Thursday, June 1, 2017

कृष्ण सेन ‘इच्छुक’ को सम्मानमा भव्य कवितावाचन कार्यक्रम


काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, उपत्यका विशेष ब्युरोद्वारा १५ औं सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा महान् कृष्ण सेन ‘इच्छुक’ को स्मृति तथा सम्मानमा भव्य कवितावाचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले विशेष सम्बोधन गर्दै महान् सांस्कृतिक सहिद कृष्ण सेनको स्मरण गर्नुभयो । इच्छुकको निरन्तर क्रान्तिप्रतिको चाह र जस्तोसुकै परिस्थितिको सामना गरेर अघि बढ्ने क्रान्तिकारी स्पिरिटको उच्च प्रशंसा गर्दै हामी पनि उहाँबाट ती गुणहरू सिक्नुपर्ने कुरा बताउनुभयो । सम्बोधनका क्रममा उहाँले भन्नुभएको थियो, “हामी फुटेर होइन, जुटेर मात्र इच्छुकको सपना पूरा गर्न सक्छौँ । त्यो सपना पूरा गर्ने माध्यम क्रान्तिबाहेक अरू हुनै सक्तैन ।”

सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा, कवि तथा गीतकार मणि थापा, केन्द्रीय सदस्य मोहलाल चन्द ‘आधार’, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय उपाध्यक्ष भगवानचन्द्र ज्ञवालीलगायत, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष निभा शाह, महासचिव खेम थपलिया, सचिव अशोक सुवेदी, प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष मातृका पोखरेल, कवि तथा गजलकार बलराम तिमिल्सनालगायत सयौंको उपस्थिति रहेको उक्त कविगोष्ठीमा बलराम तिमिल्सिना, विजय विश्वास, राजु स्याङतान, वैरागी जेठा, हरि परियार, प्रथा, केशव सिलवाल, झपेन्द्र वैद्य, युवराज नास्तिक, प्रकाश गुरागाई, ढुण्डीराज अधिकारी, शोभा सुनुवार, ज्योति भट्टराई, पुन्य गौतम, नमन, निभा शाह आदि करिब २ दर्जन कविहरूले आ–आफ्ना रचनावाचन गर्नुभएको थियो । सो अवसरमा कवि अशोक सुवेदीले इच्छुकद्वारा रचित ‘त्यो प्यारो प्यारो पहाडी गाउँको नाम थबाङ हो’ कवितावाचन गर्नुभएको थियो ।

विगत साढे तीन दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको हरेक परिवर्तनकारी राजनीतिक–सांस्कृतिक आन्दोलनहरू चाहे प्रजातन्त्रको स्थापनाका लागि होस्, चाहे लोकतान्त्रिक गणतन्त्र स्थापना लागि होस्, नेपाली जनताको हरेक न्यायपूर्ण आन्दोलनमा यसले खेलेको भूमिका उल्लेखनीय रहेको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले समाजभित्र रहेका जातीय उत्पीडन, लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन, वर्गीय उत्पीडन तथा सम्पूर्ण विभेद र कू–संस्कृतिका विरुद्ध नेपाली समाजमा नयाँ जागरण ल्याउने, सचेतना जगाउने, देशप्रेमको भावना जगाउने, भातृत्वको सन्देश भर्ने, नयाँ 













जनसंस्कृतिको निर्माण विकासमा आफ्नो अमूल्य योगदान पु¥याउन नेपाली धर्तीमा जुझारु भूमिका मात्रै होइन, महान् बलिदानको कोटा पनि चुक्ता गरेको छ । यसको शिखरमा हुनुहुन्छ– कृष्ण सेन ‘इच्छुक’ । उनै इच्छुकको सम्मानमा सांस्कृतिक बलिदान दिवस पारेर विशेष कविगोष्ठी गरिएको हो ।
कविगोष्ठी अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सचवि एवम उपत्यका विशेष ब्युरोका संयोजक कुशल बोगटीको अध्यक्षता र केन्द्रीय सदस्य तथा चर्चित युवा कवि मुक्तान थेवाको उद्घोषणमा सम्पन्न भएको हो ।

https://www.setoghar.com बाट साभार 

No comments: