गाउँ गाउँबाट उठ वस्ती वस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ
जोसीलो गीतका माथिका हरफ गाउँदै प्रगतिशील सांस्कृतिक रुपान्तरणको लागि सामाजिक अभियानको अगुवाई गरिरहेको ‘राल्फा’ समूहको प्रेरणाबाट ४२ वर्ष अघि सांस्कृतिक सचेतनाको आन्दोलनमा लागेका माधव प्रधान आज पर्यन्त सांस्कृतिक क्षेत्रमा उत्तिकै लगनशील र क्रियाशील छन् ।
रामेश, मञ्जुल, अरिन रनिनुले राल्फा आन्दोलन हाँकी रहेका थिए ।
विशेष गरेर उनीहरु हातमा सांस्कृतिक औजार बोकेर परिवर्तनको प्रेरणा जगाउँदै गाउँदै र नाँच्दै हिड्ने शैलीले उनलाई प्रभावित बनायो ।
सानैदेखि विभिन्न हिसावले सांस्कृतिक क्षेत्रमा लाग्ने रुची पैदा भएका उनी टोल समूदायमा कुनै कार्यक्रम हुँदा पुगी हाल्थे ।
२०२६/२७ साल जतिवेला मुलुकमा पञ्चायती कालो रात थियो ।
समूहमा भेला भएर आफ्ना विचार त राख्न सकिँदैन थियो ।
अझ माथि उठेर प्रगतिशील सास्कृतिक आन्दोलनको नेतृत्व गर्न कहाँ सजिलो थियो र ! तै पनि खाने मुखलाई जुँगाले कहाँ छेक्दो रहेनछ !
उनी पनि त्यस्तै समूह मार्फत रुपान्तरणको आन्दोलनमा होमिए ।
हातको कसिलो मुठि भएका तर साथमा केही नभएकाहरु सांस्कृतिक औजार बोकेर तेजिलो, पेचिलो आवाज र सांगितिक चेतनाको विम्व लिएर प्रगतिशील सांस्कृतिक आन्दोलनको मैदानमा होमिए ।
सहरका चोक डवली मात्र होइन,
गाउँका कुना कन्दरा र दुर दराजहरुका भोका नांगा तथा आवाज विहिनहरुको आवाज बन्दै परिवर्तनको चाहनालाई गीत संगित मार्फत मुखरित गरिरहे । आन्दोलनको याम थियो ।
व्यवस्था परिवर्तनका लागि नागरिकहरु संगठित हुन खोजिरहेका थिए । दलहरु प्रतिवन्धित थिए ।सहजथिएन गीत गाउन ।
राज्यसत्ताको बन्दुकको नाल मुन्तिर बसेर उनीहरुकै विरुद्ध आवाज निकाल्नु र सचेतनाको कसिलो मुठी कस्नु कहाँ सम्भव थियो र !
यस्तैमा उनीहरुले गाए,
चरण विग्रियो घँगारु काँडाले
गाउँ विग्रियो गाउँमारा साँडाले
झापा विद्रोहको सामुद्रिक ज्वारभाटासँगै पूर्व बलेको थियो।
आगोको राफसरी तातेको पूर्वको कम्यूनिष्ट समुहले नेपालको कम्यूनिष्ट आन्देलनमै तरंग ल्याएको थियो ।विद्रोहको आगोमा बर्तन थप्न उनी पनि काठमाडौँबाट धरानहुँदै ताप्लेजुङ हानिए र झापा विद्रोहलाई मलजल गरे सांस्कृतिक अभियान मार्फत नै ।
सामन्तलाई नगिँडे सैनिकसँग नभिडे
आउँदैन है जनवाद छाती ठोकेर
शोषक सामन्त र वुर्जुवाहरुको विरुद्ध नागरिकहरुलाई संगठित गर्दै उनले यसरी नै आफूलाई आन्दोलनमा समाहित गरी रहे । मनमा सपना थियो ।
अहिले राज्यसत्तामा पुगेका थुप्रै अनुहारहरु हिजो उनीहरुसँगै समाजिक आन्दोलनमा चप्पल फटाएकाहरु छन् ।त्यतीवेलाको आन्दोलनमा सांस्कृतिक प्रस्तुतिको विशेष महत्व हुन्थ्यो । उनलाईसम्झना छ ।२०४६ सालकोपरिवर्तनको आन्दोलनमा जनसहभागिता नजुटेर आन्दोलन कमजोर बनेको बेला तिनै प्रगतिशील कलाकारहरुले आन्दोलनमा उभार ल्याइदिएका थिए । परिणामतः आन्दोलन सफल भयो ।
मुलुकमा परिवर्तनको छिटाहरु देखा पर्न थाले ।
हिजोका आन्दोलनका सारथीहरु मात्र होइनन् सहयात्रीहरु नै शासनसत्ताको बागडोर सम्हाल्न पुगे ।विडम्वना तिनै कलाकार जसले आन्दोलनमा उर्जा खर्चिएर जनलहर ल्याएका थिए ।परिवर्तनको पंक्तिमा लामबद्ध हुन प्रेरणा जगाएका थिए ।उनीहरु नै राज्यको वेवास्ताको शिकार भए ।आन्दोलन पछाडि बनेको सरकारले उनीहरुको गीत संगीतको मर्म विर्सियो ।
आज नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलन बुर्जुवाहरुको थिचोमिचोमा मात्र होइन पश्चिमाहरुको अतिक्रमणमा नै परिसकेको छ ।
तर हिजो आन्दोलनको समयमा मञ्चमा गीत गाउन प्रयोग गरिएका र सांस्कृतिक चेतनाका लागि गाउँ गाउँ रवस्ती वस्ती हिँडाइएका कलाकारहरु आज दयनीय जीवन बाँचिरहेका छन् । भोक र शोक सँग लडिरहेका छन् । राज्यबाट पाउनुपर्ने सामान्य सुविधा पनि उनीहरुले पाउन सकेका छैनन् ।
राज्यले सम्मान गर्न त सकेन तर प्रतिशील गीत संगित प्रति अपमान नगरिदिए हुन्थ्यो भन्ने उनको एकमात्र आग्रह छ । ग्ल्यामरस र भल्गर हुनथालेको आजको कला र संस्कृतिले उनलाई दुःखीत बनाएको छ । गीत संगित भनेको विशुद्धमनोरञ्जनका लागि मात्र होइन यसमा चेतना सन्निहित हुनपर्छ र रुपान्तरणको आवाज समेत बोल्नु पर्छ भन्ने उनको मान्यतामा आज धमिरा लागेको छ र सांस्कृतिक रुपान्तरणको आन्दोलन कुहिरो काग बनेको छ ।
कुनैपनि सञ्चारका माध्यमहरुले प्रगतिशील गीत संगितलाई नसमेटिदिएको देख्दा उनी दुःखीत हुन्छन् ।जतिसुकै परिवर्तनको आन्दोलनको अगुवाई गरेता पनि,सामाजिक परिवर्तनको विगुल फुकेता पनि, आवाजका माध्यमबाट गाउँ वस्तीका कुना देखि सहरकाचोक सम्मका मानिसहरुलाई रुपान्तरणको पक्षमा लामबद्धबनाएता पनि साँचो अर्थमा मुलुक विकासको गतिमा अगाडि बढ्न नसकेको उनको ठम्याई छ ।
त्यसैले उनी अझै परिवर्तनको आन्दोलनको औचित्य नसकिएको र सांस्कृतिक सचेतनाका लागि त्यतिकै क्रियाशिल हुनुपर्ने बताउँछन् ।
साथै प्रगतिशील कलाकारहरु कुनै पार्टी र दल विशेषको मात्र नहुने हुँदा राज्यले उनीहरुको उचितव्यवस्थापन गर्नु पर्ने उनको तर्क छ ।
प्रगतिशील कलाकारहरु फुटेर होइन जुटेर मात्रै राज्यको सामाजिक सांस्कृतिक रुपान्तरण हुन सक्ने मान्यता बोक्ने प्रधान सांस्कृतिक सचेतनाका लागि धेरै गर्न बाँकी रहेको बताउँछन् ।
http://nepalpati.com बाट साभार साभार
No comments:
Post a Comment