Tuesday, May 10, 2016

पाँचौँ राष्ट्रिय सम्मेलन विशेष -३


प्रेस वक्तव्य

नेपाली प्रगतिवादी सांस्कृतिक क्षेत्रको अग्रणी संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौ राष्ट्रिय सम्मेलन, समाजवादी सांस्कृतिक आन्दोलनको नीति पारित गर्दै २०७३ वैशाख २४ र २५ गते काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ । ऐतिहासिक पाँचौ राष्ट्रिय सम्मेलनपश्चात् वैशाख २५ र २६ गते काठमाडौंमै महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो र दोस्रो पूर्ण बैठक पनि सफलतापूर्वक सम्पन्न भइसकेको छ । सम्मेलन र बैठकका महत्वपूर्ण निर्णयहरूबारे सार्वजनिक जानकारीका लागि निम्नानुसार यो प्रेस वक्तव्य प्रेषित गरिएको छ ः


१. वैशाख २४ गते एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष कमरेड प्रचण्डद्वारा पाँचवटा मैनबत्ती प्रज्ज्वलित गरी उद्घाटित पाँचौ राष्ट्रिय सम्मेलनमा देशभरिका सात प्रदेश र विभिन्न सांस्कृतिक आंगिक संगठन गरी झण्डै ३०० जना कलाकार, चलचित्रकर्मी, ललितकलाकर्मी, नाट्यकर्मी, लेखक प्रतिनिधि÷पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
२. उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कमरेड प्रचण्डले समाजवादी क्रान्ति सम्पन्न गर्ने नेपाली क्रान्तिको नयाँ ऐतिहासिक राजनीतिक कार्यदिशालाई नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनले समेत आत्मसात गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनले पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने मूल कार्यनीति लिइसकेको कुरा दोहो¥याउनुभयो ।
३. एकीकृत नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य, सांस्कृतिक विभागका इन्चार्ज तथा साहित्यकार आहुतिले उद्घाटन सत्रमा बोल्दै नेपाली जनसंस्कृतिकर्मीहरूको सिर्जनात्मक कर्म र चिन्तन अब समाजवादी संस्कृति निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
४. वैशाख २४ गते नै सुरु भएको सम्मेलनको बन्द सत्रमा महासंघका निवर्तमान संयोजक कमरेड मातृका पोखरेलले प्रस्तुत गरेको वैचारिक तथा सांगठनिक प्रतिवेदन र निवर्तमान कार्यालय सदस्य कमरेड बलराम तिमल्सिनाले प्रस्तुत गरेको विधान मस्यौदा प्रतिवेदनमाथि सात समूहमा प्रतिनिधिहरूले छलफल गरी सुझाव तथा अभिमत प्रस्तुत गरेका थिए । सुझावसहित विधान र आवश्यक परिमार्जन र पुनर्लेखन गर्ने गरी सांगठनिक प्रतिवेदन पारित भएको थियो ।
५. सम्मेलनले नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनको इतिहासको समीक्षा र वर्तमानको आवश्यकताबारे बहस गरी नेपालको आगामी सांस्कृतिक आन्दोलनको नीति र कार्यदिशा समाजवादी हुने निष्कर्ष निकाल्दै समाजवादी सांस्कृतिक आन्दोलनको मूलनीति पारित गरेको छ । 
६. सम्मेलनले महासंघीय संरचनाको मर्मलाई आत्मसात गर्दै आंगिक संगठनका प्रमुखहरू पदेन उपाध्यक्ष हुने, सात प्रदेशबाट अनिवार्य पदाधिकारी रहने र दलित, महिला तथा मधेसी समुदायबाट पदाधिकारी अनिवार्य रहने विधान पारित गरेको छ । पारित विधानमा सातवटा प्रदेश समिति र विभिन्न आंगिक संगठनबाट समानुपातिक प्रतिनिधित्व रहेन व्यवस्था समेत सुनिश्चित भएको छ । 
७. वैशाख २५ गते नै कवि तथा संस्कृतिकर्मी गणेश भण्डारीको अध्यक्षतामा सर्वसम्मत केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । १०१ सदस्यीय केन्द्रीय समिति बमोजिम विधानतः मनोनयन हुने १० जना सदस्यबाहेक अन्य सदस्यहरू सम्मेलनबाटै सर्वसम्मत निर्वाचित भएका हुन् । सम्मेलन स्थलमै बसेको पहिलो पूर्ण बैठकले पदाधिकारीमा उपाध्यक्षहरूमा केपी पाठक, राजु स्याङतान, देवेन्द्र थुम्केली, किशोर अनुराग, सीता शर्मा, विगु भगतराम र हरिदेव ठाकुर निर्वाचित ग¥यो । महासचिवमा सरल सहयात्री र उप–महासचिवमा सङ्गीत श्रोता सर्वसम्मत निर्वाचित भए । सात प्रदेशका सात प्रतिनिधि सचिव चुनिएका छन् ।
८. वैशाख २६ गते सांस्कृतिक विभागका इन्चार्ज कमरेड आहुति र विभागका सचिव कमरेड बलराम तिमल्सिनाको विशेष उपस्थिति र नवनिर्वाचित अध्यक्ष कमरेड गणेश भण्डारीको अध्यक्षतामा बसेको दोस्रो पूर्ण बैठकले १० जना केन्द्रीय सदस्य मनोनयन गर्दै अखिल नेपाल लेखक संघका अध्यक्ष विष्णु भण्डारीलाई उपाध्यक्षमा विधानतः मनोनयन ग¥यो । बैठकले केन्द्रीय समितिका निर्णय र कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि ३३ सदस्यीय सचिवालय समेत गठन गरेको छ । 
९. नेपाली जनवादी सांस्कृतिक आन्दोलनका अग्रज योद्धा एवम् वरिष्ठ संगीतकर्मी खुशीराम पाख्रिनलाई महासंघले संरक्षक पदमा मनोनयन गरेको छ । संरक्षक केन्द्रीय समितिका सबै बैठकहरूमा उपस्थित हुन पाउने र आफ्ना मतहरू राख्न पाउने महासंघको नयाँ विधानले व्यवस्था गरेको छ ।
१०. दोस्रो पूर्ण बैठकले आगामी भदौ मसान्तसम्म बाँकी रहेका आंगिक संगठन र प्रदेश तथा जिल्ला सम्मेलनहरू एवम् आवश्यकताअनुसार भेलाहरू सम्पन्न गर्ने निर्णय गर्दै सम्बन्धित प्रदेश र आंगिक संगठनहरूलाई निर्देशन समेत दिएको छ ।
११. सम्मेलनबाट सुझावसहित पारित विधान र परिमार्जनसहित पारित वैचारिक प्रतिवेदनलाई पूर्णता दिई तीन महिनाभित्र प्रकाशन गर्नका लागि बैठकले अध्यक्ष, महासचिव र उप–महासचिवलाई विधान तथा प्रतिवदेन परिमार्जन एवम् प्रकाशनको जिम्मेवारी दिने निर्णय गरेको छ ।
१२. पाँचौ राष्ट्रिय सम्मेलनबाट पारित समाजवादी सांस्कृतिक नीतिको कार्यान्वयनका लागि विभिन्न कार्यक्रम, गोष्ठी, प्रकाशन एवम् आन्दोलनका योजनाहरू निर्माण गर्नका लागि बैठकले दुई साता तयारी गरी सचिवालयबाट विस्तृत कार्यक्रमहरू तर्जुमा गर्ने निर्णय गरेको छ । समाजवादी सांस्कृतिक आन्दोलन अघि बढाउने नीतिगत निर्णयहरूलाई विभिन्न आंगिक संगठन र प्रदेश समितिहरूले आ–आफ्नो क्षेत्र र विधाअनुसार प्रस्तावहरू तयार गर्न र केन्द्रमा सुझाव गर्न पनि बैठकले दिशानिर्देश गरेको छ । 
१३. दोस्रो पूर्ण बैठकलाई एकीकृत माओवादीको सांस्कृतिक विभागका इन्चार्ज एवम् साहित्यकार आहुति र विभागका सचिव बलराम तिमल्सिनाले सम्बोधन गर्नुभएको थियो । बैठकको सञ्चालन महासचिव सरल सहयात्री र समापन अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो ।


...................
गणेश भण्डारी
अध्यक्ष

मितिः २०७३ वैशाख २७




No comments: