प्राकृतिक र साँस्कृतिक गरी सौन्दयको मुख्य रुपमा दुईवटा आयाम हुन्छन् । प्राकृतिक सौन्दर्यको समग्र व्याख्या गर्न यो सानो लेखमा सम्भव छैन । त्यो सुक्ष्मातिसुक्ष्म एवं पृथुलातिपृथुल हुन्छ । यसको अध्ययनको क्षेत्र क्वाण्टमदेखि लिएर समस्त ब्रह्माण्डसम्म फैलिएको हुन्छ ।
त्यसको वर्गीय पाटालाई केस्रा केस्रा केलाएर व्याख्या गर्नु सामान्य प्रयत्नबाट सम्भव छैन । त्यो भौतिक शास्त्र र भौतिकवादका विज्ञहरुको संयुक्त प्रयत्नबाट सम्भव हुने कुरा हो । साधारणतया त्यसको सामान्य चर्चा मात्र सम्भव छ । तर यस लेखमा त्यतापट्टि नलागेर मानवनिर्मित सौन्दर्य वा साँस्कृतिक सौन्दर्यको बारेमा मात्र चर्चा हुनेछ ।
मानव निर्मित कलामा अन्तर्निहित सौन्दर्यका पनि दुई पाटा छन् : भौतिक सौन्दर्य र अभौतिक सौन्दर्य (भावानात्मक या आत्मिक) सौन्दर्य । भौतिक सौन्दर्य वास्तुकला, मूर्तिकला आदि मूर्त कलाद्धारा व्यक्त हुन्छ । त्यो इन्द्रियगम्य हुन्छ । अभौतिक सौन्दर्य, जुन, चित्रकला, साहित्य तथा सङ्गीतको माध्यमबाट अभिब्यक्त हुन्छ, त्यो संस्कृति, विचार सिद्धान्त र दर्शनका आधारमा अध्ययन र मननयोग्य हुन्छ र सुक्ष्मरुपेण मात्र बोधगम्य हुन्छ । त्यो मानिसको हृदय र भावनासंग सम्बन्धित हुन्छ ।
भौतिक सौन्दर्य सामान्य पदार्थको जोडघटाउबाट पैदा हुने सङ्गतिबाट उत्पन्न हुने बिषय हो । त्यो कर्णप्रियता, चक्षुप्रियता, नाकप्रियता आदिबाट सहजै ब्यक्त हुन सक्छ । यसरी पञ्चेन्द्रियबाट अनुभूत हुने कलामा अन्तर्निहित सौन्दर्य भौतिक सौन्दर्य हो । यो छिपछिपे ज्ञानको अवस्थाबाटै सहजै ग्रहण गर्न सकिन्छ । आँखा, नाक, कान, छाला र जिब्रोको अनुभूतिबाट उत्पन्न हुने ‘आहा’ भाव भौतिक सौन्दर्य हो । त्यो कतै पेरिसको इफेल टावरबाट अभिब्यक्त भएको हुन्छ भने कतै बेबिलोनियाको झुलना बगैचामा ब्यक्त भएको हुन्छ ।
तर अनुभूतिबाट अथवा इन्ट्युसनबाट उत्पन्न हुने कलामा अन्तर्निहित सौन्दर्य लुसुन, गोर्की, चेर्निसेभ्सकी जस्ता महान साहित्यकारहरु र माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ जस्ता महान विचारक र दार्शनिकहरुका कृतिहरुको अध्ययनबाट अनुभूत हुन्छ । यसलाई ग्रहण गर्नका लागि चेतना र बोधगम्यताको स्तर माथि उठेको हुनुपर्छ । यस्तो भावानात्मक सौन्दर्य दर्शन, सिद्धान्त, विचार र सोचाइका छिपेको हुन्छ । त्यो प्रायः चित्रकला, सङगीत, र साहित्यको माध्यमद्धारा ब्यक्त हुन्छ । अपेक्षित रुपमा त्यो वास्तुकलाभन्दा अमूर्त हुने हुनाले यसलाई निर्माण गर्न र अनुभूत गर्न पनि मानिस ज्ञानको इन्द्रियग्राह्य आवस्थाबाट माथि उठ्नु जरुरी हुन्छ ।
चेर्निसेभ्स्की, गोर्की, राहुल साँस्कृत्यान जस्ता महान साहित्यकारहरुका रचनामा छिपेको सौन्दर्य पत्ता लगाउन छिपछिपे ज्ञानको स्तरबाट सम्भव छैन । यसका लागी समकालनी साहित्य, संस्कृति र सभ्यताको समग्र अवस्थाको पूर्व जानकारी हुनु जरुरी हुन्छ । यथायै जगतको अध्ययनबाट ज्ञानको स्तरियताका आधारमा ती कलात्मक सामग्रहरुको अध्ययन गर्न सके मात्र यसबाट आन्दको त्यही स्तरको अनुभूति प्राप्त हुन सक्छ ।
मानव समाजमा वगैका उदय भएदेखि यता सौन्दर्यका दुई वटा मुख्य पाटाहरु देखा परे : शोषक वर्गीय माटो र शोषित बर्गीय पाटो । दुवै पाटामा अवस्थित साँस्कृतिक सिपाहीहरुको अवस्था हेर्ने हो भने घोषित वा अघोषित रुपमा एउटा पाटोबाट अर्को पाटोतिर तीर फर्काइरहेको पाइन्छ ।
यस्ता सौन्दर्यकमीहरु क्तिपय सचेत किसिमले र कतिपयले अचेत किसिमले संस्कारगत रुपमा कुनै न कुनै वर्गको सेवामा लागिरहेका हुन्छन् । वर्गको उदय भएपछि आजसम्मको मानव इतिहासमा शोषक वर्गले पैसा र सत्ताको बलमा आफ्नो पक्षमा साहित्य, कला र संस्कृतिको निर्माण गर्दै आएको छ । दास युगमा दास मालिकहरुलाई उचालेर उनीहरुको प्रशस्तीमा कला, साहित्यको निर्माण गरिन्थ्यो ।
त्यसै गरी सामन्ती कालमा राजा–महाराजा र सम्राटहरुको सेवामा व्यापक रुपमा कला साहित्यहरुको निर्माण र विकास गरियो । अहिले पुँजीपति वर्गको सेवामा छाडा, अश्लील र विकृत प्रकारका साहित्यको निर्माण र विकासमा विश्वभरिका शोषकहरु लागिपरेका छन् । उनीहरुले त्यस्तै साहित्य र कलालाई व्यापक रुपमा सहयोग र प्रोत्साहन गरिरहेका छन, जसले उनीहरुको सेवा गरिरहेको हुन्छ । आफ्नो सेवामा निर्माण भएका कला, साहित्य र संस्कृतिलाई प्रचार प्रसार गर्न र विकसित गर्न उनीहरुले शोषणबाट प्राप्त आफ्नो धनराशीको ठूलो हिस्सा छुट्याएको हुन्छन् ।
शोषणको त्यो हिस्साबाटा पालित, पोषित कलाकार साहित्यकारहरुले आफूलाई पाल्ने पुँजीपतिका विरुद्ध सौन्दर्य सृजना गर्नु सम्भव हुदैन । शोषणका हिस्सा आफूसम्म पनि आएको हुँदा त्यसको बदलामा उनीहरुले शोषणमूलक सामाजिक व्यवस्थाको पक्षमा कला साहित्यको रास थुपार्छन् । त्यसबाट जनताको मन–मनमस्तिष्कमा शोषकको पक्षमा निर्माण गरिएको उत्पीडनमूलक संस्कृतिको आधार मजबुत पार्न अरु बल प्राप्त हुन्छ । त्यही साँस्कृतिक धरातलमा उभिएर शोषक वर्गले बर्षौबर्ष जनतामाथि शासन गरिरहेको हुन्छन् ।
अर्कातर्फ, शोािषत–पीडित जनताले पनि आफ्नो संस्कृतिको निर्माण जनताले पनि आफ्नो संस्कृतिको निर्माण र विकासका लागी अनवरत प्रयास गरिरहेका छन् । माक्र्सवादको उदय भएदेखि यता साहित्य कला र संस्कृतिको क्षेत्रमा शोषित–पीडित जनताको पक्षमा व्यवस्थित प्रकारले काम सुरु भयो । माक्र्सवादी सौन्दर्य शास्त्रको व्यापक रुपमा विकास र विस्तार भयो । त्यसले सर्वहारा वर्गको साहित्य, कला र संस्कृतिलाई व्यवस्थित र उँचो पार्दै लाग्यो ।
मजदुर आन्दोलनको विकाससंगै विश्व सर्वहारा वर्गको साहित्यले पनि थप उर्जा प्राप्त गर्दै गयो । त्यो उर्जाबाट अनगिन्ती साहित्य र कलाकृतिहरु निर्माण भए । ति कृतिहरु र साँस्कृतिक सामग्रीहरुबाट फेरि मजदुर आन्दोलनले गति पायो । फलतः मजदुर आन्दोलनले ठूला ठूला सफलताहरु प्राप्त गर्दै गयो । रुस र चीनमा ठूला ठूला क्रान्ति सम्पन्न भए । विश्वका एकतिहाई देशहरु पुँजीवादी र साम्राज्यवादी शोषणको जुवाबाट मुक्त भए । यसले सर्वहारा वर्गीय साहित्य र संस्कृतिको निर्माण, विकास र विस्तारमा अभूतपूर्व रुपमा विश्वव्यापी सफलता प्राप्त भयो । रुसी क्रान्तिपछि सस्तो र सुलभ तरिकाले संसारभरिका सर्वहारा, मजदुर र आम जनताले आफ्नो साहित्य प्राप्त गर्न थाले ।
यही विश्व परिस्थितिमा नेपालमा पनि राणा शासनविरोधी आन्दोलनका क्रममा शोषक बर्गका विरुद्ध शोषित–पीडित वर्गका पक्षमा साहित्य, कला र संस्कृतिको निर्माण हुन थाल्यो । राणा शासनको अन्त्यपछि यसले झन् व्यापक रुप लिँदै गयो । सर्वहारा वर्गीय सौँन्दर्य अन्तरनिहित साहित्य र कलाका विविध सामग्रीहरु नेपाली आकाशमुनि पनि व्यापक मात्रामा देखा परे । यो क्रम निरन्तर अगाडी बढ्दै गयो ।
२०३६ साल, २०४६ साल र २०६२ सालका जनआन्दोलनहरुले नेपालमा जनसाँस्कृतिक कृतिहरु निर्माण गर्न अधिकतम सामग्रीहरु प्रदान गरे । ती कृतिहरुले जनआन्दोलनलाई सोही अनुरुप उर्जा प्रदान गरिरहे । हालसम्म आइपुग्दा नेपालमा सर्वहारा वर्गीय साहित्य र कलाका हजारौं हजार कृतिहरु जनताको हृदयमा गहनतम छाप पारिरहेका छन् । यसैगरी भारत, अमेरिका, जर्मनी, लगायत संसारका प्रायः सवैजसो देशहरुमा कुनै न कुनै रुप र मात्रामा सर्वहारा वर्गीय साहित्य/कलाको निर्माण र विकास भैरहेको छ ।
नेपालमा सर्वहारा वर्गीय सौन्दर्यको निर्माण र विकासको सिलसिलामा रक्तिम साँस्कृतिक अभियान अहिले सवैभन्दा अघि देखा परेको छ । विशेष गरेर गीत, सङ्गीत र नाटकको क्षेत्रमा रक्तिम साँस्कृतिक अभियानले निर्माण गरेका सामग्रीहरुले नेपाली जनतामाझ वर्गचेतनाको स्तरलाई नवीनतम उचाईमा उठाउन ठूलो भूमिका निर्वाह गरेका छन् । पछिल्लो समयमा विज्ञान र प्रविधिलाई पैसाद्धारा हात लिएर पुँजीपति वर्गले संसारभरि र नेपालमा पनि आफ्नो संस्कृतिलाई फैलाउन ठूलो कसरत गरिरहेको छ ।
सर्वहारा वर्गका कलाकारहरुलाई पैसा, पद र प्रतिष्ठाको प्रलोभनमा आफ्नो छाडा संस्कृतितर्फ तान्न र सर्वहारा वर्गीय साँस्कृतिक किल्लालाई कमजोर पार्न अनवरत प्रयास गरिरहेको छ । शोषक वर्गको मनोबैज्ञानिक षडयन्त्रका शिकार भएर बेला बेलामा केही कलाकारहरु पथभ्रष्ट हुने र क्रान्तिको बाटोमा विचलित हुने पनि गर्दछन् । तर वर्गदुश्मनका यस्ता कैयौं प्रकारका हमलाहरुको सामना गर्दै सर्वहारा वर्गीय साँस्कृतिक अभियान विश्वव्यापी रुपमा अगाडी बढिरहेको हुन्छ ।
सर्वहारा वर्गप्रति त्याग, समर्पण, निष्ठा र बलिदानी भावनाबाट उर्जा लिएर सत्य, न्याय र समानताको युगतर्फको यात्रामा यसले आफ्ना गरिमामय पाइलाहरु लम्काइरहेको हुन्छ । सौन्दर्यको यो वर्गीय आयामले दिनप्रतिदिन झन् बढी व्यापकता, उचाई र गहनता लिँदै गइरहेको हुन्छ ।