Sunday, January 3, 2010

२०६६ साल पुष १८ गते केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत सांस्कृतिक प्रतिवेदन

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत सांस्कृतिक प्रतिवेदन

प्रमुख अतिथिज्यु
संगठनका सम्पूर्ण कार्यालय, सचिवालय र के.स.का साथीहरू

लामो समयपछि बस्न लागेको बैठकमा हार्दिक स्वागत गर्दछु ।

सर्वप्रथम न्यायपूर्ण समनताको संसार र नयाँ जनवादी संस्कृति स्थापनार्थ सांस्कृतिक मोर्चाबाट जीवन बलिदान गर्ने कृष्णसेन इच्छुक, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरु¨, शारदा श्रेष्ठ, रोहित कोइराला, हर्षबहादुर मल्ल, पुष्पराज चौधरी, एकबहादुर वि.क., शिव श्रेष्ठ, डी.वी. थापा, डीवी लामालगायतका अनेकोट, भावाङ , डुंगाला , जुफाल, विनायक, आदि घटनाक्रममा सहादत प्राप्त गर्नुहुने १६० भन्दा बढी अमर सांस्कृतिक सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान अर्पण गर्दछु ।

कमरेडहरू
०६३ भाद्र ५ गते सम्पन्न हाम्रो गौरवशाली संगठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनदेखि यहाँसम्म आउँदा सांस्कृतिक आन्दोलनले धेरै लामो बाटो पार गरिसकेको र धेरै घुम्ती, मोड, आरोह–अवरोह, प्राप्ति–कमजोरीबाट गुज्रिएको सबैलाई अवगत नै छ । आज लामो समयपछि संगठनको पूर्ण बैठक बस्दैछ । यस अवधिमा हामीले गरेकका काम र गतिविधिले पारेका प्रभाव र सीमाहरूका बारेमा समीक्षा, मूल्याकंन गर्ने, कमजोरीबाट पाठ सिक्ने र नयाँ कार्यदिशाका बारेमा छलफल र निष्कर्षमा पुग्दै आगामी आन्दोलनका कार्यभार तय गर्ने कुरामा यो बैठक केन्द्रित हुने विश्वास मैले लिएको छु ।
शान्ति प्रक्रियाका यी साढेतीन बर्षमा राजनीतिमा अनेक उतरचढाव आएका छन् । वर्तमानसम्म आइपुग्दा राष्ट्रिय स्वाधीनतामाथि कालोवादल, स्वाभिमानमाथि हस्तक्षेप, स्वतन्त्रतामाथि उत्पीडन, जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि कुठाराघात, यथास्थितिर्फ पलायन, दलाली गद्दारी र दासताको प्रदर्शन, राष्ट्रिय आत्मसमर्पणवादी कठपुतली सत्ता निर्माण, नागरिक सर्वोच्चताको अपहरण र सैनिक सत्ताको प्रभाव, शान्ति प्रक्रियामाथि षड्यन्त्र, नयाँ जनसम्बिधान बन्न नदिने र संविधानसभा विघटन गर्ने कुटिल चाल, प्रतिगामी दलाल, यथास्थितिवादी, राष्ट्रिय आत्मसमर्पणवादी गद्दार, कठपुतली र राष्ट्रघातीबीचको संयुक्त यान्त्रिक गठबन्धन र अग्रगामी शक्तिलाई एक्ल्याउने, घेराउ गर्ने, समाप्त पार्ने कुटिल योजनाका विविध जालझेल, षड्यन्त्र र भित्री ‘नेटवर्क’का बीच यतिखेर राष्ट्रिय राजनीतिको दाउपेंच चलिरहेको छ । स्वाभिमानी, देशभक्त, गणतन्त्रवादी, प्रगतिशील, अग्रगामी, क्रान्तिकारी शक्तिको एकातिर र यसको विपरीत धाराका शक्तिहरूको अर्कोतिर बढिरहेको धुव्रीकरणले स्थितिलाई वारपारको मुठभेडमा पु¥याउने सम्भावना पनि बढेको छ । विद्रोही क्रान्तिकारीहरूलाई कुनामा पारेर च्याँप्ने गुरुयोजना विदेशी मालिकहरूका निर्देशनमा देशीय प्रतिक्रियावादी शक्तिले बुनिरहेकामा कुनै शंका छैन । देशलाई फेरि गृहयुद्धतिर धकेल्ने घोर दक्षिणपन्थी प्रतिक्रान्तिकारीहरूको सपना पूरा गराउनमा विस्तारवादी साम्राज्यवादी शक्तिकेन्द्रले पनि धाप दिइरहेको र देशभित्र प्रत्यक्ष हस्तक्षेप गरिरहेको पनि स्पष्ट छ । यसस्थितिमा हामीले लिने बाटो र दिशा स्पष्ट हुनु र त्यसको प्रतिरोध बढाउनु पर्ने आवश्यकता टड्कारो छ । जसको लागि पार्टीले लिएको विद्रोहको तयारीको प्रक्रियामा अघि बढ्नु पर्ने ऐतिहासिक दायित्व हाम्रो पनि काँधमा आएको छ । अबको इतिहास जनताको आमविद्रोहको बाटोबाट अघि बढ्ने र अर्धऔपेनिवेशिक र अर्धसामन्ती समाजको समूल अन्त्य गरी त्यसको ठाउँमा राष्ट्रिय, स्वाधीन, जनवादी, मौलिक र बैज्ञानिक नयाँ संस्कृतिले समृद्ध समाज स्थापना गरेर निर्माण हुनेछ भन्ने कुरामा द्धिविधा छैन । वस्तुतः सामन्तवादको सांस्कृतिक सत्ता अझैँ जीवित छ र त्यसलाई विस्तारवादी शक्तिले पौन फुकिरहेको छ । हामीले यसका विरुद्ध विद्रोहको नयाँ ध्वजा उठाएर मात्रै ठीकसँग प्रतिरोधको अभिभारा पूरा गर्न सक्छौ भन्ने कुरा अहिलेको राष्ट्रिय परिस्थितिले देखाएको छ ।
साम्राज्यवादी र विस्तारवादी शक्तिका बीच यतिखेर नेपालको राजनीतिक स्थितिका सन्दर्भमा आन्तरिक सामाञ्जस्य भइरहेको देखिन्छ । यद्यपि साम्राज्यवादीहरूबीच आन्तरिक अन्तरविरोध कायम छ र त्यो झन् चर्किदै छ । आफ्नो स्वार्थको निम्ति उत्पीडित राष्ट्रहरूमाथि प्रभुत्व लाद्ने र त्यहाँका प्राकृतिक सम्पदा, साधन–स्रोत हडप्ने एवम् आर्थिक, सैनिक, सांस्कृतिक नियन्त्रण कायम गर्ने कुरामा देखिएको साम्राज्यवादी शक्तिहरूको होडवाजीले नेपाललाई पनि प्रभावित पारेको छ । फेरि पनि आर्थिक मन्दीको प्रभावबाट रन्थनिएर बौरिदै गरेको साम्राज्यवाद नेपालमा क्रान्तिकारी शक्तिलाई हावी हुन नदिन र मुलुकमा कठपुतली, गद्दार र आत्मसमर्पणवादीहरूकै सरकार कायम राख्न गठजोड गरिरहेको छ । उनीहरू शान्ति प्रक्रियामै हस्तक्षेप गर्दै संविधानसभा विघटन गराई राष्ट्रपतिलाई शिखण्डीका रुपमा अगाडि उभ्याएर सैनिक हस्तक्षेप चलाउने र माओवादीलाई दमन गर्ने र सके समाप्त पार्ने नसके साइजमा ल्याउने र आफ्नो नियन्त्रणमा राख्ने प्रक्रियाको तानाबाना बुनिरहेका छन् । ओवामा प्रशासन पनि उसको अन्र्तराष्ट्रिय आर्थिक, राजनीतिक र सैनिक असफल नीतिलाई खासै कुनै तात्विक परिवर्तन नगरी सामान्य सुधारकै शैलीमा विश्वलाई आँखामा धुलो हाल्ने प्रक्रियामै अघि बढिरहेकोले चीन विरुद्ध भारतसित सहकार्य गर्दै अघि बढ्ने खेलमा लागेको स्पष्ट देखिन्छ । यसले नेपालको राजनीतिलाई पनि प्रभाव पारिरहेको छ । जसका कारण उनीहरू माओवादीलाई सत्तामा जान नदिने, एक्ल्याउने, धम्क्याउने, घेर्ने र निस्तेज पार्ने दाउमा यहाँका प्रतिक्रियावादी सबै शक्तिहरूलाई एउटै धु्रवमा उँभ्याएर उपयोग गरिरहेका छन् । यतिखेरको राजनीतिक गतिरोध बस्तुतः देशभक्त, गणतन्त्रवादी र अग्रगमनका पक्षधर तथा साम्राज्यवादपरस्त शक्तिका बीचको टक्करको परिणाम हो । यो लडाइ वस्तुतः देशप्रेम र राष्टघातका बीचको लडाइं पनि हो ।
चीन र भारत दुवै आफ्नो स्वार्थ सिद्ध गर्न यी दुई धुव्रका शक्तिमध्ये कसलाई आफ्नो पक्षमा पार्ने भन्ने द्धन्द्धमा छन् । फलतः हामीलाई घरी धम्क्याउने, घरी घुक्र्याउने, घरी फकाउने, घरी प्रशंसा गर्ने शैलीमा देखिएका छन् । तापनि साम्राज्यवाद र विस्तारवाद कहिल्यै र कहिं पनि सर्वहारावर्गको पक्षमा हुने प्रश्नै आउँदैन । त्यसकारण अहिलेको राजनीतिक द्धन्द्ध भनेको साम्राज्यवाद र विस्तारवादसँगको द्धन्द्ध पनि हो । यो द्धन्द्धमा सर्वहारावर्गले नजिते यो मुलुकको स्वाधीनता समाप्त हुने खतरा नजिकिंदै जानेछ र देश सिक्किमीकरणतर्फ अघि बढ्नेछ । सर्वहारावर्गले दलाल, यथास्थितिवादी आत्मसमर्पणवादी, प्रतिक्रियावादी शक्तिलाई पराजित नगर्ने हो भने हाम्रो स्वाभिमान गुम्ने खतरा भिडं्किदै आएको मान्नुपर्छ । यस परिवेशमा यतिखेर स्वाभिमानको झन्डा उठाउँदै हामी विद्रोहद्धारा प्रतिरोध गर्न अघि बढ्न आवश्यक हुन पुगेको छ । यस्तो राष्टिय अन्तराष्टिय परिस्थितिका बीच सांस्कृतिक आन्दोलन पनि यस्तै खाले दुई धुव्रको टक्करबाट अघि बढिरहेछ ।
तेस्रो राष्टिय सम्मेलनदेखि आजसम्मका संगठनका कामकारवाही र गतिविधिलाई फर्केर हेर्दा यो सापेक्षरुपमा सफलतापूर्वक अघि बढिरहेको छ । सङ्घर्षका काम कारवाहीमा निरन्तर सक्रियता, विभिन्न योजनाहरूको कार्यान्वयन, प्रकाशन, संगठन निर्माण, आंगिक संगठनहरूका सम्मेलन र नेतृत्व चयन, सांगीतिक–सांस्कृतिक अभियान, फिल्म निर्माण, गोष्ठी, प्रशिक्षण, राजनीतिक बैचारिक हस्तक्षेप, गीति क्यासेटहरू र कृति प्रकाशन, भिडियो सिडी प्रकाशन, सांस्कृतिक कार्यक्रम, कलाकारलाई विधागत प्रशिक्षण, आन्दोलनमा भूमिका आदि कामकारवाहीमार्फत् सांस्कृतिक आन्दोलन आगाडि बढेको छ । विभिन्न आंगिक संगठन निर्माणले तत्तत् क्षेत्रमा एकातिर हस्तक्षेप भएको छ भने अर्कातिर महासङ्घीय अवधारणालाई मूर्तरुप प्रदान गरेको छ । सङ्घर्षका कार्यक्रमहरूले सुन्दरी प्रतियोगिताविरुद्ध, पुजारीप्रकरणविरुद्ध, संगीतका समस्या समाधानार्थ, राष्ट्रघात र वैदेशिक हस्तक्षेपविरुद्ध, सामन्ती संस्कृति र शोषणमूलक परिपाटीको अन्त्यका लागि विरोध जुलुस, विरोध सभा, गोष्ठी, अन्तरक्रिया, चक्काजाम, धर्ना, घेराउ, प्रतिरोध आदिबाट गुणात्मक हस्तक्षेप गरेभने हाम्रो सांस्कृतिक आन्दोलनको दिशा र नीतिगत स्पष्टताका कारण विभिन्न क्षेत्रबाट कवि, कलाकार, चलचित्रकर्मी, साहित्यकार, लेखक, संगीतकर्मीहरू धुव्रीकृत हुँदै यही धारमा समाहित भएका छन् । फलतः यो धार नै मूलधार बन्न पुगेको छ । हामीले निर्माण गरेको महासङ्घीय संरचनाले विरोधी शक्तिलाई पनि त्यस्तै संरचनातर्फ लाग्न बाध्य बनाएको छ । ललितकलाका क्षेत्रमा भएका प्रदर्शनहरूले यस क्षेत्रमा राम्रो प्रभाव जमाएको छ । देशव्यापी रुपमा केन्द्रीय सामना टोलीले कैयौँ पटक चलाएका अभियान, राज्य परिवारले चलाएका स्थानीय अभियान, सांस्कृतिक कार्यक्रम, सडक सास्कृतिक सभा आदिबाट राष्ट्रियताको जागरण पैदा गर्न, बैचारिक प्रभाव छर्न, सांस्कृतिक क्षेत्रका समस्या र विकृतिलाई उजागर गर्न र समाधानका लागि दवाव सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह भएको छ । राजनीतिक आन्दोलनमा पार्टीका कार्यक्रमसहित नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको सङ्घर्षमा हामीले निभाएको सक्रिय भूमिकाले सांस्कृतिक मोर्चाको अस्तित्व स्थापित गर्न सफल भएको छ । गोष्ठी, प्रशिक्षण, अन्तरक्रिया र छलफलका साथै विविध पत्रिका, कृति प्रकाशनले बैचारिक हस्तक्षेप तीव्र बनेको छ । कलाकारका समस्या समाधान र कलाकारकै रुपमा संगठनमा निरन्तरताका सन्दर्भमा गरिएको पहलले पनि त्यस क्षेत्रको निराशा, कुन्ठा, हीनता र उपेक्षा बोधलाई धेरै हदसम्म कम गरेको छ । सबै आंगिक संगठनका भेला र सम्मेलन केन्द्रीय रुपमा सम्पन्न गरी नेतृत्व चयनले ती क्षेत्रमा पनि राम्रा गतिविधि र हस्तक्षेप पुगेका छन् । कतिपय विधागत प्रशिक्षणहरूले विधा मूल्य, मान्यता स्वरुपको जानकारीलाई अगाडि बढाएको छ । प्रायः सबै क्षेत्रमा र ठाउँमा संगठन निर्माण भइसकेको छ र कतै कतै संगठन निर्माण प्रक्रिया चालू छ । यसरी तेस्रो सम्मेलनदेखि आजसम्म जनसांस्कृतिक आन्दोलनको मूलधारको नेतृत्व महासङ्घ र सो अन्र्तगतका संगठनले गरिरहेको स्पष्ट छ ।
सांस्कृतिक आन्दोलनमा हामीले गर्नुपर्ने सङ्घर्ष नयाँ जनवादी संस्कृति निर्माण नहुँदासम्म निरन्तर जारी रहन्छ । मूलतः अहिले सांस्कृतिक आन्दोलनभित्र ४ किसिमका धार र प्रवृत्तिहरू देखिएका छन् । पहिलो सामन्ती सांस्कृतिक धार आज पनि प्रतिक्रियावादी प्रतिक्रान्तिकारी धारका रुपमा क्रियाशील छ । दोस्रो, यथास्थितिवादी, सुधारवादी धार रहेको छ जसको नेतृत्व दलाल र आत्मसर्पणवादीहरूले गरिरहेका छन् । तेस्रो वामपन्थी संशोधनवादी धार पनि क्रमशः त्यही धारमा पतन हुँदै गइरहेको छ । यसले दोस्रो धारसँग गठबन्धन गरी प्रगतिवादी धारमाथि आक्रमण गरिरहेको र प्रतिक्रियावादी चरित्र ग्रहण गरिरहेको छ । चौथो जनसांस्कृतिक आन्दोलनको मूलधार प्रगतिवादी धार हो जसको नेतृत्व महासङ्घले गरेको छ । आजको सन्दर्भमा प्रतिगामी, यथास्थितिवादी संशोधनवादी तीनै प्रवृत्तिहरूको संयुक्त गठबन्धनबाट बनेको संयुक्त धार प्रगतिवादी सांस्कृतिककर्मीहरूको मुख्य शत्रु बनेर उभिएको छ । हामीले त्यसका विरुद्ध सशक्त प्रहार केन्द्रित गर्नु जरुरी छ । यसैसाथ साम्राज्यवाद र विस्तारवाद पनि प्रगतिवादी आन्दोलनमाथि दमन गर्न लागि परेको छ । साम्राज्यवादविरुद्ध पनि हाम्रो प्रहार केन्द्रित गर्नै पर्छ । यसरी हेर्दा अहिले नेपाली सांस्कृतिक आन्दोलनमा प्रतिगमन र यथास्थितिवादी, सुधारवादी र संशोधनवादी, देशद्रोही र दलाल प्रवृत्ति जनताको विरुद्ध छ भन्ने स्पष्ट हुन्छ ।
गत सांस्कृतिक आन्दोलनका सीमा र कमजोरीबारे पनि हामीले ध्यान दिनुपर्छ । तिनबाट पाठ सिक्दै र सच्याउँदै लगेर मात्र हामी ठीक ठाउँमा पुग्न सक्छौँ । हाम्रो मूल गन्तव्य नयाँ जनवादी संस्कृतिको स्थापना हो । आज पनि हाम्रो सांस्कृतिक आन्दोलनभित्र हिजोकै सामन्ती सत्ताको संस्कृतिले प्रभावित गरिरहेको छ । सांस्कृतिक रुपमा अझ पनि तात्विक परिवर्तन आएको छैन भन्ने कुरा हामी स्वीकार्छौ । त्यसैकारण त्यसको प्रभाव हामीभित्र पनि कुनै न कुनै रुपमा विद्यमान छ । व्यक्तिवादी अवसरवाद, मनोगतवाद, निराशा, कुन्ठा तथा संर्कीणता, आत्मकेन्द्रीयता, महत्वाकांक्षा र बौद्धिक दम्भ, गुटीय मानसिकता आदि पवृत्तिहरूका आंशिक प्रभाव हामी सबैमा कुनै न कुनै रुपमा देखा परेका छन् । खुला वातावरणसित तालमेलहुने नाममा आदर्श र नैतिकमूल्यलाई समेत विर्सने प्रवृत्ति पनि बढ्दै गएको छ । निष्ठा र मूल्यको संस्कृतिभन्दा अवसर, प्रलोभन, आर्थिक उदारता, र कता कता वर्गीय विचलनको समेत स्थिति देखिनु दुःखद छ । यसका साथै तल संगठन निर्माण परिचालन र लगावमा पनि कमी, प्रतिवद्धता र समर्पणमा पनि हिजोभन्दा भिन्न स्थिति, समर्पित, प्रतिवद्ध, बैचारिक र निष्ठावान् नेतृत्वको समूहका मात्रा र संख्याविस्तारको स्थितिसँग पनि हामी सचेत बन्नु पर्छ । केन्द्रीय योजना निर्माणसँगै कार्यशैली र कार्यान्वयनमा एकताभाव नदेखिएको भन्ने प्रश्नमा पनि आंशिक सत्यता नभएको होइन । मूलतः आपसी सहयोग, हार्दिकता, एकत्वभाव, जनवाद र केन्द्रीयताको ठीकसँग तालमेल नभएको स्थितिमा त्यस्तो हुनु अस्वाभाविक छैन । बीचको समयमा देखा परेका निराशा र खिन्नताले पनि त्यसमा प्रभाव पारेको स्पष्ट छ । जनसांस्कृतिक आन्दोलनलाई अझ सशक्त र उँचाइबाट उठाउन उपरोक्त कमी र सीमाहरूमाथि विजय हासिल गर्नै पर्छ । वस्तुतः प्रतिवद्ध, समर्पित, निष्ठावान्, क्रान्तिकारी, सांस्कृतिक नेतृत्व र योजना कार्यान्वयनमा सम्पूर्ण टीमको एकताभाव पैदा हुन सकेमा जनवादी सांस्कृतिक आन्दोलनको भावी बाटो उज्यालो छ ।
हाम्रो भावी कार्यनीति र कार्यदिशा पनि राजनीतिक आन्दोलनको नीति र दिशासँगै जोडिएको छ । सांस्कृतिक आन्दोलन राजनीतिक आन्दोलनभन्दा छुट्टै र पूर्ण स्वायत्त हुनै सक्दैन । कारण सांस्कृतिक आन्दोलन पनि फरक अर्थमा राजनीतिक उद्देश्य प्राप्तिकै लागि हुन्छ । कला, साहित्य, संगीत, अभिनय आदि सबै राजनीतिकै सहयोगी र अभिन्न अंग हुन् । त्यसकारण हाम्रो भावी कार्यदिशा पनि राजनीतिक प्रक्रियासंग जोडिएको छ । फेरि पनि यसको आफ्नै स्वतन्त्र अस्तित्व पनि हुन्छ । नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधीनता, गणतान्त्रिक संस्कृति, नयाँ पुजीवादी समाज र जनताको संविधान निर्माण गर्ने प्रक्रियामा समर्पित हुंदै त्यसमार्फत् अग्रगामी आमूल सांस्कृतिक रुपान्तरणलाई संस्थागत गर्ने कुरामा हामीले दृढतापूर्वक सङ्घर्ष संचालन गर्नैपर्छ । आज देखिएको राजनीतिक गतिरोधका पछाडि माथि उल्लेख भए झैं दुई धुव्र र वर्गको अन्तरविरोधले नै काम गरेको छ । देशी विदेशी प्रतिक्रियावादी, दलाल र नोकरशाही तत्वहरूको गठबन्धन देशभक्त, क्रान्तिकारीमाथि फेरि दमन लाद्ने र गृहयुद्ध निम्त्याउने षड्यन्त्रमा लागेको स्पष्टै छ । लोकतन्त्र र शान्तिप्रक्रियाको खोल ओढेर त्यसकै आडमा सर्वहारावर्गको सम्पूर्ण दुश्मन शक्ति मुक्तिकामी जनताप्रति फेरि दमन, हत्या, हिंसा र आतंक लाद्ने षड्यन्त्रमा लागेको छ । विदेशी मालिकहरूको नीति, निर्देशन र आदेश मान्न सधैँ नतमस्तक रहने त्यो शक्तिले सर्वहारावर्गका मित्रशक्ति, देशभक्त र क्रान्तिकारीहरूलाई एक्लो, कुनो र घेराउमा पारेर समाप्त पार्ने सपना बुन्दै सैनिक दमनको समेत तयारीमा जुटेको र हतियार गोली गठ्ठा, तालिम, प्रशिक्षण, भर्तीमा समेत अनमिनको आचारसंहितालाई समेत उल्लंघन गर्दै अघि बढिरहेको स्पष्ट छ । माओवदीलाई साइजमा ल्याउने भन्दै विस्तारवादको प्रत्यक्ष आदेशमा यस्तो षड्यन्त्र र योजना बुनिरहेको पनि देखिएको छ । तसर्थ अबको हाम्रो कार्यभार यसका विरुद्ध देशभक्ति, राष्ट्रियता, स्वाभिमान, आत्मनिर्भरता, वास्तविक गणतन्त्र स्थापना, नयाँ संस्कृतिको निर्माण, शान्ति र संविधानको सुनिश्चितता, सामन्ती संस्कृतिको अन्त्य र जनताको गणतान्त्रिक संस्कृति स्थापनाको सन्देश बोकेर जनताका बीच पुग्ने, जगाउने र सङ्घर्षमा सामेल गराउने तथा अन्तिम विद्रोहका निम्ति अघि बढाउने योजनाका साथ ठोस कार्ययोजना बनाइ अघि बढ्नु हो । हामीलाई साइजमा ल्याउने सपना बोकेका देश र जनाताका दुश्मनलाई विद्रोहद्वारा ठीक साइजमा ल्याएर नै हाम्रो लक्ष्य प्राप्त गर्न सकिन्छ । विद्रोहको शक्ति जनता हो र जनताको शक्ति संगठन हो । संगठनको शक्ति स्पष्ट विचार र विचारको शक्ति नैतिकता, इमान्दारिता, त्याग र समर्पण हो । संगठन निर्माण गर्ने, विचार पु¥याउने र त्यसलाई शक्तिमा बदल्ने कार्यले मात्र विद्रोह सम्भव छ । त्यसको लागि संगठनको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न गरी नयाँ गति, उर्जा र एकता भाव स्थापित गर्न अहिले सम्मेलनमा जानु आवश्यक छ ।
निष्कर्षमा शान्ति प्रक्रियामा आएपछि हामीमा देखा परेका सबैखाले विचलन, विसंगति र विकृतिविरुद्ध जुध्दै फेरि नयाँ सांगठनिक जीवन पैदा गर्न आवश्यक छ । जतिसुकै शक्तिशाली भएपनि जनता र देशका दुश्मनहरू जनतासँग हार्नेछन् र जनताले विजय हासिल गरेरै छाड्नेछन् । नयाँ जनसंस्कृति निर्माणको बाटो चुनौतीपूर्ण, कठीन जरुर छ तर असम्भव छैन । क्रान्तिकारी अभिवादनसहित ।



ईश्वरचन्द्र ज्ञवाली
संयोजक
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
केन्द्रिय समिति

No comments: