'निरन्तर क्रान्तिका लागि सामना जनसंगीत अभियान' भन्ने नाराका साथ अखिल नेपाल जनसांस्कृतिक महासंघअन्तर्गत केन्द्रीय सामना टोलीले २५ साउनदेखि काठमाडांैको जमल नाचघरबाट आरम्भ गरेको अभियान यतिवेला देशव्यापी सानदार रूपमा सम्पन्न भइरहेको छ । पार्टीभित्र देखा परेको विकृति/विसंगतिविरुद्ध चीनमा माओको नेतृत्वमा सञ्चालित 'सांस्कृतिक क्रान्ति' को झल्को दिने यस अभियानले पार्टीभित्र र बाहिरका सबैखाले प्रतिक्रियावादी/अवसरवादीको स्वर्गमा ठूलो भूकम्प पैदा गरिदिएको छ । उदेकलाग्दो स्थिति के देखा पर्यो भने सामनाद्वारा प्रस्तुत जनसंगीत अभियान पार्टीभित्रका चरम अवसरवादीलाई ठूलो टाउको दुखाइ भएको छ । उनीहरूले यस अभियानलाई असफल पार्न सबै शक्ति खर्चेका छन्, तर सफल हुन सकेनन् । अहिले सामनाको टोली काठमाडांैबाट पूर्व पुगेर पश्चिमतिर लाग्दै छ । अहिलेसम्म उसले सञ्चालन गरेको अभियानबाट जनता असाध्यै आशावादी देखिएका छन्, माओवादीप्रति । विडम्बना ! पार्टीभित्र हेडक्वार्टरको पक्षपोषण गर्ने नेताहरूले यस अभियानलाई असफल पार्न पूर्वमा निकै प्रयास गरे, तर जनताको समर्थन र सहयोगले अभियान सानदार ढंगले सम्पन्न भयो । पार्टीभित्र मौलाउँदै गइरहेको व्यक्तिवाद, नातावाद, कृपावाद र परिवारवाद मात्र होइन खुलेआम पार्टीका अधिकांश नेता-कार्यकर्ता भ्रष्टाचार, कमिसनतन्त्र, बैंक-ब्यालेन्स, टेन्डर, प्लटिङलगायत थुप्रै क्षेत्रमा जसरी प्रत्यक्ष/अप्रत्यक्ष रूपले सहभागी भएर सर्वहारा सिद्धान्त र अनुशासनलाई लत्याउँदै अघि बढिरहेका छन्, त्यसको भण्डाफोर गर्ने अभियानका साथ सामनाले यस 'जनसंगीत अभियान' मा त्यही सर्वहारा सांस्कृतिक क्रान्तिको राँको सल्काउने उद्घोष गरेको छ । यस अभियानमा सामनाद्वारा प्रस्तुत नाटक 'सपना र उनीहरू' मा वर्तमान माओवादी अवस्था, दशवर्षे जनयुद्धमा प्राप्त उपलब्धिको मूल्यांकन, माओवादी क्रान्ति सम्पन्न नहुँदै सहर पसेपछि गाउँमा कार्यकर्ता र जनताको बिचल्ली, शान्ति-सम्झौतामार्फत आधारइलाका, जनसत्ता, जनअदालत, कम्युन विघटनपश्चात् लाभान्वित गाउँका थुप्रै जनता अहिले कसरी उपेक्षित र अपहेलित बन्नुपर्यो भन्ने यथार्थ सचित्र वर्णन गरिएको छ । जनवादी क्रान्तिपछि चीनमा प्रतिक्रान्ति भएको थियो, तर नेपालमा क्रान्ति नहुँदै प्रतिक्रान्ति देखा पर्यो । चीनमा कम्युनिस्टहरू क्रान्तिपछि सहर पसे, नेपालमा क्रान्ति नहँुदै पसे । चीनमा माओले पनि १९४५ मा चुङकिङ वार्ता/सम्झौता गरेका थिए । तर, सम्झौतावादमा फसेका थिएनन् । चीनमा वार्ता/सम्झौतामा माओले केही आधारइलाका र केही सेना मात्रै घटाएका थिए तर नेपालमा सम्झौताका नाममा आधारइलाका, स्थानीय सत्ता, जनअदालत विघटन गरेर मूल नेतृत्वले क्रान्तिका सबै आधार निस्तेज पार्ने काम गरेको छ । क्रान्ति नहुँदै सहर छिरेपछि गाउँ पूरै खाली छ, कार्यकर्ता, जनता निराश, पलायन र अलग-गलग बन्दै गइरहेको स्थिति छ । रुसी क्रान्तिमा लेनिनले बारम्बार भन्ने गर्नुहुन्थ्यो, 'साथी हो क्रान्तिको सपना देख्नुपर्छ ।' विडम्बना Û माओवादी सहर प्रवेशसँगै उनीहरूले क्रान्तिको सपना भुल्न थाले । खासगरी मूल नेतृत्व र यसका वरिपरि रहनेहरूले क्रान्तिको सपना देख्न छाडे । केही नेता प्रधानमन्त्री, मन्त्री, सरकारी नियुक्तितिरै मात्र ध्यान दिन थाले । तल स्थानीय नेता, कार्यकर्ता र जनताका सपना र आशा मर्न थाले, स्थानीय नेता-कार्यकर्तामाथिको अन्योलपूर्ण स्थिति देखेर निराश र पलायनको बाटो रोज्न थाले । यस्तो वेला सामनाले वास्तविक धरातललाई अध्ययन गरेर नाटक बनायो, 'सपना र उनीहरू ।' कुनै वेला भारतीय प्रगतिवादी कवि पासले भनेका थिए, 'जब सपनाको मृत्यु हुन्छ तब त्रासदीको दिन त्यहीँबाट सुरु हुन्छ ।' तीतोसत्य के भने, माओवादीमा क्रान्तिकारी सपनाको हत्या भएको स्थिति छ । सामनाद्वारा प्रस्तुत नाटक 'सपना र उनीहरू' मा माओवादी आन्दोलनका नकारात्मक पात्र धूर्तराज, मेघनाथजस्ता छन् भने शंकर, बुढा बा र छोरीजस्ता क्रान्तिकारी आन्दोलनका सकारात्मक पात्र पनि छन् । कथाको पहिलो शृंखलादेखि करिब छैटाँै शृंखलामा विभक्त गरेर पार्टीभित्रको यथार्थ चित्रलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । कथामा कुनै गुटगत मानसिकता भेट्टाउन सकिन्न । पहिलो शृंखलामा माओवादीभित्र देखा परेको दुईलाइन संघर्ष र यस संघर्षलाई विभिन्न मिडियाले पार्टी फुटको स्थितिमा पुर्याएको विश्लेषण गरेको छ । त्यही शृंखलाबाटै धूर्तराज र उसको सारा विकृतिको नालीबेली आरम्भ हुन्छ । धूर्तराज जनयुद्ध लडेर आएको मध्यमस्तरको नेता हो । जब गाउँबाट ऊ सहर पस्छ, त्यसवेलादेखि उसको जीवनमा ठूलो परिवर्तन आउँछ र उसले गाउँ, कार्यकर्ता सबैलाई भुलेर सहरमा आलिसान महल जोड्ने सपना देख्छ । वास्तवमा यातिवेला माओवादीका धेरैजसो नेताको जीवनशैली र कार्यशैली कस्तो छ ? नेता-कार्यकर्ता कुन वर्गमा रूपान्तरण हुँदै छन् या हुन पुगेका छन् ? उनीहरूको सम्बन्ध, कहाँ, कता जोडिन पुगेको छ ? यी सबै कुरा नाटकमा प्रस्ट ढंगले चित्रण गरिएको छ । सहर छिरेको नेता धूर्तराजलाई भेट्न गाउँबाट स्थानीय कार्यकर्ता र उसको साथमा एकजना घाइते योद्धा पनि आउँछन् । भ्रष्टाचार, तस्करी, कमिसनतन्त्र, ठेक्कापट्टा सबै क्षेत्रमा चुर्लुम्म डुबेको नेता धूर्तराज गाउँबाट आएका कार्यकर्तालाई खासै गम्भीरतापूर्वक लिँदैन । उनीहरूको समस्याप्रति कुनै गम्भीरता देखाउँदैन । उसको ध्यान दलाल, भ्रष्टाचार, कमिसनतन्त्र र ठेक्कापट्टातिरै हुन्छ । पछिल्ला शृंखलामा गाउँका बुढा बा र नातिनी -छोरी)को प्रस्तुति निकै दमदार देखिन्छ । जनयुद्धमा जनसत्ता, आधारइलाका, जनअदालत र कम्युन थियो र नै त्यसले सबै जनताको भविष्य केही हदसम्म सुनिश्चित गरेको थियो । अब त्यो रहेन । बरु दुःखद् कुरा शान्ति-सम्झौताको नाममा ती सबै अवयवको विघटनसँगै ती बुढा बालगायत सबैको स्थिति दर्दनाक रहेको कथा अहिले माओवादी जीवनमा प्रस्ट रूपले देख्न सकिन्छ । जनयुद्धताका गाउँमा सेना/पुलिसले दिदी-बहिनीको गिरफ्तारीसँगै गरिएको निर्मम हत्याको कारुणिक तस्बिर देखाउँदा प्रत्येक दर्शकको आँखाबाट आँसु झर्छ । कैयाँै दर्शक त भक्कानो छाडेर रुनसमेत पुग्छन् । उत्तरार्द्धमा शंकरजस्ता थुप्रै क्रान्तिकारी इमानदार कार्यकर्ता पनि पार्टीमा छन् भन्ने कुरा देखाइएको छ । सहर पसेपछि सबै नेता-कार्यकर्ता बिगि्रएको भन्ने होइन, तर मुख्य- मुख्य नेता-कार्यकर्ता वैचारिक स्खलनतिर गएको कुरा सत्य हो । त्यही कुरा नाटकमा चित्रित छ । चीनमा सन् १९६२ तिर संशोधनवादीले क्रान्तिकारीलाई प्रहार गर्न 'हाई जुइ पदबाट बर्खास्त गरियो' भन्ने नाटकबाट उल्टो क्रान्तिकारीको बद्नाम गर्ने प्रयत्न गरेका थिए । यस्तो वेला माओको निर्देशनमा माओ वेन युआनले १९६५ मा संशोधनवादीहरूको सो नाटकको भण्डाफोर गर्दै एउटा लेख लेखे । पेकिङमा संशोधनवादीहरूको प्रभुत्व भएकाले त्यो लेख अत्यन्तै गोप्यताका साथ सांघाईबाट प्रकाशित गरियो । माओलेे यो लेख सांस्कृतिक क्रान्तिको पूर्व संकेत हो भन्नुभएको थियो । यसरी हेर्दा सामनाद्वारा चलाइएको अभियान पनि माओले भनेजस्तै नेपालको सन्दर्भमा महान् सांस्कृतिक क्रान्तिको कास्टिङ मात्रै हो, पूरा फिल्म -ठूलो अभियान) त आउन बाँकी नै छ ।
No comments:
Post a Comment