Monday, June 12, 2017

अब कसलाई कारबाही गर्ने कमरेड ? -ऋषिराज बराल


new photo
ऋषिराज बराल

जनआस्था साप्ताहिकको फागुन ५ को अङ्कमा प्रकाशित ‘क्रान्ति, केको क्रान्ति, कस्तो क्रान्ति ?’ शीर्षकमा प्रकाशित ‘पाठकपत्र’ सित सम्बन्धित भएर उठेका टिप्पणीहरूका सन्दर्भमा मैले केही कुरा प्रस्ट पार्नु आवश्यक ठानेको छु । खासगरेर मेरो पुस्तक सत्ता र संस्कृति मा समाविष्ट ‘जनयुद्ध, सांस्कृतिक आन्दोलन र जनसांस्कृतिक सङ्घ’ तथा ‘सांस्कृतिक सेनासम्बन्धी माओवादी दृष्टिकोण’ मा यसबारे प्रस्ट पारेको हुँ तापनि अहिले आएर विषयसन्दर्भहरू नयाँ किसिमले उठेकाले यसबारे पुनः केही प्रस्ट पार्नु आवश्यक ठानेको छु ।

‘पाठकपत्र’ मा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ को विगतको सम्मेलनदेखिका कुराहरूका साथै त्यसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानसित सम्बद्ध मुद्दाहरू पनि उठाइएका छन् । यसो हेर्दा यी फरकफरक विषय भए पनि यी एकअर्कासित अन्तर्सम्बन्न्धित छन् । यी सबैको लामो व्याख्या यहाँ सम्भव नभए पनि यी सबै समस्याको जडचाहिँ ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलन हो भन्ने कुरा म प्रस्ट पार्न चाहन्छु । यो सबै सन्दर्भको प्रस्टताका लागि युद्धकालमा रोल्पामा पढ्न प्रतिबन्ध लगाइएको मेरो पुस्तक फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति +आगमन= प्रत्यागमन’ को सन्दर्भलाई पनि यहाँ ल्याउनुपर्ने हुन्छ ।
२०६३ असोजमा तय गरिएको ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनमा लागि केन्द्रीय संयोजकका नाताले मैले प्रतिवेदन तयार पारेँ । यसलाई लिएर सांस्कृतिक विभाग र आयोजक समितिको दुईतीन बैठक बस्यो । त्यतिबेर प्रचण्ड–बाबुराम घुमन्तु सिविरमा हुन्थे । भक्तपुर गेस्ट हाउसमा बसेको मिटिङमा मैले त्यतिबेला चर्चामा आएका तल उल्लेखित तीनवटा मुद्दामा बहसछलफल चलाएँ ।
१. जनार्दन शर्मा ‘प्रभाकर’ को उटपट्याङ चिन्तनको पछि लागेर ईश्वरचन्द्र ज्ञवाली र खासगरेर सेमभेकका केही साथीहरू जनमुक्ति सेनाका झैँ सांस्कृतिक क्षेत्रमा पनि कम्पनी, बटालियन, ब्रिगेड र डिभिजन बनाउने हठमा थिए । सांस्कृतिक सेना भनेको विचारको सेना हो, यो क्रान्तिकारी विचारबाट सङ्गठित हुन्छ, तर ब्रिगेड आदि हुँदैन, खास अभियानमा त्यसरी लामबद्ध हुन सकिए पनि जनसेनाका झैँ सांस्कृतिक पल्टनको स्थायी बटालियन र ब्रिगेड हुँदैन भन्ने मेरो भनाइ थियो र माओले पनि सांस्कृतिक सेना र जनमुक्ति सेनाको संरचना र कार्य एउटै हँदैन भनेको सन्दर्भ हाम्रा सामु थियो । तर ब्रिगेड र डिभिजन बनाउँदा मात्र क्रान्तिकारी होइन्छ भन्ने र माओभन्दा क्रान्तिकारी देखिने चस्का लागेकाहरू यसमा सहमत भएनन् । प्रचण्डले पनि यसैमा ताली बजाए । यसबारे मैले निरन्तर बहस चलाएँ ।
२.कुनै पनि कृतिको सौन्दर्यशास्त्रीय पक्ष हुन्छ, यसलाई सङ्ख्या अथवा प्राविधिक किसिमले डण्डा लगाएर ठीकबेठीक भनेर खारेज गर्न मिल्दैन भन्ने माक्र्सवादी मान्यता हो । फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘प्रति+आगमन=प्रत्यागमन’ का सन्दर्भमा उठेका विवादलाईमैले सौन्दर्यशास्त्रीय आधारमा बहस चलाऔँ, अंश होइन समग्रमा हेरौँ, भनेर तर्क गरेँ । यसबारेमा पार्टीको सिक्लेस बैठकमा एक किसिमको “समझदारी” पनि बनाइयो र यो समझदारीलाई सांस्कृतिक विभागको बैठकमार्फत पनि व्यवस्थित गरियो । तर यो मुद्दालाई सम्मेलनको सेरोफेरोमा प्रायोजित र निर्देशित रूपमा उछाल्ने काम गरियो ।
३. केही साथीहरू जनसांस्कृतिक सङ्घलाई महासङ्घमा लैजाने हठमा लागे । मैले भखैरै ‘शान्तिप्रक्रिया’ आएको र स्थिति कसरी अगाडि बढ्छ प्रस्ट नभएकाले महासङ्घलाई अवधारणाका रूपमा स्वीकार गरौँ, आवश्यकता अनुसार सङ्घभित्र विभाग बनाऔँ, महासङ्घमा जान हतार गर्दा वैचारिक तथा साङ्गठनिक अस्तव्यस्तता आउँनसक्छ भन्ने मेरो धारणा थियो ।
फेरिे लाल भन्ज्याङमा उभिएर र कथा ‘‘प्रति +आगमन=प्रत्यागमन’ का बारेमा सिक्लेस बैठकमा निर्णय भइसकेकाले सांस्कृतिक विभागको बैठकमा यो विषय त्यति बहसको विषय भएन । मूल बहस सांस्कृतिक क्षेत्रमा बटालियन र ब्रिगेड बनाउने कुरामै रह्यो । प्रचण्ड–बाबुरामले पनि यस विषयमा गोलमटोल कुरा मात्र गरे । माइला लामा र ज्ञवाली ब्रिगेड र डिभिजनको रमाइलोमा थिए । त्यसपछि सबै कुरा सम्मेलनमा लगेर हल गर्ने भनियो । तर सम्मेलनमा वैचारिक बहसको सट्टा होहल्ला र गुन्डागर्दीले प्रभुत्व कायम गर्यो । खासगरेर आफूलाई आधारइलाकाका भन्न रुचाउने केही हुल्लडबाजहरूले ममाथि भौतिक रूपमै आक्रमण गर्ने प्रयास गरे । केही त जथाभावी लेख्नेलाई अब सांस्कृतिक सेनाले ठोक्छ भन्दै कुर्सी भाँचेर ममाथि आक्रमण गर्नथाले । भित्री निर्देशन आधारइलाकाका बडे कमरेडहरूको थियो भन्नेमा म प्रस्ट थिएँ । प्रमुख अतिथि भएर आएका देव गुरुङ्ले पनि आगोमा घिउ थप्ने काम गरे । कस्ता मान्छेलाई सांस्कृतिक मोर्चामा ल्याएइछ भन्ने लाग्यो । यस किसिमको भद्रगोलमा सांस्कृतिक मोर्चामा रहनुको औचित्य रहेन ।
सांस्कृतिक सम्मेलनमा देखिएको गुन्डागर्दीको यो समाचारलाई अन्य पत्रिकाका साथैजनआस्थाले पनि विशेष रुचिका साथ छापेको थियो । यो ‘सम्मेलन’ पछि मैले तयार पारेको र पार्टीको सांस्कृतिक विभागले पारित गरेको प्रतिवेदनमा पूरै परिवर्तन गरेर उल्टोपाल्टो पारिएछ । सबैभन्दा आपत्तिजनक कुरा इतिहासको तोडमरोड गरेर सारै विकृत ढङ्गले प्रस्तुत गरिएछ । यो जनसांस्कृतिक सङ्घको प्रतिवेदन नभएर विकृत दस्ताबेजमा परिणत भएको थियो । २०६० सालमा सांस्कृतिक मोर्चाको केन्द्रमा ल्याइएका ईश्वरचन्द्र ज्ञवालीले नेकपा ( एकताकेन्द) बनेपछि तीनवटा सांस्कृतिक मोर्चाको एकताद्वारा बनेको संयोजन समिति २०४७ मा आफू पनि रहेको भनेर प्रतिवेदनमा लेखेछन् र त्यस समयमा रहेका अन्य साथीहरूको नाम हटाएछन् । मैले यसलाई घोर आपत्तिजनक ठानेँ । कसैको इतिहास नै गायब पार्नु र आफ्नो नाम थप्नु घोर अनैतिक काम थियो ।
यो सन्दर्भपछि सांस्कृतिक मोर्चासित मेरा ५ ओटा विषयमा मतभेद रहेको कुरा प्रकाशमा ल्याएँ । पहिलेका तीनवटामा अरू दुईवटा थपिएका थिए : १. प्रतिवेदनमा ज्ञवालीले गरेको इतिहासको विकृतीकरण सच्याउनुपर्ने र उनीमाथि कारबाही गर्नुपर्ने र २. वैचारिक बहसको सट्टा सम्मेलनमा भएको गुण्डागर्दी गैरमार्क्सवादी कार्य थियो भन्ने निर्णय गर्दै त्यसो गर्नेहरूमाथि कारबाही गर्नुपर्ने ।
समयले मैले उठाएका कुराहरू सही साबित गरेको छ । अहिले वैचारिक तथा साङ्गठनिक दुवै दृष्टिले सांस्कृतिक आन्दोलन लथालिङ्ग र भताभुङ्ग भएको छ । त्यतिबेला गुण्डागर्दी गर्नेहरू कतिपय आन्दोलनबाट पलायन भएका छन् र कतिपय सिसिएम र पिबिएम भएर विभिन्न ‘माओवादी’ मा बाँडिएका छन् ।
दस बर्स हुनलागेछ । त्यसपछि एउटै पार्टी र जनयुद्धको कालको केन्द्रीय संयोजक भएर पनि अहिलेसम्म जनसांस्कृतिक सङ्घ (हाल महासङ्घ) को कुनै पनि कार्यक्रममा म सहभागी भएको छैन र माथि मैले अगाडि सारेका मुद्दाहरू समाधान नहोउन्जेलसम्म सहभागी हुने स्थिति पनि छैन । त्यतिबेला ‘शान्तिप्रक्रिया’ को रमझममा प्रचण्ड–बाबुरामका लागि सांस्कृतिक मोर्चाका समस्या त्यति महत्वका भएनन् । तर किरण कमरेड जेलबाट छुटेर आएपछि यस सन्दर्भमा उहाँबाट जेजस्तो भूमिकाको आशा र विश्वास गरेको थिएँ, त्यो हुन सकेन । उहाँकै इन्चार्जसिपमा विकृतिलाई अनुमोदन गरियो । विकृतिमाथि विकृति थपियो । सांस्कृतिक आन्दोलनका समस्या कसरी हल गर्ने र कसरी अघि बढ्ने भन्ने कुरामा किरण कमरेडसित अलिकति पनि विचारविमर्श हुनसकेन । यसमा उहाँको रुचि नै रहेको पाइँन । बरु त्यतिबेला मैले उठाएका प्रश्नहरूमा किरणभन्दा प्रचण्ड केही सकारात्मक, सहयोगात्मक र खुलस्त देखापरेको अनुभूत मलाई भएको थियो । एउटै पार्टीमा छँदा चीन जानुभन्दा अघि सायद २०६६ असोजमा प्रचण्ड–किरणले नयाँ बजार निवासमा मलाई बोलाएर छलफल चलाएका थिए । त्यहाँ पनि मैले उठाएका मुद्दाहरूको सन्दर्भमा किरण कमरेडभन्दा प्रचण्डमै मैले बढी प्रस्टता र खुलस्तता अनुभूत गरेको थिएँ ।
अब यताको १० वर्षको लेखाजोखा गर्नु आवश्यक छ । ज्ञवाली मात्र होइन । यी १० वर्षमा सांस्कृतिक आन्दोलनका समस्या समाधान गर्न, विकृतिहरू हटाउन र एकताबद्धका साथ सांस्कृतिक आन्दोलनलाई अघि बढाउन फ्याक्सन इचार्ज बनेकाहरूको भूमिका केकस्तो रह्यो त्यसको पनि समीक्षा हुनु जरुरी छ । ज्ञवालीद्वारा इतिहासलाई विकृत पारिएको र लाल सलाम फिल्मलगायतका घटनाहरूका भएका भ्रष्टाचारहरूलाई लिएर ‘महासङ्घ’ मा प्रश्न उठेपछि छानबिन आयोग बनेको कुरा चर्चामा आए पनि आफू त्यसमा नरहेकाले यसबारे विस्तृत रूपमा केही भन्न सक्ने स्थिति छैन ।
जहाँसम्म इच्छुक प्रतिष्ठानको कुरा छ । प्रतिष्ठान बनाउने निर्णय पार्टीको फुन्टिवाङ बैठकपछि रोल्पाको इरिवाङमा बसेको सांस्कृतिक मोर्चाको बैठकले गरेको थियो । भारतीय जेलबाट छुटेर आएपछि ठमेलको होटलस्थित प्रचण्ड क्याम्पमा कमरेड किरणको संयोजकत्वमा सुरुमा म र पाख्रिनको समिति बन्यो र पछि अरू नाम थपिँदै गएका हुन् । ज्ञवाली यहाँ पनि दुई वर्षपछि जोडिएका हुन् ।
अहिले इच्छुक प्रतिष्ठानमा पनि भ्रष्टाचारका कुरा आएका छन् । मलाई थाहा छ यससित पनि थुप्रै गुप्त अगुप्त पक्ष जोडिएछन् । महँगोमा आफ्नो जग्गा प्रतिष्ठानलाई बेच्नु, भाउ बढेको बेला त्यही जग्गा फेरि आफैँले पहिलेभन्दा सस्तोमा किन्नु र त्यो पैसा पनि प्रतिष्ठानको खातामा नराखी आफ्नै खातामा राख्नु जस्ता प्रश्नहरू उठेका छन् । यसो हो भने यो महाअपराध हो । पछिल्ला दिनमा प्रतिष्ठानको भवन ठेकेदार र रेखदेख गर्ने इन्जिनियरसित रिसोर्टहरूमा ज्ञवाली लगायतको टोलीले रमाइलो गरेको समाचार पनि आएका छन् । समयसन्दर्भमा यो सबै बाहिर आउँनेछ नै ।
कृष्ण सेन इच्छुकसित जोडिएको संवेदनशील विषय भएकाले समग्र पार्टी यसमा गम्भीर हुनु आवश्यक छ । सांस्कृतिक मोर्चा र आन्दोलनका समस्या हल गर्न इच्छाशक्ति नदेखाउनु, मोर्चा र प्रतिष्ठानमा भएका अनियमितता र भ्रष्टाचारका सन्दर्भप्रति गम्भीर नहुनुले गजुरमा बसेकाहरू पनि प्रश्नभन्दा बाहिर हुनसक्तैनन् । नेताहरूका घरका तला थपिँदै जाने र तलका सांस्कृतिक कलाकर्मीहरू बेघरबार र भोकभोकै रहने स्थितिले ल्याउने परिणाम दुखद र भयावह पनि हुनसक्छ । भ्रष्टाचारका प्रमाणहरू सामुन्नेमा हुँदा पनि थाहा नपाएझैँ गर्नु भनेको सारतः त्यसको हिस्सा बन्नु हो । यस किसिमको निस्पृहताले दुर्घटना निम्त्याउँछ । यस यथार्थलाई बाल्कोनीमा बसेका सबैले बुझ्नु आवश्यक छ । विकृतिको थुप्रोमा रमाएर सुन्दरको कुरा गर्नुको अर्थ छैन । इच्छुकको सम्मान गर्दै नेपाल सरकारले दिएको पैसा कुनै व्यक्तिको घरका तला थप्न होइन । बडे कमरेडहरू ! अब कसको विरुद्ध लढ्ने हो—सरकारका विरुद्ध कि इच्छुकका नाममा घरका तला थप्नेहरू विरुद्ध ? समयले उत्तर मागेको छ । आगे ‘प्रभुको इच्छा’ ।
(यसबारे थप कुरा अब निरन्तर बाहिर ल्याउनेछु l)
०००

www.thenextfront.com बाट साभार 

No comments: