Monday, June 12, 2017

सम्मानको फूलमाला ! - रामेश


मनसुनी बादल आकाशभरि डम्म छ । खुसी पनि लाग्छ, किनकि यसले खेतीपाती फलाएर देश पाल्छ । अनि डर पनि लाग्छ, कतै पहिरो लडाएर, गाउँबस्ती, घर-कटेराका ज्यानहरू ढुङ्गा-माटोले पुरेर बेपत्ता पार्दै प्रलय मच्चाउने त होइन ? कतै खोला-खहरेहरू नदीभित्र हुल्दै डरलाग्दो बाढी उठाएर तराई मधेस डुबाउने त होइन ? लाग्छ, प्रकृति पनि यिनै गरिब दुःखी जीवनहरूमाथि खोइरो-खेदो खन्न वर्षैपिच्छे आपत्-विपद् लिएर आउँछ ।

नेपाल देश पनि अहिले यस्तै अवस्थामा छ । 'विद्रोह, संघर्ष, आन्दोलन, क्रान्तिमा भाग नलिउँ पुस्तौं-पुस्तादेखिको दुःख-सास्ती, अन्याय, अत्याचारको पिसाइ, अकालको मरन, ज्ञानविनाको मूर्खता, बिना कामको बसाइ, यस्तै-यस्तै मारसास्तीमा पिल्सिँदै जिउँदो मुर्दाको जीवन कति धान्नु ! जीवन बदलुँ न त भनेर विद्रोह, संघर्ष, आन्दोलन, क्रान्तिमा भाग लियो, जीउज्यान दियो, परिवर्तन पनि ल्यायो, फेरि पनि नेपालीहरूको दुःख-सास्ती उस्तै ! जीवनहरूको विजोग र दुर्गति उस्तै !

सुखद परिवर्तन त हुँदै भएन देशमा । भुक्तभोगीहरू प्ञ्चायती व्यवस्थाभन्दा पनि देश झन् तल झर्‍यो भन्छन् । यसको मतलब राजाले जनताको आवश्यकता न्यायोचित ढङ्गबाट पुरा गर्न सक्छन् भन्ने होइन । तर कैयौं जनआन्दोलन पचाएका, जनयुद्ध भोगेका र हजारौं ढङ्गले यसलाई सघाएका जनसमुदाय भन्छन्— अब जनताको म्ाालिक्याइँबाट देश चलेमात्र नेपालभूमि स्वर्ग हुन्छ, नेपालीको जीवन सम्मानित, समृद्ध र सम्पन्न बन्न सक्छ, नत्र कुन्नि ! 

दुःख-सास्तीभित्र बाँचेका, दुःखी, असहाय जीवनतिर खै कसको मन पुग्ला र ! कसको ध्यान तानिएला र ! नाम चलेका, धनसम्पत्तिले चुलिएकाहरूतिर सबैको मन-ध्यान तानिन्छ । यो स्वाभाविकै होला । अनि नाम चलेकाहरू अझेै नामी हुन अनि धनकुवेरहरू अझै धनले चुलिन प्रयत्न गर्लान् । यो पनि स्वाभाविकै होला । तर धन भएकाहरू यो बुझ्छन्, हाम्रा हर आवश्वकता पुरा गरिदिने यिनै साधारण झुत्रेझाम्रेहरू हुन् । अनि नाम चलेका मान्छेहरूले पनि यो बुझ्छन्, हामीलाई प्रसिद्ध बनाउने पनि यिनै साधारण बराविचरा प्राणीहरू हुन् । धनी घराना र समाजका केही न्यायप्रेमीहरूले मसंँग धेरैपटक बेला-बेला कुरा गरेका छन्, 'रामेश, यिनीहरू जो साधारण देखिन्छन्, आआफ्नो काममा व्यस्त भएर कुदिरहेका देखिन्छन् नि, यिनैबाट हाम्रो ढुकुटी भरिएको छ । हामी धनीमानी भएका छौं...।' अनि केही ख्यातिप्राप्त सत्यवादी साहित्यिक हस्तीहरूले पनि मसंँग भित्री मनले बेला-बेला बोलेका छन्, 'रामेश, यिनीहरूले नपढिदिए, नसुन्दिए हाम्रा महान र सुन्दर कृतिहरूको के गति हुन्थ्यो होला ! यिनैका प्रशंसा, चर्चा र मानसम्मानले हामी आफूलाई यिनीहरूभन्दा भिन्नै, विशेष र विशिष्ट सम्झन्छौं हगी । तर हामीले आफूलाई यस्तो सम्झनु कत्तिको उचित होला ? हेर त आफू दुःख पाएर पनि यिनले हामीलाई सुख दिएका छन् । आफू बेनामी भए पनि हामीलाई नामी बनाइदिएका छन् । आफू हिलो फोहोरमा डुबेर पनि हामीलाई सफासुग्घरी, सभ्य बनाइदिएका छन् । साँच्चै भन्ने हो भने हामीले सम्मानका दोसल्ला, प्रशंसाका प|mेमहरू जो पाउँछौं, के त्यो तिनीहरूलाई दिन हामी तयार हुनसक्छौं ?
आज सहरहरूमा, राजधानीमा मानसम्मान, पुरस्कारहरूको चर्चा छ । तिनमा आफ्नो हकदाबी गर्नेहरूको हानाथाप छ । कहिलेकाहीं त अदालतमा रिट हालुँलाझैं गर्छन् । यसले मलाई गम्भीर बनाउँछ । मसँंग पनि आउँछन् शुभेच्छुकहरू । भन्छन्, 'दाइलाई सम्मान गर्ने हाम्रो रहर र धोको छ ।' उहाँहरूको कुरा सुन्नेबित्तिकै मेरो मन त्यहाँ पुग्छ, जो मभन्दा धेरै योग्यहरू छन् । नाम र दामको आशा मनमा कत्ति पनि नराखी, एकाग्र भएर सुखी मनले आफ्नो रचनामा लीन भएर काम गर्छन् । म भन्छु, भाइ, तपाईंका गाउँ, बजार, सहर र राजधानीमै पनि त्यस्ता मान्छेहरू चिन्नुहुन्छ, जो यस्ता मानसम्मान पाउन योग्य छन् ?

'खै होला नि, हामी चिन्दैनौं, उनीहरू पनि चिनाउन आउँदैनन् ।'
उहाँहरूलाई चिन्न आवश्यक छ कि छैन होला ? म विनम्र भएर बोल्छु ।
'हुन त होला....'

भाइहरू, उनीहरूलाई चिन्न र खोज्न अब हामी निस्कन पर्छ । ढिला भइसक्यो । त्यस्ता सर्जक, त्यस्ता हस्तीहरू जो आफ्नो कामकर्तव्यमा इमानदार छन्, आफ्नो लक्ष्य-उद्देश्यमा एकाग्र छन्, दृढ छन्, त्यस्ता हरक्षेत्रका सुयोग्य व्यक्तित्वहरूको सम्मानपूर्वक आआफ्नो विषयको जिम्मेवारी दिन । त्यस्ता व्यक्तिहरूको सम्मान पुरै राष्ट्रको मान हो ।

अहिले फेरि एउटा पर्चा निस्केको छ, जहाँ मेरो नाम पनि सम्मान-सूचीको फेहरिस्तमा राखिएको छ । त्यहाँ त्यस्ता व्यक्तिहरूको पनि नाम छ, जो वक्तव्यमात्र निकालेर आफैं भूमिगत हुँदै रहस्यमयी नेता बनेका छन् । अनि ती जो, जसले जनआन्दोलन, जनयुद्ध हाँकेर सत्तासुख चाखेका छन् । अनि ती पनि जो कुर्सी नपाएर कुण्ठित र क्रुद्ध पनि छन् । हो, उहाँहरूकै रोहबरमा यो भव्य कार्यक्रम सम्पन्न हुँदैछ । उहाँहरूले मलाई, मेरो साथी रायन र जनताका कलाकारहरूसँंगै नाम चलेका कवि र अरु थुपै्र व्यक्तित्वहरूलाई सम्मानको खादा, इज्जतको दोसल्ला र प्रशंसाको प|mेम प्रदान गरेर मानमा अरु मान, सम्मानमा अरु सम्मान थप्दै हुनुहुन्छ । उचाइबाट अझ उचाइतिर लैजाँदै हुनुहुन्छ ।
यो सम्मान पर्चा पढेपछि मेरो मनमा अनेक-अनेक दृश्यहरू घुम्न थालेका छन् । जनयुद्धमा नाक गुमाएका वाद्यवादक, बम र माइनको विषालु धुवाँभित्र परेर आँखा फुस्रै अनि कानको सुन्ने शक्ति गुमाएका संगीतकार, एउटा खुट्टा बमले चुँडाउँदा पनि लङ्गडाउँदै मञ्चमा उक्लेर गीत गाउने योद्धागायक- हो, उनीहरूसँगै जनयुद्ध र जनआन्दोलन सफल भएको खुसियालीमा एउटै मञ्चमा सफलता र खुसीको गीत गाउन म पनि पुगेको थिएँ ।
अरु दृश्यहरू पनि देखापर्न थाल्छन्— चेक खोसिएका जनमुक्ति सेनाका जवानहरू जो मरुभूमिको तातोमा उँटहरू चराउँदै जनयुद्धका दृश्यहरू सम्भिmरहेछन् । अनि सुदूर पश्चिमका ती महिलाहरू घाँसको भारी बोकेर उँधोमुन्टो पर्दै कहाली लाग्ने नदीहरू तुइनमा तरिरहेछन् । बालकहरू जो कम्मरभरि चिन्डो बाँधेर कापी-किताब प्लास्टिकभित्र मोरेर बाढी पसेको खोला तर्दै स्कुल गइरहेछन् ।

आज राजधानीवासीको रूपमा आफू र आफूजस्तै लाखौं-लाखको भोगाइहरू सम्झन्छु—नर्कमा भासिएको छ, जीवन । नेताहरू जताततै अपमानित भएका छन् । नेताको अर्को नाम बेइमान र राजनीतिको अर्को नाम बेइमानी भएको छ । सम्पूर्ण देश र देशवासीको सेवा गर्ने सर्वोच्च स्रोत र शक्ति पो हो त राजनीति भनेको । इमान, आदर्श, सुसंस्कृति, सुसंस्कारको नाम पो हो त राजनीति । उन्नति, प्रगति, अदम्य उत्साह र हौसलाको नाम पो हो त राजनीति । एकआपसको प्रेम, विश्वास, सहकार्य र सम्पूर्ण सुखद सामूहिक उपलव्धिको नाम पो हो त राजनीति । कसले बिगार्‍यो, यसको आकृति, त्यो सुन्दर स्वरूप ? कसले दुर्नामी पार्‍यो, राजनीतिलाई ? कसले भत्कायो, हामी बस्ने यो सुन्दर महान घर ? यस्ता अनेक प्रश्न उठिरहेछन्, आजका सचेत नेपालीका मनमस्तिष्कमा ।

आज पुरै राष्ट्र कराइरहेछ, 'यो पाला पनि फेरि देश हार्‍यो । नेपाल र नेपालीहरू हारे । युग पछाडि धकेलियो । जनआन्दोलनहरू र जनयुद्ध हार्‍यो । ए नयाँ युवक हो, किन बोल्दैनौ, किन उठ्दैनौ ? ए हरेक पार्टीका र स्वतन्त्र रहेका होनहार नेपाल र नेपालीप्रेमीहरू, एकतामा बाँधिएर किन समवेत् स्वर उरालेर नयाँ चरणमा, नयाँ ढंगबाट देश उठाउन निस्किँदैनौ ?'

अरबभरि नेपाली युवाहरू अरब बनाउन पुगेका छन् । उनीहरू मलेसिया, कोरिया र अरु देश सिंगार्न पनि पुगेका छन् । दिनको पाँच-छवटा लास भएर उनीहरू बट्टाभित्र फर्की पनि रहेका छन् । अरुको देशको सीमारक्षा गर्न नेपालीहरू खटिएका छन्, तर आफ्नै देशको सीमारक्षा गर्न किन सकिरहेका छैनन् ? कसले रोकिरहेछ, नेपालीहरूलाई आफ्नो नेपाली सीमाको रक्षा गर्न ? साँच्चै देश अपमान भोग्दैछ । हामी करोड स्वाभिमानी नेपालीहरू अपमानित छौं । यस्तो अपमानको पीडा खपेर म कसरी सम्मान थाप्न जाउँ ?

Source: http://www.ekantipur.com
प्रकाशित मिति: २०७० श्रावण ५ ०८:२६

No comments:

Post a Comment