Wednesday, June 27, 2012

एकीकृत अखिल नेपाल जनसांस्कतिक महासंघको प्रेश विज्ञप्ती - २०६९ असार १२

प्रेश विज्ञप्ती

लामो समयदेखि पार्टीभित्र भिन्न विचार समूहका  नाममा अराजक गतिविधि गर्दे आएको र पार्टी अनुशासन र एकतालाई तिलाञ्जली दिँदै आएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उपाध्यक्ष कमरेड मोहन वैद्य ‘किरण’ पक्षधर समूहले कथित राष्ट्रिय भेलाको निर्णय भन्दै २०६९ साल असार ५ गते पार्टीवाट अलग भएको र ने क पा माओवादी नामको पार्टी गठन गरेको औपचारिक घोषणा गरेर पार्टीलाई फुटमा पुर्याई नेपाली जनता र क्रान्तिप्रति तुषारापात गर्ने दुष्प्रयत्न गरेको छ  । फुटपरस्त  विचारमा उद्यत उक्त समूहको  यस घोषणाले नेपालका अग्रगामी परिवर्तन चाहने क्रान्तिकारी जनसमुदाय माथि गम्भीर आघात पु¥याएको छ, भने् देशभित्र र बाहिरका यथास्थितिवादी, संशोधनवादी एवं प्रतिक्रियावादी शक्तिलाई हर्षित तुल्याएको छ । आजको संगीन राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिलाई ध्यान दिई पार्टी नेतृत्वले पार्टी एकताका लागि आवश्यक परे नेतृत्व समेत छाड्न तयार रहेको लगायतका अत्यन्तै लचिला प्रस्तावहरु अघि सारिरहेको अवस्थामा फुटको घोषणा गरी कमरेड किरणले नेतृत्व गर्नु भएको समुहले राष्ट्रप्रति गैर जिम्मेवार, फुटपरस्त र अराजकतावादी  व्यवहारको प्रदर्शन गरेको छ ।
सम्पूर्ण राजनीतिकर्मी, बुिद्धजीवी, अधिकारकर्मी लगायतका सचेत नागरिकहरुलाई स्पष्ट भइसकेको छ कि फुटको घोषणा गर्ने मित्रहरुसँग नेपाली जनताको मुक्ति र परिवर्तनका लागि कुनै ठोस एजेन्डा छैन । यही भ्रमलाई काखी च्यापेर दौडिरहेको विसर्जनवादी समुहको पिछलग्गु भई एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका नेतृत्व तहमै रहेका केही साथीहरुले आफ्नो सहभागिता पनि फुटवादी समुह र गुटतिर रहेको भन्ने अभिव्यक्ति दिइरहेका छन् । नेपालको साँस्कृतिक आन्दोलनमा हाम्रा पार्टीका अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा  जनयुद्धले सिर्जना गरेको सांस्कृतिक अभियानमा आज अधिकांश साथीहरु एकढिक्का भइरहेको र महासंघका  सबै आंगिक संगठनका साथीहरु  पार्टीमा   एकताबद्ध भएको अवस्थामा हामी  उक्त समूहको भ्रममा नपर्न र  ती भ्रमहरुलाई चिर्दै पार्टीमा लामबद्ध भई अघि बढ्न हार्दिक अनुरोध गर्दछौँ । आफ्ना फुटवादी अभिव्यक्ति संगसंगै केही भ्रम छर्ने खालका धारणाहरु  बाहिर ल्याइरहेको त्यस समूहको वितण्डावादी सोचका विरुद्ध वैचारिक प्रतिवाद गर्न पनि हार्दिक आव्हान गर्दछौँ ।  यसका साथै त्यस समूहले ल्याइरहेका गलत  र भ्रमपूर्ण विचारको  खण्डनको समेत आवश्यकता ठानी तथ्य र सत्य सार्वजनिक गर्न समेत यो वक्तब्य प्रकाशित गरेका छौँ ।
फुटवादी र विसर्जनवादी गतिविधिमा लाग्ने सांस्कृतिककर्मी साथीहरुले आफु बहुमतमा रहेको भनेर जनमानसमा वारम्वार भ्रम छर्ने र आम कार्यकर्ता र सांस्कृतिककर्मीहरुमा अन्योल सिर्जना गर्ने दुस्साहस गरेका छन् । २०६६ चैत २ देखि ५ गतेसम्म सम्पन्न एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको एकताको चौथो राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको केन्द्रीय समिति र विधानतः केन्द्रीय समितिले थप गर्न सक्ने अधिकार प्रयोग गरी २०६७ साल पुष २८ र २९ गते सम्पन्न तेस्रो पूर्ण बैठकबाट थप गरिएका केन्द्रीय समिति सदस्यसहित जम्मा ११६ जनाको केन्द्रीय समिति विद्यमान थियो । त्यसमध्ये बरिष्ठ कार्यालय सदस्य एवं अखिल नेपाल लेखक संघका अध्यक्ष क.घनश्याम ढकालको २०६८ साल फागुन १ गते दुर्घटनामा परी निधन भयो । त्यसपछि हामीसंग ११५ जनाको केन्द्रीय समितिको संख्या बाँकी रह्यो । यो संख्यामध्ये हामीसँग ठूलो संख्यामा रहेका सदस्य  सहित  ६० प्रतिशत भन्दा केन्द्रीय सदस्यको  बहुमत छ । यसै गरी महासंघसँग सम्बद्ध घटक संगठनमध्ये अखिल नेपाल लेखक सङ्घका ७५ प्रतिशत, अखिल नेपाल ललित कला संघका एक जना बाहेक सम्पूर्ण, अखिल नेपाल चलचित्रकर्मी संघको एक जना बाहेक सम्पूर्ण र अखिल नेपाल जनकलाकार संघको ६० प्रतिशत केन्द्रीय कार्य समितिका सदस्यहरु फुटपरस्त र विसर्जनवादका विरुद्धमा छन् ।  यसरी आफ्नो बहुमत छ भन्ने बिसर्जनवादीहरु र फुटवादीहरुको गलत प्रचारको भ्रममा नपर्न हामी सम्पूर्ण सांस्कृतिक कर्मीहरुमा पुनः अनुरोध गर्दछौं  । उनीहरुको कथित क्रान्तिकारी नैतिकता यही दुष्प्रचारबाट नराम्ररी उदाङ्गो भएको छ ।  गलत प्रचार र राजनीतिक द्वेश  फुटवादको पहिचान हो र यसले  समाजलाई एक इञ्च पनि रुपान्तरण गर्न सक्दैन भने क्रान्तिको दायित्वलाई पनि पुरा गर्न सक्दैन ।  यस्ता भ्रमपूर्ण प्रचारका आधारमा फुटवादी क्रियाकलापलाई भ्रमबश  सहयोग र समर्थन गर्न पुग्नु भएका सम्पूर्ण सांस्कृतिककर्मीहरुलाई पुनः आफ्नो संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघमा फर्कन र नेपाली  सांस्कृतिक आन्दोलन र नेपाली क्रान्तिको दायित्व पुरा गर्ने महान् अभियानमा सरिक हुन हार्दिक आव्हान गर्दछौं । एकीकृत नेकपा (माओवादी)ले अपनाएको  वर्तमान कार्यदिशा र नेतृत्वप्रति हाम्रो पूर्ण प्रतिवद्धता रहेको छ र नपाली क्रान्तिका दायित्व पुरा गर्ने दिशामा समेत हामी पूर्ण प्रतिबद्ध रहेका छौँ। जनताप्रतिको उत्तरदायित्वलाई पुरा गर्ने महान् अभियानमा लामबद्ध भई फुटवादका विरुद्ध वैचारिक  प्रतिवाद  गर्न समेत हामी क्रान्तिकारी  सांस्कृतिककर्मी  साथीहरुमा हार्दिक अपिल गर्दछौँ ।

                                                            
 
मातृका पोखरेल
कार्यवाहक अध्यक्ष
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ
केन्द्रीय समिति



१२ असार २०६९

No comments: