Monday, June 12, 2017

प्रतिक्रियावादी संस्कृति र जनवादी संस्कृति - हस्तबहादुर केसी

Hasta Bdr KC
२१ औं शताब्दिको डेढ दशको आजको युग साम्राज्यवाद र सर्वहाराक्रान्तिको भीषण संघर्षको युग हो । आजको युग विज्ञान र प्रविधिले युक्त युग पनि हो । आजको युग भूमण्डलीकृत साम्राज्यवादको युग हो । नेपालमा भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद सहित कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेल, हस्तक्षेप एवं नवऔपनिवेशिक उत्पीडन तीव्ररुपमा बढ्दै गइरहेको छ । उनिहरुले नेपाली नयाँ जनवादी क्रान्तिलाई ध्वस्त पार्नका लागि महान जनयुद्धको उत्कर्षकाल देखि १२ बुँदे सहमति तथा विस्तृत शान्ति सम्झौता हुँदै अहिले सम्म आउँदा अनेकौ षड्यन्त्रमूलक गुरुयोजना तथा डिजाइन तयार पार्दै आएका छन् । ‘२०६२ मंसीर ७ गते भारतको नयाँ दिल्लीमा तत्कालिन सात संसदवादी राजनीतिक दलहरु र तत्कालिन विद्रोही नेकपा (माओवादी) बीच सम्पन्न १२ बुँदे सम्झदारी दोश्रो दिल्ली सम्झौता थियो । उनीहरुद्वारा नवसंशोधनवादीहरुलाई सरकारमा पुर्‍याई दिने र नेपालको नेतृत्वको प्रलोभन दिएर क्यान्टोन्मेन्ट भित्रका जनमुक्ति सेनालाई नेपाली सेनाद्वारा कब्जा गर्न, कण्टेनरमा राखिएका हतियारहरु प्रतिक्रियावादी सरकारलाई बुझाउन लगाउन, आफ्नै पार्टीको नेतृत्वमा सरकार भइरहेकै अवस्थामा संविधान सभाको विघटन गर्न लगाएर प्रधानन्याधिशको नेतृत्वमा निर्दलीय सरकार बनाई नेकपा – माओवादी र उसले नेतृत्व गर्दै आएको ३३ दलीय राजनीतिक मोर्चालाई निर्वाचनमा सहभागी बन्न नै नदिई अनेक तरिकाले जालझेल र षड्यन्त्र एवं तिकडमबाजी गरेर पाखा लगाउँदै गत २०७० मंसीर ४ गते कथित दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न गरिएको घोषणा गरिएको सर्वविदीतै छ ।
अहिले कथित दोश्रो, संविधान सभामा पश्चगामी तथा यथास्थितिवादी शक्तिको उपस्थिति दुई तिहाई भन्दा बढि भइसकेको छ । जनयुद्धकै प्रक्रिया अन्तरगत माओवादीले संविधानसभालाई नेपाली नयाँ जनवादी क्रान्तिकै कार्यदिशाकै रुपमा उपयोग गर्ने नीति लिएको थियो र त्यसै अनुरुप २०६४ चैत्र २८ गते सम्पन्न ऐतिहासिक संविधान सभाको निर्वाचनमा भाग पनि लियो । त्यस निर्वाचनबाट माओवादी मुलुककै सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा उपस्थित हुन पनि सफल भयो । यसकै बलले २४० वर्षे शाहवंसीय सामन्ती राजतन्त्रको अन्त्य गरि मुलुकलाई गणतन्त्रात्मक नेपालको रुपमा घोषणा गर्ने परिस्थितिको निर्माण भयो । तर अहिलेको यथास्थितिमा अब संविधानसभा स्पष्टै देखिने गरि माओवादी सहित सबै क्रान्तिकारी एवं आन्दोलनकारइी शक्तिहरुको हातबाट खोसिन पुगेको छ र यसलाई प्रतिक्रान्तिको रुपमा लिनु पर्दछ ।
ऐतिहासिक भौतिकवादका आधारमा हामीले वर्तमान नेपाली समाजको वर्तमान अवस्थाको चरित्र चित्रण गर्ने यसको व्याख्या र विश्लेषण गर्नुपर्ने हुन्छ । हामीले नेपालको भौगोलिक स्थितिलाई पनि जाती राख्नु पर्ने हुन्छ । नेपाल उत्तरतिर चीनको तीब्बत र अन्य तीनतिर भारतद्वारा घेरिएको, पूर्वबाट पश्चिम तर्फ धनुषाकारमा फैलिएको १,४७,१८१ वर्गकिलोमिटर क्षेत्रफल भएको, सर्वोच्च सगरमाथा सहित उच्च हिमालय श्रृंखला, महाभारत तथा चुरे पहाड श्रृंखला र समथर तराइको मैदानी भाग बनेको, नदीनाला तथा बनजंलले भरिएको एक सानो तर सुन्दर देश हो । यसका अतिरिक्र राजनीतिक आर्थिक र साँस्कृतिक रुपमा नेपालको आफ्नै विशिष्ट ऐतिहासिक परम्परा छ । राजनीतिक रुपमा नेपाली जनता सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोध र नयाँ जनवादको पक्षमा रहीआएका छन् । आर्थिक क्षेत्रमा नेपाली जनता अत्यन्तै परिश्रमी तथा स्वावलम्बी रहीआएका छन् । साथै नेपाल प्राकृतिक स्रोत साधनका दृष्टिले समृद्ध छन् । नेपाल जलश्रोतको क्षेत्रमा विश्वको दोश्रो धनी देश हो । र नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुक पनि हो । अतः साँस्कृतिक रुपमा नेपाल विविधतामा आधारित छ र नेपाली संस्कृतिको आफ्नै मोलिक पहिचान समेत रहेको छ । तर सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको उत्पीडनमा पर्नुको कारण नेपाल राजनीतिक, आर्थिक तथा साँस्कृतिक रुपमा लामो समयदेखि पछाडि पर्दै आएको छ । यसले नेपालको मौलिक पहिचान, ओज, गरिमा र समृद्धिका लागि गम्भीर र आघात पुर्‍याउँदै आएको छ ।
नेपाल सैयौं वर्ष पहिलेदेखि स्वाधिन, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक थियो । तर नेपाल सन् १८१६ मा अंग्रेज – भारतसँग भएको राष्ट्रघाती, जनघाती सुगौली सन्धि पश्चात अर्ध औपनिवेशिक मुलुकमा बदलियो । कोतपर्व, भण्डारखाल पर्व र अलौपर्व हुँदै राणाशासनको स्थापनासँगै नेपाल अर्धसामन्ती बन्दै गयो । सन् १९४७ मा अंग्रेजहरु फारतबाट फिर्ता त भए तर पछि ब्रिटिश साम्राज्यवादको विरासतलाई सन् १९५० को असमान राष्ट्रघाती सन्धि मार्फत भारतीय विस्तारवादले आफ्नो हातमा लियो । त्यस पश्चात, व्यापार पारवहन, उद्योग, जलश्रोत, सैन्य सामाग्रीको आपूर्ति विदेश नीति आदि क्षेत्रमा भारतसँग अनेकौ असमान सन्धि सम्झौताहरु भए र नेपालको अर्धऔपनिवेशिक स्थिति अझै गम्भीर बन्दै गयो ।
वि.सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । पार्टीले नेपाली क्रान्तिको कार्यभार सामन्तवाद, साम्राज्यवाद विस्तारवाद विरोधी जनवादी क्रान्तिको रुपमा परिभाषित गर्‍यो । त्यतिबेला नेपाली क्रान्ति चीनमा जुन नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो, त्यसै अनुरुप नोलमा पनि नयाँ जनवादी क्रान्तिको बारेमा आवश्यकता प्रकाश पारिएको थियो ।
वि.सं. २००७ सालमा राणा शासनको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भयो । संविधानसभा मार्फत नयाँ संविधान बनाई प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने सहमति गरियो । तर यो कुरालाई अस्वीकार गरि राजाद्वारा २०१५ सालमा संसदीय चुनाव गराइयो । अन्ततः निर्वाचित सरकारलाई अपहस्त गरि २०१६ साल पुस १ गते राजाद्वारा ‘कू’ गरियो र निरंकुश पञ्चायती शासन लागु गरियो । यसै प्रक्रिया सन् १९५३ मा रुसमा स्टालिनको निधन भयो । त्यस पश्चात पार्टी र सरकारको नेतृत्वमा खुश्चोभको आगमन भयो । ख्रश्चोभद्वारा सर्वहारावर्गको पार्टी तथा राज्यसत्ता र सशस्त्र संघर्षको विरोधमा सम्पूर्ण जनताको पार्टी तथा राज्यसत्ता र शान्तिपूर्ण संक्रमणको संशोधनवादी मान्यता पेश गरियो र त्यस पछि रुस संशोधनवादको दलदलमा फस्न पुग्यो । त्यस परिघटनाबाट नेपाल कम्युनिष्ट पार्टीको तेश्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम संसदवादी कार्यदिशा अवलम्बन गरियो । यसले नेपाली कम्युनिष्ट आन्दोलनभित्र स्थिति गंम्भीर बन्यो । क्रान्तिकारी कम्युनिष्टहरुले राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम र संसदवादी कार्यनीतिका विरद्ध नयाँ जनवादी क्रान्तिको कार्यक्रम अवलम्बन गरे । त्यसपछि नेपाली कम्युनिष्ट आन्दोलन विभाजित भयो । तर कार्यक्रमका दृष्टिले आन्दोलनको मूलधारा नयाँ जनवादी क्रानितको पक्षमा रह्यो । यहाँनेर सबल पक्ष के रह्यो भने यो प्रक्रियामा पुष्पलाल पक्षीय धारा, झापा विद्रोही धारा र चौथो महाधिवेशनको धारा नयाँ जनवादको पक्षमा उभिए । झापा विद्रोही धाराले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि सशस्त्र संघर्षको थालनी समेत गर्‍यो । तर अन्ततः त्यसले पनि दक्षिणपन्थि संशोधनवादी दिशा अवलम्बन गर्न पुग्यो र अहिले एमालेको रुपमा दक्षिणपन्थि संशोधनवादमा पतन भएर यथास्थितिवादी एवं प्रतिक्रियावादी कित्तामा सोमल हुन पुग्यो । यसै प्रक्रियामा २०४६ सालमा नेपालमा ऐतिहासिक जनआन्दोलन भयो । यसले संवैधानिक राजतन्त्रलाई कायम गर्दै बहुदलीय व्यवस्था पुनःस्थापना गर्‍यो ।
यस स्थितिमा चौथो महाधिवेशन हुँदै एकता केन्द्रको रुपा विकसीत पार्टीको मूल क्रान्तिकारी धाराबाट २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को गठन भयो । अन्ततः यसै पार्टीद्वारा २०५२ फाल्गुन १ गते महान जनयुद्धको पहल गरियो । त्यो जनयुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरि समाजवाद तथा साम्यवादको दिशामा बढ्ने महान् उद्देश्यमा आधारित थियो । दश वर्षको यस प्रकारको जनयुद्धले रणनीतिक रक्षा र सन्तुलनको चरण पार गर्दै प्रत्याक्रमणको चरणमा प्रवेश गर्‍यो र त्यस पछि शान्ति प्रक्रियामा अगाडि बढ्यो । शान्ति प्रक्रियामा प्रवेश गरे पश्चात दश वर्षको जनयुद्धको नेतृत्व गरेर आएको माओवादी धाराको मुख्य नेतृत्व पनि नवसंशोधनवादमा पतन हुन पुग्यो । त्यस पछि त्यस धारा भित्र क्रियाशील रहेका क्रान्तिकारीहरुले २०६९ असार २ गते बौद्धभेला गरि नयाँ ढंगको क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीको पुनगर्ठन गर्न पुगे ।
आज नेपाल नयाँ जनवादी क्रान्तिकै चरणमा छ । नेपाली जनसमुदाय सामन्तवाद तथा साम्राज्यवाद विसतारवादद्वारा लामो समयदेखि उत्पीडित रही आएको छ । मजदूत वर्ग, हरुवा, चरुवा, हली गोठाला, सहित ग्रामीण सर्वहारावर्ग, सहित निम्न पुँजीपति वर्ग एवं राष्ट्रिय पुँजीपती वर्ग नेपाली जनवादी क्रान्तिको प्रक्रियामा जनसमुदाय अन्तर गत पर्दछन् । मजदूर वर्ग नेपाली क्रान्तिको नेता हो । सुकुम्वासी, गरीव तथा निम्न मध्यम किसान नेपाली क्रान्तिका आधारभूत शक्ति हुन् । ढुलमुल चरित्र हुँदाहुँदै पनि धनि किसान तथा राष्ट्रिय पुँजीपती वर्ग नेपाली क्रान्तिको मित्र नै हुन् । दलाल तथा नोकरशाही पुँजीपति वर्ग र सामन्त अर्थात् जमिन्दारवर्ग नेपाली क्रान्तिका जनसमुदायका सामन्तवाद तथा साम्राज्यवाद विस्तारवाद सितका आधारभूत तथा प्रधान सबै खाले अन्तरविरोधहरुको समाधान गर्दछ ।
नयाँ जनवादको राज्यप्रणाली सर्वहारावर्गको नेतृत्व र आम जनसमुदायको संयुक्त अधिनायकत्वमा आधारित हुन्छ । यस प्रकारको राज्यप्रणाली सामन्तवाद र साम्राज्यवाद । विस्तारवाद विरोधी रहेको छ । यो राज्य प्रणाली सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीपति वर्ग विरुद्ध परिलक्षित रहन्छ । नयाँ जनवादको शासन प्रणाली जनवादी केन्द्रियतामा आधारित हुन्छ । जनताको जनवादी अधिनायकत्व अन्तरगत नयाँ जनवादी राज्यसत्ता मजदूरवर्ग, हरुवा, चरुवा, हली, गोठाला सहित ग्रामीण सर्वहारावर्ग, किसान वर्ग, शिल्पकार, विभिन्न तहका निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गको संयुक्त राज्य सत्ता हो ।
आर्थिक पक्षको कुरा गर्दा नयाँ जनवादी क्रान्तिको आर्थिक कार्यक्रम कृषिको क्षेत्रमा सामन्ती भूस्वामित्व तथा सामन्तवादी उत्पादन सम्बन्धको अन्त्य गरि जमिन जोत्नेको नाराका आधारमा क्रान्तिकारी भूमिसुधार गर्ने मान्यतामा आधारित रहेको छ । यसमा मध्यम तहका किसानहरुका हकहीतको सुरक्षा गरिन्छ । नयाँ जनवादले कृषि क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक क्रान्तिको पक्षपोषण गर्दछ । उद्योग र वाणिज्य सहित समस्त वित्तीय क्षेत्रमा नयाँ जनवादले दलाल तथा नोकरशाही पुँजीवादी आर्थिक प्रभुत्वको अन्त्य र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकासको मान्यता अवलम्बन गर्दछ । यसले दलाल तथा नोकरशाही पुँजीको राष्ट्रियकरण गर्दछ । नयाँ जनवादले जनताका जनजीविकाका आधारभूत समस्याको समाधान गर्दछ ।
साँस्कृतिक क्षेत्रमा नेपाल अर्धसामन्ती तथा अर्ध औपनिवेशिक अवस्थामा बदलिय यता नेपाली संस्कृति पनि देशको यो अवस्थाबाट प्रभावित रही आएको छ । तदनुसार नेपाली संस्कृति दुइ भागमा विभाजित रहेको छ, ती हुन् प्रतिक्रियावादी संस्कृति र जनवादी संस्कृति । नेपाली प्रतिक्रियावादी संस्कृति सामन्तवादी र साम्राज्यवादी विचारहरुको मेलबाट बनेको छ । यो संस्कृति जनविरोधी, अराष्ट्रिय र अवैज्ञानिक रहेको छ । त्यसैगरी जनवादी संस्कृति नेपाली जनवादी परम्परा र सर्वहाारा अन्तर्राष्ट्रियतावादी मान्यताको मेलबाट बनेको छ । यो संस्कृति जनवादी, राष्ट्रिय तथा वैज्ञानिक रहेको छ । र यसले प्रतिक्रियावादी संस्कृतिको विरोध गर्दछ ।
नयाँ जनवादी क्रान्तिको कार्यक्रमले माथि उल्लेखित राजनीतिक, आर्थिक तथा साँस्कृतिक पक्षको समग्रतामा वैदेशीक सम्बन्ध, न्यायिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत गुणात्मक परिवर्तनको पक्षपोषण गर्दछ । यसले वैदेशिक क्षेत्रमा भारतसितका सबैखाले असमान सन्धि तथा सम्झौताहरको खारेज गरि नयाँ आधारमा नयाँ सम्बन्धको विकासमा जोड दिन्छ । यो जनवादी न्यायव्यवस्था, जनवादी शिक्षा प्रणाली र सामाजिक मुक्तिको पक्षमा रहेको छ ।
क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीको आवश्यकता पर्दछ । कम्युनिष्ट पार्टी जनवर्गीय मोर्चा, जातीय मोर्चा, संयुक्त मोर्चा लगायतका संगठनहरुले क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । संयुक्त मोर्चा अन्तरगत यस प्रकारका जनवर्गीय मोर्चा जातीय मोर्चाका साथै विभिन्न प्रकारका देशभक्त, जनवादी तथा वामपन्थि राजनीतिक दल वा शक्तिहरु पनि सामेल हुन सक्छन् । अहिले नेकपा – माओवादीको पहलकदमी पाँच मूलधारका माओवादीहरुको बीचमा जुन संयुक्त मोर्चा बनेको छ, यसलाई यही रुपमा लिनु पर्दछ । यी सबै संगठनहरु मध्ये कम्युनिष्ट पार्टीको भूमिका प्रमुख हुन्छ । आजको माथि भनिएझैं साम्राज्यवाद र सर्वहाराक्रान्तिको युग हो । आजको युगका माक्र्सवाद – लेनिनवाद – माओवादको सिद्धान्तद्वारा पथप्रदर्शित क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र क्रान्तिको नेतृत्व गर्न सक्छ । माओत्सेतुङ्गले नयाँ जनवादी क्रान्ति प्रक्रियामा कम्युनिष्ट पार्टी, जनमुक्ति सेना र संयुक्त मोर्चा जस्ता संगठनहरुलाई तीन जादुगरि हतियारको रुपमा प्रस्तुत गर्नुभएको थियो र यो कुरा नेपाली नयाँ जनवादी क्रान्तिका सन्दर्भमा पनि सत्य हो र महान दश वर्षे जनयुद्धहरुको प्रक्रियामा यो नीति कार्यान्वयन पनि गरिएको थियो ।
यहाँनेर बुझ्नै पर्ने कुरा के हो भने कम्युनिष्ट सर्वहारावर्गको राजनीतिक संगठन हो । नेपालमा नयाँ जनवादी क्रान्तिका लागि कम्युनिष्ट पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्दछ । नेपालमा अहिले दर्जनभन्दा कम्युनिष्ट पार्टीका नाममा धेरै संगठनहरु बनेका छन् तर ती सबै सच्चा कम्युनिष्ट पार्टी हुन सक्तैनन् । अहिलेको स्थितिमा नेपालको क्रान्तिकारी कम्युनिष्ट पार्टी भनेको नेकपा – माओवादी नै हो । सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टी माक्र्सवादी – लेनिनवादी – माओवादी सिद्धान्त र कार्यशैलीमा आधारित हुन्छ । नयाँ ढंगका कम्युनिष्ट पार्टीको निर्माण दुइलाइन संघर्षका बीचबाट एकता संघर्ष र मूख्यतः रुपान्तरणको प्रक्रियाबाट हुन्छ । यही प्रक्रिया अन्तरगत नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गर्दै नयाँ ढंगको कम्युनिष्ट पार्टीका रुपमा दुइ वर्ष पहिले नेकपा – माओवादीको निर्माण हुन पुगेको हो ।
क्रान्तिका लागि जनमुक्ति सेना अनिवार्य रुपमा आवश्यक हुन्छ । महान दश वर्षे जनयुद्धको प्रक्रियामा जनमुक्ति सेनाको निर्माण भएको थियो र यसले नेपाली क्रान्तिलाई अगाडि बढाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । तर नवसंशोधनवादी समुहले यसलाई विघटन गराइदिएको अवस्था छ । यसका साथै क्रान्तिका लागि विभिन्न प्रकारका संयुक्त मोर्चाको निर्माण गर्न जरुरी हुन्छ । क्रान्तिमा हुने आरोह अवरोह सँगै संयुक्त मोर्चाका रुपहरुमा पनि परिवर्तन र विकास हुने गर्दछ । अहिले पाँच माओवादीका बीच निर्माण गरिएको संयुक्त मोर्चा पनि एक नयाँ प्रकारको मोर्चा हो । नयाँ जनवादी क्रान्तिको प्रक्रियामा कुनै बेला साम्राज्यवाद विरोधी र कुनै बेला सामन्तवाद – साम्राज्यवाद विरोधी र कुनै बेला सामन्तवाद – साम्राज्यवाद विरोधी संयुक्त मोर्चा निर्माण गरिन्छ । अहिले गरिएको संयुक्त मोर्चा सामन्तवाद साम्राज्यवाद विरोधी रहन गएको छ ।
नेपाली क्रान्तिको बाटोको कुरा गर्दा सर्वहारावर्गको नेतृत्वमा सम्पन्न गरिने क्रान्तिका बाटाहरु मूलतः दुई प्रकारका रहेका छन् – सशस्त्र विद्रोहको बाटो र दीर्घकालिन जनयुद्धको बाटो । हामीले बुझ्ने कुरा के हो भने जुन देशहरुमा पुँजीवादको विकास भइसकेको छ वा जुन देश अपेक्षाकृत रुपमा विकसित रहेको छन्, ती देशका लागि सशस्त्र विद्रोह नै क्रान्तिको बाटो हुन्छ । लेनिनका नेतृत्वमा रुसमा समाजवादी क्रान्ति यसरी नै सम्पन्न भएको थियो । अतः सशस्त्र विद्रोहको यो बाटो पहिलो शहरमा कब्जा गर्ने र त्यसपछि ग्रामीण क्षेत्रमा सत्ता लिने बाटो हो । जुन देश अर्धसामन्ती र अर्धऔपनिवेशिक वा नवऔपनिवेशिक अवस्थामा छन् ती देशहरुका लागि दीर्घकालिन जनयुद्धहरुको बाटो अवलम्बन गर्नुपर्ने हुन्छ । माओत्सेतुङको नेतृत्वमा चीनमा यसरी नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । दीर्घकालिन जनयुद्धको यो बाटो ग्रामीण क्षेत्रबाट शहरलाई घेर्ने बाटो हो । यहाँनेर हामीले बुझ्नु पर्ने कुरा के पनि हो भने यस प्रकारको जनयुद्ध तीन प्रकारको चरणहरु अर्थात् रणनीतिक रक्षा, रणनीतिक सन्तुलन रणनीतिक प्रत्याक्रमणका चरणहरुमा आधारित हुन्छ ।
नेपाल अहिले पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा रही आएको छ । यस देशमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । र क्रान्तिको बाटो पनि दीर्घकालिन जनयुद्धको बाटो नै हो तर नेकपा – माओवादीले भने जनयुद्धको जगमा जनविद्रोहलाई नेपाली जनवादी क्रान्तिको कार्यनीति तप गरेर अगाडि बढिरहेको छ र यस कार्यदिशालाई समृद्धशाली बनाउँदै लैजाने योजनामा छ ।
नेपाल अहिले प्रतिक्रान्ति र क्रान्तिको बीचबाट अगाडि बढिरहेको छ । दोश्रो संविधान सभा क्रान्तिकारी कम्युनिष्टहरुुको हातबाट खोसिएको छ र यसमा यथास्थितिवादी एव प्रतिक्रयावादीहरुको दुइ तिहाई भन्दा बढि बहुमत जुटी रहेको छ । उनिहरुले साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशक र ग्राण्डडिजाइनमा पश्चगामी संविधान घोषणा गरेर सम्पूर्ण क्रान्तिकारीहरुलाई सखाप पारेरै नेपाली नयाँ जनवादी क्रान्तिलाई नै समाप्त पार्न चाहन्छन् । यस परिस्थितिमा नेपाली क्रान्तिका पक्षधर शक्तिहरु परिवर्तनका पक्षधर शक्तिहरु एक जुट भएर अगाडि बढ्नु विकल्प छैन । यसले मात्रै नेपाली क्रान्तिका रक्षा गर्न सकिन्छ ।
http://nepaliheadlines.com बाट साभार 

No comments: