Monday, June 12, 2017

प्रगतिशील विकल्प जरुरी छ - राम कार्की


पुँजीवादको मानवीय, मानवमैत्री र सिंगो प्राणीमैत्री विकल्प भनेको माक्र्सवाद मात्रै हो ।यसैले माक्र्सवादको अतीत छ, वर्तमान छ अनि भविष्य पनि छ ।
भ्रष्टाचारमुक्त, शोषण नभएको, काम गर्नेले श्रम र सिर्जनाको आनन्दमा रमाउन पाउने अर्थ व्यवस्था सम्भव छ । जहाँ अर्थतन्त्रले भेदभाव बढाउँदैन, जहाँ श्रमिकले व्यक्तिका रूपमा, मानवका रूपमा श्रम गर्दाको अनुभूति गर्न पाउँँछ र जहाँ भ्रष्ट आचरणलाई निरुत्साहित गरिन्छ, दुरुत्साहित गरिन्छ । यस्तो अर्थव्यवस्था सम्भव छ । सबै मानिसलाई समान देख्ने, यो जगत्मा भएका प्राणीहरूको अस्तित्वलाई स्वीकार गर्ने र संसार सबै जीवजन्तु–प्राणीको साझा घर हो भन्ने विचार समाजमा स्थापित हुन सम्भव छ । तर, त्यस्तो विचार, संस्कृति, समाज, अर्थतन्त्र तयार गर्न चाहिने मुख्य कुरा क्रान्तिकारी राजनीति हो । यस्तो क्रान्तिकारी राजनीतिलाई क्रान्तिकारी सिद्धान्त र दर्शनले जन्म दिन र अगाडि बढाउन सक्छ । त्यही दर्शन र सिद्धान्तलाई हामी माक्र्सवाद भन्छौँ । जबसम्म पुँजीवाद छ, समाजवादको औचित्य सकिँदैन । किनभने पुँजीवादको मानवीय, मानवमैत्री र सिंगो प्राणीमैत्री विकल्प भनेको माक्र्सवाद मात्रै हो । यसैले माक्र्सवादको अतीत छ, वर्तमान छ अनि भविष्य पनि छ । अतीतसँगै थुप्रै असफलताका कथा छन् । तर, ती असफलताका कथासँग वर्तमानले सिक्नुपर्ने प्रचुर सामग्री छन्, जसले हामीलाई भविष्यमा ती भुलबाट बचाउन सक्छ ।
नेपालमा विकास, प्रगति, यहाँको शिक्षा, स्वास्थ्य, कृषिमा सुधार ल्याउने कुरा, रोजगारी सिर्जना गर्ने कुराको मुख्य कडी राजनीति हो । यहाँ उत्साहित भएर केही नेताले नेपालमा राजनीतिक क्रान्ति पूरा भयो, अब आर्थिक विकास गर्ने कुरा त गर्नुभयो, तर त्यो सही थिएन । राजनीतिको लगाम नलागेको अर्थतन्त्रको घोडाले कहीँ पनि पुर्‍याउँदैन । राजनीति र अर्थतन्त्र स्वाभाविक रूपमा अन्तरसम्बन्धित छन्, उनीहरू सँगै जानुपर्छ । सँगै जाने कुरा गर्दा राजनीति खुकुरीको धारतिरको भाग हो भने अर्थतन्त्र पछिल्लो भाग । पहिला धारले हानेपछि पछिल्लो भाग सँगै जान्छ । नेपालमा उत्पीडित वर्ग राजनीतिक नेतृत्व लिने ठाउँमा पुगेको छैन । केही दिन आफू प्रधानमन्त्री भएको, निजामती र ​प्रहरी प्रमुखहरू वरपर उभिएको, सेनाका अधिकारीले सलाम गरेको देखेर उत्पीडित वर्गको सत्ता आएछ भन्ने भ्रममा रहनु सपनामा घोडा चढेजस्तो हो । अहिले पनि ती उत्पीडित वर्गको पक्षमा नीतिहरू निर्माण हुन सक्ने परिस्थिति कायम हुन सकेको छैन । हेजेमोनी कायम हुन सक्ने राजनीतिक हैसियतमा उत्पीडित वर्ग पुगेको छैन । राजनीतिक क्रान्ति पूरा भइसक्यो भन्ने भ्रमबाट मुक्त हुनैपर्छ ।
लेनिनले विकास गरेको जनवादी केन्द्रीयतासम्बन्धी जुन संगठनात्मक सिद्धान्त छ, त्यो सिद्धान्त इतिहासको सन्दर्भ बुझ्नका लागि त काम त लाग्छ । तर, नेपालमा कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयतासम्बन्धी संगठनात्मक सिद्धान्त अपनाउँछौँ भनिरहनु जरुरी छैन । त्यो संगठनात्मक सिद्धान्त यहाँ जसरी लागू गर्न खोजिएको छ, त्यो पूर्णत: गलत छ । जनवाद र केन्द्रीयताको सन्तुुलन भएको देखिएको छैन । जनवाद त छँदै छैन, आज पनि छैन । अराजकता देख्छौँ, सिद्धान्त लागू भएको छैन । संविधानसभामार्फत संविधान बनाउने राजनीतिक कार्यदिशा हो भन्न थालेको धेरै भयो यहाँ । तर, कस्तो संविधान बनाउने भन्ने विषयमा कुनै कमिटीमा छलफल गराएको मलाई याद छैन । जब लाइन यही भएपछि जिल्ला, गाउँ, एरियामा कस्तो संविधान बनाउने, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीका बारेमा के कुरा राख्ने, केन्द्र र प्रदेशको अधिकारको बाँडफाँड कसरी गर्ने, स्थानीय तहलाई कसरी शक्तिशाली बनाउने, उत्पीडित समुदायलाई कसरी अधिकार सम्पन्न बनाउने भन्ने विषयमा कुनै पनि पार्टीले कुनै पनि कमिटीमा वा जनताको बीचमा छलफल गराएका छैनन् । बिबिसीको साझा सवालमा गराइने कोटीको छलफलसमेत प्रजातन्त्रवादी भनिने पार्टीहरूले गराउन नचाहनुले पार्टीहरूको स्थिति स्पष्ट हुन्छ । ओभरस्मार्ट केही नेताहरू यताउता दौडिन्छन्, भेट्छन्, कुरा गर्छन् । तर, मूल विषयमा कुरा गर्न चाहँदैनन् । पूर्णत: प्रजातान्त्रिक अभ्यास भएको छैन । त्यसैले अबको संगठन जनवादमा आधारित संगठन बनाउनुपर्छ । सामूहिक र जनवादी संगठन चाहिन्छ । जनताको नाममा कम्युनिस्ट पार्टीले, कम्युनिस्ट पार्टीको नाममा माथिको कमिटी र माथिल्लो कमिटीका नामका केही नेताका लागि मात्र भयो जनवाद । राजनीतिक स्वतन्त्रताको अभावमा समाजवाद निसास्सिएर मर्छ । यहाँ पनि निसास्सिएको छ । बचाउन नयाँ संगठनात्मक नीति चाहियो, यो सम्भव हुन्छ ।
राजनीतिक–वैचारिक पक्षसँग जोडिन्छ अर्थतन्त्र । अर्थतन्त्रको कुरामा विदेशी लगानी भित्र्याउने, ठुल्ठूला विद्युत् परियोजना बनाउने, बिजुली बेचेर नेपाल धनी हुने भन्ने खालको भ्रमपूर्ण प्रचारबाजीमा लाग्नुहुँदैन । नेपालको आफ्नै विकासको विशिष्ट रोडम्याप हुनुपर्‍यो । केवल वृद्धि विकास होइन, विकासको साइनो मानिससँग हुनुपर्‍यो, यहाँका बासिन्दासँग हुनुपर्‍यो । हामी भारत र चीनलाई जोडेर विकास गर्ने, पुल बन्ने कुरा गर्छौँ । यस्तो विकासको मोडल अपनाउन सक्दैनौँ । किनभने नेपालको आकार जनसंख्या तथा आर्थिक राजनीतिक अवस्थाले त्यो बाटोको स्वीकृति दिँदैन । यहाँको पर्यावरणमाथि विचार गर्दा विकासको त्यो बाटो आत्मघाती हुनेछ, हाम्रो हिमाल अति संवेदनशील छ । हिमालमा बाधा पुगे महाभारतमा पानी रहँदैन, महाभारतमा पानी नरहे चुरे बग्छ, चुरे बग्यो भने मधेस रहँदैन । यसरी आन्तरिक रूपमा साङ्लो जस्तै बाँधिएको छ ।
हाम्रो विकासको मोडल भनेको जनतासँग जोडिएको चाहिन्छ । हिमालमा चौँरीगोठ छन्, भेँडागोठ छन् । कठिन भए पनि त्यहाँका जनताले आफ्नो जीवन संस्कृति निर्माण गरेका छन् । त्यो जीवन संस्कृति नष्ट गर्नेतिर जानु हुँदैन, त्यसलाई कसरी सघाउन सकिन्छ भन्नेतिर विकल्प दिने हो । त्यहाँको दुग्ध उत्पादन विदेशी बजारमा पठाउने व्यवस्था गर्ने, उनीहरूका छोराछोरीलाई जीवन संस्कृति अगाडि बढाउने प्राविधिक शिक्षा दिने कलेजहरू खोल्ने, जीवन सजिलो बनाइदिनुपर्‍यो र हिमालको संस्कृति जोगाउनुपर्‍यो । त्यसलाई कम कष्ठकर बनाउँदै जाने हो । पहाडी ठाउँमा फापर, गहुँ रोप्न छाडियो, जमिन बन्जर राख्न त भएन । चुरे संरक्षण नारा र प्रचारबाजीभन्दा स्थानीय समुदायलाई विश्वासमा लिएर जोगाउनुपर्‍यो । तराईमा धेरै उत्पादन कसरी गर्ने भन्नेमा जोड दिनुपर्‍यो । यसरी जनतासँग जोडिएको विकास र त्यो विकाससँग जोडिएको राजनीति आजको आवश्यकता हो ।
त्यो माक्र्सवादले मात्र दिन सक्छ । हामीले माक्र्सवादी विचारद्वारा निर्देशित अर्थतन्त्रलाई अगाडि बढाउन सक्छौँ । नेपाल हेरेर नेपाल सुहाउँदो कुरा गर्ने हो । जस्तो शिक्षामा हामीले ५०–६० वर्ष नेपालको शिक्षा नीति गलत छ भनेर राजनीति गर्‍यौँ, जब हाम्रै मान्छे मन्त्री भए हाम्रो दिमाग खाली छ भन्ने देखियो । हामीसँग शिक्षाको न कुनै वैकल्पिक मोडल छ, न जीवन उपयोगी शिक्षा दिने अभियान छ, न त्यो चाहना छ । हाम्रा मान्छे मन्त्री भए, पञ्च र कांग्रेस मन्त्रीभन्दा फरक देखिएनन् । एउटा क्रान्तिकारी मन्त्रीले त्यहाँ पुग्ने कुरालाई अवसर प्राप्त भएको रूपमा लिनुहुन्न । उसले फरक ढंगले काम गर्ने र सोच्ने प्रमाणित गर्ने हो । उसले राम्रो काम गर्दा प्रचलित प्रणालीसँग ठोक्किएको हुनुपर्छ । त्यसले क्रान्तिको औचित्य साबित हुन्छ । हाम्रा मन्त्री कहीँ ठोकिएको देखिएन, सीधा–सीधा काम गरे ।
हाम्रो अर्थ, कृषि, शिक्षा नीतिमा समाजवादी विकल्प प्रस्तुत गर्नुपर्छ । त्यसका लागि सबैभन्दा ठूलो आधार हामी स्वच्छ हुनुपर्छ । हामीले ढोंग गर्ने होइन । मुलाको साग खाएर बाँच्छु भन्ने होइन । देशको जीवनमा परिवर्तन ल्याउन नसक्ने ‘स्टन्ट’ गर्न हुँदैन । ‘स्टन्ट’ गर्नेकै जमाना छ, उसैको प्रचार हुन्छ । ठीकठाक काम गर्नेलाई ठाउँ दिइँदैन । तर, हामीले ‘स्टन्ट’विरोधी संस्कृति अपनाउनुपर्छ । नैतिकता र सदाचारको पक्षमा बोल्नुपर्छ, सफा व्यवहार देखाउनुपर्छ । यही जमानामा पनि फिडेल क्यास्ट्रो अझै बाँचेका छन् । उनले अद्भूत कुरा गरेका होइनन्, पारदर्शी जीवनशैलीले गर्दा सानो क्युबामा बसेर अमेरिकी साम्राज्यवादको प्रतिरोध गरिरहे । ह्युगो चाबेजले आफ्नी श्रीमतीमा अलिकति सत्ताको दुरुपयोग गर्ने खालको लक्षण देखापरेपछि श्रीमती त्यागिदिए । उरुग्वेका पूर्वराष्ट्रपति पेपेको सादगीले सबैलाई कायल पारेको छ । यो भनेको अहिले पनि समाजवादी आन्दोलनमा आदर्शको अनिकाल छैन भन्ने हो । मुख्य कुरा सही मान्छेलाई सही ठाउँमा ल्याएर उभ्याउने, सही आदर्शलाई
पछ्याउने कुरा हो ।

कार्की एमाओवादी नेता तथा सभासद् हुन्

No comments: