Wednesday, July 23, 2014

कार्यविधि — २०७१

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलनका लागि पारित कार्यविधि — २०७१

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको २०७१ साल असार २७ गते काठमाण्डौमा बसेको केन्द्रीय समितिको पाँचौ पूर्ण वैठकले २०७१ साल कार्तिक २०, २१ र २२ गते पाँचौ राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । यस अन्तर्गत पाँचैवटा आङ्गिक संगठनको सम्मेलनको मिति र स्थान पनि तोकिएर सबै समितिमा परिपत्र पठाई सकिएको छ । संगठनका सम्मेलन, राज्य सम्मेलन, जिल्ला सम्मेलन, आङ्गिक संगठनका सम्मेलन, सदस्यता नविकरण÷वितरण, सम्मेलनमा प्रतिनिधिको व्यवस्था बारे आवश्यक सम्पूर्ण विधि र प्रक्रियाको लागि यो कार्यविधि तयार गरिएको छ ।

राष्ट्रिय सम्मेलनका लागि सम्पन्न गर्नुपर्ने कार्यहरु :
 
(१) सदस्यता नविकरण/वितरण ।
(२) जिल्ला सम्मेलन ।
(३) राज्य समिति ।
(४) राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि व्यवस्था बारे ।
(५) केन्द्रीय समितिको गठन ।
(६) मेष शुल्क/प्रवेश शुल्क र परिचयपत्र बारे ।
 
 
(१) सदस्यता नविकरण/वितरण :

(क) महासंघको सम्मेलनमा सहभागी हुन कुनै पनि आङ्गिक संगठनको सदस्य बन्न अनिवार्य हुनेछ ।

(ख) आङ्गिक संगठनको केन्द्रले तोके बमोजिम शुल्क बुझाई सदस्यता नविकरण वा प्राप्त गर्न सकिनेछ ।

(ग) महासंघ अन्तर्गतका आङ्गिक संगठनका सदस्यहरु स्वतः महासंघका सदस्य हुनेछन् ।

(घ) सवै सदस्यहरुका लागि महासंघले परिचयपत्र उपलब्ध गराउने छ ।
 
(२) जिल्ला सम्मेलन :

(क) केन्द्रीय समितिपछिको कार्यकारी निकाय जिल्ला समिति हुनेछ ।

(ख) आङ्गिक संगठनहरुले निर्णय गरे बमोजिम सदस्य संख्या पुरा भएपछि आङ्गिक संगठनहरुको तदर्थ      समिति गठन वा जिल्ला सम्मेलन गरिनेछ ।

(ग) महासंघसँग हाल आवद्ध पाँचवटा आङ्गिक संगठनहरुमध्ये कम्तिमा कुनै दुईवटा संगठनको जिल्ला तदर्थ समिति वा जिल्ला समिति भएको अवस्थामा महासंघको जिल्ला तदर्थ समिति वा जिल्ला समिति गठन गर्न सकिनेछ ।
 
(घ) आङ्गिक संगठनका जिल्ला समितिका सम्पूर्ण सदस्यहरु महासंघको जिल्ला सम्मेलनका स्वतः प्रतिनिधि हुनेछन् । अरु प्रतिनिधि पर्यवेक्षकको हकमा महासंघको जिल्ला समितिले तोके अनुसार हुनेछ ।

(ङ) जिल्ला समितिका सदस्यहरुको छनोट सहमतीमा गरिनेछ । यदि सहमती बन्न नसके निर्वाचनद्वारा टुङ्गो लगाइनेछ ।

(च) निर्वाचित जिल्ला समितिले पदाधिकारीको चयन गर्नुपर्नेछ ।

(छ) जिल्ला समितिमा अध्यक्ष— १, उपाध्यक्ष —आङ्गिक संगठनका अध्यक्षहरु , सचिव —१, सह—सचिव १, कोषाध्यक्ष —१  सहित न्यूनतम १५ देखि ३१ जनासम्म सदस्य रहनेछन् ।

(ज)  न्यूनतम तीन वटा आङ्गिक संगठन भएका जिल्लामा  १५ देखि २१ जनासम्मको  जिल्ला समिति गठन गर्न सकिनेछ ।

(झ) तीन भन्दा बढी आङ्गिक संगठन भएका जिल्लामा २१ देखि ३१ जनासम्मको  जिल्ला समिति गठन गर्न सकिनेछ ।

(ञ) जिल्ला सम्मेलनद्वारा  जिल्ला समिति गठन गर्दा आङ्गिक संगठनका अध्यक्षहरु जिल्ला समितिको स्वतः उपाध्यक्ष हुनेछन र आङ्गिक संगठनका पदाधिकारीहरु स्वतः जिल्ला समितिका सदस्य हुनेछन ।
 

(ट) आङ्गिक संगठनहरुको केन्द्रीय समितिले गरेका निर्णय अनुसार निम्न संगठनका निम्न संख्या भएका पदाधिकारी सहितको जिल्ला समिति र प्रशाखा गठन गरिने छ । जस अनुसार –
 
 (।) अखिल नेपाल लेखक संघको –

 जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष , सचिव, सह—सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ११ देखि २१ जनासम्म सदस्य रहनेछन् । अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित ५ जनासम्मको प्रशाखा बनाउन सकिने छ ।

(।।) अखिल नेपाल नाटयकर्मी संघको – 

 जिल्ला समितिमा अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ७ देखि ११ जनासम्म सदस्य रहनेछन् । अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित ५ जनासम्मको प्रशाखा बनाउन सकिने छ ।

(।।।) अखिल नेपाल चलचित्रकर्मी संघको – 

 जिल्ला शाखामा अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ५ देखि ९ जनासम्म सदस्य रहनेछन् । अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित ५ जनासम्मको प्रशाखा बनाउन सकिने छ ।

(।V) अखिल नेपाल ललितकला संघको – 

 जिल्ला शाखामा अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ३ देखि ११ जनासम्म सदस्य रहनेछन् । अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित ५ जनासम्मको प्रशाखा बनाउन सकिने छ ।

(V) अखिल नेपाल जनकलाकार संघको – 

 जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष , सचिव, सह—सचिव, र कोषाध्यक्ष सहित न्यूनतम ७ देखि १५ जनासम्म सदस्य रहनेछन् । अध्यक्ष, सचिव, र कोषाध्यक्ष सहित न्यूनतम  ५ देखि ११ जनासम्मको प्रशाखा बनाउन सकिने छ ।     

(३) राज्य समिति ।

(क) हालको लागि राज्य समितिले समन्वयकारी भूमिका खेल्नेछ ।

(ख) राज्य समितिमा सम्बन्धित राज्यमा भएका महासंघका केन्द्रीय सदस्यहरु र सम्बन्धित राज्यका जिल्ला समितिका अध्यक्षहरु रहनेछन् ।

(ग) महासंघले राज्य समितिको संयोजक चयन गर्नेछ ।
 
 
(४) राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि व्यवस्था बारे ।

राष्ट्रिय सम्मेलनमा निम्न प्रतिनिधि सहभागी हुनेछन् :

(क) महासंघको पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका सम्पूर्ण सदस्यहरु,

(ख) सबै आङ्गिक संगठनका केन्द्रीय समितिका सदस्यहरु,

(ग) सम्मेलन हुने जिल्लाबाट एक जना महिला (अनिवार्य) सहित ३ जना जिल्ला सम्मेलनद्वारा निर्वाचित गरी  पठाइएका प्रतिनिधि,

(घ) तदर्थ समितिमात्र भएका जिल्लाहरुबाट पठाइने २ जना प्रतिनिधि,

(ङ) अन्य जिल्लाहरुबाट केन्द्रीय समितिले प्रतिनिधित्व गराउने १ जना प्रतिनिधि,

(च) कुनै जिल्लामा एउटा मात्र आङ्गिक संगठन क्रियाशील भएमा सो संगठनले पठाएको  १ जना प्रतिनिधि,

(छ) सम्पूर्ण प्रतिनिधि संख्याको ५ प्रतिशत केन्द्रले मनोनयन गरेका प्रतिनिधिहरु ।
 
(५) केन्द्रीय समितिको गठन ।

(क) महासंघको केन्द्रीय सदस्यको उमेद्वार बन्नको निम्ति आङ्गिक संगठनको केन्द्रीय समितिमा एक कार्यकाल काम गरिसकेको हुनुपर्नेछ ।

(ख) महासंघको पदाधिकारीको उमेद्वार हुनुको निम्ति महासंघको केन्द्रीय समितिमा रहेर एक कार्यकाल काम गरिसकेको हुनुपर्नेछ ।

(ग) केन्द्रीय समितिको निर्माण सहमतीको आधारमा हुनेछ । सो सम्भव नभएमा निर्वाचनद्वारा टुङ्गो लगाइनेछ ।

(घ) केन्द्रीय समितिको स्वरुप र संख्या राष्ट्रिय सम्मेलनले पारित गरेको विधानका आधारमा हुनेछ ।

(ङ) निर्वाचित केन्द्रीय समितिले पदाधिकारीहरुको चयन गर्नेछ ।
 
(६) मेष शुल्क/प्रवेश शुल्क र परिचययपत्र बारे ।

(क) सम्मेलनमा सहभागी हुने सम्पूर्ण आयोजक समितिका सदस्यहरु र प्रतिनिधिहरुले अनिवार्य रुपमा मेष शुल्क र प्रवेश शुल्क बुझाउनु पर्नेछ ।

— मेष शुल्क  रु. ५००।००
— प्रवेश शुल्क  रु. २००।००
          जम्मा रु. ७००।००
 
(ख) आङ्गिक संगठन र जिल्ला समितिले पठाएको विवरण र शुल्क वापत रु. ५०।०० प्राप्त भएपछि महासंघको केन्द्रले परिचयपत्र सम्बन्धित निकायमा पठाउने छ ।

No comments: