामा सामेलीपछि विचार निर्माणको प्रक्रिया केही अवरुद्ध र शिथिल भए पनि साँस्कृतिक क्षेत्रबाट जनताको गणतन्त्र सुनिश्चित गर्ने गरी संविधान सभाको निर्वाचनद्वारा जनमुखी संविधान बनाउने वा विद्रोहद्वारा जनताले सोझै सत्ता हस्तगत गर्ने भन्ने विचारमा बहस आरम्भ भयो । राजनीतिक परिवर्तनपछि पनि सामन्ती संस्कृति, राज्यसंरचना, सैन्यसंरचना, आर्थिक संरचना र न्यायपद्धतिमा कुनै तात्विक अन्तर देखिएन । उल्टै बेबी किङ, सांस्कृतिक राजा, आलङ्कारिक राजतन्त्रका तुरूप फ्याँक्न छोडिएन । त्यसविरुद्ध बहस आरम्भ भयो । जनतामा पैदा भएका भ्रम र निराशाको निवारण गर्न पहल भयोे । मुलुकको अर्धसामन्ती र अर्धऔपनिवेशिक संरचना यथावत् थियो । क्रान्ति पूरा भएको थिएन र सहिदका सपना साकार बनेका थिएनन् । जनताको विद्रोहद्वारा फेरि अर्को एक धक्का दिएर मात्र वास्तविक मुक्ति सम्भव छ र सर्वहारा वर्गको हातमा सत्ता आउन सक्छ भन्ने विचार कार्यकर्तासम्म पु¥याउन पहल भयो । हिजो सामन्ती राजतन्त्र मुख्य दुस्मन थियो, त्यो ढलेपछि अब जनताको मुख्य प्रहारको निशाना वा प्रमुख दुस्मन को हुने भन्ने छलफल भेला र प्रशिक्षण गरियोे । हाम्रो अबको गन्तव्य नयाँ जनवादी व्यवस्था हो र जनवादी सांस्कृतिक रूपान्तरण हो भन्ने धारणासहित जनवाद र राष्ट्रियता एकार्का पूरक भएकाले राष्ट्रियताविनाको लोकतन्त्र र स्वाभिमानविनाको गणतन्त्रको अर्थ छैन भन्नेस्पष्ट पारिएको थियो । आज पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट देश मुक्त नभएको विचार राजनीतिक र वैचारिक कार्यद्वारा सङ्गठनले आफ्नो सामथ्र्यबमोजिम पु¥याउन कोसिस गरिरहेको छ । विचारगोष्ठी, अन्तक्र्रिया र छलफलहरू सञ्चालन भए । वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरियो । देशका कैयौँ ठाउँमा राज्य समितिस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भए । त्यस्ता गोष्ठीमा मुख्य रूपमा राष्ट्रियता र गणतन्त्रबारे कीर्तिपुरमा भएको विचार गोष्ठी र साथै विराटनगर, बुटवल, चितवन, दाङ, नेपालगन्जमा भएका गोष्ठी र अन्य कार्यक्रम महŒवपूर्ण रहेका छन् । त्यसै गरी विधागत र प्राविधिक प्रशिक्षणहरू पनि देशभरि सम्पन्न भए । प्रत्येक राज्य–परिवारलाई प्रशिक्षक पठाएर वा कलाकारलाई काठमाडौँ बोलाएर नृत्य, गायन, अभिनय, वाद्यवादन, उद्घोषणसम्बन्धी प्रशिक्षण दिइएको छ । सिकेकाहरूले फेरि तल गएर सिकाउने काम पनि भएको छ । यसमा सामना, प्रतिरोध, सेनच्याङ र बैकुण्ठ–चेत नेवा परिवारले मुख्य भूमिका पूरा गरेका छन् । पाल्पा (मगरात), सुर्खेत (भेक), चितवन (तामसालिङ) राज्य र जिल्लाहरू, जनसेनाका शिविरहरु तथा प्रवासमा त्यस्ता प्रशिक्षण भएका छन् । केहीलाई राष्ट्रिय नाचघरमा पनि प्रशिक्षणको व्यवस्था मिलाइयो । सौन्दर्य शास्त्रसम्बन्धी प्रशिक्षण र कार्यशाला गोष्ठीले सैद्धान्तिक ज्ञान वृद्धि गर्न भूमिका खेलेको छ । इँटहरी, विराटनगर, नेपालगन्ज, चितवन, काठमाडौँ, जिरी, दाङ, बुटवल, गोरखा आदि ठाउँमा सिर्जना प्रक्रिया, सौन्दर्यशास्त्र र संस्कृतिसम्बन्धी लेखक संघको पहलमा विधागत प्रशिक्षणले स्तर–अभिवृद्धिमा सहयोग पुगेको छ । चलचित्रसम्बन्धी गोष्ठीले सिनेमालाई समयानुकूल परिवर्तन गर्ने चेतना प्रदान गरेको छ । मौलिक, सार्थक, कलात्मक, वैचारिक सिनेमा निर्माणका लागि त्यस्ता गोष्ठी प्रेरणादायी बनेका छन् । मूलतः मालेमावादी विचारको आलोकमा नयाँ जनवादी क्रान्ति पूरा गर्न अर्को विद्रोह आवश्यक रहेको वैचारिक सत्य आम कार्यकर्तासम्म पु¥याउन पहल गरिएको छ ।
२) सङ्गठनात्मक काम ः
तेस्रो राष्ट्रिय सम्मेलनले नीतिगत रुपमा पारित गरेको सङ्गठनको महासङ्घीय संरचनाअनुरूप सङ्गठन बनाउने कार्य भएका छन् । माथिबाट तल झर्ने प्रक्रियाअनुसार क्रमशः आङ्गिक सङ्गठन निर्माण र परिचालन सम्मेलनपछि सुरु भयो । सोबमोजिम हालसम्म पाँचवटा आङ्गिक सङ्गठन निर्माण भइसकेका छन् जसअनुसार घनश्याम ढकालको नेतृत्वमा अखिल नेपाल लेखक सङ्घ, मोहलाल चन्दको नेतृत्वमा अखिल नेपाल जनकलाकार सङ्घ, शिवजी लामिछानेको नेतृत्वमा अखिल नेपाल चलचित्रकर्मी सङ्घका राष्ट्रिय सम्मेलन पूरा भई केन्द्रीय समिति निर्माण भएका छन् भने अखिल नेपाल ललितकला सङ्घको भेलाले देवेन्द्र थुम्केलीको नेतृत्वमा केन्द्रीय समिति निर्माण गरेको छ । अखिल नेपाल लोककलाकर्मी सङ्घको गठन भेलाद्वारा गरिए पनि हाल त्यो निस्क्रिय भएको छ । यी प्रत्येक सङ्गठनका कतिपय राज्य समितिहरू पनि निर्माण भइसकेका छन् । जसमा जनकलाकार, लेखक र चलचित्रकर्मी संघका राज्यसमितिहरु रहेका छन् । महासङ्घका राज्य समितिहरू अधिकांश निर्माण भएका र केहीमा हुने प्रक्रिया जारी छ । महासंघका धेरै जिल्ला समिति पनि बनेका छन् । आङ्गिक सङ्गठनका बैठक, भेला, सम्मेलन हुने क्रम जारी छ । चितवन र दाङमा स्थानीय महासङ्घको पहलमा सहिदका नाममा साहित्यिक पुरस्कारको स्थापना गरिएको छ भने केन्द्रमा इच्छुक सांस्कृतिक प्रतिष्ठानमार्फत् इच्छुक साहित्य र पत्रकारिता पुरस्कार स्थापनामा महासङ्घले पहल लियो र २ लाख रकम जम्मा गर्ने काम पनि गरेको छ । विभिन्न सांस्कृतिक क्षेत्रका व्यक्तित्वसँग भेटघाट, छलफल, विचार–विमर्श गर्दै वैचारिक नीति र कार्यदिशाबारे स्पष्ट पार्दै जनयुद्धको सौन्दर्य पक्षलाई उजागर गर्दै हामीप्रति सकारात्मक सोच पैदा गर्न पनि केन्द्रले विशेष पहल ग¥यो । साझा मोर्चा निर्माण र सञ्चालनको पहल पनि गरिएको छ । धेरै वर्षदेखि रोकिएको प्रतिभा–प्रवाह पुनर्गठन, शुभारम्भ र नियमित कार्यक्रम सञ्चालनमा हाम्रो प्रमुख भूमिका छ भने प्रलेसको राष्ट्रिय सम्मेलन र नेतृत्वका सन्दर्भमा हामी सक्रिय भई घनश्याम ढकालको अध्यक्षतामा बहुमत साथीहरू निर्वाचित भई क्रियाशील भएको छ । सङ्गठनात्मक विस्तार र विकासमा एकता र सम्मीलन एवम् प्रवेशका घटनाको विशेष महŒव रहेको स्पष्ट छ । कलाकारहरुको एउटा साझा मोर्चा गठन भए पनि त्यो निष्क्रिय रहेकोले त्यसलाई पुनः जीवन दिनु आवश्यक छ ।
२.१ एकता, सम्मीलन र प्रवेश
पार्टी एकीकरणसँगसँगै सांस्कृतिक मोर्चामा पनि एकीकरण प्रक्रिया अघि बढ्यो । विद्रोहद्वारा जनताको सत्ता स्थापित गर्न व्यापक जनसमर्थन मात्र हैन, व्यापक सङ्गठनको विस्तार, विकास र विशाल साङ्गठनिक जालोको आवश्यकता जरुरी हुन्छ । त्यसका लागि नै एकता, सम्मीलन र प्रवेशका गतिविधि अघि बढे । एमालेबाट क) रामचन्द्र भट्टराईसहित साथीहरू, ख) शान्तदास मानन्धर, रमेश भट्टराई, सुधा त्रिपाठी, मित्रलाल पंज्ञानी, धीरेन्द्र पे्रमर्षी, माधव ढुङ्गेल, तेजविलास अधिकारी, छायाँदत्त न्यौपाने, भक्तबहादुर नेपाली, प्रभात सापकोटालगायतका साथीहरू, ग) जेबी टुहुरे र चन्द्रा थानीहरु घ) कुन्ता शर्मालगायतका साथीहरू सङ्गठनमा सम्मीलित हुनुभयो भने त्यसअघि नै टेकबहादुर बलम्पाकी, हिसन समाललगायतका साथीहरू एकीकृत भइसक्नु भएको थियो । स्वयं प्रचण्डले उहाँहरूलाई प्रवेश गराउनुभएको थियो । चलचित्र क्षेत्रमा त हाम्रो विशेष हस्तक्षेप नै सावित भएको छ । युवराज लामा, केपी पाठक, मौसमी मल्ल, दीपक श्रेष्ठ, राजेन्द्र खड्गी, छवि ओझासहित ८ दर्जनभन्दा बढी चलचित्रकर्मी सङ्गठनमा प्रवेश गरे । लक्ष्मण शेष, विजय बस्नेत, चेतन सापकोटा, राजु केसी, रामेश्वर बुर्लाकोटी, विमल पौडेलले त्यसपूर्व नै शिवजी लामिछानेको नेतृत्वमा सङ्गठनमा रहेर सक्रियतापूर्वक चलचित्र क्षेत्रलाई हाँकिरहेका छन् । निर्देशक समाजमा केपी पाठकको जीत र अन्य क्षेत्रमा पनि हाम्रो प्रभावले सङ्गठनात्मक भूमिका र महŒवलाई निर्देशित गर्छ । प्रवेशकै सन्दर्भमा पछिल्लो चरणमा अच्युत घिमिरे, विष्णु ज्ञवाली, मधुसूदन गिरी, घनश्याम न्यौपाने ‘परिश्रमी’ आदि साथीहरू समाहित हुनु भएको छ । एकता प्रक्रियाको महŒव विशिष्ट र ऐतिहासिक सावित भएको छ । सामन्तवाद–साम्राज्यवादविरोधी शक्तिहरू एउटै धु्रवमा उभिनुले प्रतिक्रियावादी र संशोधनवादीको सातो उडेको छ र हाम्रो सङ्गठन सांस्कृतिक आन्दोलनको मूलधार पनि बन्न पुगेको छ । यसै प्रक्रियामा २०६५ माघ २३ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घ र प्रगतिशील सांस्कृतिक सङ्गठनबीच सयुक्त अधिवेशन भई एकता सम्पन्न भयो । एकतापश्चात् संगठनको नाम एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ राखियो । ध्रुवीकरण प्रक्रियामा यो महŒवपूर्ण उपलब्धि हो । सम्मेलनले १५१ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण ग¥यो । जसमा संयोजक ईश्वरचन्द्र ज्ञवाली र सहसंयोजकमा मातृका पोखरेल रहनु भयो । यो सम्मेलनपछि नै सङ्गठनको इन्चार्जमा निनु चापागाईं हुनु भयो । यसभन्दा पहिले नै डा.जगदीशचन्द्र भण्डारीको नेतृत्वको जनकला सिर्जना समाज पनि एकीकृत भइसकेको थियो । यो एकतापछि सङ्गठनात्मक काम अझ गतिशील बन्यो । यस अवधिमा प्रज्ञाप्रतिष्ठान गठन, विरोध र स्थगनले केही विवाद जन्माएको छ । केही प्रक्रियागत त्रुटि, केही भावावेग, केही आन्तरिक अन्तर्विरोध, केही व्यवस्थापनका कमीकमजोरीले गर्दा क्रान्तिकारीहरूको नेतृत्वमा पहिलो पल्ट गठन भएका प्रज्ञाप्रतिष्ठानहरू स्थगित र विवादित हुन पुगेका छन् जसको दोष आ–आफ्नो अंशमा सबैले लिनै पर्छ । सङ्गठनात्मक काममा यस्ता केही कमीकमजोरीका बाबजुद उपलब्धि सकारात्मक नै छन् ।
३) सङ्घर्ष÷आन्दोलन ः
आन्दोलन र सङ्घर्षका कार्यहरुमा सङ्गठन सबैजसो गतिविधिमा सक्रिय नै रहेको छ । पार्टीद्वारा निर्धारित सङ्घर्षका योजना कार्यान्वयन पक्ष होस् वा आप्mनै स्वतन्त्र सङ्घर्षका कार्यक्रम कार्यन्वयन, यसमा प्रशस्त गतिविधि भएका छन् । नियमित रूपमा गरिँदै आएका पूर्वस्थापित चैत्र ५ को प्रतिरोध दिवस र जेठ १३ को सांस्कृतिक बलिदान दिवस दुवै निरन्तर प्रभावशाली ढङ्गले आयोजन गरिए । सो सन्दर्भमा पर्चा र पम्प्लेट प्रकाशन गरी तिनको प्रचारप्रसार पनि गरिएको छ । अनेकोटको घटनास्थल पुगेर जनसमूहको विशाल उपस्थितिमा प्रतिरोध दिवस सम्पन्न गरिएको होस् वा हलहरूमा भव्य उपस्थितिमा आयोजना गरिएको बलिदान दिवस, दुवै प्रभावशाली थिए । बलिदान दिवसमै इच्छुक स्मृति ग्रन्थको विमोचन र पुरस्कार घोषणा गरियो साथै सहिद सम्मान कार्यक्रम पनि गरियो । सुन्दरी प्रतियोगिता विरोधी आन्दोलनमा कार्यक्रम स्थल घेराउ र प्रहरीसँग भिडन्त हुँदा साथीहरू घाइते हुनु, धर्ना तथा घेराउ कार्यक्रममा लाठीचार्ज हुनु आदि सङ्घर्षका कार्यक्रम सफल रहे । धर्ना तथा घेराउ कार्यक्रम पनि देशव्यापी रुपमा सम्पन्न गरिए । सबै जिल्लामा सांस्कृतिक समस्यालाई उठाई मागपत्र पेस गर्न जाँदा जुलुस प्रदर्शन भए । गणतन्त्र घोषणाका लागि दबाब सिर्जना गर्न माइतीघरबाट निकालिएको विशाल जुलुस, संविधान सभाको चुनाव घोषणाका लागि दबाब कार्यक्रम, मूर्दा जुलुस र सडकजाम कार्यक्रम, देशव्यापी सांस्कृतिक सभा, सडक गोष्ठी, सडक साङ्गीतिक कार्यक्रम, मसाल जुलुस, सङ्गीत क्षेत्रको आन्दोलन, पाइरेसी विरुद्ध सङ्घर्ष, चलचित्र क्षेत्र सुधारका लागि गतिविधि गरियो भने विदेशी पुजारी हटाई स्वदेशी पुजारी राख्न दबाबस्वरूप नाराजुलुस प्रदर्शन तथा विरोध सभा गरियो । त्यस्तै पार्टीको योजनाअनुसार पछिल्लो चार चरणका कार्यक्रममा सिंहदरबार घेराउ, जिल्ला प्रशासन कार्यालय घेराउ, मसाल जुलुस र सांस्कृतिक मोर्चाको सडक साङ्गीतिक जुलुसमा महासङ्घले नेतृत्वदायी जिम्मेवारी वहन ग¥यो । त्यसै गरी टुँडिखेलको साँस्कृति–सभा र सडक पेन्टिङ, चित्र तथा कला प्रदर्शनी राष्टिय स्वधीनता तथा नागरिक सर्वोच्चताका निम्ति कार्टुन प्रदर्शनी, पुत्ला प्रदर्शनी, भित्ते लेखनमा ललितकला सङ्घले गहन भूमिका पूरा ग¥यो । त्यो आन्दोलन सँस्कृतिमय हुनु महत्वपूर्ण थियो । केन्द्रीय कार्यक्रममा जस्तै जिल्ला तथा राज्यमा पनि महासङ्घका सबै समितिले पूर्ण सहभागिताका साथ अभियानहरु सम्पन्न गरेका छन् । अनेकोट स्मृति (ताम्सालिङ् साँंं परिवार), प्रतिरोध, चुनुशिल्पा, सुखानी, इच्छुक, विसु आदि साँस्कृतिक परिवारले मेची–काली अभियान तथा राष्टियता र जनतन्त्रको लागि सशक्त अभियानहरु सञ्चालन गरे । जातीय मोर्चाका साँस्कृतिक परिवारहरु मगरात, वैकुण्ठ चेत (नेवा), तामाङ् रिमठिम ठेवे (ताम्सालिङ्), रामवृक्ष (मिथिला), विशाल (थरुवान), किराँत परिवार आदिले पनि विभिन्न अभियान चलाए । अन्य हलहरूमा गरिएका विभिन्न सांस्कृतिक कार्यक्रम र च्यारिटी सोले पनि चेतनाको सञ्चारमा भूमिका निभाए । नाचघरमा केही समय नियमित कार्यक्रम गरियो । राष्ट्रियता र देशप्रेमको भाव सञ्चार गर्ने, विस्तारवादको विरोध गर्ने तथा जनताका बीच विदेशी दलाल, कठपुतली राष्ट्रघाती सरकारको भण्डाफोर र सीमा अतिक्रमण र वैदेशिक हस्तक्षेपका विरुद्ध सङ्घर्ष, चेतना जगाउनेमा हाम्रो साहित्य, कला, गीतसङ्गीतले जनताबीच गहन भूमिका निर्वाह गर्दै सांस्कृतिक हस्तक्षेपको प्रक्रिया बढाएका छन् । ललितकला संघले वृहत् कला प्रदर्शनी, एकल कला प्रदर्शनी तथा कार्टुन प्रदर्शनी आदिले पनि व्यापक प्रभाव पारेको थियो ।
४. अभियान ः
अभियानहरू महासङ्घका महŒवपूर्ण र प्रभावशाली कार्यक्रम हुन् । सर्वहारा वर्गको वास्तविक मुक्ति र मुलुकको वास्तविक परिवर्तनका आकाङ्क्षाहरूको सम्प्रेषण अभियानहरूले गरे भने जनचेतना र जागरण पनि पैदा गरे । नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता, अग्रगमन, शान्ति र नयाँ संविधान निर्माणको सांस्कृतिक सचेतना पैदा गर्न सामना परिवार, लेखक सङ्घ, जनकलाकार सङ्घ, चलचित्रकर्मी संघ, ललितकला संघसहित महासङ्घले केन्द्रीय योजना सञ्चालन ग¥यो । थरुहट आन्दोलनका बीच अनेक अप्ठ्यारा बन्द र आक्रमणका समस्या पार गर्दै र अनेक चुनौती छिचोल्दै सांस्कृतिक सचेतना अभियान विस्तारवादले अतिक्रमण र कब्जा गरेका तथा बलजफ्ती गाभेका क्षेत्रहरूसहित जनसेनाका क्याम्प र सार्वजनिक स्थलहरूमा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरियो । यो पूर्व पश्चिम सबै क्षेत्रमा पुग्ने योजना भए पनि तराईमा पैदा भएका गडबडी र अन्य भौतिक समस्याका कारण मकवानपुरदेखि कन्चनपुरसम्म मात्र सफल भयो । लाखौँ जनसमुदायलाई यसले राष्ट्रियताको भाव पैदा ग¥यो र नागरिक अधिकारका लागि सचेत बनायो । पार्टी, सेना र सांस्कृतिक मोर्चाको सम्बन्ध सुदृढ गर्न पनि यसको भूमिका रह्यो । अभियानको राष्ट्रियतामा आधारित वेपत्ता र सपना तथा माटो र मुटु जस्ता अपेरा प्रभावका दृष्टिले उत्तम रहे । यस्तै अभियानका रूपमा देशव्यापी सांस्कृतिक सभाको आयोजना पनि गरियो । सामनाको मेची–काली अभियान, लोकतान्त्रिक गणतन्त्रका लागि साङ्गीतिक अभियान, जनसेना क्याम्पहरूमा साँस्कृतिककर्मी–जनसेना मितेरी अभियान, ताम्सालिङ्ले मेचीमहाकाली साङ्गीतिक अभियान र वृहत् गणतान्त्रिक साङ्गीतिक अभियान, थरुवानले साँस्कृतिक सचेतना अभियान घनीभूत र प्रभावपूर्ण तथा उपलब्धिमूलक रहे । जसमा लेखकहरुको पनि प्रत्यक्ष भूमिका रह्यो । करिब पन्ध्र लाख दर्शकमाझ सामना पुग्यो । प्रतिरोधले गणतान्त्रिक जनचेतना अभियान, प्रतिरोध जनसङ्गीत अभियानसहित जलजला सङ्गीत महोत्सव सम्पन्न ग¥यो । चुनु शिल्पाले जनसम्बन्ध सुदृढीकरण तथा सचेतना अभियान चलायो भने क्षितिजले गणतन्त्रका लागि सांस्कृतिक अभियान, राष्ट्रिय एकता तथा विकास अभियान सफल पा¥यो । कञ्चनजङ्घा परिवारले शान्ति र गणतन्त्रका लागि सांस्कृतिक अभियान चलायो । थरुवान कलाकार परिवारले जनचेतना अभियान र चोमोलुङ्मा परिवारले जनसांस्कृतिक सचेतना अभियान तथा सामना सुखानी अभियान सञ्चालन ग¥यो । त्यसैगरी यसले इच्छुक सांस्कृतिक शिविर पनि सञ्चालन ग¥यो । विधागत प्रशिक्षण, सौन्दर्यशास्त्रीय प्रशिक्षण, अभिनय तथा नाट्य प्रशिक्षण, राजनीनिक वैचारिक प्रशिक्षणका लागि पनि विभिन्न शिविर सञ्चालन गरियो । तर, कतिपय क्षेत्रहरुबाट भने अपेक्षाकृत काम सम्पन्न हुन सकेनन् । जे भए पनि अभियानहरू सांस्कृतिक गतिविधिका मेरुदण्डकै रूपमा कार्यान्वयन भएका छन् जसले आम कलाकार साथीलाई परिचालन गर्न सहयोग ग¥यो ।
५. प्रकाशन
यो अवधि प्रकाशनका हिसाबले अत्यन्त उर्वर अवधि रहेको छ । संस्थागत, सामूहिक, व्यक्तिगत प्रकाशनको बाढी नै आएको छ भन्दा फरक पर्दैन । कृति, पत्रिका, चक्का, सिडी, फिल्म र सहिद सृजनाजस्ता प्रकाशनको तीव्रता रहेको छ । खास गरी यस अवधिमा कलम र वेदना साहित्यिक पत्रिका प्रकाशन केन्द्रबाट भएका छन् । जनसंस्कृति र पहल (दाङ), उत्सर्ग (ताम्सालिङ), प्रतिविम्बन (नेवा), जनघोष (अवध), उद्बोधन (कोचिला), अग्निज्वाला (भक्तपुर), नयाँ कदम (गोरखा), स्रष्टा (चितवन) उद्गम (रोल्पा), आदि पत्रिकाहरू क्षेत्रीय तथा जिल्लास्तरीय रूपमा प्रकाशित हुँदै आएका छन् । नयाँ संस्कृति प्रकाशनको निर्णय भए पनि प्रकाशन हुन सकेन भने सेममा प्रवोधनको प्रकाशन पनि हुन सकेन । विद्रोहका आवाजहरु र सहिद रचना (मगरात) ले प्रकाशन गरेको छ । गीति चक्काहरूको प्रकाशनमा पनि प्रशस्त विस्तार भएको छ । करिब २ दर्जन चक्काहरू देशैभरिबाट यस अवधिमा प्रकाशित भए जसमा सामनाको रणमैदान, परिवर्तित युगसँगै, नयाँ नेपाल, नयाँ सङ्कल्पजस्ता अडियो र राता मान्छेहरू दृश्य सिडी प्रकाशित भए । प्रतिरोधका जनविद्रोह (अडियो) जनएकता (भिसिडी) र रगतको इतिहास (अपेरा) प्रकाशित छन् । क्षितिजले माक्र्सवाद पुरानो छैन (अडियो) र चुनुशिल्पाले जनसन्देश (भिसिडी) प्रकाशित ग¥यो । सेनच्याङले आस्थाका स्वरहरू, युद्धला मैदानरी रेजिङा (२ भाग), मर्दैन बलिदान कहिल्यै, राता मान्छेहरू (गीतसङ्ग्रह) र लालसलाम गणतन्त्र नेपाललाई (भिसिडी) प्रकाशित ग¥यो । अनेकाटले लक्ष्य श्रव्य र क्रान्तिको मोर्चाबाट दृश्य चक्का प्रकाशन गरेको छ । सुखानी परिवारले—लघुचलचित्र ‘परिणाम’ बनायो । कञ्चनजङ्घा परिवारले—सुनगाभा फुल्न थालेपछि (कवितासङ्ग्रह) र एउटा कथा गीतिचक्का प्रकाशन गरेको छ । इच्छुक सांस्कृतिक सङ्गमले सांस्कृतिक क्रान्तिका यात्रीहरू, हाम्रो कर्णाली, क्या राम्रो ताल र सेती–कर्णालीका छालजस्ता गीतिचक्का र निरन्तर क्रान्तिका यात्रीहरू (भिसिडी) प्रकाशन ग¥यो । चोमोलुङ्माले नयाँ युगका आवाजहरू (अडियो) प्रकाशन ग¥यो । खुसीराम पाख्रिनले रक्तक्रान्तिका गीतहरु अडियो प्रकाशन गर्नु भएको छ । जातीय मोर्चाका परिवारहरूले र सेनाका कलाकारहरूले पनि गीतिचक्का प्रकाशन गरेका छन् । यसबीचमा चलचित्र क्षेत्रमा पनि सकारात्मक पहल भएका छन् । लालसलाम महासङ्घले निर्माण गरेको चलचित्र हो भने अन्य हाम्रा सङ्गठनका साथीहरूबाट व्यक्तिगत पहलमा जनयुद्ध, सहिद, मैना, आवाज, दशगजाजस्ता चलचित्रहरू निर्माण भएका छन् । यद्यपि प्रकाशन क्षेत्रमा उत्कृष्ट, स्तरीय, कलात्मक र सार्वजनीन रचना सबै क्षेत्रबाट आउन नसकेकै बोध हुन्छ । साहित्य, गीतसङ्गीत, कला, चलचित्र, नाटक आदिमा उत्कृष्ट र सर्वव्यापी रचना हेर्न अझै पर्खनैपर्ने स्थिति छ । यसै समयमा महासङ्घले ‘इच्छुक स्मृति ग्रन्थ’को प्रकाशन ग¥यो । यो एउटा गहकिलो, ऐतिहासिक र सङ्ग्रहणीय ग्रन्थ बन्न पुगेको छ । व्यक्तिगत पहलमा पनि धेरै कृति प्रकाशन भएका छन् । तिनको नाम उल्लेख गर्न यहाँ सम्भव छैन—कारण दर्जनौँ दर्जनको सङ्ख्यामा ती प्रकाशित छन् । वैयक्तिक पहलमै सहिद सिर्जना संरक्षण अभियानले सहिद गाथा, सहिदका संस्मरण र छ जना सहिदका रचनालाई कृति रूप प्रदान गरी प्रकाशन गर्नु पनि प्रशंसनीय छ । प्रकाशनकै क्रममा जनकलाकार, लेखक, चलचित्रकर्मी र ललितकला सङ्घहरूले विधान तथा प्रतिवेदनको प्रकाशन गरेका छन् । ललितकलाले नयाँ नेपालका प्रतिबिम्ब नामक पुस्तिका र कार्यशाला पनि सम्पन्न ग¥यो । जातीय मोर्चाका खासगरी मगर कलाकार र वैकुण्ठ–चेत नेवा कलाकारले आप्mना गतिविधि निरन्तर जारी राखेका छन् ।
निष्कर्षमा तेस्रो राष्ट्रिय सम्मेलनदेखि आजसम्मका गतिविधिहरूलाई हेर्दा महासङ्घले महासङ्घीय स्वरूप प्राप्त गर्नु, विभिन्न आङ्गिक सङ्गठन निर्माण गर्नु, प्रकाशन तीव्र पार्नु, अभियान र सङ्घर्षमा हेलिनु, वैचारिक राजनीतिक कामलाई पनि समानान्तर लैजानु, प्रशिक्षणहरूद्वारा सैद्धान्तिक, विधागत र सौन्दर्यशास्त्रीय ज्ञान दिनु, सङ्गठनलाई सुदृढ तुल्याउनु र विस्तार गर्नु, एकता र ध्रुवीकरणमा ध्यान दिनु, सांस्कृतिक आन्दोलनका सहोदर धारहरूलाई समेटी मूलधार निर्माण गर्नु, सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गर्नु जस्ता कुराले उपलब्धिको पाटो सबल रहेको पुष्टि गर्छ । यो समय महासङ्घको इतिहासमा सबभन्दा क्रियाशील, गतिशील, जीवन्त, प्रतिबद्ध र सङ्गठित गतिविधि अघि बढेको छ । यसबीच थुप्रै कमी, कमजोरी, सीमा र सामथ्र्य पनि रहेको स्वीकार्नु पर्छ । आर्थिक समस्या, पलायनको समस्या, निराशा, कुण्ठा, सङ्कीर्णताको समस्या, व्यक्तिवादी अवसरवादी चरित्र, महŒवाकाङ्क्षी प्रवृत्ति, गुटीय चिन्तन, मनोगतवादी सोचहरूले पनि प्रशस्त प्रभाव पारेका छन् । खासगरी आत्मकेन्द्रित व्यक्तिवादी, सुधारवादी सोचहरू बढी हानिकारक रहेको र त्यसले विखण्डन र विसर्जनलाई उत्प्रेरित गरेको बोध सबैलाई भएको छ ।
६) समस्या र सीमाहरु ः
६.१) वैचारिक समस्याः
क्रान्ति मुक्ति र परिवर्तनको यात्रामा विचारको समस्या मूल समस्या हुने गर्छ । क्रान्तिको गतिसंगै रुपान्तरण हुन नसक्ने समस्याले गर्दा कतिपय यात्रीहरु कुडाकरकटमा बदलिन्छन् । हाम्रो मूल गन्तव्य नयाँ जनवादी मौलिक राष्ट्रिय सँस्कृतिको स्थापना हो । त्यो मूललक्ष्य प्राप्त भइनसकेको स्थितिमा, सामन्ती सँस्कृतिको समूल अन्त्य नभइसकेको स्थितिमा, खुला वातावरणसित संगतिका नाममा सर्वहारावर्गीय नैतिकमूल्य र क्रान्तिकारी आदर्श नै विर्सने प्रवृत्ति देखापर्दै छ । निष्ठा र मूल्यको सँस्कृतिभन्दा अवसर, प्रलोभन, आर्थिक लगाव, चाटुकारिता आदिले वर्गीय विचलनको स्थिति देखिदै गएको छ । यसर्थ आज पनि दक्षिणपन्थी अवसरवाद हाम्रो प्रमुख वैचारिक समस्या हो । त्यसका साथै आत्मकेन्द्रित व्यक्तिवाद, शास्त्रीय जडसूत्रवाद र यान्त्रिकता, मनोगतवादी चिन्तन, संकीर्णतावाद, उपभोक्तावादी व्यवहारवादी प्रवृत्ति, अराजकता र अनुशासनहीनता, गुटीय मानसिकता र विखण्डनवादी सोंचहरु र पदलोलुप प्रवृत्ति पनि देखापरेका छन् । वर्गीय प्रतिवद्धता एवम् त्याग–समर्पणको कमी हुँदै जानु विचारमा देखिएको समस्या हो । आफ्नो वर्ग, संगठन, आन्दोलनप्रति लगावभन्दा वितृष्णा देखिनु तर क्रान्तिकारिताको चर्को वकालत भने गर्दै गर्नु विचार र व्यवहारबीचको संगतिको अभाव हो । एकताभन्दा विखण्डनलाई मलजल गर्दै आफूभित्रका समस्यालाई आलोचनाद्वारा समाधान गर्नु पर्नेमा भण्डाफोर गरी सार्वजनिक गर्ने, समानान्तर अस्तित्व देखाउन खोज्ने प्रवृत्ति वस्तुतः विखण्डन, विसर्जन, ध्वंश र विनाशकारी प्रवृत्ति हो । यस्तो व्यक्तिवादी अराजकता नै अहिलेको वैचारिक समस्याको मूल अभिव्यक्ति हो ।
२) साँस्कृतिक मोर्चालाई बुझ्ने समस्याः
साँस्कृतिक मोर्चालाई बुझ्ने र यसलाई मूल्य र महत्व दिने कुरामा नेतृत्व पङ्तिmमै कतिपय भ्रमहरु रहेका छन् । पार्टी र मोर्चाबीच सम्पर्क, सम्बन्ध, निर्देशन, जानकारी, सूचना दिने कुरा व्यवस्थित र नियमित छैनन् । पार्टीका नीति, कार्यक्रम, योजना, संघर्षबारे जानकारी पाउन पत्रिका वा समाचार पढ्नु पर्ने स्थिति र औपचारिक निर्देशनको अभाव अर्थात् जीवित सम्पर्कको अभाव ठूलो समस्या बनेको छ । राज्य र जिल्लामा साँस्कृतिक मोर्चा सधैं तपसिलमा पर्नुले यसको संगठनात्मक विस्तारमा अवरोध पुगेको छ । महासङ्घ र आंगिक संगठनबीच सहकार्य, अन्तर्घुलन, आपसी सम्बन्धको विकास हुन नसक्नु पनि समस्या हो । कलाकारले लेखक र लेखकले कलाकारलाई नबुझ्ने, नदेख्ने प्रवृत्ति पनि छ । सङ्गठनमै केन्द्र र तल जीवित सम्पर्कको कमी, संगठन निर्माण, परिचालन, सुदृढीकरण, अनुगमन, नीति निर्देशनमा सम्बन्धित नेतृत्वको उदासीनता र अलगाव पनि संगठनको अहिलेको समस्या हो । पदमा बस्ने तर जिम्मेवारी पूरा नगर्ने जस्ता प्रवृत्ति पनि संगठनमा समस्या बनेका छन् । यहींनेर आंगिक संगठनको कार्यक्षेत्र तोक्ने, अधिकार क्षेत्र निर्धारित गर्ने, महासङ्घ र आंगिक संगठनको सम्बन्ध निर्धारित गर्ने र स्वायत्तताको स्थिति स्पष्ट पार्ने समस्या पनि हल भइसकेको छैन ।
३) आर्थिक समस्याः
आर्थिक समस्या साँस्कृतिक संगठनको गम्भीर समस्या बनेको छ । पूर्णकालीन कार्यकर्ताको भरण–पोषणको व्यवस्था आर्थिक स्रोतको अभावमा जटिल बनेको छ । यसै समस्याका कारणले कतिपय परिवारहरु विघटन हुने स्थितिमा पुग्नु झनै भम्भीर छ । मूलरुपमा साँस्कृतिक क्षेत्रलाई आर्थिक दृष्टिले अनुत्पादकका रुपमा हेरिएकोले, नियमित आर्थिक भरण पोषणको स्रोत निर्धारण नगरिएकोले पनि यो समस्या घनीभूत बनेको छ । कलाकारहरु सामूहिक रुपमा रहेर मात्र गतिविधि गर्न सक्ने हुनाले तिनको भरण–पोषणको व्यवस्था सामूहिक हुन्छ तर त्यस्तो गर्दा धेरै ठूलो खर्च लाग्ने र त्यसप्रति आँखा चिम्लिने प्रवृत्तिको समस्या तीव्र छ जसकारण परिवारहरुको स्थिति दयनीय बन्दै गएको छ । केन्द्रमा कार्यालय व्यवस्थापन, नेतृत्व पङ्तिको आजीविका, योजना–कार्यक्रमका कार्यान्वयनमा आर्थिक समस्या मुख्य समस्या बनेका छन् । यतिखेर कोटा, लेवी, चन्दा प्रणाली बन्द छ । त्यसकारण केन्द्रको कुनै अर्को आयस्रोत छैन । यस स्थितिमा नियमित भरण–पोषण, दैनिक क्रियाकलाप नै चल्न नसक्ने स्थितिले गर्दा यो जटिल समस्या बन्नु स्वाभाविक छ । केही व्यक्तिगत स्वार्थका लागि आर्थिक अनियमितता गर्ने, मुद्दामामिला हेर्ने नाममा आर्थिक अनुशासनका सीमा नाघ्ने, संगठनको नैतिक मूल्यलाई नै तिलाञ्जली दिने, शौखिन र स्वार्थी हुने, तडकभडक र सान शौकत देखाउने प्रवृत्ति हुर्कदै जानु पनि चिन्ताको विषय बनेको छ । च्यारिटी शोहरुबाट केही निश्चित अँश महासङ्घको केन्द्रलाई प्राप्त हुन नसक्नु पनि समस्या बनेको छ । यो आर्थिक समस्याको समाधान नगरेसम्म सङ्गठन अघि बढ्न नसक्ने स्थिति छ । नियमित आयस्रोतको निर्माणले मात्र यो समस्या हल गर्न सकिन्छ ।
४) रुपान्तरणको समस्याः
महासङ्घको उद्देश्य र लक्ष्य बमोजिम अघि बढ्न, त्यसका नीति, नियम, आचारसंहिता पालना गर्न, कम्युनिष्ट नैतिकता, आदर्श र जीवनशैली अपनाउन, आफ्नो वर्गप्रति प्रेम र वर्गवैरीप्रति घृणा गर्न, विचार अनुरुप आचरण र व्यवहार गर्न नसक्नु नै रुपान्तरण हुन नसक्नु हो । हामीमा अनुशासन र प्रतिवद्धताको पनि समस्या देखापरेको छ । त्याग, समर्पण, बलिदान, साहस, वीरताको हिजोको भावलाई क्रमशः विर्सदै, शिथिल हुँदै जानु आचरणमा देखिएको समस्या हो । साथै निराशा, कुण्ठा, पलायनका समस्याले संगठनात्मक काममा निस्क्रियता र अकर्मण्यता पैदा गरेको छ । व्यक्तिकेन्द्री, दम्भी प्रवृत्तिले पनि समस्या पैदा गरेको छ । आर्थिक उत्प्रेरणा र मोह, प्रलोभन र स्वार्थले साँस्कृतिक स्खलनको वातावरण बन्दै गएको छ । वुर्जुवा जीवनशैलीप्रति तीव्र आकर्षण, फजुल खर्च, सहरिया तडकभडक र उपभोक्तावादी शैलीमा आशक्ति, स्वभाव, चरित्र, आचरणमा सर्वहाराकरण गर्ने, रुपान्तरण हुने भन्दा पूजीवादी मूल्य, जीवनशैली, चरित्र र आदर्शलाई आत्मसात् गर्दै जाने हो भने हाम्रो आन्दोलनको लक्ष्य प्राप्ति सम्भव छैन । हामीमा रहेको निम्न पूजीवादी ढुलमूल आदर्श र आचरणलाई सर्वहारा आदर्श र आचरणमा रुपान्तरण गर्नु पर्ने समस्या एउटा मूल समस्या बनेको छ । जसले वर्ग विचलनतिर डो¥याउने सम्भावनालाई संकेत गर्छ ।
५) लाल र निपुणवीच तालमेलको समस्याः
लाल र निपुणको तालमेलको समस्या अर्को समस्या हो । यो दक्षता र स्तरीयताको विकासको समस्या पनि हो । दक्षहरु लाल नहुने र लालहरु दक्ष नहुने अन्तरविरोध यथावत् छ । आन्दोलनको फरक अवस्था, शान्तिप्रकृयाको परिवेश, जनताको सौन्दर्य रुचि, खुला परिवेशमा प्रतिस्पर्धा गर्ने र योग्यता देखाउने बाध्यताले, आवश्यकता अनुरुप क्षमताको सन्तुलन मिल्न नसकेको प्रष्ट छ । साहित्य, गीत, सङ्गीत, कलाको स्तरीकरण र लोकप्रियकरण, प्राविधिक, सैद्धान्तिक ज्ञान, सिर्जनात्मक विकास, वुर्जुवासंग प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुन सकेको छैन । यसले हाम्रा प्रतिभाहरु स्थापित हुन सकेका छैनन् । साहित्य–सिर्जना, गीत–सङ्गीत, कला–चित्र, अभिनय–फिल्म आदिमा सिर्जनशीलता, नवीन प्रयोग, स्तरीकरण, लोकप्रियता, पाठकीय रुचिको आत्मसातीकरण, प्रारुपीकरण, समकालीनता र जीवन्तताको विकास, आदर्श र यथार्थबीच सन्तुलन आजको आवश्यकता हो । सबै क्षेत्रमा धेरै कृति प्रकाशन भएर पनि जनताबीच स्थापित हुन नसक्नु समस्या हो । कलाको विकासमा मनोगत पक्ष हावी हुनु पनि यो समस्याको कारण हो । लालहरुलाई निपुण बनाउन अन्तर्राष्ट्रिय, विशेषतः सार्कभित्रका कम्युनिष्ट, वामपन्थी, साम्राज्यवाद–सामन्तवाद विरोधी साँस्कृतिककर्मी संगठनवीच साँस्कृतिक आदान–प्रदान, कार्यशाला, गोष्ठी, प्रशिक्षण जस्ता कार्यक्रमको आयोजना गर्नु उपयुक्त हुन्छ ।
६) अध्ययनप्रति उदासीनताः
अध्ययनप्रति उदासीनता, ज्ञान पिपासाको कमी, जिज्ञाषु प्रवृत्तिको अभाव पनि अर्को समस्या हो । जे जानेको छ त्यसैमा रमाउने र नयाँ विकास गर्न नचाहने, परिमार्जन, वैचारिक उन्नति जस्ता कुरामा जोड नगर्ने शैलीले व्यक्तित्व विकास हुन सकेको छैन । ज्ञान, शीप, क्षमता र योग्यताले निरन्तर साधना, अभ्यास, समर्पण र लगावको अपेक्षा गर्छ । सैद्धान्तिक, वैचारिक, राजनैतिक, विधागत र विधिगत ज्ञान र क्षमता अभिवृद्धिमा वैयक्तिक रुचि र तपस्या आवश्यक छ । यस्तो प्रयत्न र अभ्यासको पनि समस्या छ । अध्ययनको समस्या एउटा जीवन्त समस्या हो । जसको अभावमा हामी क्रमशः भुत्ते बन्दै जाने र तल पर्दै जाने स्थिति सिर्जना हुनेछ । कतै अध्ययन सबथोक ठान्ने र कतै केही पनि होइन भन्ने प्रवृत्तिबीचको अन्तरविरोध मेटाएर नै अध्ययनको समस्या हल हुन सक्छ ।
७) वुर्जुवा सँस्कृतिको प्रतिरोधः
आजपनि साँस्कृतिक क्षेत्रमा पुराना सामन्त, दलाल, नोकरशाहको प्रभुत्व यथावत् छ । रुढीवादी, पछौटे, यथास्थितिवादी शक्तिले नै साँस्कृतिक क्षेत्रमा हालीमुहाली गरिरहेछन् । राष्ट्रघाती शक्तिहरुले राष्ट्रिय स्वाभिमानमाथि हमला पनि गरिरहेछन् । सामन्तवादी सँस्कृति, सँस्कार र चेतनाको प्रभुत्व जारी छ । यस स्थितिलाई चिर्न र सर्वहारा सँस्कृतिको प्रभुत्व स्थापित गर्न प्रभावकारी प्रतिरोध गर्न नसक्नु पनि अर्को समस्या हो ।
७) वर्तमान स्थिति÷भावी कार्यदिशा ः
क) अन्तर्राष्ट्रिय परिस्थितिबारेः
हामी सबैलाई थाहा छ, विश्वमा आज कुनै पनि मुलुकमा समाजवादी सत्ता छैन । अमेरिकी साम्राज्यवादले एक छत्र विश्वव्यापी शोषण, उत्पीडन, एकाधिकार कायम गरेको छ । आतङ्कवादका नाममा कम्युनिष्ट र क्रान्तिकारी माथि दमन गर्ने नीति जारी छ । इराक र अफगानिस्तानमा जबरजस्ती लादिएको युद्ध उसको साम्राज्यवादी दादागिरी कै परिणाम थियो । अमेरिकाले हतियारको विकास, भण्डार र सुरक्षा व्यवस्थामा गरिएको ठूलो पूँजी लगानीले विश्वमा सन्त्रास फैलाएको छ भने त्यसभित्र विश्व आधिपत्य कायम गर्ने षडयन्त्र र नियत देखिन्छ । फेरि पनि विश्व जनमत अमेरिकी नीति विरुद्ध देखिएको छ । उसको आर्थिक, सैन्य र विदेश नीति विरुद्ध विश्वव्यापी विरोध देखिएका छन् । उसको दमन, उत्पीडन, शोषण विरुद्ध संघर्ष भइरहेको र हस्तक्षेप विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन उठिरहेका छन् । साम्राज्यवाद यतिखेर आर्थिक मन्दीको संकटबाट गुज्रिरहेको छ । त्यसकारण चीन, भारत, दक्षिण कोरियालाई आफ्नो प्रतिस्पर्धीको रुपमा आर्थिक र सामरिक शक्तिमा उदय हुन लागेको चिन्ता उसले गरिरहेको छ । साथै साम्राज्यवाद इराक–अफगान युद्धमा क्रमशः असफलता झेल्दै जान थालेको छ । जसले उसको आर्थिक सैन्यनीति कै असफलता प्रस्तुत गर्दछ । साम्राज्यवादी शक्तिहरुबीच नै पनि यतिखेर अन्तरविरोध चर्किदै गएको छ र फेरि शीतयुद्धको स्थिति देखिएको छ । यसरी साम्राज्यवादी भूमण्डलीकरण र त्यसका असफलताले अर्को विश्वक्रान्तिलाई निम्तो दिइरहेको देखिन्छ । नेपालको सन्दर्भमा अमेरिकी साम्राज्यवाद विस्तारवादसंग मिलेर क्रान्तिकारीलाई दबाउन र आफ्नो प्रभुत्व कायम गर्न अघि बढेको छ । दक्षिण एशियामा भारत–अमेरिकी गठबन्धन चीन घेर्ने नीति बमोजिम अघि आएको छ । यस क्षेत्रमा हुनसक्ने समाजवादी क्रान्तिलाई दवाउने उद्देश्यले प्रेरित छ । अमेरिका नेपालमा अखडा जमाएर चीनमाथि षडयन्त्र गर्न चाहन्छ । त्यसको बाधक तत्व माओवादीलाई ठानिरहेको पनि छ । विस्तारवादको सन्दर्भमा हेर्दा उसको नेपाल खाने नीति साकार पार्न कटिवद्ध छ । नेपालका सम्पूर्ण प्राकृत स्रोत साधनमाथि उसको गिद्धेनजर जारी छ र सिङ्गो देशमाथि प्रभुत्व र एकाधिकार लादिरहेको छ । हस्तक्षेप, सीमाअतिक्रमण, सीमा अत्याचार पनि तीव्र पारिएका छन् । उसले आफ्नो स्वार्थ पूरा गर्न नेपालका दलाल, यथास्थितिवादी, आत्मसमर्पणवादी, राष्ट्रघाती तत्वलाई काखी च्यापेर अघि बढिरहेको छ । नेपालको आर्थिक, राजनैतिक, सामरिक, प्राकृतिक, साँस्कृतिक क्षेत्रमा नियन्त्रण कायम गर्न उसलाई त्यस्तै शक्तिहरुको आवश्यकता पनि छ । यसरी विस्तारवाद र देशीय प्रतिक्रियावाद वीच गठबन्धन कायम हुनु जनताको निम्ति घातक छ । विस्तारवादले नेपाली सामन्त, दलाल, देशद्रोही, यथास्थिथिवादी कठपुतली शक्तिको उपयोग गरेर देश र जनता विरुद्ध षडयन्त्र गर्न गठबन्धन गरिरहेको छ । माओवादीलाई एक्ल्याउने, घेर्ने र धम्क्याउने काम जारी छ । तसर्थ राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने र मुलुकको अग्रगामी परिवर्तन गर्ने बाटोमा विस्तारवाद र प्रतिक्रियावादवीचको गठबन्धन मुख्य वाधक हो । सर्वहारावर्गको मुक्तिको प्रश्न र राष्ट्रिय स्वाधीनताको प्रश्न त्यही मुख्य वाधक शत्रु विरुद्ध संघर्षको प्रश्न हो । सर्वहारा क्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनलाई समन्वित गरी अघि बढ्नु आजको मुख्य आवश्यकता हो । यसर्थ मालेमाको रक्षा, प्रयोग र विकास गर्दै, राष्ट्रिय मुक्ति र वर्गीय मुक्तिलाई एकार्कामा जोड्दै, देशभक्त गणतन्त्रवादी, प्रगतिशील, वामपन्थी र क्रान्तिकारी वीचको एकता कायम गर्दै, अघि बढ्नु जरुरी छ । नयाँ जनवादी क्रान्तिले मात्र नयाँ जनसँस्कृति निर्माणको प्रक्रियालाई पूर्णतातिर लैजान्छ । साहित्य–कलाको क्षेत्रमा साम्राज्यवादको प्रभाव, सूचना साम्राज्यवाद, साँस्कृतिक भूमण्डलीकरण, विखण्डन, अराजकता, उदारवादका रुपमा विश्वव्यापी प्रभाव कायम गर्दै आइरहेको छ जसको समग्र अभिव्यक्ति उत्तरआधुनिकतावादी चिन्तनका रुपमा विकसित भई अघि बढिरहेको छ । जसका विरुद्ध संघर्ष गरेर मात्रै नयाँ जनवादी सँस्कृति निर्माण गर्न सकिन्छ ।
ख) राष्ट्रिय परिस्थितिबारेः
दशवर्षे जनयुद्धको जगमा टेकेर भएको १९ दिने जनआन्दोलनको चाहना र उद्देश्य विपरीत अहिले सामन्ती प्रतिक्रियावादी तत्व, राष्ट्रिय आत्मसमर्पणवादी दलाल नोकरशाही शक्तिहरु विस्तारवादसंग आशीर्वाद प्राप्त गरी प्रतिक्रान्ति निम्त्याउन र यथास्थिति कायम गर्न लागि परेका छन् । क्रान्ति पूरा हुन नदिन उनीहरु फेरि गृहयुद्धको तानावाना बुन्न कस्सिएका छन् । राजनैतिक गतिरोध कायम छ । हिंसा, अराजकता, असुरक्षा, महंगी, भ्रष्टाचार, लुट जारी छ । यो स्थितिलाई बदल्नै पर्छ । यो स्थिति वदल्ने भनेको जनताको गणतन्त्र स्थापित गर्ने र आमूल परिवर्तनद्वारा मुलुकको शान्ति, समृद्धि, विकास, र प्रगति कायम गर्न अन्तिम विद्रोहमा लाग्ने हो । सवैखाले विसंगति, विकृति, विचलन विरुद्ध जुद्धै, देश र जनताका शत्रुलाई अन्तिम रुपले पराजित गर्न विद्रोहको तयारी आजको आवश्यकता हो । यथास्थितिवाद र अग्रगमन, देशप्रेम र राष्ट्रघात, विस्तारवादी हस्तक्षेप र राष्ट्रिय स्वाधीनता, विहारी गणतन्त्र र जनताको गणतन्त्रवीचको अन्तरविरोध अबको संघर्षको मुख्य पाटो हो । यही राजनीतिको प्रभाव साहित्य कला, सँस्कृतिको क्षेत्रमा पनि परेको देखिन्छ । सामन्ती प्रतिक्रियावादी धारा साहित्यमा प्रतिक्रान्तिकारी धाराका रुपमा रहेको छ । यसले सामन्तवाद र विस्तारवादसंग मिलेर साहित्य कला र सँस्कृतिमा कुरुप यथार्थलाई स्थापित गर्ने जमर्को गर्छ । यसको प्रतिनिधित्व नेपाली काँग्रेस पक्षधर सँस्कृतिकर्मीले गर्छन् । दोस्रो यथास्थितिवादी–सुधारवादी धारा हो । राष्ट्रिय आत्मसमर्पणवादी चरित्र अवलम्वन गर्दै आमूल परिवर्तन विरुद्ध सामान्य सुधारात्मक परिवर्तन गर्नु यसको उद्देश्य हुन्छ । यसको नेतृत्व एमाले पक्षधर सँस्कृतिकर्मीले गर्दछन् । प्रगतिवादी क्रान्तिकारी धाराले यी दुवैखाले प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै समाजवादी यथार्थवादी साहित्य, कला र सँस्कृतिको स्थापना गर्न जोडदिनु आवश्यक छ ।
२) भावी कार्यदिशा बारे ः
क) वैचारिक कार्यदिशा ः
सैद्धान्तिक रुपले माक्र्सवादलाई दह्रोसंग पक्रनु र यसका विरुद्ध उभिएको उत्तरआधुनिकतावादी विचारका विरुद्ध संघर्ष गर्नु हाम्रो मूल बाटो हो । उत्तरआधुनिकतावाद शून्यवादी जीवन चिन्तनमा आधारित साम्राज्यवादी विचार हो । यसले विखण्डन, अराजकता, व्यक्तिवाद, उपभोक्तावाद र रुपवादलाई मलजल गर्छ । उपभोक्तावादी–अराजकतावादी सँस्कृतिको प्रभुत्व विस्तार गर्छ । तसर्थ उत्तरआधुनिकतावादसंग प्रगतिवादको अन्तरविरोध आजको मुख्य साँस्कृतिक अन्तरविरोध हो । यसवाहेक सवैखाले संशोधनवादसंग पनि डटेर लड्नै पर्छ । नवमाक्र्सवादीहरु नवसंशोधनवादी चरित्र अन्तर्गत पर्दछन् यस विरद्ध पनि संघर्ष गर्नु पर्छ । निम्न पूजीवादी चिन्तन क्रान्तिको लागि अर्को हानिकारक प्रवृत्ति हो । यसरी उत्तरआधुनिकतावादी, संशोधनवादी, नवसंशोधनवादी, निम्नपूजीवादी प्रवृत्ति विरुद्ध सँघर्ष संचालन गर्नु हाम्रो वैचारिक कार्यदिशा हुनु पर्दछ । जनताको गणतान्त्रिक सँस्कृति स्थापनार्थ जनविद्रोहको दिशा नै हाम्रो मुख्य कार्यदिशा हुनु पर्छ ।
ख) सांगठनिक कार्यदिशा ः
महासङ्घीय संरचना बनेपछि सङ्गठनका क्षेत्रमा विभिन्न आंगिक संगठन बनेका छन् । ती आंगिक संगठन र महासङ्घवीच जनवाद र केन्द्रीयताको सम्बन्ध हुन आवश्यक छ । महासङ्घले नीति, कार्यदिशा, योजना र कार्यक्रममा निर्देशित गर्दै आंगिक संगठनलाई नेतृत्व प्रदान गर्नु, तिनका वीच समन्वय र संयोजनकारी भूमिका खेल्नु आवश्यक छ भने आंगिक संगठन महासङ्घप्रति उत्तरदायी हुँदै, महासङ्घको नीति–कार्यक्रम, कार्यदिशा र कार्ययोजना अन्तर्गत रही स्वायत्त र मौलिक गतिविधि गर्न स्वतन्त्र र आत्मनिर्भर हुन आवश्यक छ । प्रत्येक आंगिक संगठनले वार्षिक र आवधिक कार्यक्रम बनाएर जानु पर्छ । सबै आंगिक संगठनका आवश्यकतानुसार क्षेत्रीय र जिल्लास्तरीय संरचना बनाउन सकिन्छ । केन्द्रीय कलाकार परिवार, क्षेत्रीय परिवार र जिल्ला परिवारको गठन आवश्यकतानुसार गर्नु उपयुक्त हुनेछ । सवै परिवारलाई जनकलाकार सङ्ले नीति, योजना, कार्यक्रम र नेतृत्व प्रदान गर्नु जरुरी छ । विद्यार्थी, सेना, मजदूर, जातीय मोर्चाहरुमा गठित कलाकार परिवारलाई निर्देशन, विधागत प्रशिक्षण र कार्यक्रम दिन महासङ्घसंग सहकार्यको निम्ति निश्चित नेतृत्वलाई केन्द्रमा जिम्मा तोक्नु आवश्यक छ ।
ग) प्रशिक्षण ः
विधागत, वैचारिक, सैद्धान्तिक र प्रविधिगत प्रशिक्षणहरु आयोजना गर्ने र साँस्कृतिककर्मीको वैचारिक र विधागत स्तरको विकास गर्दै खुला परिवेशमा खुला प्रतिस्पर्धाका लागि सक्षम बनाउन जरुरी छ । अध्ययनलाई व्यवस्थित गर्न योजना तर्जुमा गर्नु आवश्यक छ भने सिर्जनालाई उच्चतातर्पm लैजान सौन्दर्य शास्त्रीय भेला, प्रशिक्षण र कार्यशाला गोष्ठीको आयोजना गर्नु पर्छ । गीत संगीतको सौन्दर्यशास्त्रबारे व्यापक छलफल, समीक्षा र गोष्ठी आवश्यक छ भने चलचित्रलाई सार्थक, कलात्मक, स्तरीय, वैचारिक र चेतनामूलक बनाउन सैद्धान्तिक प्राविधिक तालिम, प्रशिक्षण, अन्तक्र्रिया र समीक्षा आरम्भ गर्नु पर्छ । गोष्ठी र कार्यशालाको आयोजना गर्नु पर्छ । गीत संगीत, अभिनय, नृत्य, साहित्य, कलाको राष्ट्रिय प्रतियोगिता, क्षेत्रीय प्रतियोगिता, पुरस्कार, सम्मान, अभिनन्दनका गतिविधि सञ्चालन गरेर प्रतिभा स्थापित गर्न कोसिस गर्नु पर्छ । यी सबै विषय र विधामा प्रशिक्षक टीम निर्माण गरी देशैभरि प्रशिक्षण पु¥याउने योजना पनि बनाउनु आवश्यक छ ।
घ) प्रकाशन ः
प्रकाशनको क्षेत्रमा प्रशस्त कामहरु भएका छन् तापनि गुणात्मकता र स्तरीयताका हिसाबले ती कमजोर रहेका छन् । तसर्थ प्रकाशन धेरै गर्ने भन्दा गुण र स्तरलाई हेरेर प्रतिनिधि कृति प्रकाशन गर्न ध्यान दिनु आवश्यक छ । आवश्यकता र क्षमताका बीच तालमेल मिलाउन गुणस्तरीय सिर्जनालाई जोड दिनै पर्छ । साहित्यिक पत्रिकाहरुलाई नियमित, व्यवस्थित, उचित वितरणमा ध्यान दिंदै प्रकाशन गर्नु आवश्यक छ । केन्द्रीय साहित्यिक पत्रिकासंगै क्षेत्रीय रुपमा सम्भव भएसम्म त्यस्ता पत्रिकाको विस्तारलाई महत्व दिनु पर्छ । सहिदका रचना सङ्कलन गर्ने र प्रकाशन गर्ने गर्नु आवश्यक छ । समाजवादी यथार्थवादी धाराका अन्तर्राष्ट्रिय कृतिलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्न पहल जरुरी छ । प्रतिनिधि कथा, कविता, निवन्ध, सँस्मरणका उत्कृष्ट संग्रह प्रकाशन गर्नु, तिनका समालोचना÷समीक्षा ग्रन्थ निकाल्न पनि जोड दिनु पर्छ । गीत संगीत, सिनेमा, श्रव्यदृश्य गीतहरुबारे वृहत् चर्चा, समालोचना र समीक्षा गर्नु पर्छ र तिनका सौन्दर्य शास्त्रीय लेख रचना तयार गर्न पहल गर्नु पर्छ । जनवादी फिल्मको सैद्धान्तिक पक्षबारेका कृति प्रकाशन गर्न आवश्यक छ । भिडियो, फिल्म, श्रव्यदृश्य सी.डी., गीति चक्का, नयाँ नयाँ प्रयोग र स्तरीयतालाई ध्यान दिंदै प्रकाशन÷निर्माण गर्नु उपयुक्त छ । ललितकलामा विद्यमान अमूर्त कलावादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै जनवादी कला निर्माणमा जोड लगाउनु पर्छ । ललितकलाका प्रदर्शनी आयोजना गर्ने र पुरस्कृत गर्नेमा अघि बढ्नु पर्छ । साहित्य–कलाका विविध सिर्जनात्मक विधा र रुपको प्रयोग गर्दै साँस्कृतिक ढंगले तीव्र हस्तक्षेप पु¥याउन नयाँ–नयाँ योजना बनाउन जोड दिनै पर्छ ।
ङ) प्रतिष्ठान ः
विभिन्न क्षेत्रमा सहिदका नाममा प्रतिष्ठान गठन गरी साँस्कृतिक बजेटको सरकारी रकमलाई जनताको पक्षमा उपयोग गर्ने पहल गर्नु पर्छ । सहिद उद्यान, सहिद प्रतिष्ठान, सहिद स्मारक, सहिद पुस्तकालय आदि निर्माण गर्ने र अनेकोट, भावाङ् जस्ता सामूहिक हत्याकाण्ड भएका ठाउँलाई स्मारकका रुपमा विकास गर्ने कोसिस गर्नु पर्छ । इच्छुकको जन्मस्थलको विकासमा जोड दिनु पर्छ । इच्छुक प्रतिष्ठानलाई महासंघसंग सहकार्य गराउन पहल गर्नु आवश्यक छ । त्यस्तै सहकारी साँस्कृतिक सस्था निर्माण गरी आर्थिक समस्या समाधानको खोजी गर्नु पर्छ ।
च) कलाकारको भविष्यबारे ः
यतिखेर कलाकारको भविष्यका बारेमा गम्भीर प्रश्न खडा भएका छन् । हिजो सवैथोक छोडेर हिडेका कलाकार आज भविष्यको खोजी गर्दै भौंतारिने क्रम बढेको छ । त्यहाँ निराशा, हीनता, कुण्ठा, संकीर्णता, विचलन, पलायनका समस्या उठेका छन् । कलाकारमा सबभन्दा पहिले विचारको विकास गर्नु आवश्यक छ । उनमा नेतृत्व क्षमता र राजनैतिक चरित्रको विकास पनि आवश्यक छ । राजनीति र विचारलाई होइन कलालाई प्राथमिकता दिने शैली कलावादी र विसर्जनवादी शैली हो । त्यस्तै कलाकारको विधागत क्षमता, प्राविधिक क्षमता निर्माण गर्न र प्रतिध्रुवीय कलासंग प्रतिस्पर्धी तुल्याउन तालिम, अध्ययन, प्रशिक्षण, प्रयोग, कार्यशाला र विभिन्न अवसर सिर्जना गर्नु आवश्यक छ । नियमित रुपमा काम र योजना दिएर मात्र निराशा घटाउन सकिन्छ । सामूहिक रुपमा रहनेलाई सामूहिक चेतना, सामूहिक भावना, सामूहिक कार्य, सामूहिक सुविधा, सामूहिक अवसर र समूहगत मूल्याङ्कनमा ध्यान दिनु जरुरी छ । कलाकारको आर्थिक पक्ष जटिल भएको र भरणपोषणमा समेत समस्या देखिएकोले त्यसको निम्ति पार्टी, सेना, सरकारी स्रोत, आत्मनिर्भर गतिविधि, सामूहिक श्रम, आर्थिक सहकारी, च्यारिटी शो, उत्पादन कार्यमा सहभागी गराएर लैजानु आवश्यक छ । साथै खुलापनको प्रभाव, अराजकता, अनुशासनहीनता, पूँजीवादी जीवनशैलीतर्पm झुकाव, एकलकाटे, मौजी र स्वार्थी प्रवृत्ति, महत्वाकाङ्क्षा जस्ता प्रवृत्ति हटाउन कोसिस गर्नु पर्छ । क्रान्ति र क्रान्तिको भविष्य नै हाम्रो भविष्य हो भन्ने तथ्यलाई आत्मसात् गर्नु पर्दछ । शिक्षा र ज्ञानको विकासको उपाय खोज्नु आवश्यक छ ।
छ) साझा मोर्चा ः
साँस्कृतिक आन्दोलन, सक्षम र शक्तिशाली बनाउन संयुक्त मोर्चाको निर्माण आगामी परिवर्तनको महत्वपूर्ण कडी हो । हाल विद्यमान सामन्ती प्रतिक्रियावादी चरित्रको पुरानो वर्गसत्तालाई अन्त्य गरी त्यसको ठाउँमा प्रगतिशील क्रान्तिकारी चरित्रको सत्ता निर्माण गर्न साम्राज्यवाद, सामन्तवाद, प्रतिक्रियावाद, यथास्थितिवाद विरोधी देशभक्त, गणतान्त्रिक, प्रगतिशील साँस्कृतिक शक्तिसंग सहकार्य, एकता, समन्वय गर्नु आवश्यक छ । कुनै विषयका आधारमा विवाद भए पनि त्यस्ता शक्ति क्रान्तिका मित्रशक्ति नै हुने हुनाले विद्यमान प्रतिक्रियावादी सत्ताको अन्त्य, प्रगतिशील जनताको सत्ताको स्थापना र राष्ट्रिय स्वाधीनता निर्माणको प्रश्नमा मत मिल्नेहरुबीच संयुक्त मोर्चा कायम गरेर जानु आजको आवश्यकता हो ।
ज) जनविद्रोहबारे ः
वर्तमान राज्यसत्ता प्रतिक्रियावादी राज्यसत्ता नै भएकोले यसका प्रत्येक अंग आजपनि सामन्ती, दलाल, नोकरशाही र पूँजीवादी नै छन् । राज्यसत्ताको वर्ग चरित्र अझै फेरिएको छैन । सरकार, अर्थतन्त्र, सुरक्षा संयन्त्र, नियमकानून, अदालत र राज्य संरचनामा आज पनि सामन्ती प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी सार नै विद्यमान छ । आज पनि आर्थिक, सामाजिक, साँस्कृतिक संरचनामा पुरानै डाँका, फटाहा, ठग, लुटेराको हालीमुहाली चलिरहेछ । जसले जनतामा गणतन्त्र स्थापनाको तात्विक प्रत्याभूति दिन सकेको छैन । नयाँ जनवादी क्रान्ति पूर्ण सफलतासम्म नपुग्दासम्म कामदार वर्गको सत्ताको प्रत्याभूति सम्भव छैन । न त यो सत्ताले सर्वहारा वर्गको हितमा आधारभूत परिवर्तनको वोध नै गराउन सक्छ । तसर्थ जनताको वास्तविक मुक्ति, आमूल परिवर्तन, राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको गणतन्त्रको स्थापना, सामन्ती प्रतिक्रियावादी सँस्कृतिको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको विकास, शान्ति र समृद्धि जस्ता कुराका लागि यो पुरानो सत्तालाई जगैदेखि मिल्काउनै पर्छ । त्यसो गर्नका लागि नै फेरि एकपटक जनताले भूकम्पीय धक्का दिन जरुरी छ । त्यो धक्का भनेको जनताको अन्तिम विद्रोह हो । हामी क्रान्तिकारीले आगामी विद्रोहको निम्ति, वैचारिक, राजनैतिक, साँस्कृतिक, साहित्यिक, कलात्मक तयारी गर्न अघि बढ्नै पर्छ । त्यो विद्रोह चेत र सन्देश बोकेर जनताका बीच पुगेर आम जनतालाई व्युँझाउने कार्य अवको प्राथमिक कार्यमा पर्नु पर्दछ ।
८) उपसंहार ः
तेस्रो राष्ट्रिय सम्मेलनदेखि वर्तमानसम्म आइपुग्दा साँस्कृतिक आन्दोलनमा विभिन्न उतार चढाव देखा परेका छन्–जसरी राजनीतिमा देखिएको छ । जनयुद्धबाट भर्खरै शान्तिप्रकृयामा आउँदाको जोश, जाँगर, उत्साह, साहस, लगाव, प्रतिवद्धता, एकता, समर्पण, सुसंगठितता जस्ता प्रवृत्तिहरु शिथिल बनेका छन् । ‘अप्रिल थेंसिसको धारणा र जनविद्रोह’को लक्ष्य व्यवहारमा लागु हुन नसक्दा निराशा र कुण्ठा मात्र होइन हीनता र पलायनका समस्या समेत देखिएका छन् । हामीमा व्यक्तिगत कार्यशैली, आचरण, व्यवहार, निष्ठा, नैतिकता र आदर्श धूमिल बनेका छन् जसको आड लिएर साँस्कृतिक मोर्चामा सर्वहारा मुक्तिको मार्गबाट विचलन देखा परेको आरोप समेत लगाउँदै आपैm भित्रका समस्यालाई मैत्रीपूर्ण ढंगले छलफल, आलोचना, रुपान्तरण गर्नुको साटो सार्वजनिक भण्डाफोर गर्ने प्रवृत्तिले टाउको उठाएको छ । दुश्मन पङ्तिको आलोचना, विरोध, भण्डाफोर होइन मित्रपङ्तिको मात्र आलोचना गर्नाले वर्गपक्षधरता, वर्गप्रेम कमजोर हुँदै गएको र निषेधात्मक वा ध्वंशात्मक बन्न गएको अनुभव भएको छ । क्रान्ति सम्पन्न गर्न बाँकी छ र हामीले चाहेको राज्यसत्ता प्रप्त भएको छैन । तर त्यो क्रान्तिको बाटो कुन हो ? र हामीले प्रहार गर्ने मुख्य शत्रु र निशाना कुन हुन् भन्ने कुरामा अझ स्पष्ट हुँदै सामन्तवाद–साम्राज्यवाद र मुख्यरुपले भारतीय विस्तारवादसंग गाँसिएर आइरहेको दलाल, सामन्ती–प्रतिक्रियावादका विरुद्ध निशाना साध्नु आवश्यक छ । देशी–विदेशी प्रतिक्रियावादीहरु हम्रा विरुद्ध सवै किसिमका तयारी गरेर दमन गर्ने योजनामा लागेका छन् र हरेक क्षेत्रमा सम्झौता गराउन आत्मसमर्पणको शैलीमा घेरामा पार्ने तयारी गरिरहेका छन् तर हामी क्रान्तिकारीले गर्ने चारतयारीको स्थिति समानान्तर रुपमा विकास हुन सकेको छैन । मतभेदहरु वैचारिक, सैद्धान्तिक, कार्यनैतिक र कार्यदिशात्मकरुपले समाधान गरी अझ सुदृढ, एकतावद्ध, सुसंगठित र प्रतिवद्ध हुँदै अघि बढ्नु जरुरी छ । यसको लागि संशोधनवाद विरुद्ध निर्मम संघर्ष गर्दै मालेमावादलाई भौतिक र आत्मिक दुवै ढंगले आत्मसात् गर्न सकेमा र हामी भित्रका सबै विसंगति, विचलन र विकृतिमाथि आपैंm आगो लाउन सकेमा यस्ता चुनौतीको सामना गर्न सकिन्छ । आज पनि सही विचारको नेतृत्वमा जनविद्रोहद्वारा जनतान्त्रिक गणतन्त्रवादी समाज स्थापित गर्न एउटा विशाल पङ्क्ति वलिदानको निम्ति तयार छ । मुख्य कुरा विचार हो । सही विचारको आलोकमा सही कार्यनीति र कार्यदिशालाई द्वन्द्ववादी शैलीमा लागु गर्न सके सबै चुनौती सामना गर्न सम्भव छ । त्यसको लागि दक्षिणपन्थी अवसरवाद, शास्त्रीय जडसूत्रवाद, संशोधनवाद, अराजकतावाद, संकीर्णतावाद, निराशा र कुण्ठा आदि प्रवृत्ति माथि विजय हासिल गर्नै पर्छ । जतिसुकै शक्तिशाली षडयन्त्रकारी भए पनि जनताका दुश्मनको हार र जनताको विजय अवश्यम्भावी छ । बाटो चुनौतीपूर्ण, कठोर र अप्ठ्याराले भरिपूर भए पनि असम्भव भने छैन । क्रान्तिकारी विचारलाई क्रान्तिकारी कलामा रुपान्तर गर्न कटिवद्ध बनौँ । लाल सलाम !

No comments:

Post a Comment