Monday, June 12, 2017

प्रगतिवादी सांस्कृतिक आन्दोलनको कार्यदिशा - दिलीपकुमार श्रेष्ठ 'कोरस'

१. प्रारम्भिकी
प्रगतिवादी साँस्कृतिक आन्दोलनमा यतिबेला तीनखाले कार्यदिशा बहसमा छन्– एकीकृत क्रान्तिको कार्यदिशा, नौलो जनवादी क्रान्तिको कार्यदिशा र समाजवादी क्रान्तिको कार्यदिशा । हामी कार्यदिशाको बहस गर्दैछौं । कार्यदिशाको यो बहसमा प्रस्तुत भाषा-शैली सबैका लागि पाच्य नहुन सक्छ । यहाँहरु कतिपयलाई कपाल दुख्ने, पसीना छुट्ने, कामज्वरो आउने, रिंगटा र वाकवाकी लाग्ने, आँखा र कानबाट धुँवा छुट्नेजस्ता लक्षणहरु देखिन सक्छन् । कमजोर मुटु भएका साथीहरुलाई म सियाँल वा पङ्खामुनि बसेर प्रशस्त शुद्ध पानी पिउने सल्लाह दिन चाहन्छु ।
२. प्रगतिवादी आन्दोलन र कार्यदिशाको अर्थ
समाजका सबैखाले शोषण–उत्पीडन र अन्याय-अत्याचारको समूल नष्ट गरी साम्यवादी समाज र सँस्कृति स्थापना गर्ने उद्देश्यका साथ कला, साहित्य र सँस्कृतिका क्षेत्रमा चलाइने आन्दोलनलाई प्रगतिवादी साँस्कृतिक आन्दोलन भनिन्छ भने आन्दोलनको मूलबाटो वा राजमार्गलाई कार्यदिशा भनिन्छ । जीवन-जगत्लाई बुझ्ने र बदल्ने प्रक्रियामा आवश्यक विधि, संरचना, आचरण आदिको आधार भनेको नै कार्यदिशा हो । कार्यदिशाबिना कुनै पनि आन्दोलनले गति लिन सक्दैन । प्रगतिवादी आन्दोलनले सामन्तवाद, विस्तारवाद, साम्राज्यवादका अलावा सबैखाले गलत चिन्तन–प्रवृत्तिको जमेर बिरोध गर्छ र सर्वहारा अन्तर्राष्ट्रियतावादको खुलेर समर्थन वा पक्षपोषण गर्छ । मार्क्सवाद अर्थात् द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद यसको दार्शनिक आधारशिला हो ।
यो आन्दोलनमा चल्ने कार्यदिशाको बहस भनेको कम्युनिष्ट आन्दोलनमा चल्ने कार्यदिशाको बहस नै हो । कार्यदिशा भनेको कुनै व्यक्ति वा समूह–विशेषको इच्छा अनुसारको कागजी खेलौना होइन, पसीना पुछ्ने किरेमिरे जाले रुमाल होइन । यो विकासको नियमअनुसार आन्दोलनको आवश्यकताले तय गर्ने विषय हो । एंगेल्स लिखित ‘कलाको उत्पत्तिको प्रक्रियामा श्रमको भूमिका’ शीर्षकको लेखमा बाँदरबाट मनुष्य बन्ने प्रक्रियामा श्रमको भूमिकालाई औंल्याएको छ । प्रकृतिसँगको जीवन–मरणको लडाईंमा श्रममा सहभागी बनेर कार्यदिशाको सही बाटो अँगाल्ने प्राणी बाँदरबाट मान्छेमा रूपान्तरण भयो । र, साथसाथै राफाएलोको जस्तो चित्रकला, थोर्भल्डसेनको जस्तो मूर्तिकला र पागानिनीको जस्तो संगीतकला विकास भयो । तर, श्रमबाट विमुख बनेर कार्यदिशाको गलत राग अलाप्ने जन्तु बाँदरमै सीमित रह्यो । मानव इतिहासको सर्वमान्य सत्य यही हो । कार्यदिशाको यो बहसमा सहभागी बन्दा हामीलाई मान्छे बन्ने अवसर र बाँदर बन्ने चुनौति दुवै छ ।

दिलीप श्रेष्ठ
दिलीप श्रेष्ठ

कार्यदिशाका बारेमा मार्क्स, एंगेल्स, लेलिन, स्तालिन र माओका पालामा समेत निकै लामा-लामा बहसहरु भए । समाजवादी कार्यदिशा र जनवादी कार्यदिशाको बहसले ‘महाविवाद’ को उग्ररुप लिएर विश्व कम्युनिष्ट आन्दोलनमा पानी बाराबारको जस्तै स्थिति उत्पन्न भएको इतिहास हाम्रा सामु छ । कार्यदिशाको बहस प्रगतिवादी आन्दोलनमा कुनै नौलो, आश्चर्य र खेदको विषय होइन । तर, यो बहसको कथा भने साह्रै रोचक र घत लाग्दो छ । आन्दोलनमा घडीको सुइ जतिबेलासम्म सुल्टो दिशातिरको गतिमा हुन्छ, तबसम्म यो बहसले राजनीतिमा खासै महत्व पाउँदैन । परन्तु, जब गुट–उपगुटको जन्मसँगै आन्दोनमा विग्रह पैदा हुन्छ र घडीको सुइ उल्टो दिशातिर घुम्न थाल्छ, तब एकाएक चर्का–चर्का स्वरमा हल्लीखल्ली मच्चाउँदै कार्यदिशाका बाह्र–सत्ताइस पिर्के पिङ खडा गरिन्छ । फागुन सकिएर नयाँ वर्षको शुरुवात हुने पक्कापक्की भएपछि तिघ्रामा घिउतेल दलेर आन्दोलनमा प्रविष्ट भूसतिघ्रे–चैतेहरु दायाँबायाँ खामाको आड लगाएर पिङको बाहाँ ठेल्छन् । पिर्का–पिर्कामा कार्यदिशाको रमाइलो महोत्सव शुरु हुन्छ, झ्याङ्कुसी खेलिन्छ, व्यापारिक मनोरञ्जन लिइन्छ ।
यो बहस आजको आजै टुंगो लाग्ने विषय भने होइन । अल्बानियाली सैनिक प्रतिनिधि–मण्डलसँगको कुराकानीका क्रममा माओले भनेका छन्– ‘दुई वर्ग वा दुई कार्यदिशाबीचको छिनोफानो एक, दुई, तीन वा चारवटा साँस्कृतिक क्रान्तिले हुन सक्दैन ।’
३. मार्क्सवादका सार्वभौम सिद्धान्त र नेपाली समाजका विशेषताहरु
कार्यदिशालाई बुझ्नका लागि हामीले ध्यान दिनुपर्ने दुईटा विषय छन्- मार्क्सवादका सार्वभौम सिद्धान्त र वर्तमान नेपाली समाजको विशेषता । मार्क्सवादको जन्म मानवीय विकासको निरन्तरताको क्रममा भएको हो । मार्क्स–एंगेल्सभन्दा अघि पनि जीवन-जगतका विषयमा घगडान–घगडान विद्वानका घगडान–घगडान दार्शनिक व्याख्याहरु थिए । हेगेलको द्वन्द्ववाद थियो, फायरवाखको भौतिकवाद थियो । हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादमा रहेका आदर्शवादी त्रुटिहरुलाई सच्याएर नै मार्क्सवादको जन्म भएको हो । यसलाई पछि गएर रुसमा लेनिनले र चीनमा माओले थप समृद्ध तुल्याए । मार्क्सवादको अर्थ लेनिनवाद र माओवाद दुबै हो । मार्क्सवाद भनेको कुनै अकाट्य, स्थायी र अपरिवर्तनीय शास्त्र होइन । यो एउटा गतिशील समाज–विज्ञान हो, पथ–प्रर्दशक सिद्धान्त हो । यसले भौतिक संसारलाई प्रधान र परम विचारलाई सहायक मान्दछ । देश, काल परिस्थितिअनुसार फरक–फरक ढंगले यसको प्रयोग हुने गर्दछ । यो नै यसको सार्वभौम सिद्धान्त हो ।
कुनै एउटा जमाना थियो- सुनको गद्धीमा सुनको मुकुट र सुनकै राजदण्ड धारण गरेर राजा-महाराजाहरु देशको शासन चलाउँथे । अधिकांश मान्छे गाउँमा बस्थे, कृषिमा निर्भर थिए । सुखदुःखमा अनाज साटासाट गरेर खाँचो टारिन्थ्यो, पैसाको चलन उति थिएन । खरानी-पानीमा उमालेपछि रिठ्ठाले कपडा धोइन्थ्यो, पिनाले नुहाइन्थ्यो । बिजुली थिएन, उज्यालो र न्यानोका लागि आगो बालिन्थ्यो । आजको जस्तो विज्ञान–प्रविधि थिएन, सूचना–सञ्चारको सुविधा थिएन । मोटर बाटो थिएनन्, मोटर थिएनन् । हाम्रा पूर्वजहरु नून लिनका लागि डोको बोकेर ठोरी जान्थे र हप्तौं लगाएर घर फर्कन्थे । अब त्यो जमाना रहेन ।
पुराना जमानाका पुराना कुरा हाम्रै सन्तानका लागि समेत अपत्यारिलो विषय हुने गर्छ । समाजमा ठूलो फेरबदल आएको छ । नूनतेल लगायतका खाद्य–सामग्री घर–घरमा, ढोका–ढोकामा आइपुग्छन् । पूँजीबिना एक कदम चल्न सकिंदैन । कृषिप्रधान भनेको मुलुक लाहूरप्रधान हुन पुगेको छ । मान्छे डेरा र घरघडेरी खोज्दै शहरतिर ओइरिएका छन् । गाउँघर रित्तो र सून्यप्रायः छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, राज्यका विभिन्न निकायमा उत्पीडित वर्ग तथा समुदायको समानुपातिक समावेशीताजस्ता विशेषतासहितको नयाँ संविधान जारी भएको छ ।
सामन्तवादको औपचारिक रूपमा नै अन्त्य भएको छ, सामाजिक अन्तरविरोधहरु बदलिएका छन् र नेपाली समाजले पूँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । यहाँ ‘सामन्तवादको अवशेष बाँकी रहेकोले र साम्राज्यवादी हस्तक्षेप जारी रहेकोले मुलुकले पूँजीवादमा प्रवेश गरेको भन्ने कुरा सही होइन’ भन्ने तर्क पनि छ । यो तर्क आफैमा गलत तर्क हो । फ्रान्स राज्य क्रान्तिपछिको समाजमा पनि त सामन्तवादका अवशेष बाँकी नै थिए र आज विश्वका थुप्रै पूँजीवादी मुलुकहरुमा पनि साम्राज्यवादी हस्तक्षेप जारी छ । के अब ती मुलुकहरुलाई पनि अर्धसामन्ती तथा अर्धऔपनिवेशिक भन्ने ? हामीले विचार र सिद्धान्तको कैदी बनेर वस्तुको व्याख्या गर्ने गैरमार्क्सवादी पद्धति होइन कि वस्तुको आधारमा विचार–सिद्धान्तको वकालत गर्ने मार्क्सवादी पद्धति अँगाल्नुपर्छ । नेपाल पूँजीवादी चरणमा प्रवेश गरेको कुरा ध्रुवसत्य हो । सत्यलाई नकार्न मिल्दैन ।
४. आन्दोलनको विचारधारात्मक तथा राजनीतिक कार्यदिशा
आजको विश्व परिवेश, विज्ञान–प्रविधि र सूचना–सञ्चार जगतमा भएका अभूतपूर्व विकासले पैदा गरेको भिन्न परिस्थिति र नेपाली समाजको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा आएको फेरबदलले आन्दोलनको स्वरूप र कार्यदिशा समाजवादी मोडेलको हुने कुरा स्वतःसिद्ध छ । पुष्प कमल दाहाल ‘प्रचण्ड’ का अनुसार ‘श्रमजीवी वर्ग एवम् जनताको निर्णायक शक्तिद्वारा समाजवादी क्रान्ति सम्पन्न गर्नु नेपाली क्रान्तिको नयाँ ऐतिहासिक राजनीतिक कार्यदिशा हो ।’ (हेर्नोस्- २०७२ पौष ७ मा सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रस्ताव, पेज–७, दोस्रो अनुच्छेद) मार्क्स-एंगेल्सले ‘आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पूँजीवादी युग र समाजवादी युग’ गरी समाज विकासका ५ वटा चरण बताएका छन् । त्यसरी नै लेलिनले ‘निरङ्कुशताबाट बुर्जुवा जनवाद, बुर्जुवा जनवादबाट सर्वहारा जनवाद र सर्वहारा जनवादबाट नास्ति’ भनेका छन् । दुःखको विषय, हाम्रा केही सज्जन मित्रहरु भने सामन्तवाद अन्त्यपछिको चरण सामन्तवाद नै हुने अचम्मको अडान लिइरहेका छन् । ‘एकीकृत क्रान्तिको कार्यदिशा’ वा ‘नयाँ जनवादी क्रान्तिको कार्यदिशा’ को अडान भनेको साबुनको जमानामा ‘रिठ्ठाले कपडा धुन खोज्ने कार्यदिशा’ हो । यो भनेको ‘हाम्रा पुर्खाहरु नून लिन ठोरी जान्थे, हामी पनि ठोरी नै जान्छौं भनेर डोकोनाम्लो तयार गरेजस्तै हो । यो माओले भनेजस्तै ‘खुट्टाअनुसार जुत्ताको नापो निकाल्ने’ नभई ‘जुत्ताको नापो अनुसार खुट्टाको कुर्कच्चा तास्न खोज्ने’ प्रवृत्ति हो । आजको आन्दोलनको एकमात्र कार्यदिशा नेपाली खुट्टा अनुसारको समाजवादी– यथार्थवादी कार्यदिशा नै हो ।
पृथ्वी, चन्द्रमा, मंगल–ग्रहदेखि लिएर सम्पूर्ण आकाशीय पिण्डहरुको आन्द्राभूँडी केलाउन सक्छौं । तर, दुनियाँ बदल्नुपर्दा हाम्रो गोडाले आफूले टेकिरहेको धर्ती छोड्छ, हाम्रो सिँगान र पिसाब एकैसाथ चुहिन्छ- प्रमुख कारण यही हो ।
प्रगतिवादी साँस्कृतिक आन्दोलन कला–साहित्यका माध्यमबाट चलाइने विचारधारात्मक संघर्ष भएको कारण साधना तथा रचना–सिर्जना कर्मसँग सम्बन्धित विचारधारात्मक कार्यदिशाको अर्को महत्वपूर्ण पाटो पनि यहाँ छ । यसमा समेत गम्भीर बहस–छलफलको जरुरत छ । यो आन्दोलनमा हिंजो पनि र आज पनि बारम्बार जोडतोडका साथ उठ्ने गरेको एउटा प्रश्न छ- ‘हाम्रा रचना–सिर्जना वा कलाकृति हामीले अपेक्षा गरे मुताविक गुणस्तरीय हुन नसक्नु र बुर्जवा कला–साहित्यका तुलनामा सधैँ पछि पर्नुको गुदी कारण के हो ?’
आन्दोलनमा केही स्वघोषित गोर्की र लु श्युनहरु छन् । उनीहरु यो प्रश्नप्रति गम्भीर छैनन् । यसको कारण उनीहरु ‘समाजमा उपभोक्तावादको दवदवा रहेकोले’, ‘प्रकाशन तथा वितरण प्रणालीको सम्पूर्ण बजार दलाल–पूँजीपति वर्गको कब्जामा रहेकोले’ , ‘कला–साहित्यप्रतिको रुचिमा कमी आएकोले’ भनेजस्ता बाहिरी र सहायक कारणलाई नै प्रधान बनाएर वाहियात तर्क गर्छन् । यसको प्रमुख कारण बाहिर होइन, हामीभित्रै छ । हामीभित्र रहेको निषेधात्मक पद्धति, अध्ययन तथा लेखन शैलीमा रहेको अकर्मण्यता र विचारधारात्मक तथा साँस्कृतिक रूपान्तरणको समस्या नै यसको प्रमुख कारण हो ।
दुनियाँको व्याख्या गर्नुपर्दा, हामी नब्बे सालमा भुइँचालो जानुभन्दा अघिको धरहरा र तेन्जिङ शेर्पाले पाइला टेक्नुभन्दा अगाडिको सगरमाथा वर्णन गर्न सक्छौँ । पृथ्वी, चन्द्रमा, मंगल–ग्रहदेखि लिएर सम्पूर्ण आकाशीय पिण्डहरुको आन्द्राभूँडी केलाउन सक्छौं । तर, दुनियाँ बदल्नुपर्दा हाम्रो गोडाले आफूले टेकिरहेको धर्ती छोड्छ, हाम्रो सिँगान र पिसाब एकैसाथ चुहिन्छ- प्रमुख कारण यही हो । हामी आफूलाई स्वर्गलोकमुनिका अब्बल दर्जाको नागरिक सम्झन्छौँ, आफूलाई जे ठीक लाग्छ त्यही हुकुम चलाउँछौँ– असली कारण यही हो । एकपटक हामी सबैले आफूतिर फर्किएर प्रश्न गरौँ-
• हामी प्रगतिवादी आन्दोलनको अगुवाका रूपमा प्रस्तुत हुने गर्छौं । हामीद्वारा निर्मित वा अभिनित चलचित्र र प्रगतिवादबीच के कुनै साइनो छ ?
• प्रगतिवादको अर्थ लाग्ने गरी हामीले कति ओटा नाटक खेल्यौं ?
• नेपालको किराँतकालीन, लिच्छवीकालीन र मल्लकालीन कलाकृतिबाट आज दुनियाँ चकित छ । पुर्ख्यौली विरासतलाई धान्ने गरी चित्रकला, मूर्तिकला, वास्तुकला र ललितकलामा हाम्रो आजको अलग चिनारी खोइ कहाँ छ ?
• पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र त्यसको वरपरबाट हामी साहित्य–लेखनको पृष्ठभूमि शुरु गर्छौं र आफ्नो समयमा ल्याएर इतिहासको बीट मार्छौं । हामीले गणराज्यकालीन अलिखित साहित्यको खोजी कति गर्‍यौं ? कवितामा गोपाल प्रसाद रिमालद्वारा विकसित गद्य–शैलीलाई अपवादका रूपमा छोडिदिने हो भने साहित्यका क्षेत्रमा हामीले विकास गरेको शैली, विधा र विधि–विधान कुनै छ ? गोर्की र लु श्युनको साहित्यिक व्यक्तित्व झल्कने प्रकृतिका कृतिहरु खै कति छन् ?
• गीत–संगीतका क्षेत्रमा आज हामीले साधना, रचना–सिर्जना र प्रस्तुतिको जुन तरीका अपनाइरहेको छौं, यो कुन खाले तरीका हो ? यो तरीका कति सङ्गतिपूर्ण छ ? हाम्रो देश बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक देश । हिमालमा बस्ने शेर्पा, भोटे, थकाली, पहाडमा बस्ने गुरुङ, मगर, किराँत, राई, लिम्बू, कुमाल, दरै, बोटे, चेपाङ्ग, मधेश वा तराईमा बस्ने थारु र उपत्यकामा बस्ने नेवार लगायत आदिवासी जनजातिका आ–आफ्नै जातीय पहिचान सहितको मौलिक बाजागाजा र नाचगानको विशाल भण्डार छ । हाम्रो ध्यान यसखाले मौलिक बाजागाजा र नाँचगानको साधना गर्नेतर्फ किन जाँदैन ? अरु त अरु वर्ग–सङ्घर्षको मैदानबाट आएका हामी संगीतकर्मी समेत किन यस्तो अकर्मण्यतामा फस्यौँ ? हाम्रो गीत–संगीतको धार किन ‘न हाँस न बकुल्लाको चाल’ भएर गुज्रिरहेछ ।
• प्रश्न जतिपटक र जति ओटा गरे पनि यसको उत्तर एउटै निस्कन्छ – हाम्रो साधना नै विसङ्गतिपूर्ण छ । हामीले जनताबाट सिक्ने र जनतालाई दिने जनदिशाको हाम्रै आफ्नो तरीका अपनाएनौँ । हामी दुश्मनको तरीकाबाट दुश्मनसँग लड्न तम्सियौं, जसको परिणाम विचार सही हुँदाहुँदै पनि हाम्रो कला–साहित्य ओझेलमा पर्‍यो । अब हाम्रो दिशा नेपालको मौलिक र राष्ट्रिय कला, साहित्य तथा सँस्कृतिको खोज–अनुसन्धान गर्ने, हाम्रो अनुकूलतामा त्यसलाई समृद्ध तुल्याउनेतर्फ सोझिन जरुरी छ ।
आन्दोलनमा स्पष्ट रूपमा दुईटा वर्ग देखिएका छन् । एउटा वर्ग शहरका आलिशान महलमा खराब घरानियाँ शैलीको जीवन यापन गरिरहेका छन् भने अर्को वर्ग आन्दोलनभित्रै शरणार्थीजस्तो बन्न पुगेका छन् र पेट पालनका लागि खाडी मुलुकका उजाड मरुभूमिमा भौतारिरहेका छन् ।
५. विश्रान्ति
‘पूँजी’ को लेखन कार्य सकिएपछि ए.मेयरलाई लेखेको चिठीमा मार्क्सले भनेका छन् ‘यो पुस्तकका लागि मैले आफ्नो स्वास्थ्य, खुसी र परिवारको आहुति दिएको छु ।’
प्रगतिवादी आन्दोलन एउटा सुन्दर गीति–संग्रह हो । यसका लागि यहाँ हजारौंको संख्यामा जीवनको आहुति दिने सहिद छन्, दर्जनौं बेपत्ता छन्, सयौं घाइते छन् । बन्दीगृहभित्रका यातना–शिविरहरुमा चर्को यातना भोग्ने र बलात्कारको शिकार हुनेहरुको संख्याको कुनै गणना छैन । आन्दोलनमा उतार–चढावहरु हुनु र अन्तरामा व्यक्तिचारी भावहरु आउनु संगीतको स्वभाविक नियम नै हो । यसको अर्थ जसलाई जे उचीत लाग्छ, त्यो गर्ने छुट भने आन्दोलनमा हुँदैन । यतिबेला सर्वहारा वर्गको यो सुन्दर कृतिका केही पानाहरु उल्टोपाल्टो हो कि भन्ने अनुभूति हामी सबैले गरेको छौं । आन्दोलनमा स्पष्ट रूपमा दुईटा वर्ग देखिएका छन् । एउटा वर्ग शहरका आलिशान महलमा खराब घरानियाँ शैलीको जीवन यापन गरिरहेका छन् भने अर्को वर्ग आन्दोलनभित्रै शरणार्थीजस्तो बन्न पुगेका छन् र पेट पालनका लागि खाडी मुलुकका उजाड मरुभूमिमा भौतारिरहेका छन् । यहाँ संगठन, व्यक्तिगत आचरण र जीवनपद्धतिसँग सम्बन्धित थुप्रै पीडा, असन्तुष्टी र आक्रोशका स्वरहरू सुनिन्छन् ।
यो आन्दोलनमा हामीले स्तालिनको अधिभूतवादी गल्ती नदोहोर्‍याउने प्रण गरेको थियौँ । माओले गरेको ढिलाइ नगर्ने अठोटका साथ आफ्नो टाउकोमा आफैं आगो सल्काउने कवूल गरेका थियौं, आन्दोलनभित्र आन्दोलन गर्ने सङ्कल्प लिएका थियौं । तर, यहाँ कमजोरीहरू छन् र समय घर्कंदैछ भन्ने कुराको ख्याल गर्न जरुरी छ । लेनिनले भनेझैँ ‘सबैखाले गुटबन्दीको तत्काल विघटन’ हुनुपर्छ र ‘यो कुरा नमान्नेलाई बिना हिच्किचाहट निष्काशन’ गर्नुपर्छ । यहाँ पद–प्रतिष्ठाको माला पहिराएर संगठनको समस्या हल गर्ने जुनखाले विधिको प्रयोग भइरहेको छ, त्यो आन्दोलनका लागि अत्यन्त घातक छ ।
अन्त्यमा, हामीसँग माओकालीन महान्–सर्वहारा साँस्कृतिक क्रान्तिको अनुभवबाट शिक्षा लिने, दृढतापूर्वक त्यसलाई लागू गर्ने र त्यसलाई नयाँ अर्को उचाइमा उठाउने बाहेक अब अर्को कुनै बाटो छैन । यहाँ हरेक वर्ष र हरेक महिना आन्दोलनमा चिरा पर्ने गरी संगठन प्रमुखका लागि होडवाजी चल्छ । यहाँ हरेक हिउँद, हरेक वर्षा पिताको टाउको गिँडेर सत्तारोहणको दुस्वप्न देख्छन्, रजौटा मानदेवहरू । यहाँ हरेक विहान र हरेक साँझ मञ्चन हुन्छ पेङ् ते हुईको नेपाली संस्करण – ‘हाई जुईलाई पदच्यूत गरियो ।’
२०७३ श्रावण २५ मंगलबार
मनपाङ –६, बेलसोती, तनहुँ ।
http://www.sajhapost.com बाट साभार 

No comments: