केही मूल्य, मान्यता, प्रथा र प्रचलनलाई नै समग्र संस्कृति मान्नु सङ्कुचित धारणा
http://ratokhabar.com बाट साभार
संस्कृतिको अवधारणा बृहत् छ । त्यो भौतिक तथा अभौतिक पर्यावरण र परिवेश नै समग्रमा संस्कृति हो । सामान्यतः कतिपय व्यक्तिहरूले केही सांस्कृतिक मूल्य, मान्यता, प्रथा र प्रचलनलाई नै समग्र संस्कृति मान्ने गरेका छन् । तर यो धारणा आफैँमा अपूर्ण, साँघुरो र सङ्कुचित छ । बृहत् अर्थमा संस्कृति त्यो मानव पर्यावरणको समग्रता हो, जसले मानव उद्विकासका लाखौँ, करोडौँ वर्षको कालक्रममा आर्जन गरेको समग्र भौतिक तथा अभौतिक तत्वहरूको समुच्चित रूप हो । विभिन्न समाजशास्त्री र मानवशास्त्रीहरूले संस्कृतिलाई आआफ्नै रूपबाट प्रस्ट्याएका छन् । प्रसिद्ध मानवशास्त्री ई. बी. टेलरले संस्कृतिलाई त्यो समग्रता ठानेका छन्, जसमा ज्ञान, कला, विश्वास, आचार, कानुन, प्रथा र अन्य क्षमता समावेश हुने गर्छन्, जहाँ र जसमा ज्ञान, कला, विश्वास, आचार, कानुन, प्रथा र अन्य क्षमता समावेश हुने गर्छन् । जहाँ मानिस समाजको सदस्य हुनाले प्राप्त गर्ने गर्छ ।
संस्कृतिबारे प्रस्ट्याउँदै मालिनोस्कीका अनुसार संस्कृति मानव निर्मित कार्य हो, जसबाट उसले आफ्नो लक्ष्य प्राप्त गर्छ । संस्कृतिले मानवका आवश्यकता परिपूर्ति गरिदिने कार्य गर्छ । यो हस्तान्तरित हुने गर्छ ।संस्कृतिको निर्माण सहज रूपले हुने गर्छ । वर्तमान संस्कृतिहरूको उपज पनि आजैको परिणति होइन । लाखौँलाख वर्षको मानवजातिका अभ्यासहरूको सङ्ग्रह नै मानव संस्कृति हो, जुन कहिलेकहीँ परिवर्तनशील र कहिले जड रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुने गर्छ । यी भौतिक र अभौतिक दुवै हुन सक्छन् ।
संस्कृतिको निर्माण विशेष कालक्रम, समय, आर्थिक, राजनीतिक र सामाजिक परिवेशको सापेक्षमा रहेर हुने गर्छ । कस्तो किसिमको संस्कृति निर्माण हुने भन्ने निर्णय त आर्थिक संरचना र राजनीतिक व्यवस्थामा भर पर्ने कुरा हो । त्यति मात्र होइन, संस्कृति निर्माणका लागि भौगोलिक परिवेश, पर्यावरणलगायत केही पक्षहरूको पनि धेरथोर रूपमा प्रभाव पर्ने गर्छ । यसको कारणले नै वर्तमान विश्वमा विभिन्न किसिमका संस्कृतिहरू अस्तित्वमा रहेका छन् । तिनीहरूको उत्पत्ति र उद्भव विशेष सामाजिक–आर्थिक संरचनाको गर्भबाट जन्मने गर्छ ।
माक्र्सले समग्र संस्कृतिलाई उत्पादन प्रणालीबाट निर्धारण हुने तत्व ठान्नुभएको छ । उहाँका अनुसार उत्पादन प्रणालीले भौतिक पूर्वाधारको जन्म दिन्छ । तसर्थ संस्कृति निर्धारण पनि आर्थिक निर्धारणबाटै हुने गर्छ ।
मूलतः अर्थतन्त्र वा आर्थिक प्रणालीबाट संस्कृति निर्देशित हुने हुनाले निश्चित स्थानको उत्पादन प्रणालीअनुरूप नै सोहीअनुसारको संस्कृति निर्माण हुन्छ । यो निरन्तर रूपमा चलिरहन्छ । स्थापित संस्कृति हजारौँहजार वर्षको अभ्यास हो । जब अभ्यास जगत् नियम बन्ने गर्छ, त्यो संस्कृति बन्न पुग्छ । जब जगत् नियम संस्कृति बन्छ, तब त्यो धेरै कम परिवर्तनशील हुने गर्छ । मानिसले उक्त संस्कृतिलाई बिनाप्रश्न शिरोधार्य गर्छ । यसरी शिरोधार्य गरिसकेपछि आर्थिक संरचना परिवर्तन भए पनि पुरानौ संरचनाको संस्कृतिलाई उसले त्याग्न सकेको हँुदैन । किनकि प्रायः संस्कृतिको जड धर्ममा गएर रोपिने गर्छ । व्यक्तिले पाप वा अज्ञनताको डरले उक्त नियम तोड्ने हिम्मत गर्दैन र समय सन्दर्भअनुसार परिवर्तन हुन नसक्दा उही संस्कृतिअनुसार अभौतिक संस्कृति तालमेल हुन सक्दैन । यसलाई हामी कल्चरल लग भन्ने गर्छाैं । नेपाली समाजमा पनि हामी त्यो स्वरूप देख्न सक्छौँ । बढ्दो प्रौद्योगीकरणको जमानामा प्रगतिशील संस्कृतिको सट्टामा पुरातन संस्कृतिक मूल्यमान्यता त्यसैका अवशेषहरू हुन् ।
अर्थव्यवस्था र आर्थिक प्रणालीबाट नै संस्कृति निर्धारण हुने भएकाले वर्गीय समाजमा संस्कृतिको स्वरूप पनि वर्गीय हुने गर्छ । तसर्थ समाजअनुसारका वर्गहरू आफ्नो वर्गसापेक्षताअनुसार संस्कृतिको निर्माण गर्न पुग्छन् । कतिपय राम्रो संस्कृतिको जन्म हुन पुग्छ भने कतिपय नराम्रो संस्कृतिको पनि । यहाँनेर प्रश्न उठ्छ– कुन संस्कृतिलाई राम्रो संस्कृति र कुन संस्कृतिलाई नराम्रो संस्कृतिको नामकरण गर्ने ? उत्तर बडो सजिलो छ । यस्तो संस्कृति, जुन परिवर्तन र विकासका लागि सहयोगी छन्, जसले समानतामूलक र शोषणरहित समाज निर्माण गर्न प्रेरित र सहयोगी छन् भने त्यस्तो किसिमको संस्कृतिलाई हामी राम्रो संस्कृति नामकरण गर्न सक्छौँ । त्यसको विपरीत परिवर्तनका लागि बाधक र अवरोधक छ, वर्गीय संरचना खडा गर्छ र शोषणमूलक समाजको जन्म र प्रोत्साहन दिन्छ भने त्यस्तो संस्कृति नकारात्मक संस्कृति हो । तसर्थ सकारात्मक र प्रगतिशील संस्कृतिको रक्षा र निर्माण हुन सक्छ । आर्थिक व्यवस्था, राज्यप्रणाली र सामाजिक व्यवस्थाको साथसाथै प्रगतिशील र जनवादी संस्कृतिको प्रतिरोधले मात्र समुन्नत र सुखी समाज निर्माण हुनसक्छ । आथिक व्यवस्था, राज्यप्रणाली र सामाजिक व्यवस्थाको साथसाथमा प्रगतिशील र जनवादी संस्कृतिको निर्माण नै वास्तवमा सही अर्थको सांस्कृतिक निर्माण हो ।
विश्वव्यापीकरणको जमानामा समग्र संसार एउटा सानो गाउँमा परिणत भइसकेको छ । संस्कृतिको प्रसारमा वर्तमान समयमा सञ्चारका साधनहरूले ठूलो भूमिका निर्वाह गर्ने गर्छन् । तर दुर्भाग्यको कुरा, आजको वर्गीय रूपमा विभाजित समाज र राष्ट्रहरूमा प्राद्योगिकी तथा आमसञ्चारमा तिनै उच्च वर्ग र धनी राष्ट्रहरूको बोलवाला छ । सञ्चारका माध्यमहरूबाट वर्तमान समयमा ती पश्चिमा राष्ट्रहरूले पुँजीवादी, सामन्तवादी, अश्लील र छाडा प्रवृत्तिको संस्कृति प्रसार गरिरहेका छन् । यसले व्यक्तिहरूलाई कानुन, खर्चिलो, परनिर्भर र उद्दण्डतातर्फ आधुनिकताका नाउँमा भड्खालोभित्र पारिरहेको छ । निम्न आर्थिक स्तर भएका समाज वा राष्ट्रहरू पनि अधुनिकताको नाउँमा ती चक्रव्यूहमा फसिरहेका छन् । नेपाली समाज पनि पुँजीवादी, साम्राज्यवादी, विस्तारवादी र सामन्तवादी संस्कृतिमा नराम्रोसँग मुछिएको छर्लङ्ग छ ।
एक ध्रुवीय रूपमा रहेको साम्राज्यवादी र सामन्तवादी संस्कृतिबाट मुक्त हुन वर्तमान विश्वका शोषितपीडित लाखौँकरोडौँ जनताको एक अनिवार्य सर्त बनेको छ । आधुनिकीकरणको नाउँमा वर्तमान युवा पुस्तालाई यसले सांस्कृतिक आगूपदार्थ बेचिरहेको छ । अवैध कारोबारको नियन्त्रणले मात्र सुखी समाज निर्माण हुनसक्छ । यसका लागि सांस्कृतिक रूपान्तरण हुनु आवश्यक छ । सांस्कृतिक रूपान्तरण भन्नाले एक वर्ग, तह र तप्काको शासनमा चलेको संस्कृति भत्काउँदै परिवर्तित असल समाज विकासको सहयोगी संस्कृतिको स्थापना हो । नेपाली समाजमा पनि सांस्कृतिक रूपान्तरणको आवश्यकता टड्कारो रूपमा खड्किएको छ । हजारौँ वर्षको अवधिमा चलेका सामन्तवादी, पुँजीवादी, वर्गीय, उच्च जातीय तप्काले आफूअनुकूल निर्माण गरेको संस्कृति नभत्काई वास्तवमा नेपाली समाज अर्थव्यवस्था र संस्कृति एवम् राजनीतिक व्यवस्थाको परिवर्तन सम्भव नै छैन ।
सांस्कृतिक पुनर्निर्माण र सांस्कृतिक रूपान्तरणका लागि साहित्यको पनि महत्वपूर्ण भूमिका हुन्छ किनकि साहित्य पनि मानव संस्कृतिकै एक महत्वपूर्ण पक्ष हो । वर्गीय संरचनामा वर्गीय साहित्यको उत्पत्ति हुनु कुनै नौलो कुरा होइन । फरकफरक प्रवृत्तिको साहित्यले समाजमा आआफ्नै किसिमको प्रभाव पारेको छ । एकातर्फ सर्वसाधारण, शोषितपीडित श्रमिक र श्रमका कथा–व्यथा र गीत लेख्ने साहित्य छ भने अर्कोतर्फ विलासी, धनी, अभिजात र शासक वर्गलाई केन्द्रबिन्दु बनाएर आफ्नो व्यक्तित्व र उच्च वर्गीय स्वार्थका लागि साहित्य रचना गर्ने प्रवृत्ति छ । वर्तमान समयमा त उनीहरूकै बाहुल्य छ । त्यसले समाज दुखेको, देश दुखेको घाउ र पीडा देख्दैन । बरु कामुकता, उच्छृङ्खलता र अश्लीलताको सस्तो प्रचारले क्षणिक वाहवाही पाउने प्रयास गर्छ । यस्तो किसिमको साहित्यले समाजलाई प्रगति र अग्रगतिमा होइन, लम्पट र कामुकतातर्फ दिनप्रतिदिन धकेल्दै लैजान्छ । समाजलाई कङ्गालीकरण, दलालीकरण एवम् परनिर्भरतातर्फ लैजान्छ । फलस्वरुप समाज विखण्डित अवस्थामा पुग्छ भने मुठीभर व्यक्तिहरूको स्वार्थ परिपूर्ति हुन्छ । तसर्थ सुखी, सभ्य र प्रगतिशील समाज निर्माण गर्न जनवादी÷प्रगतिवादी साहित्यको महत्वपूर्ण भूमिका हुन्छ । यसको माध्यमबाट हामी समानतामूलक, शोषणरहित र प्रगतिशील समाज निर्माण गर्न सक्छौँ । विलासितावादी, भोगवादी र कामुक साहित्यको बदलामा जनवादी, जनमुखी र सामाजिक बिम्ब झल्कने, लाखौँलाख भोका, नाङ्गा र पीडितको गीत समेटिने साहित्यले मात्र समाजको भलाइ हुन सक्छ र सांस्कृतिक रूपान्तरणका लागि साहित्य कोसेढुङ्गा बन्न सक्छ ।
वर्गीय समाज, संस्कृति र साहित्यको सङ्घर्ष
कलमजीवीहरूलाई तर्साउने खेल कुनै नयाँ होइन । समाज जब वर्गीय संरचनामा ढल्दै विकासको प्रक्रियामा अघि बढ्यो, तब संस्कृति पनि वर्गीय स्वरूपमा अघि बढ्दै गयो । आआफ्ना वर्गले आफ्नो संस्कृतिलाई हुर्काउने चलनले निरन्तरता पायो । वर्तमान अर्धसामन्ती तथा पुँजीवादी स्वरूपले पनि आआफ्नै संस्कृतिलाई पछ्याउने क्रम रहनु स्वाभाविक थियो । वर्गीय संरचनाभित्र रही सांस्कृतिक सङ्घर्ष चलिरहेको वर्तमान विश्वसामु छर्लङ्ग छ । आज सर्वहारावादी संस्कृति आफ्नै वर्गको संस्कृति र साहित्यको पक्षपोषण, अस्तित्व एवम् जगेर्नाको लडाइँ लडिरहेको छ भने सामन्त, पुँजीपति वर्ग र साम्राज्यवादी शक्तिहरू आफ्नो पैतालादेखिको बलले आफ्नै वर्गको पक्षपोषणका लागि तल्लीन छन् । प्राविधिक सञ्चार र अन्य भौतिक क्षेत्रमा उनीहरूको दबदबा, वर्चस्व र प्रभुत्व रहेकाले त्यसको प्रचारप्रसार र वृद्धि गर्नु उनीहरूको धर्म नै हो । तसर्थ आज जनवादी साहित्यले प्रभुत्ववादी, साम्राज्यवादी, पुँजीवादी र सामन्तवादी साहित्यसँग लडाइँ लडिरहेको छ । निरङ्कुश वर्ग जनवादी साहित्य, कला र संस्कृतिसँग अत्तालिएर हिंसाको बाटोबाट उनीहरूका प्रतिभा र कलमलाई भाँच्न प्रयासरत रहन्छन् ।
कुनै पनि देशको क्रान्ति सफल पार्न लेखक÷कलाकारको महत्वपूर्ण भूमिका रहन्छ । लामो भाषणभन्दा सटिक कलमका अक्षर र आवाज प्रतिक्रियावादी सत्ता र संरचनाका बम र बारुद साबित हुन्छन् । तसर्थ क्रान्तिको दौरानमा ती संस्कृतिकर्मी, कलाकर्मी र लेखकहरूलाई बन्दुकका माध्यमबाट तर्साउने गर्छन् । आफ्नो बनीबनाउ संसार टिकाउने प्रयत्नमा लागिरहन्छन् स्रष्टाहरूमाथि नाङ्गो र बर्बर रूपमा जाइलाग्छन् । तर गौरवको कुरा, यी बन्दुक र बुटको त्रासले जनताको माया र प्रेरणाको बीचमा हुर्केका कोपिलाहरू सधैँ मुस्कुराउँदै जान्छन्, फुल्दै जान्छन् । दमनका यी कर्तुतहरू स्रष्टाका लागि झनै मल साबित हुन्छन् र प्रतिकूलतामा पनि स्रष्टाका अक्षरहरू विस्फोट हुन रुक्दैनन् । थिचोमिचो र दमनले नै दमन विरुद्धका अभिव्यक्ति गर्न बाध्य बनाउँछ । अप्रत्याशित चाप, दबाब र निकासको अभिव्यक्ति ज्वालामुखी भएजस्तै एउटा स्रष्टाले यो सामाजिक, राजनीतिक थिचोमिचोलाई ज्वालामुखी विस्फोटको कारणजस्तै प्रेरणादायी रूपमा लिनुपर्छ । जनवादी साहित्य त्यसैले मोटा, न्याना बिस्तरामाथि पल्टिदै डकार छोडेका पेटले लेख्दैन । शिशिर र ग्रीष्मसँग, रगत निचोर्नेका कर्तुतविरुद्ध उम्लिँदै आफ्नो अभिव्यक्ति कलमको सहाराले नचाहँदानचाहँदै आफ्नो रगतका मसीले कोर्नु वास्तवमा जनवादी साहित्य हो । त्यसरी लेखिएका गीत नै जनताका जीवनका प्यारा गीतहरू बन्न पुग्छन् । जीवनलाई झडप र दाउमा राखेर कोरिने यी अक्षरहरूको मूल्य पक्कै पनि, आत्मप्रचार, यशोगान, खुनी वर्गको पोषक नभई श्रमजीवीको कर्णप्रिय गीत नै वास्तवमा जनवादी साहित्य हो । यो अजम्बरी हुन्छ । वास्तवमा माक्र्सवादी सौन्दर्यशास्त्रको मुख्य गुदी र मुटु पनि त्यही हो ।
आफ्नो भौतिक सुखसुविधा, यश र सम्मान जनवादी साहित्यकारका विषयवस्तु कदापि हुँदैनन् । न त आनन्दको नाउँमा पुँजीवादी र साम्राज्यवादी संस्कृतिकर्मी र साहित्यकारले जस्तै विषाक्त संस्कृतिको विष पिलाउँछन् जनवादी साहित्यकारले । त्याग, बदलामा अपमान, कष्ट, दण्ड त सामान्य जीवन हो जनवादी साहित्यकारको । यति हुँदाहुँदै पनि सुन्दर, समान र शोषणरहित संसार र समाजका लागि ज्यान जोखिममा राखेर यथार्थको नीमपत्ताको तीतो झोल पिलाउने गर्छन् साहित्यकारहरू, जुन समाजका लागि कडा ओखती हुने गर्छ । यही ओखतीले नशामा मातिरहेका व्यक्तिहरूलाई यथार्थको धरातलमा बाँच्न र खेल्न सिकाउँछ । तसर्थ जनवादी साहित्यको प्रयोजन पनि कलाकलाका लागि नभई कला जीवनका लागि हुने गर्छ । एक असल मानव र समानतामूलक, शोषणरहित समाज निर्माण गर्न र बाँच्न सिकाउँछ । करोडौँकरोड मेहनतकशका कथा र व्यथाको जीवन्ततालाई जनवादी साहित्यले बिम्बित गर्न सक्नुपर्छ । वास्तवमा एक असल साहित्यले त्यसको बिम्बन मात्र नभई अग्रीम बाटो पनि पहिल्याउने गर्छ । जनताका लेखक÷कलाकारहरूले ती प्रतिकूल समय, सन्दर्भ र व्यवस्थाको बीचमा आफूलाई होमी शोषक वर्गको कर्तुत र जालसाजीलाई कलात्मक ढङ्गले व्याख्या गर्नु नै वास्तवमा जनवादी साहित्य हो । वर्तमान समयसम्म आँधीबेहेरीको मौसमबीच विश्व सर्वहारावर्गले कला, संस्कृति र साहित्यमा आफ्नो गौरव तथा अस्तित्वपूर्ण लडाइँ लडिरहेको इतिहास विश्वसामु छर्लङ्ग छ ।
संसारका बडेबडे शासकहरू बन्दुकसँगभन्दा विचार र कलमसँग थर्कमान भए । नेपोलियनहरू जीवनभर बन्दुकसँग पराजित भएनन्, कलमसँग हारे । हिटलर र मुसोलिनीहरूको कलम र कलासँग दुस्मनी थियो र डराउँथे । तसर्थ पहिलो प्रहार तिनैमाथि गरिन्थ्यो । अङ्ग्रेजहरू पनि भारतीय स्वाधीनताको आन्दोलनका क्रममा लेखकहरूमाथि पहिलो प्रहार गर्थे । प्रेमचन्दका कयाँै कृति जफत गरिए र प्रतिबन्ध लगाइयो । सोभियत सङ्घको ऐतिहासिक क्रान्तिमा साहित्यको भूमिका महत्वपूर्ण रहेको लेनिन आफँैले आफ्ना रचनाहरूमा व्यक्त गर्नुभएको छ । मेक्सिम गोर्की, निकोलाई आस्त्रोभस्कीका कलमहरूले हजारौँ बन्दुकका नालले फ्याँक्ने बारुदभन्दा चोटिलो प्रहार जारहरूमाथि पु¥याएको इतिहास विश्वसामु छर्लङ्ग छ । यति मात्र होइन, जनवादी चीनको जापानविरोधी मुक्तियुद्ध र चीनको महान् क्रान्तिमा सशस्त्र युद्धको साथमा लेखकहरूले पनि आफ्ना कलमहरूलाई समाहित गर्न पुगे । लुसुन, याङ मो त्यस्ता कलमवीर थिए, जसले क्रान्तिकारी युद्धमा उनीहरूका रचनाहरूले इन्धनको कार्य गरे र महान् सांस्कृतिक क्रान्तिमा सचेतनाका सन्देश फिँजाउन महत्वपूर्ण सहयोग गरे । चीनको त्यस महान् क्रान्तिमा लेखक÷कलाकारको भूमिकालाई माओले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।
नेपाली इतिहासको पृष्ठभूमिलाई हेरयौँ भने पनि के थाहा लाग्छ भने यहाँ पनि वर्गीय सामाजिक संरचनाअनुसार आआफ्नै वर्गको पोषण गर्ने लेखक, कलाकार र उनीहरूबीचको सङ्घर्ष निरन्तर रूपमा चलिरहेको छ । एकातर्फ सामन्ती, पुँजीपति वर्ग दरबारिया र उच्चकुलीन वर्गको पोषक साहित्यको बिगबिगी र बोलवाला एकातिर छ । सञ्चारमाध्यम र सत्ता पनि उनीहरूकै पक्षको भएकाले आफ्नो वर्गको पक्षपोषण गर्ने साहित्य र कलालाई प्रचार र पारितोषिक गरिरहेको छ । मेहनतकश वर्ग र ग्रामीण जनताको हितमा कलम चलाउनेहरूलाई उपेक्षा गर्ने र किनारा लगाउने काम सत्ता र उसका आसेपासेहरूले गर्ने गरेका छन् । साहित्यलाई पनि सहरिया र सम्भ्रान्तको बनाउने कसरतमा छन् । यति हुँदाहुँदै पनि नेपाली जनवादी साहित्यले विगतमा लामो तथा स्वाभिमानपूर्ण लडाइँ लडी आफ्नो अस्तित्व कायम गराउन सफल भएको छ । शोषित, मेहनतकशवर्ग, शोषण, अत्याचार, अन्याय र निरङ्कुश शासनका विरुद्ध ज्यान दाउमा राख्नेहरूको इतिहास लेखन परम्परामा मकैको खेतीका लेखक प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारीदेखि जनयुद्धकालका एक सय ६० भन्दा बढी कलमवीर र संस्कृतिकर्मीहरूले जनआवाजलाई मुक्तकण्ठले गाएरै छोडे । हिजो कलम बोक्ने कृष्णलालहरू राणाका लागि बज्र बने भने कलमबाटै गीत कोर्ने कृष्ण सेन ‘इच्छुक’ हरू सामन्ती राजतन्त्रकै काल बने ! आखिर कृष्णलालदेखि कृष्ण सेनसम्म नेपाली जनवादी लेखनपरम्पराको इतिहास हामीले गर्व गर्न लायक छ । इतिहासले साबित गरिसकेको छ– नेपाली जनवादी क्रान्तिमा कलमको भूमिका महत्वपूर्ण छ ।
http://ratokhabar.com बाट साभार
No comments:
Post a Comment