यसरी भयो तिहारको शुरुवात
यो कृषि युगको कुरा हो । करिब ३ हजार वर्ष अगाडि नै कृषि युगको प्रारम्भ भइसकेको थियो । त्यही बेलादेखि नै यो पर्व मनाउन शुरु भएको हो ।
हिन्दी भाषामा यो पर्वलाई त्यौहार भनिन्छ । तिहार भन्ने शब्द त्यहीँ त्यौहारको अपभ्रंस भएर बनेको हो । गंगा नदीले बनाएको मैदान जहाँ कृषि संस्कृति थियो, त्यहाँ वाली भित्र्याएपछि उत्सव मनाउने प्रचलन भएको देखिन्छ । यस्तो प्रचलन संसारका सबै किसान भएको ठाँउमा हुन्छ ।
त्यहीँ क्रममा बाली भित्र्याएपछि बाली लगाउन वा त्यो जिविकालाइ अगाडि बढाउन सहयोग गर्ने सबै जनावरहरुलाई पनि त्यो उत्सवमा सामेल गर्ने गरिएको समाजशास्त्रीहरु बताउँछन् ।
छठपर्व पनि तराइमा वाली भित्र्याइसकेपछि मनाइने पर्व हो । त्यतिबेला बाली घरमा भित्र्याउँदा आजभोली जस्तो एक–दुई दिनमा सम्भव थिएन । आजको जस्तो प्रविधिको विकास भएको थिएन । ट्रयाक्टर वा आधुनिक प्रकारका औजारहरु केही पनि थिएनन् ।
त्यतिबेला सिंगै खलक अथवा वस्ती मिलेर पालैपालो बाली भित्र्याउने चलन थियो । यसो गर्दा महिनौ लाग्ने गर्दथ्यो ।
वाली भित्र्याउने पर्वहरु लामा–लामा नै छन् । दसैँ पनि त्यसकै एक रुप हो । दसैँ १५ दिन मनाउनु, तिहार पाँच देखि सात दिन मनाउनु यसैका प्रमाण हुन् ।
कृषिवालीमा हुने विभिन्न किरा, फट्यांग्राहरु नाश गरिदिने सर्भक्षीप्राणी हुनाले कागलाई पूजा गर्न थालिएको हो । त्यसैगरी कृषि या सम्पत्तिको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले कुकुर पूजा गर्न थालिएको हो ।
त्यसैगरी जमिन जोत्नको लागि गोरु चाहिने हुनाले गोरुको पूजा गर्न थालियो । पहिले गोरु तिहारलाइ हल तिहार पनि भनिन्थ्यो । यद्यपि अहिले गोर्वद्यन तिहार भनिन्छ । गोरु तिहार या गोर्वधन पूजा पनि हल तिहारकै अपभ्रंस रुप हो । यी पछि जोडिएका शब्द हुन् ।
जव गंगा मैदानमा हिन्दु मतको जन्म भयो । सामाजिक रुपमा आम जनताले मनाउँदै आएको पर्वहरुलाइ पनि हिन्दुकरण गर्ने परिपाटीको शुरुवात भयो । त्यसै अनुरुप तिहारलाइ पनि दुइवटा मिथकसँग लगेर जोड्न थालिएको हो ।
तिहारसँग जोडिएका दुई मिथक
एउटा यमराज आफ्नो बहिनी यमुनाकहाँ आएको र धेरै खुशी भएर यो दिन सधैं सम्झिरहनुपर्छ भन्ने चलन अनुसार हरेक साल मनाउन लागिएको मिथक छ । अर्को चाहीँ वलीराजा पाताल भासिएको र वर्षको एकदिन पृथ्वीमा आउने अनुमति भए अनुसार उनी आँउदा उनको स्वागतमा तिहार मनाउन थालिएको मिथक हाम्रो समाजमा सुन्न सकिन्छ ।
देउसीको इतिहास
पहिले पहिले ‘देउसी रे’ लाई देउ श्रीराम अर्थात देव श्रीराम भन्ने गरिन्थ्यो । पछि राम हट्दै गएर देवश्री मात्र भएको हो । अझै पछि अप्रभंस भएर देउसी रे हुन पुग्यो ।
यो कथा रामायणसँग जोडिएको छ । रामले रावण बध गरेर आएपछि सबै जनता सडकमा निस्केर देव श्रीराम, देव श्रीराम भनेर जयजयकार गरेको र राती घरघरमा बत्ति बालेर दीपावलीका साथमा उत्सव मनाएको कुरासँग यो मिथक जोडिएको छ ।
भैली शब्द पनि अपभ्रंस भएको हो । वलिराजाको पक्षमा गीत गाउनेहरुले बलि बलि भन्दै जाँदा भैली भएको हो ।
गैरहिन्दुमाथि लादिएको औजार
उत्पत्ति जे जसरी भएको भएतापनि यो नेपालको एउटा विशेष पर्वको रुपमा राज्यले मान्यता दिएको पर्व हो । लामो समयसम्मको विदाको कारण यो पर्व गैरहिन्दुमाथि हिन्दुकरण लादिने प्रकृयाको एउटा औजार बनिरहेको छ ।
चाडपर्वहरुलाई कसरी लिने ?
चाडपर्वहरुलाई कसरी लिने ?
नेपालमा अधिकांश चाडपर्वहरु धर्मसँग गाँसिएका छन् । केही निश्चित चाडपर्वहरु जस्तै महपूजा, घोडेजात्रा, ल्होसार जस्ता पर्वमात्र धर्मसँग जोडिएका छैनन् । यीनै केही पर्वहरु मात्र इतिहाससँग र केही सामान्य संस्कृतिसँग जोडिएका छन् । अधिकांश पर्वलाइ धार्मिक स्वरुप र मान्यता दिइसकेको हुनाले यसमा ५ वटा कुरा गर्न जरुरी छ ।
१. जो मान्छे नमनाइकन छाड्दैनन । चाडपर्व नमनाइरहन सक्दैनन् । ति मान्छेहरुले चाड मनाउँदा उपभोक्तावादी तरिकाले मनाउनु हुँदैन । चाहिने नचाहिने कुरामा खर्च गरेर, ऋण खोजेरै भएपनि चाड राम्रोसँग मान्नुपर्छ भन्नेहरुलाइ हामीले रोक्नसक्नुपर्छ । थोरै खर्च र थोरै लगानीमा किफायती तरिकाले चाड मनाउने संस्कारको विकास गर्न र गराउन पर्छ ।
२. चाड मनाउने, उत्सव मनाउने तर धार्मिक अनुष्ठान नगर्ने चलनको शुरुवात गर्न सकिन्छ । देउसी भैलो खेल्ने तर लक्ष्मीपूजा नगर्ने गर्न सकिन्छ आजको जमानामा लक्ष्मी पूजा गरेर पैसा आउनेवाला छैन । पैसा कमाउनको लागि मान्छेले संघर्ष गर्नुपर्छ । श्रम गर्नुपर्छ । यो कुरा त सबैले राम्रोसँग बुझेकै छन् । त्यसैले ति पर्वलाई धर्मवाट अलग गरेर विशुद्ध साँस्कृतिक रुपमा मात्र मनाउनुपर्छ ।
३. राज्यले तिहारमा ३ दिन विदा दिने गरेको छ । यो धेरै भयो । इदको मौका पारेर रमाजान महिना दिनसम्म चल्छ । त्यतिबेला जम्मा १ दिन विदा दिएर हुने, ल्होसारमा १ दिन दिएर हुने तर तिहारलाइ ३ दिन किन चाहियो ? दसैँमा हप्तौंसम्म विदा किन चाहियो ? यो त सरासर अरु धर्म मान्नेहरु माथिको दमन भयो । राज्य स्वयं दमनको साधन हुनुभएन ।
४.भौतिकवादीहरुले यसलाई नमनाउने साहस गर्नुपर्यो ।
५.भौतिकवादी र लोकतन्त्रवादीहरुले हाम्रै कालखण्डमा अर्थात हाम्रै जीवनकालमा घटेका घटनाक्रमहरुको स्मरणमा ति दिनहरुलाइ साँस्कृतिक पर्वको रुप दिन थाल्नुपर्छ ।
गणतन्त्र दिवस, मइ दिवस, ८ मार्च अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस जस्ता पर्वलाइ हामी बिशुद्ध राजनीतिक तरिकाले मनाइरहेका छौँ । जुलुश, भेला, वैठक, अन्तक्र्रिया वा सभाहरु गरेर मनाउने गरेका छौं । यी दिनलाइ अब साँस्कृतिक रुप दिन आवश्यक छ ।
पर्वहरुलाइ साँस्कृतिक रुप दिन खानपिन र मनोरञ्जनसँग जोड्नुपर्दछ । त्यसैगरी भावना साटासाटको रुप दिनुपर्दछ । बिहे गरेर गएका चेली वेटीहरुलाइ आठ मार्चको दिन माइतीमा बोलाउने, मिठो मसिनो खाने र भावना साटासाट गर्ने गर्ने हो भने अर्को वर्ष स्वतः त्यो चेलीलाइ आज आठ मार्च हो । मलाई माइतीले बोलाउँछन् भन्ने पर्छ । यसरी विस्तारै पर्व स्थापित हुँदै जान्छ ।
चिन्दै नचिनेको, गरेको हो कि होइन भन्ने विश्वास नभैसकेको लक्ष्मीको गुणगान गाउनु भन्दा अहिले हाम्रै जीवनकालमा लडाकु महिलाले गरेका साहसिक यात्रा र काम गरेका दिनलाइ सम्झँदा खेरी नै हामीलाई आनन्द आँउछ । कथामा लेखिएका रामसीताले गरेको विहे सम्झेर एक्साइटेड हुनुभन्दा आफ्नै हनिमून सम्झेर रोमाञ्चित हुन्छौं ।
त्यसकारण भौतिकवादीहरुले विकल्पका साथ नयाँ साँस्कृतिक पर्वलाई स्थापित गर्न लाग्ने हो भने समाज आफै उन्नत र वैज्ञानिक सभ्यतातिर जान संभव छ ।
राज्य नै उपभोक्तावादको शिकार
यस्ता चाडपर्वको हकमा राज्य पुरै व्यापारीको हकमा उभिएको छ । व्यापारीहरुले एक महिना अगाडिदेखि नै आफ्नो मालको प्रचार गर्न थाल्छन् । जस्तो, कोकले दाइ बोतल, भाइ बोतल बनाएर प्रचार गरिरहेको छ ।
जनताको दिमागमा एक महिना अगाडिदेखि नै दसैँ वा तिहारलाइ व्यापक बनाउने सबैभन्दा पहिले व्यापारीले नै हो । राज्यले त्यहीँ वेलामा कर्मचारीलाइ बढी पैसा दिन्छ । आफै खशीबोका र च्यांग्रा बोकेर चीनतिर जान्छ । राज्यले पनि जनतालाइ उपभोक्तावादी बन्न सघाइरहेको छ ।
राज्यले जनतालाइ गलत आदतमा जानबाट बचाउनुपर्छ । त्यहीँ वेलामा सुपथ मुल्यको पसल खोलिदिनु या जनतालाई यति उति छुट दिन्छु भन्नु चरम उपभोक्तावाद हो ।
हुनेखानेलाइ त जति पैसा खर्च गरेपनि हुन्छ तर गरिवले कहाँबाट ल्याउने बढी पैसा खर्च गर्नको लागि । आम जनताको लागि चाडवाड पनि पिडा बोकेर आउने गरेको छ । त्यसैले राज्यले व्यापारीसँगै हो मा हो मिलाएर सस्तो उपभोक्तावादलाई बढावा दिनुहुँदैन ।
प्रस्तुतीः आस्था केसी
http://www.ratopati.com बाट साभार
No comments:
Post a Comment