Saturday, June 10, 2017

किरण कमरेड ! म तपाईंको उत्तर पर्खिरहेको छु - डा. ऋषिराज बराल

यो लेख लेखेको पनि २ वर्ष हुन लागेछ । समयले यो अभिव्यक्ति सही थियो भन्ने प्रमाणित गरेको छ । ज्ञवाली एण्ड कम्पनी मात्र होइन, वरिष्ठ सौन्दर्यचिन्तक चैतन्य अर्थात् कमरेड किरण पनि यसबाट भाग्न पाउनु हुन्न, सक्नु हुन्न, सबै कुरा बाहिर ल्याउनुपर्छ । यथार्थ बाहिर नआए मोर्चा कस्नुको विकल्प छैन। सत्यको सामना गर्न नसकेर ऋषिराज बरालहरूलाई कारबाही गरे पनि समयले छोड्ने छैन, इतिहासले यस मामलामा कमरेड किरणलाई पनि छोड्ने छैन । किरण कमरेडले सत्यको सामना गर्नैपर्ने हुन्छ । उत्तर दिनै पर्ने हुन्छ ।


rishi-raj-baral













‘जनआस्था’ साप्ताहिकको फागुन ५ को अङ्कमा प्रकाशित ‘क्रान्ति, केको क्रान्ति, कस्तो क्रान्ति ! शीर्षकमा प्रकाशित ‘पाठकपत्र’ सित सम्बन्धित भएर उठेका टिप्पणीहरूका सन्दर्भमा मैले केही कुरा प्रस्ट पार्नु आवश्यक ठानेको छु । खासगरेर  मेरो पुस्तक सत्ता र संस्कृति मा समाविष्ट ‘जनयुद्ध, सांस्कृतिक आन्दोलन र जनसांस्कृतिक सङ्घ’ तथा ‘सांस्कृतिक सेनासम्बन्धी माओवादी दृष्टिकोण’ मा यसबारे प्रस्ट पारेको हुँ तापनि अहिले आएर विषयसन्दर्भहरू नयाँ किसिमले उठेकाले यसबारे पुनः केही प्रस्ट पार्नु आवश्यक ठानेको छु ।
‘पाठकपत्र’ मा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ को विगतको सम्मेलनदेखिका कुराहरूका साथै त्यसमा ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’सित सम्बद्ध मुद्दाहरू पनि उठाइएका छन् । यसो हेर्दा यी फरकफरक विषय भए पनि यी एकअर्कासित अन्तर्सम्बन्न्धित छन् । यी सबैको लामो व्याख्या यहाँ सम्भव नभए पनि यी सबै समस्याको  जडचाहिँ ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलन हो भन्ने कुरा म प्रस्ट पार्न चाहन्छु ।  यो सबै सन्दर्भको प्रस्टताका लागि युद्धकालमा रोल्पामा पढ्न प्रतिबन्ध लगाइएको मेरो पुस्तक फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘‘प्रति+आगमन . प्रत्यागमन’ को सन्दर्भलाई पनि यहाँ ल्याउनुपर्ने हुन्छ ।
२०६३ असोजमा  तय गरिएको ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनमा लागि केन्द्रीय संयोजकका नाताले मैले प्रतिवेदन तयार पारेँ । यसलाई लिएर सांस्कृतिक विभाग र आयोजक समितिको दुईतीन  बैठक बस्यो । प्रचण्ड सांस्कृतिक विभागका इन्चार्ज थिए  ।त्यतिबेर प्रचण्ड–बाबुराम घुमन्तु सिविरमा हुन्थे । भक्तपुर गेस्ट हाउसमा बसेको मिटिङमा मैले त्यतिबेला चर्चामा आएका  तल उल्लेखित तीनवटा मुद्दामा बहसछलफल चलाएँ । 
 १.  जनार्दन शर्मा ‘प्रभाकर’ को उटपट्याङ चिन्तनको पछि लागेर ईश्वरचन्द्र ज्ञवाली र खासगरेर सेमभेकका केही साथीहरू जनमुक्ति सेनाका झैँ सांस्कृतिक क्षेत्रमा पनि कम्पनी, बटालियन,  ब्रिगेड र डिभिजन बनाउने हठमा थिए । सांस्कृतिक सेना भनेको विचारको सेना हो, यो क्रान्तिकारी विचारबाट सङ्गठित हुन्छ, तर ब्रिगेड आदि हुँदैन,  खास अभियानमा सैन्य फर्मेसनमा लामबद्ध हुन सकिए पनि जनसेनाका झैँ सांस्कृतिक पल्टनको स्थायी बटालियन र ब्रिगेड हुँदैन भन्ने मेरो भनाइ थियो र माओले पनि सांस्कृतिक सेना र जनमुक्ति सेनाको संरचना र कार्य एउटै हँदैन भनेको सन्दर्भ हाम्रा सामु थियो । तर ब्रिगेड र डिभिजन बनाउँदा मात्र क्रान्तिकारी होइन्छ भन्ने र माओभन्दा क्रान्तिकारी देखिने चस्का लागेका  केहीहरू यसमा सहमत भएनन् । युद्धकालमा प्रचण्डले पनि यसैमा ताली बजाए । यसबारे मैले निरन्तर बहस चलाएँ र  सम्मेलनका बेला  पनि चलाएँ ।
२. कुनै पनि कृतिको सौन्दर्यशास्त्रीय पक्ष हुन्छ, यसलाई सङ्ख्या अथवा प्राविधिक किसिमले डण्डा  लगाएर ठीकबेठीक भनेर खारेज गर्न मिल्दैन भन्ने मार्क्सवादी मान्यता हो । फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति+आगमन= प्रत्यागमन’ का सन्दर्भमा उठेका विवादलाई मैले सौन्दर्यशास्त्रीय आधारमा बहस चलाऔँ,  अंश होइन समग्रमा हेरौँ, भनेर तर्क गरेँ । यसबारेमा पार्टी केन्द्रको सिक्लेस बैठकमा एक किसिमको “समझदारी” पनि बनाइयो र यो समझदारीलाई सांस्कृतिक विभागको बैठकले समेत निर्णय गरी व्यवस्थित गरियो । तर यो मुद्दालाई सम्मेलनको सेरोफेरोमा प्रायोजित र निर्देशित रूपमा उछाल्ने काम गरियो ।
३.  केही साथीहरू ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ लाई महासङ्घमा लैजाने हठमा लागे । मैले भखैरै ‘शान्तिप्रक्रिया’ आएको र  स्थिति कसरी अगाडि बढ्छ प्रस्ट नभएकाले महासङ्घलाई अवधारणाका रूपमा स्वीकार गरौँ, आवश्यकता अनुसार सङ्घभित्र विभाग बनाऔँ, महासङ्घमा जान हतार गर्दा वैचारिक तथा साङ्गठनिक अस्तव्यस्तता र  अराजकता आउँनसक्छ भन्ने मेरो धारणा थियो ।
फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति+आगमन=प्रत्यागमन’ का बारेमा सिक्लेस बैठकमा निर्णय भइसकेकाले सांस्कृतिक विभागको बैठकमा यो विषय त्यति बहसको विषय भएन ।  मूल बहस सांस्कृतिक  क्षेत्रमा बटालियन, ब्रिगेड र डिभिजन बनाउने कुरामै रह्यो । प्रचण्ड–बाबुरामले पनि यस विषयमा गोलमटोल कुरा मात्र गरे । माइला लामा र ज्ञवाली ब्रिगेड र डिभिजनको रमाइलोमा थिए ।  त्यसपछि सबै कुरा सम्मेलनमा लगेर हल गर्ने भनियो । तर सम्मेलनमा वैचारिक बहसको सट्टा होहल्ला र गुन्डागर्दीले प्रभुत्व कायम गर्यो । खासगरेर आफूलाई आधारइलाकाका भन्न रुचाउने केही हुल्लडबाजहरूले ममाथि भौतिक रूपमै आक्रमण गरे ।  अब सांस्कृतिक सेनाले ठोक्छ भन्दै कुर्सी भाँचेर ममाथि आक्रमण गर्नथाले । भित्री निर्देशन आधारइलाकाका बडे कमरेडहरूको थियो भन्नेमा म प्रस्ट थिएँ ।  त्यस कार्यक्रममा प्रमुख अतिथि भएर आएका देव गुरुङ्ले पनि आगोमा घिउ थप्ने काम गरे । कस्ताकस्ता मान्छेहरूलाई सांस्कृतिक मोर्चामा ल्याएइछ भन्ने पनि लाग्यो । यस किसिमको भद्रगोलमा सांस्कृतिक मोर्चामा रहनुको औचित्य रहेन । मैले पहिले नै निर्णय गरेको थिएँ  ।
सांस्कृतिक सम्मेलनमा देखिएको गुन्डागर्दीको यो  समाचारलाई अन्य पत्रिकाका साथै ‘जनआस्था’ले पनि विशेष रुचिका साथ छापेको थियो ।  यो ‘सम्मेलन’ पछि  मैले तयार पारेको  र पार्टीको सांस्कृतिक विभागले पारित गरेको प्रतिवेदनमा पूरै परिवर्तन गरेर उल्टोपाल्टो पारिएछ । सबैभन्दा आपत्तिजनक कुरा इतिहासको तोडमरोड गरेर सारै विकृत ढङ्गले प्रस्तुत गरिएछ । यो जनसांस्कृतिक सङ्घको प्रतिवेदन नभएर विकृत दस्ताबेजमा परिणत भएको थियो । २०६० सालमा  सांस्कृतिक मोर्चाको केन्द्रमा ल्याइएका ईश्वरचन्द्र ज्ञवालीले नेकपा (एकताकेन्द्र)  बनेपछि तीनवटा सांस्कृतिक मोर्चाको एकताद्वारा बनेको संयोजन समिति २०४७ मा आफू पनि रहेको भनेर प्रतिवेदनमा लेखेछन् र त्यतिबेला केन्द्रमा  रहेका अन्य साथीहरूको नाम हटाएछन् । मैले यसलाई घोर आपत्तिजनक कार्य ठानेँ । कसैको इतिहास नै गायब पार्नु र आफ्नो नाम थप्नु घोर अनैतिक काम थियो ।
यो सन्दर्भपछि  सांस्कृतिक मोर्चासित मेरा ५ ओटा विषयमा मतभेद रहेको कुरा प्रकाशमा ल्याएँ । पहिलेका तीनवटा —सांस्कृतिक सेनासम्बन्धी, कृतिलाई मार्क्सवादी सौन्दर्यशास्त्रीय मूल्यका आधारमा समीक्षा गरिनुपर्ने, तत्काल महासंघ नबनाउने भन्नेमा अरू दुईवटा थपिएका थिएः १. प्रतिवेदनमा ईश्वरचन्द्र ज्ञवालीले गरेको इतिहासको विकृतीकरण सच्याएर उनीमाथि कारबाही गर्नुपर्ने र २.सम्मेलनमा भएको गुण्डागर्दी गैरमार्क्सवादी कार्य थियो भन्ने निर्णय गर्दै त्यसो गर्नेहरूमाथि कारबाही गर्नुपर्ने ।
उहाँकै इन्चार्जसिपमा विकृतिलाई अनुमोदन गरियो । विकृतिमाथि विकृति थपियो । सांस्कृतिक आन्दोलनका समस्या कसरी हल गर्ने र कसरी अघि बढ्ने भन्ने कुरामा  किरण कमरेडसित अलिकति पनि विचारविमर्श हुनसकेन । यसमा उहाँको रुचि  नै रहेको पाइँन । उहाँ प्रभाववाद र क्षेत्रीयतावादमा फस्नु भयो । एक हिसाबले विकृतिलाई वहांले अनुमोदन गर्नुभयो  ।
समयले मैले उठाएका कुराहरू सही साबित भएका छन् । अहिले वैचारिक तथा साङ्गठनिक दुवै दृष्टिले सांस्कृतिक आन्दोलन लथालिङ्ग र भताभुङ्ग भएको छ । त्यतिबेला गुण्डागर्दी गर्नेहरू कतिपय आन्दोलनबाट पलायन भएका छन् र  कतिपय सिसिएम र पिबिएम भएर विभिन्न ‘माओवादी’मा बाँडिएका छन् ।
दस बर्स हुनलागेछ ।  त्यसपछि एउटै पार्टी र जनयुद्धको कालको केन्द्रीय संयोजक भएर पनि अहिलेसम्म जनसांस्कृतिक सङ्घ (हाल महासङ्घ) को कुनै पनि कार्यक्रममा म सहभागी भएको छैन र माथि मैले अगाडि सारेका मुद्दाहरू समाधान नहोउन्जेलसम्म  सहभागी हुने स्थिति पनि छैन ।  त्यतिबेला ‘शान्तिप्रक्रिया’ को रमझममा प्रचण्ड–बाबुरामका लागि सांस्कृतिक मोर्चाका समस्या त्यति महत्वका भएनन् । तर किरण कमरेड जेलबाट छुटेर आएपछि यस सन्दर्भमा उहाँबाट जेजस्तो भूमिकाको आशा र विश्वास गरेको थिएँ, त्यो हुन सकेन । उहाँकै इन्चार्जसिपमा विकृतिलाई अनुमोदन गरियो । विकृतिमाथि विकृति थपियो । सांस्कृतिक आन्दोलनका समस्या कसरी हल गर्ने र कसरी अघि बढ्ने भन्ने कुरामा  किरण कमरेडसित अलिकति पनि विचारविमर्श हुनसकेन । यसमा उहाँको रुचि  नै रहेको पाइँन । उहाँ प्रभाववाद र क्षेत्रीयतावादमा फस्नु भयो । एक हिसाबले विकृतिलाई वहांले अनुमोदन गर्नुभयो  । बरु त्यतिबेला मैले उठाएका प्रश्नहरूमा किरणभन्दा प्रचण्ड केही सकारात्मक, सहयोगात्मक  र खुलस्त देखापरेको अनुभूत मलाई भएको थियो ।  एउटै पार्टीमा छँदा चीन जानुभन्दा अघि सायद २०६६ असोजमा प्रचण्ड–किरणले नयाँ बजार निवासमा मलाई बोलाएर छलफल चलाएका थिए । त्यहाँ पनि मैले उठाएका मुद्दाहरूको सन्दर्भमा  किरण कमरेडभन्दा प्रचण्डमै मैले बढी खुलस्तता अनुभूत गरेको थिएँ ।
नेताहरूका घरका तला थपिँदै जाने र तलका सांस्कृतिक कलाकर्मीहरू बेघरबार र भोकभोकै रहने स्थितिले ल्याउने परिणाम दुखद र भयावह पनि हुनसक्छ । भ्रष्टाचारका प्रमाणहरू सामुन्नेमा हुँदा पनि थाहा नपाएझैँ गर्नु भनेको सारतः त्यसको हिस्सा बन्नु हो । यस किसिमको निस्पृहताले दुर्घटना निम्त्याउँछ ।
अब यताको १० वर्षको लेखाजोखा गर्नु आवश्यक छ । यी १० वर्षमा सांस्कृतिक आन्दोलनका समस्या समाधान गर्न, विकृतिहरू हटाउन र एकताबद्धका साथ सांस्कृतिक आन्दोलनलाई  अघि बढाउन फ्याक्सन इचार्ज बनेकाहरूको भूमिका केकस्तो रह्यो त्यसको पनि समीक्षा हुनु जरुरी छ । ज्ञवालीद्वारा इतिहासलाई विकृत पारिएको र लाल सलाम फिल्मलगायतका घटनाहरूका भएका भ्रष्टाचारहरूलाई लिएर ‘महासङ्घ’ मा प्रश्न उठेपछि  पार्टीमा निवेदन दिएपछि छानबिन आयोग बनेको कुरा चर्चामा आए पनि आफू त्यसमा नरहेकाले ज्ञवालीले गरेको भनिएको भ्रष्टाचारबारे विस्तृत रूपमा केही भन्न सक्ने स्थिति छैन । त्यहाँ छानबिन  पनि हुँदैन  र भए पनि प्रतिवेदन  बाहिर आउँदैन भन्ने निवेदनकर्ताहरूको  भनाइ छ  ।
जहाँसम्म ‘इच्छुक प्रतिष्ठान’को कुरा छ ।  प्रतिष्ठान बनाउने निर्णय पार्टीको फुन्टिवाङ बैठकपछि रोल्पाको इरिवाङमा बसेको सांस्कृतिक मोर्चाको बैठकले गरेको थियो । भारतीय जेलबाट छुटेर आएपछि ठमेलको होटलस्थित प्रचण्ड क्याम्पमा कमरेड किरणको संयोजकत्वमा सुरुमा म र पाख्रिनको समिति बन्यो र पछि अरू नाम थपिँदै गएका हुन् । ज्ञवाली यहाँ पनि  दुई वर्षपछि मात्र जोडिएका हुन् ।
नेपाली कम्युनिस्ट आन्दोलनमा कमरेड किरणको छवि एकजना इमान्दार र आदर्शप्रति प्रतिवद्ध नेताका रूपमा स्थापित छ, तर कार्यकर्तालाई सही किसिमले चिन्ने, बुझ्ने र संरक्षण गर्ने कुरामा वहाँमा धेरै समस्या देखिए । फलस्वरूप पछिल्ला दिनमा वहांको क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।
अहिले ‘इच्छुक प्रतिष्ठान’मा पनि भ्रष्टाचारका कुरा आएका छन् । मलाई थाहा छ यससित पनि थुप्रै  गुप्त अगुप्त पक्ष जोडिएछन् । पहिले टेन्डरद्वारा निर्णय गरेको नक्सा पुनस् टेन्डर नगरी फेर्नु र  सानो  नक्सा बनाएर र ठूलो भवनको रकम निर्णय गर्नु, ज्ञवालीले आफ्नो जग्गा महँगोमा प्रतिष्ठानलाई बेच्नु, भाउ बढेको बेला त्यही जग्गा फेरि आफैँले पहिलेभन्दा सस्तोमा किन्नु  र त्यो पैसा पनि प्रतिष्ठानको खातामा नराखी आफ्नै खातामा राख्नु जस्ता प्रश्नहरू अहिले उठेका छन् । यसो हो भने यो महाअपराध हो । पछिल्ला दिनमा प्रतिष्ठानको भवन ठेकेदार र रेखदेख गर्ने इन्जिनियरसित रिसोर्टहरूमा ज्ञवाली लगायतको टोलीले रमाइलो गरेको समाचार पनि आएका छन् ।  समयसन्दर्भमा यो सबै  बाहिर आउँनेछ  नै ।
वास्तवमा यो इच्छुक  प्रतिष्ठानमा र ऋषिराज बरालको मात्र कुरा होइन, प्रश्न सिङ्गो राजनीतिक तथा सांस्कृतिक आन्दोलनलाई कसरी अघि बढाउने भन्ने कुरा हो र  यसमा किरण कमरेडको न  त कुनै योजना नै रह्यो, न त राम्रो सल्लाह सुझाव सुन्ने मन नै भयो, उहाँमा इच्छा शक्तिको अभाव देखियो । उहाँमा एउटा सानो कोटरीमा रमाउने र बहस र विवाददेखि अतंकित हुने प्रवृति ।
कृष्ण सेन इच्छुकसित जोडिएको संवेदनशील विषय भएकाले समग्र पार्टी यसमा गम्भीर हुनु आवश्यक छ । सांस्कृतिक मोर्चा र आन्दोलनका समस्या हल गर्न इच्छाशक्ति नदेखाउनु, मोर्चा  र प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारका सन्दर्भप्रति गम्भीर नहुनुले गजुरमा बसेकाहरू पनि  प्रश्नभन्दा बाहिर हुनसक्तैनन् । किरण कमरेडको मौनता  रहस्यमय छ  । नेताहरूका घरका तला थपिँदै जाने र तलका सांस्कृतिक कलाकर्मीहरू बेघरबार र भोकभोकै रहने स्थितिले ल्याउने परिणाम दुखद र भयावह पनि हुनसक्छ । भ्रष्टाचारका प्रमाणहरू सामुन्नेमा हुँदा पनि थाहा नपाएझैँ गर्नु भनेको सारतः त्यसको हिस्सा बन्नु हो । यस किसिमको निस्पृहताले दुर्घटना निम्त्याउँछ । नेपाली कम्युनिस्ट आन्दोलनमा कमरेड किरणको छवि एकजना इमान्दार र आदर्शप्रति प्रतिवद्ध नेताका रूपमा स्थापित छ, तर कार्यकर्तालाई सही किसिमले चिन्ने, बुझ्ने र संरक्षण गर्ने कुरामा वहाँमा धेरै समस्या देखिए । फलस्वरूप पछिल्ला दिनमा वहांको क्षमतामाथि नै प्रश्न उठ्न थालेको छ ।
यस यथार्थलाई बाल्कोनीमा बसेका सबैले बुझ्नु आवश्यक छ । सबैभन्दा बढी किरण कमरेडले बुझ्नु आवश्यक छ । विकृतिको थुप्रोमा रमाएर सुन्दरको कुरा गर्नुको अर्थ छैन । वास्तवमा यो इच्छुक  प्रतिष्ठानमा र ऋषिराज बरालको मात्र कुरा होइन, प्रश्न सिङ्गो राजनीतिक तथा सांस्कृतिक आन्दोलनलाई कसरी अघि बढाउने भन्ने कुरा हो र  यसमा किरण कमरेडको न  त कुनै योजना नै रह्यो, न त राम्रो सल्लाह सुझाव सुन्ने मन नै भयो, उहाँमा इच्छा शक्तिको अभाव देखियो । उहाँमा एउटा सानो कोटरीमा रमाउने र बहस र विवाददेखि अतंकित हुने प्रवृति देखियो ।
http://halkaro.com बाट साभार 

No comments:

Post a Comment